शुक्रबार, वैशाख १४, २०८१

किन अत्यावश्यक छ आविष्कार केन्द्र देशमा ?

महावीर पुन२०७९ जेठ ३ गते १८:४५

मैले नेपाल फर्किएर काम गर्न थालेको ३० वर्ष भयो । यतिका वर्ष बिते पनि मैले नेपालले विकास गर्न जानेको रहेनछ भनेर बुझेको धेरै पछि हो । लाइचेस्टाइन भन्ने देश रहेछ युरोपमा जुन चाहीं स्विजरल्यान्डको छेउमा पर्दोरहेछ । हाम्रो गाउँपालिकाको एउटा वडा जत्रो रहेछ । १२५ जना पुलिस भएको यो देशमा अनुसन्धान र नविन खोज (रिसर्च र इनोभेसन) मा एकदम अगाडि बढेको रहेछ । आफ्नो देशको कुल ग्राहस्थ उत्पादनको पाँच प्रतिशत लगानी त अध्ययन र अनुसन्धानकालागि खर्च गर्ने रहेछ । देश सानो र ठूलो भएर केहि फरक पर्दैन । तर हामीमा देश विकास गर्ने सोच हुन पर्यो । कसरी गर्ने थाह पाउन पर्यो ।

अन्नपुर्ण हिमालको छायाँ पर्ने म्याग्दी जिल्लाको नागी भन्ने सानो गाउँमा म भेडा बाख्रा चराएर हुर्किएको एउटा नेपाली केटो हूँ । मैले यो देशमा यति काम गर्छु होला र यस्तो काम गर्छु होला भनेर सोचेको थिइन । म चितवनमा गएर पढेपछि अमेरिका पढ्न गएँ । अमेरिका गएर पढेपछि नेपाल फर्कन्छु भन्ने पनि सोचेको थिइन । राष्ट्रिय आविष्कार केन्द्र खोल्छु भन्ने पनि थिएन । तर पछि मैले राष्ट्रिय आविष्कार केन्द्र खोलेँ । यो नसोचेको कुरा थियो । जस्तो तपाइहरु अहिले विदेशमा हुनुहुन्छ नि हगी ? तपाइहरुले पनि त बिदेशमा जान्छु भनेर सोच्नुभएको थिएन नि ! हो त्यस्तै हो, मैले पनि सोचेको थिइन । गर्दै जाँदा भएको कुरा हो । गरेर सिक्ने (लर्निँग वाइ डुइँग) भएको हो ।

अमेरिकाबाट फर्केपछि मैले देशमा गएर जागिर खोज्नु सट्टा समुदायको विकासकालागि (कम्युनिटी डेभलपमेन्ट) काम गर्न थालेँ । गाउँलेसँग मिलेर स्कूल बनाउने, चौंरी पाल्ने, हाते कागज बनाउने आदि काम थालेँ । यो सबै किन गरेको भने स्थानिय स्रोत साधन प्रयोग गरेर गाउँलेहरुले केहि आम्दानी गरुन् भनेर । यति मात्र होइन, शुन्य कार्वन उत्सर्जनको अवधारणलाई विकास गर्ने भनेर सानो हाडड्रो पावर पनि बनाइयो । अस्पताल बनाइयो । तर कोही पनि एमबिबीएस डाक्टर गाउँ जान मानेन । त्यसैले महिलाहरुलाई स्वास्थ्य सम्बन्धि तालिम दिइयो ।

त्यसपछि गाउँमा कम्युटर लैजाने भन्ने विषयमा हामीले एउटा सोच बनायौं । कम्युटर एसेम्बल (कम्प्युटरका पाटपूर्जा जोडजाड गर्ने) गर्ने योजना ल्यायौँ । नेपालमा उ बेला कम्यूटर थिएन । पुरानो कम्युटरको पूर्जाहरु रिसाइकल सेन्टरहरुमा गएर एसेम्बल गरेर स्कुलमा बाँडियो । कम्युटर भनेको के हो भनेर देखाइयो । उ बेला इन्टरनेट पनि आउँदैन थियो । गाउँघरमा इन्टरनेट लैजान असम्भव थियो ।

अहिले भन्दा ३० वर्ष पहिले सेटेलाइट र माइक्रोवेभ टेक्नोलोजि थियो, उ बेला इन्टरनेट जोड्न । तर महँगो थियो । वाइफाइ टेक्नोलोजी लग्यौँ । वाइफाइ राउटर प्रविधि प्रयोग गरेर बिस्तारै बिस्तारै गाउँमा इन्टरनेट जोडियो । यो प्रविधि विकासका लागि हामीलाई बेल्जियम, फिनल्यान्ड, अमेरिकाबाट स्नातकोत्तर गर्दै गरेका विद्यार्थीहरुले मद्दत गरे ।

उ बेला गाउँका विद्यार्थिलाई अलि अलि कम्युटर र इन्टरनेट चलाउन सिकाइयो । बिदेशमा जानेलाई सर्च इन्जिन याहुमा इमेल र च्याट गर्न सिकाएर पठाउने गर्थ्यौँ । किनभने उ बेला गुगल थिएन । अहिलेको सामाजिक सन्जाल जस्तो कि फेसबुक पनि थिएन । मोबाइल पनि थिएन । पछि हामीले टेलिमिडिसिनको कुरा ल्यायौँ । यो सबै काम गर्दा मेरो २० वर्ष बितेछ । यो समय बितेको मैले थाहै पाइन । यति काम गर्दा मैले विभिन्न पदकहरु पनि पाएँ ।

यो काम मलाइ एक दुइ वर्षमा सकिएला जस्तो लागेको थियो । तर मेरो २० वर्ष समय त पुरै समुदाय केन्द्रित विकासकालागि खर्च भयो । यो अवधिमा केहि जानेको र सिकेको जस्तो पनि लाग्यो । तर नेपालमा राजनीतिक परिवर्तन सँगै गाउँको युवाहरु त ह्वार ह्वार विदेश जान थाले । त्यसपछि मलाइ देश उँभो लाउने हो भने त अरु नै काम पो गर्नुपर्दो रहेछ भन्ने ज्ञान भयो । र पदकहरु बेच्न राखेँ ।

सन् १९९२ ताका गाउँमा तीन चार जना मानिस फटाक फुटुक बिदेश जान थालेको देखेको थिएँ । त्यस यताका २० वर्ष वर्ष त गाउँ नै खाली हुन थाले । युवा गाउँमा नभएपछि त देशको विकास पनि हुनेभएन । अनि त्यसपछि युवाहरुलाई रोक्ने कुरा के छ भनेर खोज्दै जाँदा अनुसन्धान, उद्यमशिलता र देशमा उद्योग धन्दा नखोली नहुने रहेछ भन्ने ज्ञान प्राप्त गरेँ । अनुसन्धान र माटो सुहाउँदो आविष्कार गर्नुपर्ने रैछ भनेर थाह पाएँ । देशलाई विकसित गर्ने पुजीँ भनेको अहिले एमसीसीबाट प्राप्त ५५ अरब होइन । या कसैले हामीलाई ५५ खरबै दिएछ भनेपनि त्यो दीर्घकालिन पूँजी होइन । सबैभन्दा ठूलो पूँजी भनेको एकदम प्रतिभावान रहेको क्रियाशिल र केहि आविष्कार गर्न सक्ने मानिस रहेछ ।

अर्थाशास्त्रको भाषामा यस्तो शिपलाई ह्युमन क्यापिटल अर्थात मानविय पूँजी भन्दो रहेछ । जुन देशले यो कुरा बुझ्यो उसले देश विकास गर्दो रहेछ भन्ने मलाइ थाह भयो । देश विकास गर्न अरु पनि चलायमान पूँजी चाहिन्छ । चलायमान पूँजीको पूर्ती ज्ञान र शिप भएको प्रतिभावान नागरिकहरुले गर्छन् ।

हामीलाई लाग्छ, हाम्रो देशमा समुन्द्र छैन । डाँडा काँडा र अग्ला पर्वत छन् । राजनिति अस्थिर छ । हामीसँग प्राकृतिक स्रोत तथा साधनको अभाव छ । तर यो होइन, यस्तो केहि पनि नभएको देशहरु पनि विकसित भएका छन् । तर मुख्य कुरा के हो भने हामीलाई हाम्रो माटो सुहाउँदो आविष्कारका लागि प्रतिभावान र लगनशिल मानिसहरु उत्पादन गर्ने वातावरण बनाउनु पर्छ । देशले एकदम धेरै पूँजी लगानी गर्नुपर्छ । जस्तो कि जर्मनीले आफ्नो देशको कूल ग्राहस्थ उत्पादन मध्ये तीन दशमलब १८ प्रतिशत, अष्ट्रियाले तीन दशमलब २६, फिनल्यान्डले दुइ दशमलब ९७ प्रतिशत, स्विजरल्यान्डले तीन दशमलब १५ प्रतिशत अनुन्धान र आविष्कारकालागि वर्षेनी खर्च गर्छ ।

दुखको कुरा के छ भने हाम्रो नेपाल सरकारले हामी पनि यति लगानी गरम भनेर भनेको मैले अहिलेसम्म सुनेको छैन । एक प्रतिशत मात्र छुट्टाउनुपर्‍यो आविष्कारको लागि बजेट भनेको, त्यो पनि गर्दैन । हाम्रो मात्र होइन अरु गरिव देशको पनि यस्तै अवस्था छ । अब हाम्रो देशमा किन यस्तो भयो भनेको त हाम्रो देशमा त अनुसन्धान गर्ने सँस्कार नै रहेनछ । सन्तोषं परम् सुखम् भन्ने जुन चलन छ अहिले पनि उस्तै छ । उब्जनी भएको खाने र ढुक्कले बस्ने । व्यापार त गर्दै नगर्ने । अनुसन्धानको काममा समाज या हामी एकदमै कन्जुस रहेछौँ । भोज भतेर र अरु सहयोग मन फुकाएर गर्ने । तर यो दिमागमा नयाँ कुराहरुको आविष्कार र सृजनाकालागि लगानी गर्ने भन्ने नै छैन । पिता पूर्खा देखिको यो सँस्कार आज पर्यन्त उस्तै छ । उद्यमी बन, व्यवसायी बन भनेर कसैले पनि छोराछोरीलाई सिकाउँदैनन । सबै भन्छन्, छिटो छिटो पढ र राम्रो जागिर खाउ ।

यसो गर्दा देशमाव्यापार घाटा ठूलो भयो । हाम्रो देशले आवश्यकताको ९२ देखि ९४ प्रतिशत उपभोग्य सामानको आयात गर्छ । निर्यात त हामी ६ देखि ८ प्रतिशत मात्र गर्छौँ । यहि पृष्ठभूमिनै राष्ट्रिय आविष्कार केन्द्रको आवस्यकताको पृष्ठभूमी हो । यहि व्यापार घाटा घटाउने उद्देश्य नै हामीले बोकेको हो ।

मैले अहिले भनिरहेको कुराहरु तपाइँलाई नेपालको लागि बोलिरहेको होला यो मानिसले जस्तो लाग्ला । तर मैले यो विश्वका सबै गरिव मुलुकहरुकालागि बोलेको हो । विकसित देशको मानिसलाई कस्तो खालको विकास गर्ने भन्ने कुरा हजारौँ वर्ष देखि थाह छ । तर अबिकसित मुलुकले यि कुराहरु थाह पाइरहेका छैनन ।

(मे महिनाको १५ तारिख पेरिसमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका सँस्थापक तथा नेपाली वैज्ञानिक महावीर पुनद्वारा व्यक्त भनाइका केहि अँशहरु । नेपाल प्लस अनलाइनले यो सिरीज केहि दिनका लागि नियमित गर्नेछ ।)

तपाइँको प्रतिक्रिया