शुक्रबार, चैत १६, २०८०

मलाई राष्ट्रिय सभामा पक्का पक्की गर्न शेरबहादुरले दुत पठाएका थिए- कृष्णलाल सापकोटा

नेपाल प्लस२०७९ जेठ ५ गते ७:४१

राजनिती गर्ने मान्छेका धेरै खालका उद्देश्य हुन्छन । तिनै उद्देश्यले धेरैलाई गलाउँछ । अहिले अथवा भनौं केही साता अघी देखि कृष्णलाल सापकोटाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र पुष्पकमल दाहालको निद्रा हराम गरिरहेका छन । कसैको निद्रा हराम गर्ने सापकोटाको उद्देश्य होइन । उनको उद्देश्य आफू आवद्द भएको पार्टी सालीन बनाउनु हो, पार्टीभित्रको तानाशाही तोड्नु हो । अहिले जताततै यिनै ८४ वर्षे विद्रोही नेताको चर्चा छ । साँच्चै सापकोटाले विद्रोह गरेका हुन त ? के हो विद्रोह भनेको ? धेरै मान्छेहरुले विद्रोहको अनेक परिभाषा भन्छन् । पार्टीले के भन्छ ? खासमा सापकोटाले विद्रोह भन्दा पनि बाटो देखाउने काम गरेका छन । देशको बडेमानको पार्टी भित्र मौलाएको हुकुमी संस्कारका विरुद्दमा उनले राँको बालेका छन । पार्टीले ठ्याक्कै यही भन्छ- जुन सापकोटाले गरिरहेका छन । अलगावबादी त रामचन्द्र पौडेल र शेरबहादुर देउवाहरु हुन जसले इमान्दार कार्यकर्ताहरुका घाँटिमा बेपर्वाह छुरा चलाएका छन । सापकोटालाई आफ्नो उदण्ड टोलीमा मिसाउन पौडेल र देउवाले अन्तिम सम्म प्रयास गरे तर सकेनन । म जीवनको कुनै पनि कालमा कहिल्यै लोभ लालचमा परिन अब मलाई झन के चाहियो ? मेरो पार्टी बीपीले कल्पना गरेजस्तै हुनुपर्छ भन्ने हो । यो लडाईं, यो आन्दोलन त्यसैका लागि हो । शेर बहादुर र रामचन्द्रहरु नसुध्रिए सम्म जारी रहन्छ- सापकोटाले भने । प्रस्तुत सम्पादित वार्ता यिनै सापकोटा सँग पार्टी लगायत यसका नितिगत विषयमा गरिएको हो ।

तपाईंहरुका अहिले जुन कृयाकलाप छन के यि विद्रोह हुन ?

विद्रोह नै त नभनौं तर नेपाली कांग्रेस जुन बाटोमा हिंडिरहेको छ यसले बाटो विरायो । यसलाई सहि बाटोमा ल्याउनु पर्छ भन्ने आन्दोलन हो ।

अहिलेको मत परिणाम जुन हिसावले आइरहेको छ यसले त तपाईंले भने जस्तै यो आन्दोलनले कसरी सहि बाटोमा ल्याउला ?

यो एक दुई घटनाले सहि बाटोमा ल्याउन सकिंदैन । यसका लागि लामो समय लाग्दछ । युवाहरुको चेतनामा विकास गर्नु पर्दछ । यो शुरुवात मात्रै हो ।

तपाईंहरुको यो शुरुवात पछी जती पनि चर्चा र वार्ताहरु भए यसले केन्द्रिय तहका नेताहरुमा केही परिवर्तन आउँला भन्ने लाग्दछ ? हैन है अब चाहिं सोच्नु पर्छ भन्लान ?

मलाई के लाग्छ भने उहाँहरु अलिकती गम्भिर पक्कै हुनुहुन्छ किन भने हामी सबैले सोचेको कांग्रेस यस्तो होइन । मेरो कुरा गर्नुहुन्छ भने बीपीले जुन काम गर्नुभयो त्यही काम कांग्रेसले गर्छ भनेर म कांग्रेसमा लागेको हो । तर अहिले कांग्रेस त्यस्तो रहेन । परिवारवाद हावी भएको छ, भ्रष्टाचार हावी भएको छ । भन्ने हो भने यो शहिदहरुको रगतले संचिएको भुमी हो । मैले कुनै बेला एउटा सम्मेलनमा बोलेको थिए- ए भ्रष्टाचारीहरु हो चितवनको बाटो नहिंड । त्यो भूमी शहिदको रगतले भिजेको छ । त्यहाँ नकुल्च पापिहरु । म कांग्रेस भित्र पनि प्रतिपक्ष जस्तो भएँ । त्यो भएर सबैले मलाई धकेल्ने, अवशर नदिने काम गरे । तर मैले पार्टी छोडिन किन भने यो बाहेक अर्को प्रजातान्त्रिक पार्टी छैन । यसैलाई सुधार्नु पर्छ, यो सुध्रेन भने त विकल्प नै छैन । तर शेरबहादुरजीले त आफुलाई सम्राट, ठुलो महाराजा जस्तो ठान्नु भयो । मैले जे हुकुम चलाए पनि अरुले मान्नु पर्छ भन्ने धारणा बनाउनु भयो । अघिल्लो चोटि चितवन जस्तो ठाउँमा माओवादीलाई मेयरको टिकट झुक्क्याएर दिए । हामीले अर्को उम्मेद्वार दाखिला गर्ने अवशर नै पाएनौं । हामी त्यतिबेला खुम्चिएर बस्नु पर्‍यो । अहिले त्यस्तो नहोस भनेर यहाँँको कांग्रेको बुथ समिती देखी लिएर जिल्ला समिती सम्म र भुतपुर्व सभापति सबैले चितवनको मामिलामा कम्युनिष्ट सँग गठवन्धन गर्नु हुँदैन भनेर सहि गरेर पठायौं । तर उहाँहरुले सुन्नु भएन । त्यसले आन्दोलन शुरु गरायो । यो त अब विस्तारै देश ब्यापी हुँदै जान्छ । त्यसैले रामचन्द्रजी र शेरबहादुरजी सबैका आँखा खुल्नु पर्ने हो । सम्राट हुने कि प्रजातान्त्रिक पार्टीको नेता हुने उहाँहरुको हातमा छ ।

गठवन्धन गर्ने निर्णय त ठिकै जस्तो देखिदैन र ? कांग्रेस त पहिलो पार्टी बन्दै छ !
यो पहिलो र दोस्रो पार्टी हुने लोकतान्त्रिक प्रकृया नै होइन । यसका लागि लोकतान्त्रिक पद्दतिमा जानु पर्‍यो । जनताले निर्भयता पुर्वक मत दिएर पहिलो दोस्रो बनाउन पाउनु पर्दछ । फलानो पार्टीलाई आऊनै दिन्नौ, हामी सबै मिलेर त्यसलाई सक्नु पर्छ भन्ने कुरा कसरी प्रजातान्त्रिक हुन सक्छ । त्यो त लोकतन्त्र विरुद्दको जालझेल हो । ल हेर्नुस् स्थानिय निकायहरु स्वयत्त भएका छन । स्थानिय निकायले धेरै निर्णय आँफै गर्न सक्छन । अनी पार्टीहरुमा त्यो लागु हुने कि नहुने ? केन्द्रले हुकुम गरेर चलाऊने हो कांग्रेस पार्टी ? त्यसकारणले यो अहिलेका पार्टी भित्र रहेको केन्द्रियकरण लाई समाप्त नगर्ने हो भने लोकतन्त्र बाँच्दैन ।

तपाईंले नै भने अनुसार शेरबहादुर, रामचन्द्रहरुलाई खासमा पार्टीको मायाँ छैन । त्यसो भने यत्रो गठवन्धन गरेर के फाईदा त उहाँहरुलाई ?

उहाँहरुलाई बेस्सरी फाईदा छ । विना फाईदा उहाँहरुले केही पनि गर्नुहुन्न ।

के फाईदा ?

कसैलाई राष्ट्रपती हुने ईच्छा छ, यो सप्पै मिलाउन पाए र संसदमा कब्जा गर्न पाइयो भने राष्ट्रपती बनौला भन्ने धोको छ । कसैलाई सात पटक प्रधानमन्त्री बन्ने ईच्छा छ । कसैलाई विभिन्न संस्थानहरुको पदमा बसेर धन कमाएका छन तिनलाई त्यसैमा थामिनु छ । सबैलाई आआफ्ना ब्यक्तिगत स्वार्थ पुरा गर्नु छ । पार्टी, जनता र देशलाई कुनै फाईदा छैन । यो भनेको राजनैतीक भ्रष्टाचार पनि हो । यसैको विरुद्दमा हामी लड्दै छौं ।

यसलाई अझ ब्यापक कसरी बनाउने ?

यो भर्खर शुरुवात भएको छ । मेरो उमेरले कति साथ दिन्छ थाहा छैन । म बोल्न सक्दा सम्म यही अभियानमा लाग्छु । अहिलेको निर्वाचनमा हामी हार्ने अवस्था देखियो । किनभने सरकार हाम्रो खिलाफमा लागेको छ, कांग्रेस हाम्रो खिलाफमा छ अनी दुइवटा कम्युनिष्ट पार्टी हाम्रो खिलाफमा लागेका छन । जति मत हामीलाई आउँछ, तिनै इमान्दार कांग्रेस हुन । हामी तिनैको बलमा अघी बढ्दछौ ।

शुरुवातमा नेपाली कांग्रेसका नेताहरुले तपाईं र जगन्नाथजीसँग निकै पटक छलफल गरे । के भनेका थिए त्यो छलफलमा ? के थियो आश्वासन ?

मेरो चौरासी पूजा हुँदै थियो देवघाट आश्रममा । अघिल्लो दिन मैले महामन्त्री विश्वप्रकाश शर्मा आएको बेलामा एउटा बक्तब्य दिएको थिए । त्यो वक्तब्य भोली पल्टको पत्र पत्रीकामा आएको थियो । एकजना मोहन बहादुर बस्नेत भन्ने मान्छे आउनु भयो मलाई भेट्न । मैले उहाँलाई चिनेको थिइन । यहाँँका दुइजना भाईहरुले लिएर गएका थिए, चिनाए । उहाँले मलाई प्रधानमन्त्रीले पठाएर तपाईंसँग भेट्न आएको भन्नु भयो । म खुशी नै भएँ । मेरो चौरासीको शुभकामना दिन पठाएँ होलान भन्ने भयो । कुरा उहाँले शुरु गर्नु भयो- तपाईं भरतपुरको मेयरमा उठ्छु भनेर पत्र पत्रीकामा आएको रहेछ । यसले गलत सन्देश गयो । तपाईंले खण्डन गरिदिनु पर्‍यो भन्नु भयो । मैले आफूले भनेकै कुरा लेखेको हो । त्यसैले खण्डन गर्ने कुरा आउँदैन । म उठ्छु पनि । कम्युनिष्टको समर्थनमा म जान सक्दिन भनें । फेरी उहाँले ‘प्रधानमन्त्रीले तपाईंलाई राष्ट्रिय सभामा लाने पक्का पक्की गर्ने अनी तपाईंले यता समर्थन गर्ने भन्नु भएको छ’ भन्नु भयो । मलाई तपाईंहरुले कुनै प्रलोभन दिन आवश्यक छैन । किनभने प्रलोभनले कुनै काम गर्दैन । शेरबहादुरलाई भन्दिनुस, मेरो उम्मेद्वारी रहन्छ । यदि मैले विश्वास गरेको कुनै मान्छे भएन भने म आफैं उठ्छु भनें । उहाँ जानु भो । त्यसपछी गृहमन्त्री आउनुभयो । उहाँले पनि केही साथीभाइको भाषा बोल्नु भयो केही गृहमन्त्रीको भाषा बोल्नु भयो ।

गृहमन्त्रीको भाषा भनेको कस्तो ? धम्क्याउनु भयो ?
अप्रत्यक्ष रुपमा धम्की नै । तपाईंका यि सबै त्याग, ईतिहास अनी तपाईंको भविष्य के ? भनेर धम्कीपूर्ण तरिकाले भन्नुभयो । मैले तपाईं जानुस मेरो बाटो भनेको नेपाली कांग्रेसलाई जोगाउनका लागि आन्दोलन नै हो भने ।

करोडौं पैसाको अफर पनि आएको थियो भन्ने चर्चा छ के हो ?

मलाई मेरो जीवनमा कसैले गैर कानुनी रुपमा पैसा दिन्छु भनेर भन्न सकेन । यिनले कसरी भन्थे । मेरो जीवनमा दुइवटा कुरा कसैले भन्न सकेन- एउटा रक्सी खा र अर्को घुस खा । अँ अल्ली पुरानो कुरा हो । शेख इद्रिस वन मन्त्री भएका बेलामा उनले भनेका थिए । म जिल्ला बिकास समितिको सभापति थिँए । हाम्रो बिकास बजेट हुन्थ्यो जम्मा ३५ लाख । त्यतिले के के गर्ने । यहाँँ एउटा बिसहजारी ताल छ । त्यो ताललाई केही ब्यवस्थित गर्न सके राम्रो हुन्थ्यो भन्ने भयो । त्यहाँबाट एकजना सौराहको होटलवालाले पैसा कमाउने रहेछ । त्यो ताललाई जिल्लाबिकासको नाममा गराएर पैसा आर्जन गर्ने ठाँउ बनाउँ भनेर उहाँलाई भनेको । पहिले त हुन्छ भन्नु भयो । पछी चाहिं कुनै ठूलो पाटीले होटल खोल्दै छ तपाईंलाई चार आना हिस्सा निशुल्क दिलाईदिन्छु भनेको छ । तपाईं जीबीस सभापति सधैंं हुने होइन भन्नु भयो । मैले उहाँलाई ‘काका मलाई दुध र भात खान पुगेको छ । मैले खान्न तपाईं खानुस चार आना हिस्सा’ भनेर हिडें । शेख इद्रिस बाहेक अरु कसैले मलाई लालच दिन सकेको छैन । यिनिहरु सँग मलाई पैसा दिन्छु भन्ने हिम्मत हुनु पर्‍यो नि ।

जगन्नाथजीलाई दिए कि पैसाको अफर ?

उहाँ सँग मिहिन रुपमा कुरा भएको छैन । अली अली कुरा हुँदा प्रधानमन्त्री लगायत अरुको पनि ब्यापक दवाव छ भन्नु भएको थियो । सबै कुरा अब पछी समिक्षा हुन्छ ।

कांग्रेस पार्टी किन यस्तो भएको ? रामचन्द्र शेरबहादुरले चलाऊन सकेनन हगी ?

चल्दैन ! यिनिहरुबाट पार्टी अगाडि चल्ने भन्दा पनि झन बिग्रिन्छ । यिनिहरुले मास्ने काम मात्र गरेका छन । हामीले जे गरिरहेका छौं यो दवाव हामीले देश ब्यापी बनाउँछौं । अब पाँच छ महिनामा संसदको चुनाव आउँदै छ । हेर्नुहोला चितवनमा मात्र होइन कती ठाउँमा हामीले विद्रोह निकाल्छौं ।

चुनावी भाषणका क्रममा रामचन्द्र पौडेलले सार्वजनिक रुपमै तपाईंलाई ‘तँ’ भनेर ब्यक्तिगत टिप्पणी गरेको सुनियो । कस्तो संस्कृती हुर्काएको रैछ कांग्रेसले ?

कांग्रेसले हुर्काएको संस्कृती भन्दा पनि पौडेलजी खाइ पल्केका मान्छे हुन । बहुदल आइसकेपछी यि मान्छे कहिल्यै सत्ताबाट टाढा छैनन । कहिले सभामुख, कहिले गृहमन्त्री कहिले के मन्त्री, कहिले के । यिनी कहिल्यै खाली छैनन । यति कमाएका छन कि यसले अब मेरो पद र शक्तिमा बाधा पार्न थाल्यो भनेर कुर्लिएका हुन । अहिले हेर्दा सानो देखिए पनि हाम्रो आन्दोलन यिनिहरुको भ्रष्ट साम्राज्य भत्काउने आन्दोलन हो । त्यसैले उनी उम्लिएका हुन र त्यसले उनको असली चरित्र पनि देखिएको छ ।

रामचन्द्र पौडेलका के स्वार्थ छन रेणु दाहालको जितमा ?

ल यो खुल्ला छ त । प्रचन्डलाई र शेरबहादुरलाई खुशी बनाउने र आफु राष्ट्रपती बन्ने ।

शेर बहादुर देउवा जुन हिसावले अगाडि बढे यो त्यती गतिलो देखिएन । राजनितीक ‘कल्चर’ भत्कियो धेरै ठाउँमा ?

यो त कांग्रेस र प्रजातन्त्र सिध्याउने संस्क्रिति हो । शेरबहादुर देउवा विवाह नगर्दा कांग्रेसमा परिश्रम गरेका मान्छे थिए । जब उनको राणा परिवारमा विवाह भयो त्यसपछी त यिनी आफू पनि राणा नै बने ।

केको लागि यो सब ?
लोभ र मोह सबैमा हुन्छ धेर थोर । सत्तामा पुगे पछि त्यो विकशित हुने रहेछ । त्यसैले देउवालाई अझै सम्पत्तिले पुगेको छैन । मैले उनका मित्रबाट सुनेको, उनको श्रीमतीले कैलालीबाट चुनाव लड्दा २६ करोड रुपैया खर्च गरेकी छन । कहाँबाट आए होला त्यत्रो पैसा? देउवाजीकै मित्र, उहाँ मेरो पनि मित्र । उनले भनेका- ‘दाई आरजुले २६ करोड खर्च गरिन तैपनि हारिन’ । हेर्नुस त त्यो रकम कहाँबाट ल्याइन तिनले । मेहनतले कमाएको पैसा त्यसरी उडाउन मायाँ लाग्दैन ? भ्रस्टाचार तलदेखि माथिसम्म छ । यदी यसको विरुद्दमा कसैले बोल्यो भने त्यसलाई दवाउन तल देखि माथिसम्म सबैको सहमति हुन्छ ।

देश बन्दैन त्यसो भने ?

बन्दैन, ढुक्क हुनुहोस । यिनका हातबाट देश बन्दैन । यति धेरै भ्रष्टाचार छ कसरी देश बन्छ ?

अब अन्त्यमा, तपाईंहरुको दुरगामी उद्देश्य ?

पहिले हाम्रो पार्टीबाट भ्रष्टाचार समाप्त गर्ने । पार्टीमा ठूलाबडा भनिएका सबै भ्रष्ट छन । सामान्य कुरा हेर्नुस, निगम र संस्थानहरुमा जति पनि नियुक्ति छन नि ति हरेकले पैसा तिरेर नियुक्ति पाएका छन । हरेक ठाउँमा भ्रष्टाचार छ । न्यायधिश नियुक्ति, राजदुत नियुक्ती । कहाँँ छैन भ्र्ष्टाचार ? कसले खान्छ पैसा ? यिनैले त हो । अनी यिनैले हामीलाई आदेश दिन्छन । कस्तो विडम्बना । हाम्रो उदेश्य यसैका विरुद्दमा हो । बीपी कोइरालाले भन्नुभएको थियो- देशमा प्रजातन्त्र आए पछी सुकिला-मुकिलाहरुले कांग्रेस कब्जा गर्दछन । त्यो बेलामा कार्यकर्ताहरुले कांग्रेस जोगाउन आन्दोलन गर्नु पर्दछ । त्यो बेला अब आयो । आन्दोलन शुरु भएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक