बुधबार, असार १५, २०७९

ड्रयागनको ओडारबाट नेपाललाई फर्काउन लुम्बिनी आएका मोदी

ज्योति मल्होत्रा२०७९ जेठ ५ गते १८:४५

ज्योति मल्होत्रा

नरेन्द्र दामोदरदास मोदी बुद्धको जन्मस्थल लुम्बिनी जाने पहिलो भारतीय प्रधानमन्त्री हुनुहुन्छ। उत्तर प्रदेश र बिहारजस्ता भारतका धेरै राज्यहरूसँग खुला सिमानाले छुट्याएको नेपालको तराईमा चिनियाँको आक्रामक विस्तारका बारेमा पनि मोदीलाई थाहा छ।

प्रधानमन्त्री नरेन्द्र मोदी कुनै पनि मौका खेर जान दिनुहुन्न। गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिस्ट कल्चर एन्ड हेरिटेजको उद्‍घाटन गर्न प्रधानमन्त्री मोदी बेसार रङ्गको कुर्था लगाएर त्यहाँ पुग्नुभयो। प्रधानमन्त्री भएपछि यो उहाँको पाँचौं नेपाल भ्रमण हो। बुद्ध पूर्णिमामा केही घण्टाको छोटो नेपाल भ्रमणपछि साँझ पख, लखनउमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उहाँको मन्त्रिपरिषद्का सदस्यहरूसँग रात्रिभोजन गर्नका लागि प्रधानमन्त्री मोदी भारत फर्किसक्नु भएको थियो।

सधैंजसो सेतो रङ्गको लुगा लगाउन रूचाउने मोदीले लुम्बिनी यात्रामा भने बेसार रङ्गको कुर्था रोज्नुमा पनि कारण छ। जीवनको- अर्थ पुन: पत्ता लगाउन दरबार छाड्दा शाक्यमुनि सिद्धार्थले साधारण सेतो लुगा लगाउनु भएको थियो भनिन्छ। महिनौंसम्म वर्षा, घाम र चिसोले त्यो सेतो कपडालाई पहेंलो पहेंलो, वा पुरानो गहुँको रंगमा परिणत गर्यो।

प्रतीकवादको शक्ति राम्ररी बुझ्ने प्रधानमन्त्री मोदी पनि साधारण भिक्षुको रंगमा शाक्यमुनिको घर पुग्नुभएको हो तर तराईको मुटुमा रहेको लुम्बिनीको यो भ्रमणमा प्रधानमन्त्रीले बुद्ध पूर्णिमामा अस्थायी रूपमा बुद्ध शिष्यमा परिणत हुनुभन्दा पनि अरू धेरै कुराहरू छन्।

बुद्ध र सीमाना

धेरै कुरा मध्ये केही चाहिँ ठूला शक्ति राष्ट्रहरूले आफ्नो प्रभाव क्षेत्र विस्तार गर्न खेल्ने खेलसँग पनि जोडिन्छ। अमेरिका, चीन, क्यानडा, फ्रान्स, जर्मनी र थाइल्याण्डले वर्षौंदेखि लुम्बिनीमा बुद्ध संस्कृति र सम्पदाका आआफ्नै केन्द्रहरू बनाएका छन्- त्यसमा कुनै अनौठो कुरा छैन, यद्यपि भारतले करिब एक दशक पहिले त्यहाँ निर्मित चिनियाँ गुम्बालाई पनि हेर्दै आएको हो।।

भारतमा पनि, पृथ्वीमा बुद्धको यात्रासँग जोडिएका मुख्य स्थलहरू- जस्तै बोधगया, जहाँ उहाँले ज्ञान प्राप्त गर्नुभयो, र कुशीनगरमा, जहाँ उहाँले महापरिनिर्वाण प्राप्त गर्नुभयो (वा, जहाँ उहाँको निधन भयो) -मा धेरै दक्षिण-पूर्वी बौद्ध राष्ट्रहरूले तीर्थस्थल केन्द्रहरू बनाएका छन्। यी ठूला पर्यटकीय आकर्षणका केन्द्र हुन् र मोदीले दक्षिणपूर्व एशियामा भारतको सफ्ट पावर बढाउन ती केन्द्रबाट कसरी फाइदा लिन सकिन्छ भन्ने कुरा बुझेका छन्। केही महिनाअघि मोदीद्वारा कुशीनगरको विमानस्थलको उद्‌घाटनका लागि गरिएको भ्रमण त्यसको उदाहरण हो।

लुम्बिनीमा मोदीलाई नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्नुभयो। ‘बुद्ध भूराजनीतिक सीमाभन्दा माथि हुनुहुन्छ, उहाँ सबैका लागि हुनुहुन्छ। हाम्रो भगवान राम पनि नेपाल बिना अधुरो हुनुहुन्छ’- प्रधानमन्त्री मोदीले भन्नुभयो।

पक्कै पनि अन्तिममा रामकी पत्नी सीताको जन्मस्थान नजिकैको जनकपुरको सन्दर्भ हो। अयोध्यामा सीताको पछिल्ला कष्टहरू तराईमा, विशेष गरी भक्तहरूमाझ ठूलो दुःखको निरन्तर स्रोत हुन् भन्ने कुरा कमैलाई मात्र थाहा छ; ‘छोरी विदेशमा दिएर केही राम्रो हुँदैन’ जस्ता टिप्पणी कहिलेकाहीँ नेपाल–भारत सम्बन्ध विशेषगरी बिग्रिएको अवस्थामा हुने गरेको छ।

शाक्यमुनि भूराजनीतिभन्दा माथि रहेको मोदीको सन्दर्भ चीनलाई सीधा सन्देश हो, जसले एक दशकअघि लुम्बिनी विकास आयोजनाको मूल क्षेत्रमा बुद्ध गुम्बा बनाएको मात्र होइन, ३ अर्ब डलर खर्च गरेर एउटा “विश्व शान्ति शहर” बनाउन गरेको प्रस्ताव अझै पनि कायम नै छ।

नेपाली कम्युनिष्ट नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्ष रहेको चाइनिज एनजीओ एसिया प्यासिफिक एक्सचेञ्ज एन्ड फाउन्डेसनले शान्ति सहर प्रस्तावका लागि अझै पनि लबिङ गरिरहेको छ।

वर्षौंसम्म, भारतले यस्ता प्रस्तावलाई बेवास्ता गरिरहयो। उत्तर प्रदेश र बिहारजस्ता भारतका धेरै राज्यहरूसँग खुला सिमानाले छुट्याएको नेपालको तराईमा चिनियाँको आक्रामक विस्तारलाई कसरी सम्हाल्ने भन्ने कुरा भारतले वर्षौंदेखि सोचिरहेको थियो।

सबै चिनियाँहरूले बुद्धको जन्मस्थलको रूपमा लुम्बिनी बोधगया भन्दा धेरै महत्त्वपूर्ण छ भनेर हल्ला-फैलाइरहेका थिए किनभने उनीहरूको भनाईमा बुद्ध जन्मिँदा नै बुद्धत्व प्राप्त गरिसकेका थिए, त्यसैले, ज्ञान प्राप्त भएको बोधगया, ‘कुनै ठूलो कुरा होइन।’

ढिलो नहोस्

भारतीय प्रधानमन्त्रीको पहिलो लुम्बिनी भ्रमणका क्रममा मोदीले आफू ड्रयागनको ओडारमा जान नडराउने संकेत पनि दिनुभएको हो। मोदीको भ्रमणको दिन सोमबार नै प्रधानमन्त्री देउवाले चीनको नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले विगत १० वर्ष लगाएर ४० अर्ब रुपैयाँको लागतमा निर्माण गरेको काठमाडौंपछिको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको गौतम बुद्ध विमानस्थलको उद्‌घाटन गर्नुभएको थियो।

यो विमानस्थल नेपाल–भारत सीमाबाट ६ किलोमिटर मात्र उत्तरमा छ तर प्रधानमन्त्री मोदीको हेलिकप्टर कुशीनगरबाट उड्यो, चिनियाँ निर्मित विमानस्थलको परिक्रमा गरी विश्व सम्पदा सूचीमा परेको लुम्बिनीमा विशेष रूपमा निर्माण गरिएका चार हेलिप्याडमध्ये एउटामा अवतरण भयो। यात्रामा भारतका प्रधानमन्त्रीको सुरक्षा दस्ता एसपीजी (स्पेशल -प्रोटेक्सन ग्रुप)को उपस्थिति थियो।

यो प्रधानमन्त्रीले पक्कै पनि आफ्नो सिमानाको त्यति नजिक चिनियाँहरू पुगेको तथ्यबाट भारत पूर्ण रूपमा सन्तुष्ट नभएको सङ्केत दिन खोज्नुभएको हो। किनकि चिनियाँ सेनाले लद्दाखमा वास्तविक नियन्त्रण रेखा पार गरेको दुई वर्ष भइसक्यो र उनीहरूलाई रोक्नका लागि ५०,००० भन्दा बढी भारतीय सैनिकहरूलाई हिउँले ढाकेको उचाइमा परिचालित गरिएको छ भन्ने कुरा मोदीले बुझ्नु भएको छ।

प्रधानमन्त्रीको नेपाल भ्रमणले अरू केही रोचक कुराको सङ्केत गरेको छ। भारतले श्रीलंकामा पुगेर आर्थिक र राजनीतिक संकटको घडीमा उसलाई सहयोग गरेको सन्दर्भमा, नयाँ दिल्लीले अब आफ्नो मानेको क्षेत्रमा चीनलाई आफ्नो प्रभावको क्षेत्र विस्तार गर्न नदिने भन्ने सन्देश दिन खोजेको पनि हो।

मोदीको लुम्बिनी भ्रमणले भारतले यो पुनरावृत्तिमा समय गुमाएको स्वीकार गरेको छ। भैरहवामा चिनियाँ विमानस्थल बनेको छ– त्यो उल्टाउन सकिँदैन तर अब नयाँ दिल्लीले तराईभरि “रोटी-बेटी का रिश्ता” भनेर सफ्ट पावरका सम्बन्धहरूलाई प्रोत्साहित गर्न सक्छ। बुद्धका पाइलाहरू मार्फत पनि, र दुबै राष्ट्रहरूको लागि साझा समृद्धि सिर्जना गर्ने आफ्नो दृढ संकल्प प्रदर्शन गर्न सक्छ। चिनियाँहरूलाई उनीहरूकै खेलमा एक वा दुई कुरा सिकाउने प्रयासमा देखिनुहुन्छ मोदी। प्रधानमन्त्री मोदीले लुम्बिनीमा पहिलो कदम चालेर अब चेसबोर्ड खेल्नको लागि खुला छाडिएको छ।

(स्रोत- आइ एन एस)

तपाइँको प्रतिक्रिया

फेसबुक