आइतबार, असोज ९, २०७९

बलीको बोको र लुम्बिनीको बौद्ध सभा

बसन्त महर्जन२०७९ जेठ ७ गते ५:४८

बसन्त महर्जन

लुम्बिनीमा आयोजित बौद्ध सभामा प्रम शेरबहादुर देउवाको हाउभाउ मात्रै टिप्पणीको विषय बन्यो । टिप्पणीको विषय अन्य कुराहरू पनि प्रशस्त थिए । प्रमुख अतिथिका रूपमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यवहार अन्यलाई स्वीकार्य भए पनि बौद्ध स्थलमा आउँदा गरिनुपर्ने व्यवहार अनुकुल भने थिएन । मन्तव्यमा जस्तो बोले पनि सुरुदेखि अन्त्यसम्म उनको प्रस्तुति एक शासकको रूपमा थियो । शासकीय दम्भ छचल्किन्थ्यो ।

वैशाख पूर्णिमाको दिन बिहानै एक पाटनवासीले आफ्नो फेसबुक स्टाटसमा लेखे– ‘आज बुद्ध जयन्तीको दिन मर्निङ वाकको क्रममै लगनखेलको बटुकभैरव पुगें । त्यहाँ एक ब्राह्मण परिवारको कुलपूजाको तयारीमा एउटा बोका बली दिन ठिक्क पारिरहेको देख्दा मनै खिन्न भयो । आज एकदिन त हिंसारहित कुलपूजा मनाउन मिल्थ्यो होला नि ।’

उक्त स्टाटस पढेपछि मेरो मानसपटलमा अनेक तर्कना आए । यही दिन गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा आएका भारतीय प्रधानमन्त्री सँगसँगै हिंडेका प्रधानमन्त्री शेरबहादुर देउवाको हाउभाउलाई लिएर बौद्ध धर्मावलम्बीहरूबाट मात्रै नभएर अन्यले पनि अनेक टिप्पणी गरेको पाइयो । प्रायः टिप्पणीमा संस्कारको अभाव भनेर आलोचना गरेको पाइयो । बौद्ध सभामा बौद्ध आचरणको अपेक्षा गरिनु स्वाभाविक हो । गैरबौद्धबाट बौद्ध आचरणको अनुुुसरण संभव नहोला । तर उनको आफ्नै पृष्ठभूमि अनुसारको आचरणले पनि धार्मिक सद्भाव प्रदर्शन गरिरहेको हुन्छ र यसले हार्दिकता व्यक्त गर्दछ ।

प्रम देउवाको धार्मिक पृष्ठभूमि हिन्दू भएकाले हिन्दूकै आचरण मात्रै गरिदिएको भए पनि हुन्थ्यो । तर सभामा त्यो पनि नदेखिएकाले आलोचनाको तारो बन्नुपर्‍यो। यसलाई कतिपयले प्रधानमन्त्रीको बौद्ध धर्मप्रतिको उदासीन र नकारात्मक बुझाइ भनेर समेत अर्थ्याए । यसलाई बिहान वटुकभैरवमा कुलपूजामा बोका बलीको प्रसङ्गसँग जोडेर चर्चा गर्ने जमर्को गरेको छु ।

बुद्धको जन्मस्थल लुम्बिनी नेपाली भूगोलभित्र परेको भन्दैमा सबै जनता बौद्ध धर्मावलम्वी हुन्छन् वा हुनैपर्छ भन्ने जरुरी छैन । नेपाल विविध जातीय, धार्मिक तथा सांस्कृतिक समूहहरूद्वारा संरचित एउटा राष्ट्र हो । यस राष्ट्रभित्र रहेको एउटा ठूलै समूह यसै दिन उँभौली पर्व मनाइरहेको हुन्छ । बौद्ध धर्म–दर्शनसँग यसको सम्बन्ध छैन । वटुकभैरवमा बोकाको बली दिएर एक ब्राह्मण परिवार कुलपूजा गरिरहेको हुनु पनि कुनै नौलो कुरा होइन । ब्राह्मण मात्रै नभएर कतिपय क्षेत्री समुदायको कुलपूजा पनि यसै दिन पर्दछ । यसदेखि बाहेक अन्य पर्वहरू पनि यसै दिन पर्नु पनि स्वभाविक हो । फलाना दिन फलाना उत्सव परेका कारण अरुले पनि यस्तै उत्सव मनाउनु वा अन्य उत्सव नमनाउनु भनेर उर्दी जारी गर्न सकिन्न । एक समुदायले अर्को समुदायलाई यसरी मनाउनु वा त्यसरी नमनाउनु भनेर सिकाउनु पनि मनासिब हुँदैन । सबै संस्कृतिले बग्लाबेग्लै अर्थ बोकेको हुन्छ र तिनको आआफ्नै महत्व पनि हुन्छ भनेर बुझ्नु पर्दछ ।

संस्कृति मानव सभ्यताको एउटा पाटो हो । संस्कृतिको ‘ल्यान्डस्केप’ मा आइरहने परिवर्तन बडो रोचक देखिन्छ । अनेक संस्कृतिहरू एकै ठाउँमा आएर एउटै बनेको, त्यही संस्कृति फुटेर फेरि बेग्लै रूपमा बेग्लाबेग्लै हुर्कन पुगेको, एकलाई अर्कोले प्रभाव पारेको वा विलय नै गरेको अथवा पूरै परिवर्तन भएको जस्ता अनेक कुरा देख्न पाइन्छ । श्रमण परम्परासँग सम्बन्धित गौतम बुद्धको पारिवारिक पृष्ठभूमि ब्राह्मण परम्परासँग केही मिल्थ्यो, केही मिल्दैनथ्यो । जैन धर्मका महावीर वर्धमान पनि श्रमण परम्पराकै हुन् । तर श्रमण परम्परामा पनि विविधता नपाइने होइन । अरु त अरु– ‘हिंसा’ को बुझाइमा पनि महावीर वर्धमान र गौतम बुद्धबीच फरक दृष्टिकोण पाइन्छ । यस अवस्थामा जसले जति प्रभाव पार्न सक्यो त्यसले त्यति नै आफूलाई विस्तार गर्‍यो भनेर बुझ्न सकिन्छ । यस क्रममा बुद्धकालीन बौद्ध समाजको संस्कृतिले वर्तमानमा आउँदासम्ममा धेरै कोल्टे फेरिसकेको भन्न सकिन्छ ।

सामान्यतः भन्नु पर्दा हिन्दू संस्कृति र संस्कारले एउटा निर्दिष्ट रूप लिएको पाइन्छ र त्यसलाई तलमाथि पार्न सामान्यतः अनुमति दिँदैन । यसको विपरीत बौद्ध धर्म–दर्शनले संस्कृति र संस्कारहरूलाई ध्यान दिएको पाइँदैन । स्थानीयकरण हुँदै अगाडि बढ्नमा हिन्दूलाई जति बौद्धलाई गार्‍हो छैन । बौद्धहरूको ध्याउन्न बढी मात्रामा आफ्नो धर्म–दर्शनमा नै रहेको पाइन्छ । वैचारिक स्वतन्त्रता स्वयं गौतम बुद्धद्वारा प्रत्याभूत बौद्ध धर्म–दर्शनको अध्ययनको पद्धति हो। यस अवस्थामा विभिन्न सम्प्रदाय तथा उपसम्प्रदायहरूको उदय र विलय हुनु स्वाभाविक हो । साथसाथै भूगोल विशेषअनुसार बौद्ध संस्कृतिको पनि विकास हुँदै यसमा अत्यधिक मात्रामा विविधता आएको पाइन्छ ।

बौद्ध धर्म–दर्शनको विविधताको कुरा गर्दा कहिलेकाहीं ताजुप लाग्ने गर्दछ । इ।पू। ५६३ मा लुम्बिनीमा जन्मेर इ।पू। ४८३ मा कुशीनगरमा महापरिनिर्वाण भएका गौतम बुद्धलाई ऐतिहासिक व्यक्तिका रूपमा लिने गरिन्छ । उनै बुद्धको धर्म–दर्शनभित्र उदय भएका सम्प्रदायहरूमध्ये केहीले संसारमा बुद्ध भन्ने जन्मेकै छैनन्, जन्मदैनन् भन्ने मान्यता राख्दछन् भने कतिले बुद्ध जन्मेका त थिए तर आफैंले उपदेश गरेका भने थिएनन् भन्ने दृष्टिकोण पनि राख्दथे । कतिपय बौद्ध सम्प्रदायहरू अन्य धर्म–दर्शनबाट प्रभावित भएर उदय भएको पनि पाइन्छन् । अथवा विशुद्ध रूपमा उदय भएका सम्प्रदायहरू कालान्तरमा अन्यको प्रभाव वा आफ्नै दृष्टिकोणमा आएको परिवर्तनले बेग्लै रूप लिन पुगेको पनि पाइन्छ ।

मौलिक रूपमा बौद्ध धर्ममा कुनै पनि प्राणीको मारकाट कुनै पनि बहानामा गर्न पाइँदैन र यसलाई अकर्मण्य मानिन्छ । विभिन्न साधना वा अन्य नाममा पशुपक्षीको बली दिने कर्म स्वयं बौद्ध धर्मका पुरोहितहरूबाट हुने गरेको पाइन्छन् । बुद्ध पूर्णिमाका दिन गैरबौद्ध समाजलाई हिंसारहित कूलपुजा गर्न सुझाव दिनेहरू आफ्नै सम्प्रदायमा हुने गरेका घटनाहरूमा बोल्न नसक्नु पनि अकर्मण्यता नै हो।

नेपालको काठमाडौं उपत्यकामा बौद्ध धर्म–संस्कृतिको परम्परा पुरानै हो । यसको आरोहअवरोहका क्रममा अनेक विकृतिहरू पनि देखापरेका छन् । कुनै बेला थियो– बौद्ध विहारका रूपमा रहेका स्थानीय बहाःबहीहरूमा हुने उत्सव वा पूजा विशेषका लागि खुला रूपमा राँगो ढालिन्थ्यो । दैनिक जीवन तथा धर्म साधनामा पनि यस्ता कुराहरू देखिन्थ्यो जसले बुद्ध र बौद्ध धर्म–दर्शनसँग तादात्म्य राख्दैनथ्यो । एशियाको धर्मसंस्कृति अध्ययनका लागि सुरुमा आएका युरोपेली विद्वान्हरू काठमाडौं उपत्यकामा पुग्दा त्यहाँ उनीहरूले जुन दृश्य देखे त्यसलाई बौद्ध धर्म भनेर स्वीकार गर्नै सकेनन् ‘करप्टेड कल्चर’ भनेर हिँडेका थिए । अहिले त्यही समाजमा त्यो स्थिति छैन । काठमाडौं उपत्यकामा थेरवादी बौद्ध सम्प्रदायको आगमनसँगै बौद्ध जागरण पनि आएको थियो भने यसको प्रभाव परम्परागत बौद्ध सम्प्रदायमा पनि पर्‍यो र सुधार हुनथाल्यो । तर यसलाई पूर्ण रूपमा सुधार आइसकेको भन्न मिल्दैन । अवलोकितेश्वरहरूसँग सम्बन्धित करुणामयको रथ जात्राका क्रममा बोकाको बली दिने परम्परा अझै हट्न सकेको छैन । कतिपय पूजामा बली दिने चलन यथावत् नै छ ।

एउटा बौद्ध सम्प्रदायले अर्को बौद्ध सम्प्रदायलाई प्रभावित पार्नु र सुधार ल्याउनुको पछाडि बौद्ध धर्मदर्शनको अध्ययन, चिन्तन–मनन र अभ्यास कारणको रूपमा रहेको हो । स्वयं बुद्धले अन्य धर्मसम्प्रदायका धर्मगुरु तथा अभ्यासीहरूलाई प्रभावमा ल्याएर बौद्ध बनाएका हुन् । यसको अर्थ हो– बुझाउन सक्नुपर्‍यो । आफ्नै सम्प्रदायका बन्धुबान्धवलाई बुझाउन नसक्नेले फलानाको कुलपूजामा बोका नकाट्नु वा हिंसारहित गर्नु भनेर उपदेश दिनु भनेको अर्को सम्प्रदायमा हस्तक्षेप गर्न जानु हो । बौद्ध धर्मको विस्तार र विकास कुनै अर्को धर्ममाथि हस्तक्षेप वा आक्रमणबाट नभएर आफ्नो कुरालाई बोधगम्य बनाइ सोहीअनुसार आफूले पनि आचरण गरेर प्रभावित पारेर हुने हो । अर्काको आङमा भैसी देख्ने तर आफ्नो आङमा जुम्रा पनि नदेख्ने प्रवृत्तिबाट बुद्ध शिक्षाको प्रचारप्रसार हुँदैन।

लुम्बिनीमा आयोजित बौद्ध सभामा प्रम शेरबहादुर देउवाको हाउभाउ मात्रै टिप्पणीको विषय बन्यो । टिप्पणीको विषय अन्य कुराहरू पनि प्रशस्त थिए । प्रमुख अतिथिका रूपमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यवहार अन्यलाई स्वीकार्य भए पनि बौद्ध स्थलमा आउँदा गरिनुपर्ने व्यवहार अनुकुल भने थिएन । मन्तव्यमा जस्तो बोले पनि सुरुदेखि अन्त्यसम्म उनको प्रस्तुति एक शासकको रूपमा थियो । शासकीय दम्भ छचल्किन्थ्यो ।

बुद्धकालीन ठूलाठूला शासकहरू पनि बौद्धसभामा कसरी उपस्थित हुन्थे भन्ने सवालमा बौद्ध ग्रन्थ त्रिपिटकमा यत्रतत्र छरिएका घटना विवरणहरूबाट बुझ्न सकिन्छ । त्यही आचरणको अनुकरण आजभोलि पनि थाइल्याण्डलगायत कतिपय बौद्ध देशका शासक बौद्ध विहारमा भिक्षुहरू समक्ष प्रस्तुत गर्दछन् । भारतीय प्रम नरेन्द्र मोदीले सम्बोधन गर्दा उपस्थित सहभागीहरूले गरेको ‘जयजयकार’ तथा सभागृह नै थर्कने गरी ताली बजाउनु बौद्ध वातावरण सुहाउँदो पटक्कै भएन । उनको मन्तव्य पनि कुनै चुनावको र्‍यालीमा गरेको सम्बोधनभन्दा फरक देखिएन। बौद्ध सभा कस्तो हुन्छ भन्ने कुराको सामान्य जानकारी कुनै बौद्ध विहारमा हुने दैनिक क्रियाकलापबाटै जानिने कुरा हो । लुम्बिनीमा आयोजित उक्त बौद्ध सभामा बौद्धहरूको पनि उपस्थिति पक्कै थियो तर सशक्त हुन सकेनन्, ओझेलमा पर्‍यो ।

राणा कालमा थेरवादी बौद्ध भिक्षुहरू काठमाडौंको सडकमा भिक्षाटनका लागि आउँदा यहाँका बौद्धहरूलाई भिक्षादान गर्नुपर्छ भन्ने ज्ञान नै हराइसकेको अवस्था थियो । थाइल्याण्डका राजगुरु उपसंघराज सोमदेत् फ्रा ञाणसंवर २०४२ सालतिर काठमाडौं आउँदाका दृष्यहरू समेटेर एउटा वृत्तचित्र बनाउँदा सर्वसाधारणले दान दिएको तरिका सुहाउँदो नभएर दृष्य सम्पादन गर्न गाह्रो भएको थियो । यस्ता उदाहरणहरू थुप्रै पाइन्छन् । यसको अर्थ स्वयं नेपाली बौद्धहरूले नै पनि सिक्दै आइरहेको अवस्था छ । के गर्ने के नगर्ने भन्ने सवालमा सिक्न र सिकाउन सकिन्छ । लुम्बिनीको बौद्ध सभामा प्रधानमन्त्री देउवाको मात्रै टिप्पणी हुनु अन्य कमीकमजोरीलाई ढाकछोप गर्नु हो । अरुको कुलपूजा हिंसारहित गर्न सिकाउनुअघि आफैं त्यसका लागि उदाहरण बन्नु पर्दछ ।

(श्रोत: आइएनएस)

तपाइँको प्रतिक्रिया

फेसबुक