शुक्रबार, वैशाख ७, २०८१

पालिकाहरुमा प्रभावकारी र पहुँचवाल नेता, आफ्नै अखाडाहरुमा पछारिएको कांग्रेस

नेपालप्लस संवाददाता / नवलपुर२०७९ जेठ ९ गते ३:०७

नवलपरासी (पुर्व) अर्थात नवलपुर । केहि वर्ष अघी मात्र नवलपरासीबाट छुट्टीएर बनेको नयाँँ जिल्ला । यो नयाँँ जिल्लामा मात्र होइन पुरै नवलपरासी भरी जनताका घरघर गएर प्रभाव पार्न सक्ने एमालेका नेता छैनन । धेरै मान्छेहरुलाई अचम्म लाग्दो हो, जिल्लाले एमालेको केन्द्रिय तहसम्म प्रभाव पार्न सक्ने एउटा पनि नेता उत्पादन गरेको छैन । अर्को तिर प्रतिस्पर्धी पार्टी नेपाली कांग्रेसमा एक से एक नेता छन ।

सुर्यभक्त अधिकारी जसले कुनै समय नेपाली कांग्रेसको केन्द्रिय समितिमा ब्यक्त गरेको मन्तब्यले कांग्रेसको देसभरिका संयन्त्र तरंगित भएका थिए । उनको सादगी तर निडर स्वभाव र तिलक प्रसाद सापकोटाको संगठन कुशलताले जिल्लालाई बाँध्न सफल भएको थियो । अर्कोतिर नेपाली कांग्रेसका केन्द्रिय नेताहरुलाई नवलपरासीले संगठनको पाठ सिकाएको थियो । अहिलेको अवस्था भिन्न छ ।

अहिले पनि सुर्यभक्त अधिकारीको स्वर्गारोहण भएको वर्षौं भएको छ भने तिलक प्रसाद सापकोटा सकृय राजनीतिमा छैनन । तर पनि जिल्लामा नेताहरुको कमी छैन । नेपाली कांग्रेसका तर्फबाट सांसदको रुपमा शशांक कोइरालालाई यही जिल्लाले जन्माएको हो । कांग्रेसका पुराना नेता महेन्द्रध्वज जीसी अहिले पार्टीका जिल्ला सभापति छन । यहिका अर्का नेता कृष्णचन्द्र नेपाली गण्डकी प्रदेशका मुख्यमन्त्री छन । यसबाहेक एमालेका चिनिएका जिल्ला भन्दा आवरणलाई पच्छ्याउने हो भने नेपाली कांग्रेसका पालिका स्तरिय नेताहरु धेरै प्रभावकारी र पहुँचवाल देखिन्छन । तर पनि निर्वाचन परिणाममा नेपाली कांग्रेस प्राय: आफ्नै अखाडाहरुमा पछारिएको छ ।

नवलपुरमा चार नगरपालिका र चार गाउँ पालिका गरी आठ पालिकाहरु छन । अहिलेको स्थानिय निर्वाचनमा केन्द्र र प्रदेशमा प्रभाव पार्ने नेताहरुको जमघट भएर पनि नेपाली कांग्रेसले जिल्लाको ईतिहास जोगाउन सकेन । आठ पालिका मध्ये बल्लतल्ल एउटा गाउँपालिका र एउटा नगरपालिकामा आफुलाई खुच्यायो । पञ्चायत कालमा संगठन र सुरक्षाका दृष्‍टिकोणले उपयुक्त मानेर नेपाली कांग्रेसको शिविर राख्न बीपी कोइरालाले यसै जिल्लालाई रोजेका थिए । निकै भब्य रुपमा सो शिविर सम्पन्न पनि भएको थियो ।

२०४६ पछीका विभिन्न निर्वाचनहरुमा समेत साविक नवलपरासीले नेपाली कांग्रेसलाई उच्चस्तरिय नतिजा दिइरहेको थियो । तर अहिले गणतन्त्र पछीका निर्वाचनहरुमा जिल्लामा कांग्रेसको अवस्था दिनानुदिन ओरालो लाग्दै गइरहेको छ । अझ यो स्थानिय निर्वाचनमा कांग्रेसलाई आफ्नो उपस्थिती जोगाउन हम्मे हम्मे पर्‍यो ।

हुन त पछील्लो निर्वाचनमा गुमाएको गैंडाकोट नगरपालिका यसपटक कांग्रेसले फिर्ता ल्याउन सफल भएको छ । तर २०७४ मा जितेका अन्य गाउपालिका र नगगरपालिकामा यो पार्टी नराम्रोसँग पछारिएको छ । कार्यकर्ताहरु भन्छन्- नेताहरुको आन्तरिक किचलो र गुटबन्दिका कारण कांग्रेसको वाहुल्य मतदाता भएका पालिकामा समेत हामी पराजित भएका छौं ।

बुलिङ्टार गाउँपालिका, देवचुली, कावसोती र मध्यविन्दु नगरपालिकाका मतदाता मध्ये नेपाली कांग्रेसको वाहुल्यता छ। बुलिङ्टार गाउँपालिका पुर्व सांसद स्व। दामोदर वस्ताकोटीको गाउँ हो र नेपाली कांग्रेसको निकै पकड रहेको पालिका हो । त्यहाँ वस्ताकोटीकै छोरा अध्यक्षका उम्मेद्वार थिए । स्थानिय कार्यकर्ताका अनुसार पार्टी भित्रको गुटवन्दीले कांग्रेसले जित्न सकेन । अर्को देवचुली नगरपालिका पार्टीका वर्तमान जिल्ला सभापति महेन्द्र ध्वज जीसीको पालिका हो । यो पालिकामा जीसीकै वडामा समेत कांग्रेसले हारेको छ ।

नेपाली कांग्रेसका पुराना नेता तिलक सापकोटा ‘नेपाली कांग्रेसको संगठन तल्लो तह सम्म खल्वलिएको कारण परिणाम बिग्रेको’ बताउँछन । उनी भन्छन्- जिल्लाको प्रतिनिधित्व गर्ने र जिल्ला सम्हाल्ने सबै साथीहरु स-साना गुट बनाएर रमाउन थाले । संगठ्न उनिहरुको बुझाई र चेतनामा परेन भन्ने कुरा मत परिणाम हरुले देखाएका छन । नत्र नेपाली कांग्रेसले आफ्नो अस्तित्व रक्षाका लागि यस्तो संघर्ष गर्नु पर्ने जिल्ला यो होइन ।”

“साथीहरुलाई सानो गुटको सम्राट बन्दा बढी नै आनन्द आए जस्तो छ । तर धेरै मतदाताहरु भने जिल्लाका कांग्रेस सांसद शशांक कोइरालाले आफुले चुनावमा ६ करोड खर्च गरेको अभिब्यक्ति दिएपछी रुष्ट छन । कोइरालाले केही समय अघी आफुले तीन पटक चुनाव लड्दा पहिलोमा ८० हजार, दोस्रो पटक तीन करोड र तेस्रो चुनावमा ६ करोड खर्च गरेको बताएका थिए । उनको यो अभिब्यक्ति पछी निर्वाचन आयोगले उनलाई स्पष्टिकरण समेत सोधेको छ । तर उनले अहिलेसम्म जवाफ दिएका छैनन । यहाँँका मतदाताहरु कोइरालाकै त्यही अभिब्यक्तिले रुष्ट देखिएका छन ।

गैंडाकोट वार्ड नं ९ का एक जना मतदाता दुर्गादत्त रिजाल भन्छन् “उनले त्यो पैसा कसलाई दिए ? कहाँँ बाँडे ? एउटा चुनावमा कसरी त्यत्रो रकम खर्च गरे ? उनको त्यो अभिब्यक्ति पैसाको दम्भ मात्र होइन । हाम्रो मतको अपमान पनि हो । अब हेरौ न शशांक कोइरालाले यहाँँका मतदाता सँग कसरी मत माग्छन ।”

त्यस्तै यहिका अर्का मतदाता हरिकृष्ण सापकोटा भन्छन्- “हामी यो गाउँबाट जो जो उनलाई भोट माग्न हिड्यौं सबै आफ्नै खर्चमा हिंड्यौ । शशांक कोइरालाको पैसामा हामीले एक कप चिया पनि खाएनौं । कहाँँ खर्च गरे उनले ६ करोड ?”

जिल्लामा एक दुई मात्र होइन धेरैको प्रश्न छ “शशांक कोइरालाले कहाँँ खर्च गरे ६ करोड ? कसले खायो त्यत्रो रकम ?”

यति मात्र होइन, अहिलेको निर्वाचनमा बेहोर्नु परेको हारको पछाडि कोइरालाको अभिब्यक्ति धेरै हदसम्म जिम्मेवार रहेको कतिपय जिल्ला नेताको धारणा छ । एक जना जिल्ला नेताका अनुसार यो चुनाव प्रचार प्रसारका क्रममा प्राय: मतदाताले सोधेको प्रश्न के हो भने ‘शशांक कोइरालाले ६ करोड कहाँँ खर्च गरे ?’

“हामी कार्यकर्ता हरुलाई थाहै छैन उहाँले त्यो रकम कहाँँ खर्च गर्नु भयो भन्ने ! कसरी जवाफ दिने ? धेरै ठाउँमा हामी नाजवाफ फर्कियौं” कांग्रेसका एक जिल्ला नेता भन्छन् ।

उनले थपे “जब कार्यकर्ताले जवाफ दिन सक्दैन । तव मतदाताले उसलाई कसरी विश्वास गर्छ ! धेरै मतदाताले ६ करोडको हिसाव खोजेका छन । जिल्ला देखी प्रदेश र केन्द्र थर्काउने यति धेरै नेता तर परिणाम शुन्य बराबर ।”

उता एमालेमा अनुहार चिनिएको नेता विरलै भेटिन्छ । उनिहरुकै पोल्टामा जिल्ला हाँक्ने बहुमत ।

“जिल्ला र देश हाँक्छु भनेर कस्सिएका नेताहरुले अलिकति आफ्ना अभिब्यक्तिमा लगाम लगाउन जरुरी छ । शशांक कोइराला बोल्छन तर भत्किएको छ नवलपुर । पार्टी बिग्रिदा हामीलाई त दुख्छ नि !” पुराना नेता तिलक सापकोटाको चिन्ता छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक