शनिबार, वैशाख १५, २०८१

आफ्नो नगर कस्तो बनाउने ? निर्वाचित प्रतिनिधिहरुले फ्रान्सबाट सिक्नुपर्ने पाठ

अनुराधा पौडेल / फ्रान्स२०७९ जेठ ९ गते ८:१९

नेपालमा यतिबेला स्थानिय चुनावको नतिजाहरु आउने क्रम छ । यता फ्रान्समा अब छिटै स्थानिय निकाय अर्थात नगरपालिका र गाउँपालिका चुनाब आउँदैछ ।

यहाँको गाउँपालिका भनेपनि नगरपलिका भनेपनि केहि निश्चित पदहरु चाहीं कानुनले नै व्यवस्थित गरेको हुन्छ । केहि सल्लाहकार जस्ता पदहरु समाजसेवाका रुपमा सिर्जना गरिएको हुन्छ जुन विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरुलाई समावेश गरेर बनाइएको हुन्छ ।

म पहिला फ्रान्सको उत्तर क्षेत्रमा पर्ने एक नगरपलिकामा बस्थेँ । त्यहाँ म हो हल्ला गर्ने र उद्दन्ड मच्चाउनेहरुलाई नियन्त्रण गर्न बनेको नगर स्तरीय कमिटीको बैठकमा मेरो कार्यालयको तर्फबाट भाग लिन जान्थेँ । त्यो क्षेत्र गुन्डागर्दी र गरिवीको परिभाषा भित्र पर्थ्यो । त्यसलाई संवेदशनशिल क्षेत्र भनेर छुट्टाइएको थियो । त्यहाँ मैले गुन्डागर्दी र गरिवीसँग जोडिएका विशेष खालका सामाजिक समस्या झेलेका परिवारका समास्याहरुबारे सिक्ने मौका पाएकी थिएँ ।

फ्रान्समा उदन्ड मच्चाउने गुन्डाहरु नियन्त्रण गर्ने टोल हुँदै नगरपालिका, अन्तरनगरपालिका, जिल्ला र क्षेत्रको एक सुरक्षा प्रशासनिक संयन्त्र हुनेरहेछ । यो संयन्त्र भित्र अभियन्ताहरु, न्यायका क्षेत्रमा काम गर्ने न्यायधिश या अधिवक्ता, शिक्षा मन्त्रालय अन्तरगर्त रहेको विशेष शिक्षा कार्यक्रमका गुरुवरहरु, गरिवीका कारण बच्चाहरुलाई नियन्त्रण गर्न असमर्थ रेहका परिवारलाई आर्थिक मद्दत दिने इकाइका सदस्यहरु लगायतका विशेष व्यक्तिहरु बसेका घरहरु व्यवस्थापन गर्ने समाजिक भवन व्यवस्थापन कार्यालयका कर्मचारीहरु सलग्न हुनेरहेछन् । यस्तो लामो र जटील संरचनाको उदेश्य बालबालिकाहरुलाई गुन्डागर्दीबाट जोगाउने, लागू औषधको कारोबार गर्ने, स्कुल छाडेर बिचमै बरालिएका ठिटाहरुलाई मूल धारमा ल्याउने र तिनलाई भविष्यमा यहि समाजमा इज्जतपूर्वक प्रतिस्थापन गर्ने, कानुनी शिक्षा दिने आदि रहेछ ।

प्रक्रेको केहि घन्टामै फेरी टोलमा देखिने यस्ता मुन्द्रेहरुले फ्रान्समा बिस्तारै समस्या निम्ताइरहेकोमा दुविधा छैन । कम्पनीले निर्माण गरेका घरका ढोकाहरु फोर्ने, भित्ताहरुमा फोहरी सन्देशहरु लेख्ने र चित्रहरु कोर्ने, गाउँ टोललाई थर्कमान बनाएर राख्ने, बिरोधमा बोल्नेहरुका गाडीहरु पोलिदिने गर्‍दा रहेछन् । यस्ताहरुका हकमा बरु नेपालमै राम्रोसँग नियन्त्रणमा लिइएको हो कि जस्तो अनुभव हुन्थ्यो मलाइ, ८ १० बर्ष पहिला ।

अहिले त मेले नेपाल छाडेको दुइ दशक हुन आँट्यो । मैले त्यहाँको प्रहरीको चुस्तता कस्तो छ जान्ने कुरा आएन । यताको आदर्शवादी समाजमा भने जघन्य अपराधका मामिलामा सलग्न बाहेक अरुलाई जेलमा राखिँदैन । मानिसलाई संझाई बुझाई गरी शिक्षा र अन्य मद्दत दिएर तिनलाई खराब नियतमा लाग्न बाट जोगाउन सकिन्छ भन्ने आदर्श भावना भेटिन्छ ।

म अहिले अर्को नगरपलिकामा छु । पहिलाको भन्दा बिलकुल फरक चरित्र बोकेको । धनी फ्रान्सेलीहरु बस्ने भनेर चिनिएको । म बसेको टोल फ्रान्सको सबै भन्दा राम्रो र उत्कृष्ट विश्वविद्यालय भएको क्षेत्र हो । यो विश्वविद्यालय संसारका उत्कृष्ट विश्वविद्यालको दर्जामा १३ नम्बरमा पर्छ । विश्वविद्यायलय आसपासमा पहिला होस्टलहरु त थिए । तर अहिले सामाजिक घरहरु बन्दैछन् । निर्माण क्रम सकिएको छैन । म भने हाम्रो कार्यालले नयाँ भवन बनाएपछि आएँ । म आउँदा यो टोलमा जताजतै निर्माणको काम मात्र थियो । म पहिलो ग्राहकका हिसाबले मेरो पहिलो चिनजान भयो । टोलबासीका रुपमा नगरपालिकाका कर्मचारीहरुसँग ।

आठ महिना पहिला मलाइ मेरो टोलमा के के कुराहरुको खाँचो छ, तपाइको कुरा सुन्न पर्यो, आउनुहोला भनेर नगर पालिकाको समाजिक सेवा क्षेत्र हेर्ने निकायले निमन्त्रणा गरेका थिए । टोल सुधारका लागि उ बेला मैले असभ्य बच्चाहरु नियन्त्रण गर्न शुरु देखिनै सयन्त्र बनाउनुपर्ने, विश्वविद्यालयमा पढ्न आउने बाहिरका विद्यार्थीहरुलाई भाषा र आवासको कठिनाइ भएकोले तिनलाई मद्दत गर्ने सयन्त्रबारे सोचिनुपर्ने, किनमेल गर्ने ठाउँको अभाव, सडक सूरक्षा खासगरी गति नियन्त्रण गर्ने ओट र ट्राफीक लाइटको अभाव, टोलका बच्चाहरुलाई खेल्ने ठाउँको अभाव, सडकमा जथाभावी फोहर फालिदिने समस्या, जनावरहरु र खासगरी कुकुरहरुको उपस्थिति र कुकुरहरुलाई दिसा गराउने ठाउँको अभावका बारे कुरा राखेकी थिएँ ।

कुरा राखेँ फर्किएँ । मलाइ यसरी भाग लिएकोमा कुनै नयाँ लागेन । स्थानिय बासिन्दाका हिसाबले मैले मेरो नजरले देखेका कुराहरु राखेर आएकी थिएँ । मैले जे भनेँ त्यसको जानकारी कार्यालयलाई गराएँ ।

नगरपालिकाले यसरी बोलाएर जानकारी मागेको मसँग मात्र नभै यो सात आठ महिनाको अबधिमा ५५ जना फरक फरक बिचार र क्षेत्रका मानिससँग बातचित गरेका रहेछन् । यो एक खालको सर्वेक्षण जस्तो रहेछ । कोही प्रहरी, कोही प्राध्यापक, कोही इन्जिनियर, कोही डाक्टर, कोही व्यवसायी, कोहि बृद्दा, कोही युवा, कोही अपांगता भएका, कोही घरेलु हिँसामा परेका महिला, कोही वालवालिका । क्षेत्रगत र पेशागत अनुभवहरु उनीहरुले संकलन गरेपछि उनीहरुले प्राथमिकता छुट्टाएछन् ।

यसरी प्राथमिकता छुट्टाएपछि नतिजा प्रकाशित गर्ने भन्दै फेरि उनीहरुले हामीहरुलाई बोलाए । म पुन : हाम्रो कार्यालयको प्रतिनिधित्व गर्दै कार्यक्रममा भाग लिन गएँ । अरु सहभागिहरुका अगाडि म विशेष मानिस त छँदै थिइन । किनभने त्यहाँ प्राध्यापक, समाजिक अभियन्ता, चिकित्सक, व्यपारी, नगरपालिकाका उच्च ओहोदामा काम गर्ने कर्मचारीलगायत यहिँका गोडा तिसेक शुद्द बासिन्दा थिए । जसले यो शहरको कण कण चिनेका थिए ।

म चाहिं यो शहरको सबैभन्दा कान्छो अनि बिदेशी मुलको बासिन्दा थिएँ । जो कागहरुको बिचमा एउटा बकुल्लो थिएँ । आज मजाले यो शहर चिन्ने मौका पाएँ भन्ने लागेको थियो, शुरुमा मलाइ । पाएँ पनि। तर संयोग यस्तो परेको थियो भने यो सात आठ महिनाको अवधिमा मैले यो शहर चिन्नका लागि बाध्यताबस राम्रै अध्ययन गर्नुपर्ने थियो । गरेकी पनि थिएँ । तर मलाइ थाह थिएन, यो ज्ञान मैले छलफलमा प्रयोग गर्नेछु ।

खासमा कुरा के रहेछ भने नगरपालिकाले यस्तो खालको वातचित चाहीं नगरबासीले आफ्नो नगरपालिकालाई कुन नजरले हेरेका छन् भनेर बुझ्न गर्दो रहेछ । नगरबासीका बिचार, सुजहव र अक्किलहरु संकलन गर्ने गर्दोरहेछ । मानव वौद्दिकतालाई संकलन गर्ने यो तरिका फ्रान्सको ठूला ठूला कार्यालमा पनि उत्तिकै प्रयोग हुन्छ । जसलाई यता ब्रेन स्टोर्मिँग भन्छन् । यसको उद्देश्य मानिसहरुको बढी भन्दा बढी बिचार, सुझाव संकलन गर्नु हो । सँस्थाहरुको उन्नत बिकासमा यस्ता बिचारहरु प्रयोग हुन्छन् ।

नेपालमा यस्तो सुझाव संकलन गर्ने र सँस्थाको हितमा प्रयोग गर्ने चलन छ कि छैन मलाइ थाह छैन । तर हामी कार्यालयहरुमा भने प्रयोग गर्छौँ । यसमा पढेलेखका या ठूला पदमा बस्नेको मात्र होइन सबैभन्दा साना तलका कर्मचारीहरुको पनि सुझाव लिइन्छ । किनभने साना कर्मचारीहरु भनेका समुदायको प्रतिनिधित्व गर्ने वर्ग हो । तर मैले नगरपालिकाको यस्तो खालको चलन देखेकी थिइन र उनीहरुले ब्रेन स्टोर्मिँगको अर्को रुप प्रयोग गरिरहेका छन् भन्ने मलाइ थाह थिएन । तर जब नतिजाकालागि बोलाए अनि पो म आफैं छक्क परेँ ।

हामीसँग बातचित गरेपछि उनीहरुले तीन किसिमको काम नगरपलिकाको प्रार्थमिकतामा पारेका रहेछन् ।

पहिलो प्रार्थमिकतामा सुबिधा सम्पन्न बृद्दाश्रम बनाउने रहेछ जसका लागि जग्गा र लगानीकर्ताको खोजी भैरहेको रहेछ । दोस्रो प्रार्थमिकतामा मेरो टोलमा देश बिदेशबाट अध्ययन गर्न आएका स्वदेशी तथा बिदेशी विद्यार्थिहरुका आवाश, काम र एक्लोपन घटाउने कुरालाई प्राथमिकता दिने रहेछ । विश्वाविद्यालयसँग समन्वय गर्ने, वेभसाइट निर्माण गर्ने र एक बैश्विक शहर अर्थात कम्मपोलिटेन शहर बनाउन र शहरको छवि राख्न विशेष काम गर्ने भन्ने रहेछ । यसकालागि सबैले सबैभन्दा शूरुमै वेभसाइट बनाउ भनेर सल्लाह दिए ।

तेस्रो प्रार्थिमिकतामा यहि नगरपालिकाको अर्को टोलको सुरक्षा सुधारका लागि पुन अध्ययन गर्ने र विशेष गरी सुरक्षा प्रबन्धलाई गतिशिल र चुस्त राख्न काम गर्ने रहेछ जुन मैले पुरानै नगरपालिकामा भोगेर आएकी थिएँ ।

समग्रमा आफ्नो अध्ययनको निष्कर्ष सुनाएपनि हलमा पुन उपस्थित मानिसहरुको बिचार सुन्ने काम भयो । पालै पालो सबैले आआफ्नो भनाइ राखे । मेरो टोलमा रहनुभएका एक चिकित्सकले कोभिडको समयमा बिदेशी विद्यार्थीहरु मानसिक चिन्ता (डिप्रेशन) मा परेका, एक्लोपनले सताइएका र यो चिन्ताको विषय सुनाउनुभयो ।

मेरो पालो आउँदा मैले पहिलाका कुराहरु केहि दोहराएँ । तर मैले मेरो टोलको निर्माण र विकास पर्यावरणीय विकासको अवधारणा अनुसार भैरहेको बताएँ । अनि सन् २०३० देखि यो शहर पेरिस वरपर विकास भैरहेको विशेष साइलकपथको मार्गसँग जोँडिदैँछ र तपाइहरुको शहर फ्रान्समा साइकल अभ्यासका लागि प्रख्यात छ भनि बताएँ ।

शहरबासि कतिलाई त यो साइकल लेन बन्दैछ भन्ने पनि थाह रहेनछ । कतिलाई आफ्नो शहर साइकल गुडाउने प्रतिस्पर्धाकालागि भाग लिनेहरुको आकर्षण स्थल हो भन्ने पनि थाह रहनेछ । नगरपलिकाले संभवत बच्चाहरुकालागि साइकल क्लबहरु निर्माण गर्न सक्छ र बच्चाहरुलाई साइकल खेलका लागि प्रोत्साहन गर्न सक्छ भन्ने सुझाब ब्यक्त गरेँ ।

उनीहरुले रुचिपुर्वक मेरा कुरा सुनेर नोट गरे । वालवालिकाहरुलाई निशुल्क साइकल रेस सँग जोड्न सकियो भने टोले र मुन्द्रे गुन्डा बन्नबाट जोगाउन सकिन्छ कि भन्ने मेरो बिचार हो । हुन पनि फ्रान्समा वर्षेनी साइकल रेस प्रतियोगिता हुन्छ जुन नागरिक स्तरबाट शुरुभएको खेल हो । अहिले फ्रान्सका प्रख्यात खेल मध्ये एक बन्न पुगेको छ ।

मैले के बुझेँ भनें शहरलाई हरेक मानिसले आफ्नो तरिकाले बुझ्दो रहेछ । शहरमा बस्नेले आफ्नोपन भेटाउन यो भैदिए हुन्थ्यो भन्ने ठान्दोरहेछ । चाहे पुरानो मानिस होस, चाहे भर्खरको । नयाँ शहरप्रति मानिसको आफ्नै धारणा र माग हुँदोरहेछ । शहर आखिरमा कुनै पनि वर्ग विशेष या व्यक्तिको पेवा त हुनै सक्दोरहेनछ । यो सबैको साझा रहेछ ।

मैले यो भोगेको कुरा जुन छ स्थानिय चुनाबका नतिजाहरु हेर्दा शायद यहि कुरा नेपालका बिभिन्न शहरमा बसेका युवा पुस्ताले बुझिरहेको छ भन्ने मलाइ लागिरहेको छ ।

तपाइँको प्रतिक्रिया