बुधबार, असार १५, २०७९

विश्व सम्पदा सूचीमा सूचिकृत हुँदै तिलौराकोट

नरेश के.सी. / लुम्बिनी२०७९ जेठ ९ गते १२:०५

नरेश के.सी.

प्राचीन शाक्यहरूको राज्यको राजधानीको रुपमा रहको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नेगरी थालिएको तयारी अन्तिम चरणमा पुगेको छ।

नेपाल सरकार पुरातत्व विभागको विश्व सम्पदा संरक्षण शाखा र लुम्बिनी विकास कोषको संयुक्त पहलमा गत वर्षदेखि थालनी भएको तयारी २५६६ औ बुद्धजयन्ती मनाइरहँदा उल्लेखनीय प्रगतिमा पुगेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बताउनु भएको छ। भट्टराई भन्नुहुन्छ, ‘तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नेगरी वर्षौँदेखिको तयारीले अब करिब मूर्त रूप लिदैं छ। त्यसैको लागि हामी विज्ञहरूसँग चरणबद्ध छलफलमा जुटेका छौं।’

दस्ताबेज तयारी

यसैबीच तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने गरी विज्ञहरूबीच छलफल तथा अन्तरक्रिया भइरहेको छ। उक्त छलफलमा युनेस्कोका प्रतिनिधिहरू पनि सहभागी भएका छन्।

पुरातत्व विभाग, युनेस्को र लुम्बिनी विकास कोषको संयुक्त रुपमा आयोजना गरेको सेमिनारले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा छलफल र अन्तरक्रियाको निष्कर्ष अनुसार प्रक्रिया बढेको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले बताउनुभयो।

अष्ट्रेलियाका विज्ञ डङ्कन पार्सलले रणनीतिक दस्ताबेज सहित तिलौराकोटको डिजाइन गरि रहेको र अहिले दस्ताबेजको काम अन्तिम चरणमा पुगिरहेको बताउँदै लुम्बिनी विकास कोषका प्रशासन प्रमुख ज्ञानिन राईले तिलौराकोट छिट्टै विश्व सम्पदा सूचीमा सूचिकृत हुने विश्वास व्यक्त गर्नुभएको छ।

यसैबीच तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नेगरी लुम्बिनीमा दुईदिने सेमिनार पनि सम्पन्न भएको छ। सेमिनारमा विश्व सम्पदा क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको थियो। विभिन्न चरणमा सम्पन्न गोष्ठीमा विभिन्न व्यक्तिहरूले विभिन्न विषयमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए।

तिलौराकोट र विश्व सम्पदा

महामानव गौतमबुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्यहरूको राज्यको राजधानीको रुपमा रहको ठाउँ हो तिलौराकोट। कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा नै रहेको यो ठाउँ विश्वको सबैभन्दा ठूलो खुला सङ्ग्रहालयको रुपमा पनि चिनिन्छ।

बुद्धको दर्शन र ज्ञान मात्रै प्रसार भएको म्यानमार ( बर्मा ) को बगानालाई विश्वमा बौद्ध दर्शनका अध्येता तथा अनुसन्धानकर्ताले खुला सङ्ग्रहालयको रुपमा जसरी प्रचार गरिने गरेको छ त्यसरी नै तिलौराकोटको प्रचार मात्रै हुन सक्ने नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो उपलब्धि हासिल हुने देखिन्छ। तिलौराकोटको मुख्य क्षेत्र (कोर जोन) करिब १४० बिगाहा क्षेत्रफलको हुने बताउँदै स्थानीय वासिन्दा र स्थानीय सरकारले सहयोग गरेमा छिट्टै तिलौराकोट विश्व सम्पदा सूचीमा सूचिकृत गराउन सफल हुने पुरातत्व विभागका अधिकारीहरूले बताएका छन्।

नेपाल सरकार पुरातत्व विभागको प्रमुख रामबहादुर कुवँरले विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने कार्य अगाडि बढेको बताउनुभएको छ।

स्थानीय बासिन्दा र स्थानीय सरकारको हरेक किसिमको सहभागिता सहितको संरक्षित स्मारक क्षेत्र घोषणा भएसँगै तिलौराकोट विश्व सम्पदा सूचीमा सूचिकृत कार्य अगाडि बढेको उहाँले बताउनुभयो।

पुरातत्व विभाग विश्व सम्पदा शाखाका प्रमुख कुवँरका अनुसार विश्वमा अहिले सम्म १ हजार १ सय २१ सम्पदाहरू विश्व सम्पदा सूचीमा सूचिकृत भएका छन्। सन् १९७२ मा नेपालले युनेस्कोको विश्व सम्पदा महासन्धिमा हस्ताक्षर गरेको थियो। त्यस यता काठमाडौँ उपत्यका र लुम्बिनी गरेर जम्मा २ स्थान मात्रै विश्व सम्पदा सूचीमा सूचिकृत छन्। काठमाडौँ उपत्यका भित्रको काठमाडौँ दरबार, भक्तपुर दरबार र ललितपुर दरबार , चागुंनारायण, पशुपति , बौद्ध , स्वयम्भु गरी ७ ठाउँलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरी काठमाडौं उपत्यकालाई विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो। यसैगरी बुद्ध जन्मस्थल लुम्बिनीलाई पनि सम्पदा सूचीमा सूचिकृत गरिएको छ।

तिलौराकोटलाई पनि संरक्षित स्मारक क्षेत्र घोषणा गरे पश्चात कुदान, गोटिहवा, निग्लिहवा, अरौराकोट, सगरहवा र सिसनियालाई पनि संरक्षित स्मारक क्षेत्र घोषणा गरी प्राचीन शाक्यहरूको राजधानी कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा राख्ने योजना पुरातत्व विभागले बनाएको छ। सन् १९९७ मा तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचिकृत गर्न पहल स्वरुप युनेस्कोमा पहलको सुरुवात गरिएको थियो। तर चौबीस वर्षपछि ठोस रुपमा कदम चालिएको छ।

सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा राजकीय जीवन त्यागेर ज्ञानको लागि कपिलवस्तु दरबार त्याग गर्नुभएको थियो। पाँचौ शताब्दीमा प्रसिद्ध चिनिँया यात्री फासियान र सातौँ शताब्दीमा हवेयन साङ्गले तिलौराकोटको भ्रमण गरेका थिए भने सन् १८९९ मा पुरातत्त्वविद् पूर्णचन्द्र मुखर्जीले उत्खनन गरे पश्चात यसको महत्व अझै बढेर गएको हो। तिलौराकोटमा प्रसिद्ध पुरातत्त्वविद् देवला मित्र, तारानन्द मिश्र, बालकृष्ण रिजाल र रबिन कनिङघमले पनि उत्खनन गर्नुभएको छ।

लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले बेलायतको दुराम विश्वविद्यालयको पुरातत्व विभागको पूर्व प्रमुख रबिन कनिङघमको नेतृत्वमा पुरातत्वविद्हरूको टोलीले तिलौराकोटमा अहिले पनि उत्खनन गरिरहेको बताउनुभयो। उहाँका अनुसार सन् २०१३ देखि अहिले सम्म उत्खनन गरिरहेका छन्। गत मार्चदेखि पुनः उत्खननको कार्य हुने गरी काम गरेको उक्त टोलीको नेता पुरातत्त्वविद् कनिङघमले पुरातात्विक दृष्टिकोणले तिलौराकोट विश्वकै महत्वपूर्ण स्थल भएको बताउनुभएको जानकारी हिमाल उप्रेतीले दिनुभयो। उत्खननबाट तिलौराकोटमा सङ्ग्रहालय, पश्चिमी र पूर्वी द्वार, केन्द्रिय संरचना परिसर, मध्यभागको पोखरी, किल्ला, जोडि स्तूप, विहार र प्राचीन औद्योगिक क्षेत्र र प्राचीन सहरको प्रमाणहरू भेटिएको छ।

(श्रोत: आइएनएस-स्वतन्त्र समाचार)

तपाइँको प्रतिक्रिया

फेसबुक