आइतबार, असार १९, २०७९

को हुन् नेवार ?

आदित्यमान श्रेष्ठ२०७९ जेठ १३ गते ६:१४

आदित्यमान श्रेष्ठ

राजनीतिक निषेध गर्ने जुन परम्परा यहाँ कायम भएको छ त्यो नेपालको इतिहासले सिकाएको होइन । त्यसकारण इतिहासबाट केही सिक्ने हो भने यसमा पनि विचार पुर्‍याउनु पर्दछ।

बालेन शाहले एउटा अन्तर्वार्तामा नेवारहरूको बारेमा कुरा गरेका छन्। आखिर उनले भने जस्तै नेवारहरू कुनै जातका होइनन्। नेवार भनेको नेवारी भाषाबाट छुट्टिएको हो। जो–जसले नेवारी बोल्न जाने उही नेवार भएका हुन्। उनले नेवारी गीत पनि गाएर देखाए। उनलाई सोधिएको थियो– तराईको एउटा उमेदवारले काठमाडौ शहरको निर्वाचन कसरी जित्न सक्छ ? निर्वाचनमा जित र हार त हुने नै भयो । तर जुन किसिमले काठमाडौंको नेवारी समाज बनेको छ त्यसको राम्रो समझदारी उनमा भएको पाइयो।

भाषा विज्ञ केपी मल्लका अनुसार नेवारी भाषा १६ वटा भाषाहरूको मिश्रण हो। यो भाषा काठमाडौमा विकास भएको हो। यसले उपत्यकामा बाहिरबाट आएका सबै आप्रवासीहरूलाई एकताबद्ध गरेर राख्यो। नेवारी भाषासित नेवारहरूको सभ्यता र संस्कृति पनि विशेषरूपले विकास हुँदै गरेको हो। यसमा जो जो मिसिन आए ती सबैलाई नेवार भनिन थालिएको हो। आजको जस्तो निषेध गर्ने चलन पहिले थिएन।

इतिहास शिरोमणि बाबुराम आचार्यले लेखेका छन्– लिच्छविहरू दक्षिणतिरबाट आउँदा त्यहाँ रहेका वैश्य, धोवी, तेली, चमार तथा डूमहरू पनि आएका थिए। यी सबै जातिहरू यहाँ आएर किराँत वर्गका नेवारहरूको समाजमा घुलमिल भएर रहेका देखिन्छन्।

यस प्रकार नेपालमा वर्णाश्रम धर्मको प्रवेश सर्वप्रथम भएको अनुमान हुन्छ। यसभन्दा अगाडि यहाँ जाति व्यवस्था, वर्णाश्रम तथा आश्रम व्यवस्था प्रचलनमा रहेको कुनै पनि सङ्केत प्राप्त हुन सकिरहेका छैन। यदि यस्तो हो भने नेवारी समाजमा बाहिरी प्रभाव धेरै परेको देखिन्छ। यस्तो समाजमा एउटा तराईवासी आएर नेवारहरूको बाहुल्य भएको ठाउँमा उमेदवार हुन्छ भने के उसलाई स्वागत नगर्ने ?

रूप रङ तथा आफ्ना केही सांस्कृतिक विशेषताहरूले गर्दा आर्य भए पनि बोलचाल तथा आचार व्यवहारका दृष्टिबाट भने किराँत नै बनेर नेपालमा आइपुगेका लिच्छवि तथा विदेहहरू यथार्थमा लिच्छवि नेवारहरूका रूपमा परिणत हुन पुगेको पाइन्छ। यो अमेरिकी समाज जस्तै सम्मिश्रित समाज विकसित भएको प्रमाण हो। नेपालमा आइपुगेका लिच्छवि तथा विदेहहरूले यहाँका किराँत वर्गका नेवारहरूको अस्पष्ट बोली र यिनीहरूले स्वीकार गरेका किराँत नेवारहरूका रीतिरिवाज तथा खानपानहरू नै यसका प्रमुख कारणहरू रहेका देखिन्छन्।

लिच्छवि तथा विदेहहरूले यतिबेला स्वीकार गरेको तात्कालीक किराँत बोलीको विकसित तथा परिष्कृत वर्तमान स्वरूप नै अहिलेको नेवारी भाषा वा नेपाल भाषा हो भन्नेमा कुनै सन्देह रहेको छैन। यस्तो फराकिलो मन लिएर बसेको नेवारी समाजमा अरु जातजातिका मानिसहरू मिसिन आउन सक्ने भएकोले बालेन साह जस्ता मानिस पनि उपत्यकामा आएर स्थानीय निकायको एउटा उमेदवार बन्नुलाई नेपालको इतिहासले पनि निको मानेको देखिन्छ।

हुन पनि इतिहासले काठमाडौं उपत्यकामा कसरी नेवारी समाजको विकास भयो भन्ने कुरा प्रष्ट्याएको छ। त्यसको वर्णन अनुसार बाहिरबाट मानिसहरू यस उपत्यकामा आए र यहीं बसोबास गर्न थाले। यहाँ नेवारी बोलिन्थ्यो र नयाँ आप्रवासीहरू पनि यही भाषा बोल्न थाले। कालान्तरमा उनीहरूले यहाँकै सभ्यता र संस्कृति पनि सिके। उनीहरू पनि नेवार कहलिए।

यसको राम्रो उदाहरण इतिहास शिरोमणी बाबुराम आचार्यले दिएका छन्। उनले भनेका छन्– ‘बहुसंख्यक स्थानीय निवासी किराँत नेवारहरूकै भाषा, भेषभूषा, र रहनसहनबाट प्रभावित भई यिनीहरूले यहाँकै सांस्कृतिक परम्परालाई अनुशरण गर्न विवश हुनुपर्दा किराँत—नेवारहरूले अपनाउँदै आएको यहाँको प्राचीन मूल संस्कृति र लिच्छवि, विदेह तथा अन्य नवागन्तुक आर्यावर्तीय आर्यहरूले अपनाउँदै आएको आर्य संस्कृतिको मेलबाट लिच्छविकालको आरम्भसम्ममा यहाँ एक विशिष्ट किसिमको नेपाली संस्कृतिको जग बसिसकेको पाइन्छ।’

उनको विचारमा बोलचालको (लौकिक) नेवारी भाषामा साहित्य सिर्जना नगरेर पहिलो मल्लकालका नेपाली विद्वान्हरूले पनि गम्भीर सांस्कृतिक भूल गरेका थिए। यदि यस समयका विद्वान् साहित्यकारहरूले बोलचालको नेवारी भाषालाई नै साहित्यको भाषा बनाउन सकेका भए किराँत वर्गका अन्य जातिहरूमा पनि यस भाषाको प्रचार र प्रसार भई साहित्य पनि राष्ट्रिय हुन्थ्यो। नेवारी भाषा पनि नेपालको राष्ट्रिय संस्कृतिको महत्वपूर्ण अङ्ग बन्न सक्तथ्यो। यस्तो हुन सकेको भए नेपाली राष्ट्रियताको निर्माण त्यही समयमा हुने थियो। नेपाल आजको भन्दा अझै सक्षम र सबल बन्न सक्तथ्यो।

उनले भनेका छन्– प्राचीनतम नेपालको क्षेत्र भौगोलिकरूपमा त्यति विशाल थिएन। भारतबाट सभ्यताको प्रकाश प्राप्त नभएसम्म यहाँका मूलनिवासी नेपार वा नेवारहरू पशुपालक अवस्थामै रहेका देखिन्छन्। यिनको मुख्य पेशा भेडा पालन थियो। यिनले भैंसी पनि पाल्न थालेका हुँदा हुन्। कृषि कार्यप्रति भने यिनीहरूले ध्यान दिएको देखिंदैन।

उनको भनाइ अनुसार किराँत नेवारहरूमा दुई विशिष्ट मौलिक गुणहरू रहेको देखिन्छ। ती हुन्– सामाजिक सद्भाव र आफ्नो सभ्यता एवं संस्किृतिप्रतिको अगाध स्नेह। यिनीहरूले आर्यावर्तीय आर्यहरूबाटै ज्ञान र विज्ञान सिके र उनीहरूकै सहयोगबाट कृषि, वाणिज्य र उद्योगधन्दाहरू विकास गरी आफ्नो देशलाई सभ्य र सम्पन्न बनाए।

किराँत नेवारहरूका अन्य दुई सामाजिक नियमहरू पनि विशेष उल्लेख्य पाइन्छन्। ती हुन्– विधवा विवाह र विवाह सम्बन्ध विच्छेद। आर्यावर्तीय आर्यहरूको दृष्टिमा यी दुबै नियमहरू हेय र अग्राह्य थिए। मानवीय दृष्टिकोण अनुसार भने उक्त दुबै नियमहरू व्यवहारिक र उपयोगी पनि देखिएकाले पछि आएका लिच्छवि, विदेह, शाक्य आदि सबै भारतीय आर्यहरूले उक्त दुबै नियमहरूलाई स्वीकार गरेको पाइन्छ।

राजनीतिक निषेध गर्ने जुन परम्परा यहाँ कायम भएको छ त्यो नेपालको इतिहासले सिकाएको होइन। त्यसकारण इतिहासबाट केही सिक्ने हो भने यसमा पनि विचार पुर्‍याउनु पर्दछ।

नवागन्तुक लिच्छवि र विदेहहरूले जुन समयमा वर्तमान नेपालमा प्रवेश शुरु गरे तिनताकसम्ममा यहाँ किराँत वर्गका नेपार वा नेवारहरू निकै सभ्य तथा सुसंस्कृत पनि बनिसकेका थिए। शिल्प तथा व्यवसायहरूको क्षेत्रमा पनि यिनीहरूले निकै प्रगति गरिसकेका थिए। यति मात्र होइन, यिनीहरूले आफ्नो सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राज्यको स्थापना गराएको पनि शताब्दियौं बितिसकेको थियो। पछि शान्तिवादी बौद्धधर्मको प्रभावले गर्दा यिनीहरूमा रहेको सामरिक शक्तिमा भने निकै ह्रास आयो।

यसैले नेपाल राज्यको राज्य अधिकार सम्हालेर बसिरहेका किराँत वर्गका नेवारहरूलाई राज्य सत्ताबाट हटाउन लिच्छविहरूलाई खास कठिनाइ भएको लक्षण देखिंदैन। राजसत्तामा रहेका यहाँका किराँत वर्गले नेवारहरू माथि क्रमश: राजनैतिक प्रभाव जमाउँदै ल्याएर अन्त्यमा किराँतहरूको राज्य व्यवस्था नै उन्मूलन गरी लिच्छविहरूले यहाँ सजिलैसँग आफ्नो राज्य व्यवस्था स्थापना गराइदिएको पाइन्छ।

यसरी सार्वभौम सम्पन्न स्वतन्त्र लिच्छवि राज्यको स्थापना हुँदा नेपालमा किराँत वर्गका नेवारहरू तथा लिच्छवि वर्गका नेवारहरूका बीचमा खास शक्ति संघर्ष भएको पनि देखिंदैन। राज्यसत्तामा भएका अन्तिम किराँत राजाका प्रशासनिक कमजोरीहरूबाट लाभ उठाइ उनलाई पदच्युत गराएर नेपाल राज्यको राजसत्तालाई सजिलैसँग आफ्नो हातमा पार्न लिच्छविहरू सफल भएको अनुमान हुन्छ।

आफ्नो राजनैतिक अधिकारहरू खोसेर लिएपछि पनि किराँत वर्गका नेवारहरूको लिच्छवि वर्गका नेवारहरूमाथि प्रतिशोधात्मक भावना रहेको कुनै सङ्केत प्राप्त भएको छैन। यस्तै लिच्छवि वर्गका नेवारहरूले पनि किराँत वर्गका नेवारहरूलाई अपमान वा तिरस्कार गरेको कुनै लक्षणहरू देखिएका छैनन्।

किराँत वर्गका नेवारहरू तथा लिच्छवि वर्गका नेवारहरूका बीचमा यसरी सामाजिक हेलमेल आरम्भ हुँदा आर्य एवं आर्यतर दुई जाति तथा दुई थरी संस्कृतिहरूको मेलबाट नेपालमा एउटा नयाँ किसिमको विशिष्ट जाति तथा विशिष्ट संस्कृति पनि निर्माण हुन आइपुगेको थियो। यसै जातिको विकसित वर्तमान स्वरूप नै अहिलेको नेवार जाति र यसै संस्कृतिको परिष्कृत वर्तमान स्वरूप नै वर्तमान नेवारी संस्कृति भएकोमा पनि कुनै सन्देह रहेको छैन।

(श्रोत: आइएनएस-स्वतन्त्र समाचार)

तपाइँको प्रतिक्रिया

फेसबुक