आइतबार, मंसिर १८, २०७९

देश बनाउनु छ भने कांग्रेस र कम्युनिष्ट सकिन जरुरी

नेपालप्लस संवाददाता २०७९ जेठ १० गते ४:३३

स्थानिय निर्वाचन परिणाम लगभग आइसकेको छ । निर्वाचनमा साना र नयाँँ पार्टीहरुलाई ठुला पार्टीहरुका तालमेल र गठवन्धनले निषेध जस्तै गरिदिएका थिए । देशका केही ठुला पार्टीहरुले मतदातालाई घेराउ गरेका थिए । निर्वाचन दलहरुका विचमा नभएर एमाले र गठवन्धनका बिचमा थियो । कार्यक्रम होइन कि इगोको प्रतिस्पर्धा लगातार चलिरह्यो । आफु सत्तामा पुग्ने र राज्यका निकायहरु माथि कब्जा गर्ने सोचले उत्पन्न भएको नितान्त नव औपनिवेशिक जाँघरले तयार भएको गठवन्धन निषेधको राजनीतिमा नयाँँ आयाम थियो । यसले लोकतन्त्रमा बहुदलिय राजनीतिलाई जिर्ण बनाउँदै गयो । किनभने यो चुनावले बहुदलिय विचारलाई खण्डित मात्र गरेन, बहुदलिय ब्यवस्थालाई पूर्ण रुपमा विसर्जन गरेजस्तो भान भएको छ ।

नयाँँ योजना र कार्यक्रमका साथमा आएका केही साना र नयाँँ पार्टीहरुले यो चुनावमा टाउको उठाउन समेत पाएनन । तर पनि विभिन्न ठाउँमा केही दर्जन स्वतन्त्र उम्मेद्वारहरुले चुनाव जिते । ठूला पार्टीहरुले लगाएको खतरानाक सिण्डिकेटका विरुद्दमा स्वतन्त्रहरुको विजय र उनिहरुले पाएको मतले केही आशा जरुर देखाएको छ । तर जो जसले स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाव जिते उनिहरुलाई पनि आफ्नो कार्यकाल सुखद रुपमा सम्पादन गर्न कठिन हुने छ ।

अहिलेको स्थानिय निर्वाचनले देखाएको महत्वपूर्ण कुरा के हो भने दलिय सिण्डिकेटलाई मतदाताले केही हदसम्म वहिस्कार गरे । काठमाडौं र धरानका मतदाताले देखाएको जाँघरले निकै पछीसम्म प्रभाव पार्ने छ । यहाँँका उम्मेद्वारहरुले पाएको मतले राजनीतिक दलका नेताहरुले देखाएको गैर राजनीतिक चरित्र र शासन गरिरहन चाहने दरवारीया सोच प्रति गतिलो प्रहार गरेको छ । दलहरुको चरित्र सुध्रिएन भने आगामी निर्वाचनमा स्वतन्त्रहरुको बडेमानको समुह संसदमा पस्ने छ ।

यसलाई यसरी भन्दा अझ प्रभावकारी हुन सक्छ- यदी राजनीतिक दलको मुख्य तहमा बसेका नेताहरु देश र जनता प्रती इमान्दार भएनन भने केही वर्ष भित्रैमा स्वतन्त्र उम्मेद्बारी दिएर चुनाव जितेको कुनै ब्यक्ति प्रधानमन्त्री बन्ने छ । यसको मतलव केही समयको अन्तरालमा बहुदलिय प्रणाली पूर्ण रुपमा समाप्त हुनेछ । अथवा अहिलेका कांग्रेस, कम्युनिष्टहरु केही सांसद सदस्यमा खुम्चिने छन । यसले पक्कै पनि लोकतान्त्रिक प्रणालीलाइ राम्रो गर्दैन । तर यसले देशलाई राम्रो गर्छ कि गर्दैन भन्ने अहिलेको मुल प्रश्न हो । र, यसको जवाफ अब बन्दै गरेका काठमाडौं र धरानका मेयरहरुले दिनेछन ।

यदि स्वतन्त्रबाट निर्वाचितहरु दलका उम्मेद्वार भन्दा पृथक हुन सके भने या त दलहरुले आफुलाई सुधार्ने छन या मसिनो गरी खुम्चिने छन । तर स्वतन्त्रहरुको कार्यशैली पनि कांग्रेस र कम्युनिष्टहरुको भन्दा फरक भएन भने यो देश उँभो लाग्न अरु दशकौं पर्खिनुपर्ने छ । त्यसैले, यो देश थोरै नै सहि स्वतन्त्रको हातमा छ । जनताले अब कसलाई पच्छ्याउने भन्ने कुरा केही महिना भित्रैमा उनिहरुले भन्नुपर्ने छ । स्वतन्त्र निर्वाचन जितेका ब्यक्तिहरुले भर्खरै बुझ्नुपर्ने र एउटा ताज्जुव लाग्ने कुरा के हो भने २०४८ सालको संसदिय निर्वाचन पछी लगातार रुपमा जनताले या त कांग्रेसलाई आफ्नो मत हालेका छन या एमालेलाई । २०६३ पछी माओवादी थपियो । त्यसलाई पनि मत हाले । देशमा पालै पालो यिनै तीन पार्टीहरुले शासन गरेका छन, अहिलेको मिती सम्म । खोइ त देशमा के भयो ?

हामी अझैपनि आफ्नो माथिंगल खियाउँछौ- संचार माध्यममा छरपष्ट हुने भ्रष्टाचारका समाचारहरुमा साँच्चिकै सत्यता छ ? यदि सत्यता छैन भने वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आराजु राणाले गत संसदिय निर्वाचनमा २६ करोड रुपैयाँ कहाँबाट ल्याएर खर्च गरिन ? शशांक कोइरालाले चुनाव लड्दा ६ करोड खर्च गरेको घोषणा नै गरे । त्यो पैसा कहाँबाट आयो ? ईश्वर पोख्रेलको घरको पानी ट्यांकिमा पैसाले भरिएको झोला कसले लुकाएर गयो ? केपी ओलीले चुनावका लागि करोडौं करोड रकम कहाँबाट ल्याएर कार्यकर्तालाई उपलब्ध गराए ? पुष्पकमल दाहालको शान शौकत वाला जिन्दगी बाँच्ने पैसा कसले दिएको छ ? अनी सरकारी जग्गा विना टेन्डर किन ब्यापारीलाई दिइन्छ ? धुमधामसँग सडकमा गरिने कालो पत्र कसरी महिना दिन नवित्दै भत्किएर खोलो बन्छ ? यि सब हामीले देखेका र भोगेका भ्रष्टाचार हुन । कसले बोलेको छ यि सबैको बारेमा ?

तपाईंहरुले एक्कै छिन सोच्नुस- यो ३० वर्षमा देशमा चलेका दर्जनौं भ्रष्टाचारका काण्ड छन । कुनै पार्टीले भ्रष्टचारीलाई कारवाहिको माग गर्दै धर्ना बसेको छ ? त्यस्तो अहिले सम्म थाहा छैन । बरु माधव नेपाल र पुष्पकमल दाहालले एक वर्ष अघि मध्ये सडकमा सोफा राखेर आफूहरुलाई सत्तामा पुर्‍याउन माग गर्दै धर्ना बसे । भ्रष्टाचार र वेथितीका विरुद्दमा बोलेनन् । किनभने भ्रष्टाचारका हरेक घोटालामा सबैको मुख उत्तिकै गुलियो भएको छ । तै पनि जनताले पटक पटक, हरेक पटक उनिहरुलाई नै भोट दिन्छन । ३० वर्ष सम्म यिनै पार्टीहरुलाई भोट दिइरहनु कस्तो मुर्खता होला ? तै पनि दिन्छन, किन ?

किनभने जनता सँग विकल्प छैन । यिनै पार्टीहरु कहिले दुई भएर त कहिले तीन भएर मतदातालाई घेराउ गरेका छन । खासमा मतदाताले उम्किनै पाएनन । कस्तो भने, खाए खाउ, नखाए घिचको अवस्थामा जनता परेका थिए ।

यो स्थानिय चुनावले अवस्था अली फरक देखिने संकेत गरेको छ । केही अरु स्वतन्त्र, कस्ता स्वतन्त्र भने कांग्रेस वा एमालेले टिकट नदिएर स्वतन्त्र बनेको नभै साँच्चिकै स्वतन्त्र । त्यस्ता ब्यक्तिहरु स्थानिय सरकारमा उभिन पाउने हो भने सपना देख्न सकिने गरी आकाश खुल्ने थियो । भर्खरै धरान उपमहानगर पालिकामा विजयी भएका स्वतन्त्र उम्मेद्वार हर्कराज साम्पाङले कार्यभार सम्हाल्नु पूर्वनै घोषणा गरे- “पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ भने मलाई डाइरेक्ट फोन गर्नु होला ! जनताले खोजेको यही हो । जाबो सानो कुरा ।”

यदी उनले अहिले भनेका यिनै सामान्य कुरालाई पाँच वर्ष निरन्तरता दिए भने कुनै पनि सरकारले धरान बनाउन जानु पर्दैन । त्यो शहर त्यहाँका जनताले आफैं बनाउँछन । काठमाडौंका हुँदै गरेका मेयरले पनि भनुन- राजाधानीमा कतै फोहर थुपारिएको, धुलो उडेको र ट्राफिक जाम परेको देख्नु भयो भने मलाई फोन गर्नु होला । यति भयो भने ठूला दलहरुको सिण्डिकेट तोडिन्छ । कांग्रेस र कम्युनिष्टको आयु सकिंदै जान्छ । यदि देश बनाउनु छ भने कांग्रेस र कम्युनिष्ट सकिन जरुरी छ ।

तपाइँको प्रतिक्रिया