आइतबार, असोज ९, २०७९

‘कांग्रेस कार्यकर्तामा राम्रो स्कुलिङनै गर्न सकेनौं’ मुख्यमन्त्री, गण्डकी प्रदेश

नेपालप्लस संवाददाता / पोखरा२०७९ जेठ १५ गते १६:१२

कृष्णचन्द्र नेपाली, गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य । गत बुधवार हामी पोखरास्थित उनको सरकारी निवासमा पुग्दा भेटघाट गर्ने मान्छेहरुको घुइँचो थियो । भर्खरै सकिएको स्थानिय निर्वाचनका धेरै परिणामहरु आइसकेका थिए । विजयी जनप्रतिनिधीहरु आफ्ना पालिका र वार्डका समस्या तथा नयाँँ योजना लिएर मुख्यमन्त्रीलाई भेट्न आएको सजिलै आँकलन गर्न सकिन्थ्यो । किनभने सबैका हातमा फाइलहरु थिए र आफ्ना वडा र पालिकाका समस्या मुख्यमन्त्रीका पीएलाई टिपाइरहेका थिए । पीए होइन नि ! उहाँ त मुख्यमन्त्री ज्युको छोरी हो- एक जना सुरक्षाकर्मीले हामीलाई भने ।

निकै फरासिली रैछन छोरी रन्जना पोख्रेल । सकभर सबैसँग सम्बाद गरिरहेकी उनलाई हामीले सोध्यौं- मुख्यमन्त्री खोइ नि ?

“उहाँ एउटा गोप्य मिटिङमा हुनुहुन्छ । एक्कैछिन बस्नु न है ?” उनले भनिन ।

नव निर्वाचित जनप्रतिनिधीहरुले आफ्ना योजनाका फाइलहरु लिएर यता र उता घुमिरहेका छन । कुनै योजनामा बजेट पार्न सके उनिहरुको पनि गाउँमा अली सान हुँदो हो । त्यसैका लागि उनिहरुको जोडजुलुम छ । असार १ गते हुने प्रदेशको बजेट भाषणमा आफ्ना योजना पार्नु पर्ने छ कतिलाई । तिनै योजनाका आधारमा धेरैले आफ्नो भविष्य बुनेका छन ।

‘विहान देखि धेरै मान्छेहरु आएर फर्किसक्नु भयो’ मुख्यमन्त्रीका कुनै सहयोगीले भनेको सुनियो । हाम्रो अनुमानमा बुधवारको बिहान मात्रै कम्तिमा चार दर्जन जनप्रतिनिधीले मुख्यमन्त्रीलाई भेटेर आफ्ना समस्या र योजना टिपाए ।

‘यतिका मान्छेले दिनदिनै ल्याउने यति धेरै योजनाहरु के साँच्चै पुरा हुन्छन होला ?’

मुख्यमन्त्रीसँग खासमा हाम्रो कुनै पूर्व निर्धारित कार्यक्रम थिएन, न त अन्तर्वार्ता गर्ने कुनै योजना नै । हामीले मुख्यमन्त्री कि छोरी रन्जना पोख्रेलसँग कुरा गर्यौ ।

‘के विषयमा अन्तर्वार्ता गर्ने ?’ उनले सोधिन ।

‘धेरै छन नि विषय त’ हामीले भन्यौं ।

उनले धेरै आनाकानी गरिनन । एक्कैछिनमा मुख्यमन्त्री नेपाली हलमा पसे । फेरी जनप्रतिनिधी सँग छलफल शुरु भयो सबैका समस्या सुने । योजना कापीमा टिपे । हामीले खुसुक्क उनकै कानमा भन्यौं “मुख्यमन्त्री ज्यू हामीलाई अन्तर्वार्ताका लागि अलिकती समय दिनु पर्‍यो ।”

उनले “हुन्छ” भने । हाम्रो पहिलो प्रश्न त्यहि थियो-जनप्रतिनिधिले ल्याएका समस्या र योजना ।

मुख्यमन्त्री ज्यो जनप्रतिनिधीहरुले यतिधेरै योजना र समस्या लिएर आएका छन । तपाईंले नोट पनि गर्नु भएको छ ! के यि सबै योजना र समस्या समाधान हुन्छन ?

मुलुक संघियतामा गइसकेपछी स्वभावत: प्रदेश सरकारहरु जनतासँग नजिक हुन्छन । भएका छन । प्रदेश सरकारसँग मान्छेहरुको सजिलोसँग पहुँच भएको छ र सजिलैसँग आफ्ना समस्याहरु समाधान हुन्छन भन्ने जनताले सोचेका हुन्छ । उनिहरुको सोच गलत पनि होइन । मेरो नेतृत्वमा यो सरकार गठन भैसकेपछि गत वर्ष हामीले हतारमा एउटा बजेट ल्यायौं । त्यो पुर्ववर्ती सरकारले ल्याएको निरन्तरता जस्तो थियो । हामीले प्रस्तुत गर्‍यौं, सकियो । तर अब आउने बजेट त यो सरकारले ल्याउँदै छ । त्यसैले यो सरकारले ल्याउने बजेटमा हाम्रा मागहरु पुरा हुनुपर्छ भनेर सबैको अपेक्षा छ । त्यहि उद्देश्यका साथ साथीहरु यहाँँ आउनु भएको हो । यसलाई सामान्य रुपमा लिनु पर्दछ ।

के हुन्छ ? पुरा हुन्छन सबै माग ?

यस्ता खालका मागहरु दुनियाँका विकशित मुलुकहरुमा पनि पुरा हुँदैनन होला । उहाँहरुको काम भनेको आफ्ना समस्याहरुलाई सरकारसँग राख्ने हो । सरकारको कर्तव्य भनेको क्षमताले भ्याएसम्म प्रथमिकताको आधारमा बिकास निर्माणका कामहरुलाई सांवोधन गरेर अगाडि बढ्ने हो । मुख्य कुरा हामीले वा सरकारहरुले प्रथामिकतालाइ बिचमा राखेर तालमेल मिलाउनु पर्दछ । एउटा वडाबाट करोडौंका योजना आएका छन । सबै पुरा गर्न त सम्भव नै छैन । नयाँ जनप्रतिनिधी आउनु भएको छ । केही काम गरौं भन्ने उत्साह छ, धेरै अपेक्षा छन । यो स्वभाविक हो । तर हामी त्यो रुपमा छैनौं । यो भित्री वाध्यता हो । तर पनि हाम्रो क्षमताले भ्याए सम्म सम्बोधन गर्छौं ।

तपाईंले अबको बजेटमा के कुरालाई प्राथमिकतामा राखेर काम गर्दै हुनुहुन्छ ?

भौतिक पुर्वाधार निर्माण हाम्रो प्राथामिकता हो । जबसम्म सडकको पहुँच गाउँसम्म पुग्दैन अरु कुनै पनि कुराहरु अगाडि बढाउन सकिंदैन । अहिले हामीलाई के लागि रहेको छ भन्दा बिचमा कोभिडका कारण हाम्रो अर्थतन्त्र प्रभावित भयो । त्यसका लागि ब्यवशाय जीवन रक्षा कोष भनेर एक अर्व रुपैयाँ कोष हिजो पनि राखेका थियौं । त्यसको लक्ष्य के थियो भने महामारीबाट प्रभावित जुन उद्योग धन्दा छन उनिहरुलाई हामीले विना ब्याज पैसा उपलब्ध गराउने ब्यवस्था गरेका थियौं । तर मैले स्विकार्नु पर्दछ, त्यो त्यति प्रभावकारी हुन सकेन । कोरोनाले पारेको त्यो प्रभावलाई कसरी न्युन गर्न सकिन्छ भनेर र अर्थतन्त्रलाई जोगाउनका लागि हामीले कृषि र पर्यटनलाई पनि उत्तिकै महत्वका साथ राख्छौं ।

कृषिको कुरा गर्नु भएको छ यहाँँले । नेपाली उत्पादनले बजार पाउँदैन र बारीमै कुहिएको छ । अनी सरकार प्राय: उत्पादन विदेशबाट मगाउँछ । स्वदेशी उत्पादनलाई प्रोत्साहन र विदेशी सामान न्युनिकरणका लागि ठ्याक्कै के कार्यक्रमा छन ?

अहिले हाम्रो सोचाइ के हो भने उत्पादनमा आधारित अनुदान दिन सकियो भने किसानलाई बढी फाईदा हुन्छ कि भन्ने छ । अब हामी यो बाटोमा जाँदैछौं । यो भन्दा पहिलेको मोडालिटी कस्तो भयो भने पैसा लिने तर परिणाम नआउने ।

मैले के सोध्न खोजेको हो भने उत्पादन सुरक्षाका लागि सरकारले के गर्छ ?

त्यसका लागि हामीले किसानले जती उत्पादन गर्छन् त्यो उत्पादनको बजारको ब्यवस्था र ब्यवस्थापन दुबै गर्छौं । यो मोडालिटी अली ब्यापक, अस्पष्ठ (भेग) जस्तो सुनिन्छ । तर पनि हामीले यस बारेमा काम शुरु गर्दै छौं । धेरै विकशित राष्ट्रहरुले यही गर्छन् । हामीले पनि गर्नु पर्छ । यसो नगर्ने हो भने कृषक वर्ग मारमा पर्छ र हामी विदेशी उत्पादनमैं निर्भर रहनु पर्ने वाध्यता झन बढ्छ ।

थोरै फरक प्रसंग, नवलपुरबाट तपाईंले प्रतिनिधित्व गर्नु हुन्छ । जिल्लामा तपाईं, शशांक कोइराला लगायत एक से एक नेता छन । तर स्थानिय चुनावको परिणाम दयनिय देखियो । कसरी बिग्रियो कांग्रेसको संगठन ?

म आफैं केन्द्रिय सदस्य छु । मेरै जिल्लाबाट नतृत्व गर्ने पूर्व महामन्त्री शशांक कोइरालाजी हुनुहुन्छ । जिल्लाका साथीहरु हुँदै हुन्हुन्छ । हिजोको दिनमा जतिखेर वामपन्थीहरु एकातिर हुँदै गर्दा पनि नेपाली कांग्रेसले ईतिहास बनाएको थियो कि यो हाम्रो प्रदेश भरिमा एउटा मात्र सांसद भनेको शशांकजी नै हुनुहुन्थ्यो । प्रदेशमा पनि हामी दुई जना सांसदले त्यो क्षेत्रबाट जितेर आयौं । त्यो जिल्लामा आज हामीले दुईवटा पालिका मात्र आउनु भनेको धेरै निरासा जनक हो । त्यसको जिम्मेवारी अन्य नेताहरु लगायत मैले पनि लिनु पर्दछ । हाम्रो संगठन नै कमजोर हो वा हामीले ब्यवस्थापन गर्न सकेनौं कि ? अब समिक्षा गर्ने बेला आएको छ ।

बढी आपसी गुटवन्दी भएर हो कि तपाईंहरुको बिचमा ?

राम्रो परिणाम नआउनुमा यो पनि एउटा कारण हुन सक्दछ । र मुख्य कुरा हामीले उम्मेद्वार बनाउँदा अलिकती कार्यकर्ताको भावना बुझ्न सकेनौं ।

कार्यकर्ताहरुले गठवन्धनलाई रुचाएनन् कि ?

शुरु देखी म के कुरामा स्पष्ठ छु भने नेपाली कांग्रेस एउटा ठूलो र पुरानो पार्टी त हुँदै हो । यसको ‘स्कुलिङ’ पनि कस्तो हो भने एकदम कम्युनिष्ट विरोधी । हामीले यही स्कुलिङबाट कार्यकर्ता तयार पारेका हौं । तर समय र अवस्था फेरिंदै जाँदा हामी अहिले सँगै छौं । उनिहरुसँगै सरकार बनाएका छौं । ओलीजीको गठवन्धनका विरुद्दमा हामी सँगै उभियौं । यि कुराहरुलाई हामीले राम्रो सँग बुझाउन सकेनौं । जहाँँ जहाँँ बुझाउन सक्यौं त्यहाँ हामी सफल भएका छौं ।

धेरै ठाउँमा तपाईंहरुका मतदाताले उम्मेद्वार नभए पनि रुख मै छाप लगाए । कार्यकर्तालाई बुझाउन सके पनि नसके पनि गठवन्धन त प्रभावकारी देखिएन नी ?

त्यस्तो होइन । अधिकांश ठाउँँमा गठवन्धन पूर्ण रुपमा सफल छ । केही ठाउँँ छन जस्तो कि, चितवन त्यहाँ एउटा पुस्ता छ त्यो यति कठोर, साँघुरो (रिजिड) छ, त्यसलाई नराम्रो भन्न मिलेन । किनभने त्यो हामीले नै तयार गरेको हो । त्यो राम्रो पनि हो । तर अब राजनीतिलाई धर्म जस्तो मानियो भने कहिलेकाहिं ‘ब्याकफायर’ जस्तो हुन्छ । ‘हातै काटिएला, अन्त कसरी भोट् हाल्ने ?’ भनेको पनि सुनियो । यो धर्म हो र भन्या ? यो त राजनीति हो । राजनीतिमा त राम्रो कुराका लागि कहिले कोसँग कहिले कोसँग मिल्नुपर्ने हुन्छ । चुनावमा सँगै जानुपर्ने हुन्छ । पश्चिमी देशमा हेर्नुस न, अलग अलग विचारधाराका पार्टीहरु सँगै सरकारमा हुन्छन । सँगै मिलेर चुनावमा जान्छन । यस्तो कुराको स्कुलिङ हामीले गर्न सकेनौं । यो किन हो भने हाम्रो केन्द्रिय नेतृत्व मै दुई थरी विचार आयो । एउटा पक्ष गठवन्धन हुनुपर्छ भन्ने, अर्को हुनु हुँदैन भन्ने । त्यसको असर तल पर्ने नै भयो ।

अबको ५-७ महिनामा चुनाव हुँदैछ । तपाईंको आफ्नो जिल्लाको संगठन भाताभुङ्ग भएको छ । तपाईं चुनाव लड्ने कि नलड्ने ?

म राजनीति गर्ने मान्छे । चुनाव जितेको मान्छे । कि त म सन्यास लिन पर्‍यो नत्र भने म किन चुनाव नलड्ने ? सकृय राजनीति गर्ने मान्छेलाई ‘तँ चुनाव लड्छस कि लड्दैनस’ भन्नु भन्दा पनि ‘हामी तँलाई सहयोग गर्छौं’ भन्नु पर्‍यो ।

तपाईंलाई जनताले फेरी पनि किन भोट् दिने ?

मेरो क्षेत्र, गैंडाकोट कस्तो रहेछ भने यो सबै भन्दा दूर्गम रहेछ । काली गण्डकी कोरिडोर बाहेक अहिले सम्म अरु कुनै संपर्क ट्र्याकहरु बनेकै रहेनछ । अहिले हेर्नुस अहालेबाट बसेने हुँदै गैंडाकोट निस्किने बाटो निरन्तर भएको छ । गैंडाकोट १ नम्बर देखी देवघाट जोड्ने पक्की पुल बन्दै छ । ७ र ९ नम्बर जोड्ने पुल बन्दै छ । ३ र ४ वडा जोड्नका लागि पनि पक्कै पुल बन्दैछ । गैंडाकोट तनहुँ जोड्नका लागि पनि काली गण्डकीमा पुल बन्दै छ । त्यस्तै थामवेशी बाट तनहुँ जोड्ने पुल पनि ठेक्कामा जाँदै छ । त्यो देखी माथि अत्रौली र माइतिघाट जोड्ने काम मैले अहिलेको बजेटमा राखेर अगाडि बढाउदै छु । नवलपुरको दक्षिणी भाग आँफै बिकास हुन्छ । तर यसको पहाडी भाग गण्डकी उपत्यका तनहुँसँग नजोडी बिकास गर्न सम्भव छैन । त्यसैले मैले तनहुँ र नवलपुरको सम्पर्क गर्नका लागि मैले चार पाँच वटा पुल बनाएर गराएको छु । यो भनेको एउटा ठूलो उपलब्धी हो । अब दक्षिणको कुरा गर्नुहुन्छ भने बीपी अन्तर्राष्ट्रिय खेल मैदान अहिलेसम्म हुन सकेको थिएन । यसपटक प्रदेश सरकारको तर्फबाट मैले बजेट पठाएको छु । त्यस्तै ट्रमा सेन्टर निर्माणका लाई मैले पहिलो पटक डीपीआरका लागि ४० लाख पठाएको छु ।

यि सबै काम जुन तपाईंले भन्नु भएको छ, ति त शशांक कोइरालाले मैले गरेको हो भन्नु भएको छ त ?

डा. साबले त हिजो अस्ती देखी नै भन्नु भएको हो । मैले गरेको भए पनि उहाँले गरे जस्तै हो । यहाँँ आएर उहाँले सिधै बजेट विनियोजन त गर्न सक्नुहुन्न । ज्वाँईट भेन्चर भनेर भन्नुस न । त्यसैले मेरो क्षेत्रका साथीहरुले पक्कै पनि मुल्यांकन गर्नु भएको छ । मैले जती काम मेरो क्षेत्र र यो प्रदेशका लागि गरेको छु त्यो मैले मेरो राजनीतिलाई अघी बढाउन काफी छ । म जनताको काम गर्ने मान्छे हो । गरेकै छु । यसमा कसैको दुई मत होला भन्ने मलाई लाग्दैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक