बिहीबार, चैत १५, २०८०

बुहारीको प्रगतिमा दङ्ग बलिदानी सासूको सम्मान

नेपालप्लस संवाददाता / चितवन२०७९ जेठ २० गते १:४५

२०२२ सालमा चितवनमै जन्मिएकी इन्दु पण्डितको विवाह १९ वर्षमै भयो। त्यो समय विवाहपछि बुहारी घर बाहिर निस्किन मनाही थियो।

सामाजिक काममा सक्रिय, इन्दुका लागि विवाह बन्धन बनेन। किनकी इन्दुलाई बाहिर पठाउन इन्दुकी सासूआमा लक्ष्मी पण्डित सबैभन्दा सहयोगी बन्नुभयो। इन्दुको विवाहपछि नै चितवनका महिलाहरूले महिलामाथि हुने हिंसा विरुद्ध एकजुट हुने अभियान थाले। मीना खरेल, सीता सापकोटा, सरिता केसीहरू केही राजनीति गर्ने अविवाहित विद्यार्थीहरू थिए।

उनीहरूले जिल्लालाई आदर्श बनाउनुपर्छ भन्ने अभियानका साथ ३१ वर्षअघि आदर्श नारी विकास केन्द्रको नामले थालेको अभियानमा विवाहित इन्दु लगायत केही महिला पनि थपिए।

इन्दु सम्झिनुहुन्छ, ‘त्यो बेला घरबाटै निस्किन रोकेको भए म सायद आज यो अवस्थामा नहुँदो हुँ।’ विवाह पछि करिब पाँच वर्ष शिक्षण पनि गर्नुभएकी इन्दु राजनीति र महिला अधिकारको क्षेत्रमा क्रियाशील हुनुभयो। उहाँले आदर्श नारी विकास केन्द्रका सचिव पद पनि सम्हाल्नुभयो।

२०७४ सालको स्थानीय तहको जनप्रतिनिधि अनि नेपाली कांग्रेसको जिल्ला समितिमा दुई वर्ष काम पनि गर्नुभयो। अहिले पनि सामाजिक र राजनीतिक क्षेत्रमा उत्तिकै क्रियाशील रहँदा उहाँकी ९२ वर्षीय सासू लक्ष्मी पण्डितले भन्नुहुन्छ, ‘विश्वासले बुहारीलाई बाहिर निस्किन दिएँ, आज सबैकुरा उनैले बुझेकी छिन्।’

सर्मिला सापकोटा पनि इन्दुजस्तै दिनभरजसो घरबाहिरै हुने महिला हुनुहुन्छ। मान्छेले हेर्दा जागिर छैन। महिनावारी तलब हात लाग्दैन। तर, सामाजिक काममा लागेपछि न दिन न रात, कतिबेला घरबाहिर निस्किनुपर्छ पत्तो हुँदैन।

त्यो समय छरछिमेकले नानाथरी कुरा नसुनाउने कहाँ हो र ! तिम्रा बुहारी कता गइन् भनेर प्रश्न गर्ने धेरै हुन्छ। त्यही प्रश्नमा सहज उत्तर हुन्छ ८१ वर्षकी सासूआमा जीपकुमारी घिमिरेको, ‘हाम्रा पालामा घरै भयौँ, सामाजिक काममा लागेपछि निस्किन परिहाल्छ नि।’

जीपकुमारीलाई बुहारी महिलाका हकहितमा काम गर्ने लागेको देखेर एकदमै खुसी लाग्छ। बुहारीलाई विश्वास गरे उनीहरूले समाज परिवर्तन गर्छन् भन्नेमा उहाँ ढुक्क छिन्।

सिर्जना आचार्यको सासू गंगादेवी पोखरेल ७० वर्षकी हुनुभयो। दिनको करिब १० घण्टा बढी समय व्यवसायसँगै सामाजिक काममा बिताउँनुहुन्छ सिर्जना। १८ वर्षदेखि उहाँको यो कार्यव्यस्ततामा सबैभन्दा धेरै सहयोग सासू आमाकै छ।

चितवनमा रहेको आदर्श नारी विकास केन्द्र जसले ३१ वर्षअघि हिंसाको विरोधमा महिलाहरूसँग सङ्गठित भएर काम गरेको थियो। सोही संस्थाले गरेको आदर्श सासू सम्मानमा गंगा, लक्ष्मी, जीपकुमारी जस्ता ३० जना सासू हुनुहुन्थ्यो। जसले आफ्ना बुहारीलाई समाजमा स्थापित गर्न पछाडि बसेर सँधै सहयोग गर्नुभयो। आज, ज्येष्ठ नागरिक भएपछि हात समाउँदै आफ्ना सासूसहित बुहारीहरू लाइनमा बसेर सम्मान थापिरहँदा उहाँहरूको अनुहार सफलतामा धप्प बलेको थियो।

केन्द्रकी अध्यक्ष मीना खरेलले सम्मान गर्दै भन्नुभयो, ‘सासूबुहारी एकअर्काको आलोचक अनि असहयोगीको रुपमा गरिने व्याख्यालाई उहाँहरूको पछाडि बसेर गरेको हौसलाले पक्कै विस्थापित गर्नेछ।’

तस्बिरः इन्दु र सासूआमा लक्ष्मी पण्डित

श्रोत: आइएनएस

तपाइँको प्रतिक्रिया

फेसबुक