आइतबार, मंसिर १८, २०७९

परदेशी छोराको प्रतिक्षामा घुम्ने आमाको संसार

नेपालप्लस संवाददाता / चितवन२०७९ जेठ २१ गते १२:४१

दर्शन शास्त्रले मोहको बारेमा त्यति धेरै चर्चा गरेको छैन । तर दुनियाको सामान्य चालचलनको परिभाषा कस्तो हुन्छ भने सजिलै उपलब्ध हुने वस्तु प्रतिको मोह (मायाँ) कम हुन्छ । कुनै दुर्लभ वस्तु प्रतिको मोह र आकर्षण बढी हुन्छ । शायद सम्वन्धहरुमा पनि यही शुत्र प्रयोग हुन्छ । भौतिक वैभव शुन्य हुनका लागि ठूलो पराक्रम चाहिन्छ । यो दुनियाँमा यस्ता केही मान्छे जन्मेका छन । जो जन्मेका छैनन हामी त्यस्ता मान्छेहरुको कुरा गर्दैनौं । किनभने भौतिक जगत फराकिलो छ ।

खासमा यो जगतमा बाँच्नेहरुका सोचको दायरा पनि उस्तैछ । भौतिक संसारले मायाँमा उत्तेजना थप्छ । हो ठ्याक्कै यही मायावी उत्तेजनाको संसारमा हामी बाँचिरहेका छौं । यो पुरै संसार भौतिक लहडमा चलेको छ । भौतिक लहड कस्तो भने मायाँ, प्रेम र सम्वन्धका बिचमा उत्पन्न हुने अर्धन्यायीक सोच ।

हामी रत्ननगर (टाँडी) चोकबाट देब्रे मोडियौं । टाँडी बजार फराकिलो भएछ । भित्री बाटाहरु समेत चिल्ला देखिए । ‘रसियन बा’ को घर कता पर्छ ? अलीपर पुगे पछी एक जना दोकानदारलाई सोध्यौं ।

“गाईको मुर्ती भएको चोकबाट दाहिने जानुस अली अगाडीसम्म । देब्रे पट्टी लहरै अशोकका रुख भएको घर रसियन बाको हो” उनले एक सासमै हाम्रो बाटोको नक्सा बताए ।

रसियन बा यो दुनियाँमा हुनुहुन्न । हामी उनकी जीवन संगिनी हरिकला लामिछानेलाई भेट्न उनको घर पुगेका थियौं । अगाडिको गेट खुलेन । खासमा हामीले जानेनौं । एउटा बाहिर र अर्को भित्र बनाएर खोल्नुपर्ने रहेछ । मुस्किल भयो ।

एउटी महिला दगुर्दै आईन्, हामीले ढोका खोल्न नजानेको देखेर ।

“जीवाको घरको त ढोका खोल्नपनि नजानिने रैछ” उनले ढोका खोलेपछि हामी हाँस्यौं ।

एक बजेको थियो । दिउँसोको टन्टलापुर घाममा भारी बोकेर कोसौं कोस पार गरेका ढाक्रे जस्ता भएका थियौं हामी । “ल शितलमा बस्नुस र पानी पिउनुस” हरिकला आमाले भन्नुभयो ।

देश धेरै तरिकाले खल्बलिएको छ । यदि देश सहि सलामत चलिरहेको हुन्थ्यो भने धेरै आमाहरुले आफ्ना मायावी संसारका बचेराहरुलाई सम्झेर दिन बिताउनुपर्ने थिएन । आमाहरुका यि दिनहरु कसरी कट्छन । हामी लहडी संसारका विभिन्न अवयव बोकेर हिंडेको हिंड्यै छौं । धेरै कुरा पो भ्याउनुपर्ने छ हामीहरुलाई । तर आमाहरुको वैचारिक मानसिकता कती गहिरो होला ।

हामीलाई बाटो भरी कस्तो लागिरहेको थियो भने- आमाहरुसँग के कुरा गर्न सकिन्छ होला ! मुटुभित्र बाँधिएको विदेश बस्ने छोरा नातीहरुको मायाँको पोको खुकुलो पारेर मात्र मन शान्त होला र ? हामीलाई सहज हुनुपर्ने थियो ।

“कती वर्ष हुनु भो आमा ?” हामीले सोध्यौं । छयासी वर्ष भएँ नी बाबु- आमाको जवाफ आयो ।

हरिकला आमालाई भेट्नका लागि हामीले अघिल्लो दिन मात्र समय मिलाएका थियौं ।

“तपाइहरु भेट्न आउँदै हुनुहुन्छ भनेर स्यानाले फोन अरेचन नि” आमाले भन्नु भयो “उहाँ देखी मलाई भेट्न आउनु भयो धेरै आशिर्वाद छ बाबु ।”

हामी जम्मैको शिर झुक्यो । यो मायावी संसार हो, धेरै कुरा मायाँले बाँधिएको छ । प्रेम शुन्य हुन सकिंदैन ।

हामीले कुरा अगाडि बढायौं “हजुरका सन्तान कती नि आमा” ?

“छ जना सन्तान जन्मिएका हुन । दुई वटा सन्तान आफ्नो बाटो लागे । यो संसारको लेखा । दुई जनालाई यो संसारमा बस्न मन लागेन । जानेले जान खोजेपछि हामीले मात्रै मया गरेर के गर्नु ? अहिले तीन छोरा र एक छोरी छन” आमाले भन्नुभयो ।

हो यिनै तीन छोरा मध्ये माझौला नेपाल तथा विदेशका विभिन्न क्षेत्रमा लगानी गरेर तहल्का मच्चाउने हुन जीवा लामिछाने । आमाले उनलाई साहिंलो साहिंलो भन्नुहुन्छ ।

जीवा लामिछानेका बुवाको नाम खेमलाल लामिछाने । आमा हरिकला । २०७० सालको असारमा बुवा खेमलाल लामिछानेले देह त्याग गरेपछी हरिकला लामिछाने आधा हुनु भो ।

“चैतमा चौरासी पूजा भयो, असारमा जानु भो” आमाले भन्नुभयो ।

यसभन्दा अघि, अझ धेरै अघि लामिछाने परिवारको कथा अर्कै छ । करिव करिव ६० वर्ष अघि कास्कीको हरपाकबाट बसाईं सरेर चितवन ओर्लिंदा यो जिल्ला डरलाग्दो थियो । जताततै जंगलले घेरिएको । पक्कै पनि त्यो समय उदेक लाग्दो हुँदो हो । शहर थिएनन् । साना गोरेटा र एक दुई वटा मुल बाटोलाई बिर्सिने हो भने चितवन पूर्णरुपमा पातला केही गाउँ र जंगलले घेरिएको थियो । यसैलाई छिचोल्दै लामिछाने परिवार टाँडी बजार देखी निकै दक्षिण पर रापती नदीको किनारमा पुगेको थियो ।

“अरु त के हुनु र बाबु थोरै पैसामा धेरै खेतियोग्य जग्गा खोज्दै हामी बडेमानको जंगल पार गरेर रापतीको छेउमा पुगेका थियौं” आमाको पुरानो सम्झना थपियो ।

उहाँका आँखा चर्कोसँग तिखारिएका घामका ज्योतीलाई छिचोल्दै माथि आकाशसम्म पुगे- “मलाई त्यो समयको बर्खा सम्झिन मन छैन” आमा अलि भावुक जस्तै बन्नु भो । जिवा लामिछाने त्यहिं जन्मे । उनले पनि आम गाउँले र निम्न मध्यम वर्गिय परिवारका केटाकेटीले जस्तै वाल्यकाल विताए ।

लामिछानेले कतै लेखेका छन- “म नेपालको एउटा जंगली क्षेत्रमा रहेको गाउँमा हुर्किएको किसानको छोरा हुँ । जंगलमै हुर्किएका कारण ‘द जंगल बुक’ (सन् २०१६ मा रिलिज भएको विश्वप्रशिद्ध फिल्म) को फुच्चे जस्तै मैले जंगली वातावरणको स्वाद लिएको छु । त्यही क्षेत्रमा सानो प्राथमिक विद्यालय थियो, जहाँ पढ्न कुनै सुविधा थिएन । घरमा विजुली थिएन । हामी लालटीनको मधुरो बत्तीमा पढेर परीक्षा पास गर्दथ्यौं । माध्यामिक तह पढ्ने सुविधा गाउँमा थिएन । यही कारण माध्यामिक शिक्षा पुरा गर्न हामी त्यही डरलाग्दो जंगल र नदी पार गरेर जानुपर्दथ्यो । स्कूल जाँदा हामी धेरैपटक जंगली जनावरको आक्रमणमा पर्नबाट जोगिएका छौं ।

“हो नि बाबु, उनिहरु ठूलो स्कूल जाने बेलामा म दिनभरी बेचैन हुन्थें । जनावरको डर त छँदै थियो । वर्षामा उर्लिने नदीको झन त्रास थियो” आमा विस्मृत हुनु भो ।

कामले सानो र ठूलो भन्दैन । झन कृषकले त खेतबारीसित दूरी बढाएर जिवननै चल्दैन । कृषकका छोराछोरी सबैको हातले गोबर, हिलो, माटो, झ्याँस, पतिंगर र माटोको स्पर्श गर्नै पर्छ । खेत रोप्ने, गोडमेल गर्ने, भारी बोक्ने, टन्टलापुर घाममा खनजोत यि कृषकका लागि सामान्यनै भए ।

साहिंलो जीवापनि त त्यहि कृषककै छोरो भयो । एकदिन कस्तो भयो भने पदमपुरको खेतमा धान गोड्न केहि खेतालासहित घरका सदस्य लागेका थिए । टन्टलापुर घाम थियो । असिनपसिन थिए सबै । साहिंलो जीवापनि खेतालासँगै धान गोड्न गएका थिए ।

“घाम चर्केको थियो । एक्कैछिनमा सांहिलाको शरिर लुछुप्पै भयो । अनुहार रातो न रातो भयो । त्यो देखेर खेतालाहरुलेनै यो बाबुले सक्दैनन्, गाह्रो भयो, भो घर पठाइदिउँ भने” हरिकला लामिछानेले साहिंलो छोरोको त्यो क्षण अझै संझिरहनुहुन्छ “यस्तो काम गर्न लेखेको रैछ बाबु, त्यस्तो चर्को घाममा के धान गोड्थ्यो र ? सबैले घर जाउ भने, ऊ हिंड्यो । त्यसपछि कहिल्यै त्यस्तो काम गर्नुपनि उसलाई परेन ।”

ति सब भोगाइ हुन । भोगाइको आवश्यकताले नै हो बाटो बनाउने । जीवा लामिछानेले ति सबै बाटोहरु आफैं बनाए । बाटो नै थिएन, कतै भत्किने कुरै भएन । सबै नयाँँ बन्दै गए । स्कूलका कितावलाई टाउकोमा बाँधेर रापती तर्ने जीवा लामिछाने अहिले दुनियाँभरकै नेपाली मध्येमा सबै भन्दा बेफूर्सदिला ब्यवशायी हुन । तै पनि आमा भेट्न उनले समय मिलाएकै हुन्छन । बेलाबेला आउँछन । एक दुई रात टाँडीको यही घरमा सुस्ताउँछन ।

त्यतिले मात्र कहाँँ हुन्छ र आमाहरुलाई ! सन्ततिको मायाँ एक दुई दिनले कसरी मेटिन्छ ?

हुन त हरिकलाका माइला छोरा सँगै छन । “जीवाले अथाह सृस्‍टि जोडेका छन । जीवाका दाईले यही सम्पत्ति रेखदेख गर्छन । तै पनि यो बुढेसकालमा सबै जना सँगै भए आत्मा शान्त हुने थियो ।

“हुन त स्यानाले (कान्छो छोरा खेम) काठमाडौं आउनुस भन्छन, म बस्नै सक्दिन । यहाँँ जस्तो कहीं छैन” आमाले भन्दै जानुभयो “म दुई पटक जर्मनी पनि गएँ । एक पटक डेढ महिना बसेर फर्कें । अर्को पटक पनि गएँ । दुई पटक रुस लगे । तो दुबाई भन्ने ठाम पनि लगो साहिंलाले । नातीहरु पढ्न जान्छन, बुहारी कता जान्छु भनेर जान्छिन । एकै पटक बेलुका आउँछिन, छोरो घाम झुल्के जस्तो । ए बाबु सोह्र सराद्द आउन लाग्यो यहाँँ तिमीहरुले प्रकृया पुर्‍याउदैनौ भनेर फर्कीहालें ।”

स्कूल सके पछी जीवा लामिछानेले इन्जिनियरिङ्ग पढ्नका लागि मस्कोमा छात्रवृत्ति पाए । उता हिंडे । त्यसपछी कहिल्यै पछाडि फर्केर हेर्नु परेन । त्यतै ब्यापार गरे । सोचे भन्दा धेरै धन दौलत कमाए । त्यसपछी बुवा खेमलाल लामिछानेबाट ‘रसियन बा’ बन्नुभयो ।

यदि कसैले अहिले पनि रत्ननगरको त्यो भेकमा पुगेर जीवा लामिछानेको घर कता पर्छ भनेर सोध्यो भने सम्भवत: मान्छेहरुले चिदैनन । तर रसियन बा यो भेकमा बाँचिरहनुभएको छ । तथापी जीवा लामिछाने दुनियाँमा चिनिएका छन ।

आमालाई कस्तो लाग्छ छोराको सौर्य ?

“त्यो त मेरो छोरो मात्र होइन बाबु भगवान पाएको मैले । त्यो छोरोलाई आमाको धेरै वास्ता छ । ‘आमा पाइदैन’ भन्छ । तै पनि मलाई सबै परिवार यहिं सँगै भए अरु केही चाहिंदैनथ्यो” आमाको भावुक ममता छचल्कियो ।

हामी धेरैबेर बोलेनौं । यो संसार यसरी नै अडिएको छ । अगाडिको आँपको बुटाबाट एक हुल तितु चरा उडेर उत्तरतिर हान्निए । ति चराले समातेको बाटो र जीवा लामिछानेले कोरेको संसार उस्तै होलान ।

आँपको बुटो न हो, तितु चरा फर्किने बेलासम्म सुक्न सक्छ । अहिले पो छहारी प्रिय छ । सुकेपछी ति उडेर जाने चराहरुको सुस्ताउने थलो सकिन्छ ।

“मैले त भनेकी छु नि, अब तिमीले कती कमाउँछौ । कमाउने जती कमाइसक्यौ । अब यही बस भनिरहन्छु । सबै परिवार सँगै भएर, यस्तै राम्रोमा जान पाए । तिनकै काखमा के बाबु” आमाका आँखा मलिन देखिए ।

यो संसार यसरी नै चलेको छ । मायावी संसार हो यो । भौतिक वैभव शुन्य कसरी हुन सकिन्छ !

तपाइँको प्रतिक्रिया