बुधबार, असार १५, २०७९

कथा: दाई लाहुरे

रामचन्द्र सापकोटा२०७९ जेठ २१ गते १८:०८

मंसिरको महिना थियो। गाउँबाट दुई जना केटाहरु गाएब भए । बुझ्दै जाँदा, उनीहरू त इंडिया गएका रहेछन् । ती दुई मध्ये एक जना मेरो दाई हुनुहुन्थ्यो। त्यतिबेला दाईको उमेर करिब चौध वर्षको हुँदो हो । यो पटक भने दाईको दोस्रो लाहुर यात्रा थियो । पहिलो पटक गोरखपुरबाट तिन, चार दिन भित्र घर आइपुग्नु भएको थियो। यस पटक पनि त्यस्तै चार पाँच दिनमा आउनु हुन्छ होला भन्ने लागेको थियो। तर हप्तौं बित्यो । महिनौ बित्यो । वर्षौ बित्यो । दाईको अत्तोपत्तो केही थिएन। यसरी घरको सदस्य वषौं लापत्ता हुँदा कम्ता मन अमन्न हुन्थेन।

दाई सँगै लाहुर गएका छिमेकी दाई, केही महिना पछि घर आए। दाईको बारेमा सोध्दा, दिल्लीमा दुईजना इन्डियन आर्मीले, हाम्रो घर जान्छौ भनेर आआफ्नो घर लगेका हुन। दुई जना दुई तिर भएपछि दाईको बारेमा केही थाहा नभएको कुरा सुनाए।

कहिलेकाहिं घरमा मिठो-मसिनो, चिल्लो-चाप्लो केही पाकेमा आमा रुन थाल्नुहुन्थ्यो। म र बैनी साना थियौं। परिस्थिति आँकलन गर्न सक्थेनौं। एकले अर्काको मुखमा हेराहेर हेर्थ्यौ। “अहिले कहाँ होला, केगर्दै होला, खान पाएको छ कि छैन भन्दै आँशु पुछ्नु हुन्थ्यो”। त्यतिखेर हामीलाई मिठो पाकेको खाना पनि मिठो लाग्थेन। वर्षैपिच्छे घुमिफिरी आउने चाडबाड हाम्रा लागि कहिल्यै रमाइला हुन्थेनन। कहिलेकाहिं आमाले खाना खाने बेलामा आगोमा नुन हाल्नु हुन्थ्यो। आमा किन आगोमा नुन राख्नु भएको भनेर सोध्दा ‘केहि हैन’ भन्नु हुन्थ्यो। छोरा हराएका गाउँका अरु आमाहरु जम्मा भएर विरहका कुरा गर्थे। त्यतिबेला थाहा लाग्यो, नुन आगोमा राख्दा त्यो आगोमा पड्क्यो भने आफ्ना हराएको सन्तान जीवितै छन् भन्ने कुरा ।

कहिलेकाहिं म र बैनी दाई कहिले आउँछन् भनेर औंला रोज्ने खेल खेल्थ्यौं। झुक्किएर नआउने औंला रोज्दा बैनीले आमालाई कुरा लगाउँथी। आमाले मन अमिलो बनाउनुहुन्थ्यो। साना केटाकेटीहरूको बोलि देउताको बोली झैं हुन्छ रे भनेको सुनेर घरमा आउने छिमेकीका साना केटाकेटीहरुलाई हाम्रो दाई कहिले आउनु हुन्छ भनेर सोध्थियौं । कसैले चाँडै आउनु हुन्छ भन्थे । कसैले आउनुहुन्न भन्थे। उनीहरूले जे भने पनि मनमा शान्ति भने हुन्थेन।

दाईको चिना हेराउन आमा कहाँकहाँ जानु भएन। चिना हेर्ने जति सबैकोमा पुग्नु भयो होला । कसैले चाँडै आउँछ भन्थे। कसैले आउँदैन भन्थे। घरमा दाईको लागि जाप-पाठ, पूजा-आजा, तीर्थ-व्रत पनि कति गरियो कति । छिमेकी र आफन्तले दाई चाँडै आउँछन् भनी सान्त्वना भने दिईरहन्थे । तर दाईको प्रतीक्षामा हाम्रो परिवारको आँखा सधैं उदास रहन्थे।

एक दिनको कुरा हो। बिहानपख करिब ७ बजेको हुँदो हो। हामी घरका सबै परिवार मिलेर घरको पछाडि पालीमा झांगिएको सिमि टिपिरहेका थियौं। नजिकैका एक जना छेमिकीले “उ दाई आए” भनेको कानले प्रष्ट सुन्यो। सिमि टिप्दा टिप्दै टक्क रोकिएर उनले अझै केही भन्छन् कि भनेर प्रतीक्षारत थिए। उनले थप्दै गए। “हेर त! हराएका मान्छे पनि आए”। यति सुन्दा बित्तिकै घरको पालि माथिबाट हामफालेर, एक सासमा घरको आगन तिर निस्किएँ म । दाईलाई अर्का एक जना छिमेकीले हातमा समातेर बाटोबाट घरको आगन तिर लिएर आउँदै थिए। यस्तो लाग्यो कि उनले नै इन्डियाबाट खोजेर लिएर आए।

त्यतिन्जेल घरका सबै सदस्य आगनमा जम्मा भइसकेका थियौं। गाउँमा दाई घर आएको चर्चा चलेछ। केहिबेरमा घरको आँगन भरी मान्छेहरू जम्मा भए। सबै जना खुसीले दाइलाई प्रश्न गर्थे । तर दाईले जवाफ भने दिन सक्नुहुन्थेन । कारण, दाईले त नेपाली भाषा बिर्सनु भएको रहेछ। हिन्दी लवजमा कश्मीरी भाषा बोल्नु हुन्थ्यो। हामीले पटक्कै बुझ्थेनौं। पछि पछि दाजु भाइको खूब मित्रता जम्यो । दाईले पहिला बोलेर सम्झाउनु हुन्थ्यो । हामीले बुझेनौं भने हातको इशारा गर्नु हुन्थ्यो । त्यहि पनि नबुझेमा प्याट्ट आफ्नै टाउकोमा हान्नु हुन्थ्यो र खिस्स हाँस्नु हुन्थ्यो। लाहुरबाट आएको केही महिना सम्म दाई मूर्ति जस्तो हुनु भयो। अति सोझो, धेरै नबोल्ने । पछि पछि मात्र चम्बु हुनु भएको थियो। नेपाली भाषा बोल्न र बुझ्न थाले पछि दाइलाई मैले सोधें- यतिका दिन सम्म कहाँ, कसरी बस्नु भयो भन्नु न । दाईले सविस्तार कहानी सुनाउनुभयो।

घरबाट भागेर दुई जना दिल्ली पुगे पछि नयाँ ठाउँ, नयाँ परिवेश कता जाने, के गर्ने भनेर अलमल परेको बेला कसैले उनीहरूलाई बोलाएको सुनेछन् र उतै गए। उनीहरूलाई बोलाउने मान्छे त छुट्टीमा घर जान लागेका २ जना सैनिक पो रहेछन्। दाईहरुले आफूहरु इंडिया घुम्न आएको बताए पछि ति सैनिकले खाना खाने हो भनेर नजिकैको होटलमा लगेर खाना खुवाएछन् । त्यसपछि “हाम्रो घर तिर घुम्न जाने हो?” भनेर सोधे। नचिनेको मान्छेले होटलमा लगेर खाना खुवाए पछि तिनीहरू त आफन्त झैं लागेछ र दुबै जनाले टाउको हल्लाए । पछि उता चित्त नबुझेमा, यही (दिल्ली) ल्याइदिने सर्त राखेछन् ।

त्यस पछि चार जना संगै भएर बसमा चढे । बाटोमा तिनीहरूले खाना, नास्ता खुवाउँदै लगेछन्। बसमा दाइहरू मस्त निदाउनु भएछ। आँखा खुल्दा त बस रोकेको रहेछ। अलि उत्ता एउटाले शिमला।। शिमला भनेको सुने। एक जना आर्मी र अर्को दाई बसबाट झरेर घर तिर लागे । दाईहरु अझै अगाडि सम्म त्यही बसमा गए। त्यो दिन घरमा उनीहरू गएको खुशीमा ननभेज पार्टी भव्य चलेको थियो रे।

त्यो बेला, त्यो आर्मीको जेठो दाई चुनावमा उठेको रैछ। त्यसपछि सबै जना प्रचार प्रसारमा खूब भिडेछन् । तर ऊ चुनावमा हारेछ । त्यसको केही दिन पछि त्यो सैनिक दाईलाई थाहै नदिई दिल्ली काममा फर्केछ। त्यो सैनिक घर छउन्जेल त्यो घरकाले दाईलाई माया गरेकै थिए । त्यसपछि त्यो घरका परिवारले दाईलाई हेला गर्न थालेछन । वरपर भेटिएका नेपालीहरुले यहाँ आएको मान्छे कहिल्यै नेपाल फर्कदैन। यतै बुढो हुने, यतै मर्ने हो भन्दा रैछन । दाईलाई एकछिन पनि त्यहाँ बस्न मन लागेनछ र रातिको समयमा त्यो घर छोडेर हिड्नु भएछ ।

साथमा जम्मा २२ रुपियाँ मात्र रैछ । के खाने, कहाँ जाने अत्तो पत्तो केही थिएन। घर चाहिँ माथि डाँडामा थियो रे । ऊ तल हेर्दा बत्ती बालेर हिनेको गाडी देखिंदो रहेछ। त्यतै हेर्दै डाडै-डाँडा हामफाल्दै झर्नु भएछ । त्यसरी हिँड्दा कहिले तल एकदम पहरो पर्थ्यो अनि फेरि उताबाट घुमेर जानु पर्थ्यो रे। जुनेली रातको धमिलो किरणको सहारामा बारीको कान्लै-कान्ला हाम फाल्दा हिँड्दा कहिले पल्टिने, कहिले चिप्लिने, कहिले काँडाले कोतर्थ्यो । कहिले हातमा काँडा विझ्थ्यो रे। अलि तल झरे पछि फेरि गाडीको उज्यालो गायब हुन्थ्यो। फेरि अलिकति माथि डाँडा तिर चढेर हेर्नु पर्थ्यो। सायद अर्को गाडी कुर्न पर्थ्यो।

यसरी बिरानो मुलुकमा अनकन्टार ठाउँमा रातको समयमा हिंड्नु पर्दा डर र त्रासले मन फुलेर सिमलको भुवा जस्तो भएको थियो । बल्लबल्ल संघर्ष गर्दा गर्दै बिहान पख बल्ल बाटोमा पुग्नु भएछ । त्यसपछि बस चढनु भयो । बसले २० रुपियाँले ठियोग भन्ने बजार सम्म लगेर झारी दिएछ । त्यहाँ एक चोकमा प्रतीक्षालय रैछ । त्यही बस्ने, त्यही सुत्ने गर्न थाल्नु भयो । भोक लागेमा उक्त बजार भन्दा अलि पर जंगलमा गएर रुखबाट स्याउ टिपेर खानु हुँदो रैछ । रात पर्दा आफूसँग भएको सानो कपडाको झोला सिरानी बनाएर सुत्नु हुन्थ्यो । आज पनि त्यही, भोलि पनि त्यही, पर्सी पनि त्यही कहाँ जाने, जाने ठाउँ छैन। एकै ठाउँमा करिब ४,५ दिन बसेको बस्यै गर्नु भयो।

एकदिन त्यहि प्रतीक्षालयमा टुक्रुक्क घुँडा खुम्चाएर दुबै हात माथि टाउको राखेर बसेको बेला कसैले बोलाएछ। दाईले टाउको उठाएर यसो पुलुक्क हेर्नु भएछ। ओई छोटु चार पाँच दिन भयो मैले तँलाई यही देखेको छु । कहाँ जाने हो, के हो तेरो नाम, यहाँ कहाँबाट आएको भनेर सोधेछ। दाईको बोल्ने तागत नपुगेर आवाज निकाल्न सक्नुभएन। उसलाई माया लागेर नजिकैको पसलबाट केही खानेकुरा र पानी ल्याएर दिएछ। दाईको अलिकति सास आए पछि सबै कुरा बेलीबिस्तार लगाउनु भयो। उसले मेरो घर जान्छन् भनेर सोधेछ । दाईले पनि जान्छु भन्नु भएछ।

घरमा पुग्दा उसको सबै परिवार आएर सोधखोज गरेछन् । उसले दाईलाई धरमभाई हो भनेछ। एकछिन पछि दाइलाई नुहाउन पठाएछन् । फेर्ने कपडा पनि दिएछन्। अनि आफ्नो घरको पूजा कोठामा लगेर सबै कुरा नढाँटी भन् । तैंले ढाटिस भने हाम्रो देवीदेउताले तँलाई ठहरै पार्छिन् भनेछन्। दाईले सबै कुरा नढाँटी हाम्रो घर देखिको सबै कुरा बताउनुभएछ । उनीहरूलाई माया लागेछ । धर्म छोरा बनाएर राखेछन्। त्यो घरमा बा आमा, चार वटा दिदी, दुई दाई रहेछन्। सबैले असाध्यै माया गर्न थालेछन। दुईवटा दिदीको बिहे भएको रहेछ। ठूलो दिदी भिनाजु दिल्ली तिर बस्दा रहेछन्। अर्को दिदी भिनाजु त्यही ठीयोग बजार तिर बस्नु हुँदो रैछ। ठूलो दाईको गाउँमा ठूलो कीर्ति चलेको रहेछ। उनी ईन्जिनियर रहेछन्। उनले जंगली भालुसँग लडेर भालु मारेका रहेछन्। आफूले मारेको भालुलाई खुट्टाले टेकेर खिचेको फोटो ठूलो बनाएर भित्तामा राखेका रहेछन् ।

त्यसपछि राम्रैसँग दिनहरु बितिरहेका थिए । एकदिन स्याउ टिप्न जाँदा भिरमा रहेको स्याउको रुखको हागाबाट खसेर तीन दिन सम्म बेहोस हुनु भएछ । पछि अस्पतालमा होस खुल्यो। टाउकोमा गहिरो चोट लागेछ । माथिको अगाडिको देब्रे तिरको कुकुर दात झर्‍यो। हात पनि भाचिएछ। करिब छ महिना जति दवाईपानी गर्नु परेछ। दाईलाई घर भेट्न गाउँका मान्छेहरु टन्नै आएका रहेछन्। भेट्न आउने जति कसैले फलफूल कसैले पैसा दिन्थे रे। भेट्न आउनेले दिएको पैसा जम्मा गर्दा करिब पन्ध्र, बिस हजार जति जम्मा भएको रहेछ । पछि ठूलो दाईले उक्त पैसा बैंकमा जम्मा गरिदिएका थिए रे। दाई घाइते हुँदा धर्मआमाले हरिद्वारको माता मन्सादेवीसँग मन्नत माग्नु भएको रहेछ। पछि सपरिवार भएर उक्त तीर्थस्थलको दर्शन गर्न गएका रहेछन्।

एक दिन दाईलाई घरको याद आएर टोलाउनु भएको रैछ। के भयो भनेर ठूलो दाईले सोधेछन। चिन्ता नलिग, मैले घर पुराईदिन्छु भनेका रहेछन्। त्यसको केही समय पछि ठूलो दाई घर बाहिर गएको बेलामा धर्मबाले दिल्लीसम्म लगेर बसको टिकेट काटी नेपाल पठाएछन।

*********†

त्यसको केही समय पछि दाईले हाम्रो परिवार सबैको फोटो खिचेर चिठ्ठीमा राखी शिमला पठाउनुभयो। केही समय पश्चात उताबाट पनि बिछोडिएको परिवारको मिलन भएकोमा एकदम खुसी लागेको छ भन्ने जवाफको चिठ्ठी आयो। पछि केही वर्षसम्म दाई र मलाई शिमलाबाट राँखी र केही पैसा सहितको चिठ्ठी आउने गरेको थियो।

पछि दाई दिल्लीमा हुँदा एक पटक शिमला जानु भएको रहेछ। घरमा धर्मबा आमा र दुईचार जना कामदार मात्रै रहेछन् । कसैले चिनेनन्। धर्मबा बिरामी भएर थला पर्नु भएको रहेछ। धेरै बेर पछि गहभरी आँसु बनाएर धर्मबाले यो त छोटु हैन र भन्नु भएछ। धर्मबाआमा खुशी भए। ठूलो दाई भने बिहे गरिवरि छुट्टिएर बजार तिर बस्न लाग्नु भएछ। दुई दिदीहरुको बिहे भएर गइसकेका रहेछन। कान्छो दाई कुलतमा फसेर दुर्व्यसनीको शिकार भएको रैछ । दाई एक, दुई दिन बसेर उक्त परिवारका अन्य सदस्यहरुसँग भेट्ने कोशिस गर्नु भएछ । तर कसैसँग भेट भएनछ ।

तपाइँको प्रतिक्रिया

फेसबुक