बुधबार, असार १५, २०७९

घुनले सुन के चिन्थ्यो, त्यस्तै रहेछ- कर्णालीमा रारा

कमला राना२०७९ जेठ २१ गते १८:३२

फोटो- आइएनएस

कमला राना

मुगु जिल्लाको छायानाथ रारा नगरपालिकामा पर्ने स्वर्गको अप्सरा ‘रारा ताल’ पर्यटकीय प्रवर्द्धन र विकासमा छाया परेको आभास पहिलो पटक जाने जो कसैलाई हुन्छ। त्यहाँ पुग्दा मैले पनि यस्तै अनुभव गरें। मुलुकको अति दुर्गम जिल्ला भनेर चिनिने मुगु जिल्लाको सदरमुकाम गमगढी बजारबाट पैदल ३ घन्टा हिंडेर पुग्न सकिने यस ऐतिहासिक तथा पर्यटकीय स्थानमा पुग्न सुरुमा जो कोही पनि आतुर हुन्छन् । जब त्यहाँ पुग्छन् तब अर्को पटक दोहोर्‍याएर पुग्ने साहस गर्दैनन्। किनभने त्यहाँ पुग्ने यातायात सर्वसुलभ छैन, बास बस्ने होटेलहरू प्रशस्त छैनन्। एक व्यक्तिले मनोमानी ढङ्गबाट सञ्चालन गरेको एक मात्रै होटेलमा पनि खाने र बस्ने राम्रो व्यवस्था छैन। व्यवस्थापन नगरिएको होटल मात्र होइन खाना, खाजा र बास बस्नसमेत सहज नभएको सन्देश त्यहाँ पुग्नेहरूले नयाँ जान चाहनेहरूलाई भेट्ने बित्तिकै दिइरहेका हुँदारहेछन् ।

यो सन्देशले आन्तरिक तथा बाह्य पर्यटकलाई रेडिमेट खाजाको जोहो गर्न प्रेरित गर्दोरहेछ । प्राय: सबैले गमगढी बजार पुगेपछि खरिद गरी बोकिएका तयारी खाजाका खोल राराको किनारमा यत्रतत्र विसर्जन गर्छन् भन्ने पनि बाटैमा सुनें । मलाई भने चाउचाउ बिस्कुट बाहेक चुरोटका खाली प्याकेट, भोला, मेघाश्री लगायत सुर्तीजन्य सामग्रीका खोलले पबित्र रारा निकट भविष्यमै बिटुलो बन्दै छिन् भन्ने चिन्ताले नराम्ररी चिमोट्यो ।

अस्तव्यस्त गमगढीको साँघुरो बजार, उसमाथि ढल व्यवस्थापन नगरिएकाले हिलाम्मे सडकमा बोलेरो र स्कार्पियो साठीदेखि पचहत्तर डिग्रीसम्म ढल्कँदै अघिपछि गरिरहेका थिए । कोल्टे कोल्टे हुँदै आएको त्यो गाडीको ढल्कने ज्यान नियाल्दै थिएँ- म गमगढीको न्युरोडबाट ! सोचें पाँच पाथी धान अट्ने खाल्डाखुल्डीले गिज्याइरहेको बुझ्न नसक्ने कस्ता जनप्रतिनिधि होलान् यहाँ ? त्यहीमाथि सदरमुकामको नगरपालिका ! कुन पार्टीले जितेको ठाँउ होला यो? यो जिल्लामा कस्ता कर्मचारीहरूले काम गर्दा होलान्? कहाँ जन्मिएको सिडियो होला यहाँ ? राष्ट्रिय समाचारहरूको कलम नपुग्ने यो कस्तो ठाँउ होला?

सदरमुकाममा रहेको नगरपालिकाको सडकको त यो हालत छ भने त्यो खत्याड गाउँपालिका, सोरु गाउँपालिका, मुगु कार्मारोङ गाउँपालिकाको हालत गएगुज्रेको अवस्थामा हुनु के अनौठो होस् !

के पुरुष के महिला ! जान्या हुन् रारा ?

म यस्तै यस्तै सोचिरहेकी थिएँ । मेरो नजिकै अन्दाजी २०/२२ वर्षको एउटा ठिटो आयो । मेघाश्री चपाएको थुतुनोबाट एक मुठी रातो थुक पिच्च थुक्दै बोल्यो- ‘जान्या हुन् रारा?’

ती युवा बोलेरो चालक रहेछन् । एक्छिन् त म अलमल्ल परें । कस्तो साइनो लाएर बोल्न पनि नजान्ने लठ्ठर रे’छ? कम्तीमा दिदी वा बैनी / आन्टी भने पनि त हुने नि ! यस्तो बोलीले यहाँ आउने नौलो अञ्जान पर्यटकहरू कति नराम्रो मान्दा हुन् ? आखिर यिनीहरूले सधैं बोल्ने शैली त यही नै हो । व्यापार व्यवसायमा लागेका रारा छेवैका मानिसले त अझ सभ्य र सालिन भएर प्रस्तुत हुनुपर्ने । फेरि फेरि आउन मन लागिरहने पार्नु पर्ने हो नि ! यस्तै सोच्दै मैले टाउको हल्लाउँदै भने “हो”।

बोलेरो भित्र ८ जना रहेछन् ।” ओहो ! म त जान सक्दिन । यस्तो कोचाकोच रहेछ, खै बस्ने ठाँउ ?” मैले अनौठो मान्दै भने।”

घुनले सुन के चिन्थ्यो र त्यस्तै रहेछ- कर्णालीमा रारा। ठूला ठूला नेताहरू चर्को चर्को भाषण गर्छन्- ‘कर्णालीको शान, हाम्रो रारा र नेपाली भाषाको मुहान जुम्लाको सिंजा!’ भनेर तर कोमल कर्णालीलाई कति कठोर र दुर्ज्ञेय बनाइएको छ- माल पाएर चाल नपाएका बुद्धुहरूलाई के थाहा ?

मोटो मान्छेले दुब्लोलाई काखमा राखेर बस्नुस न- “ती चालक बोले। गाडी भित्र हेरें त्यहाँ एक जना महिला बाँकी अरु सबै पुरुष। म अर्को गाडीमा आउँला भाइ तपाईं जानुस्।” मैले इन्कार गरें ।

मनमनै सोच्न थालें- महिला हुन् भन्ने हेक्का नि छैन, कस्तो अचम्मको मान्छे ! महिला मैत्री यातायात त दूर दराजको कुरा त्यहाँ न ट्राफिक प्रहरी, न चेक जाँच, न त यात्रुमै यसरी यात्रा गर्न हुँदैन भन्ने चेतना ।

त्यो युवा फेरि पिच्च थुक निकाल्दै कुर्लन थाल्यो “गाडी गए पो जान्छेउ, अर्कोमा? के भाउ खा’को ? खुरुक्क चढ्नु।”

म नवआगन्तुक आन्तरिक पर्यटकका रूपमा त्यहाँ पुगेको थिएँ । रेगुलर गाडी जाँदैन भन्ने त सुनेको थिएँ तर कन्फिडेन्ट थिइनँ । दोधार बनेँ । चढुँ भने बस्ने सिट छैन, नचढौं फेरि गाडी आएन भने त म एकजनालाई कसले कसरी पुर्‍याइदेला?” रिजर्भ लान नि महँगै होला ।” कति हो भाइ भाडा ?” मैले प्रश्न गरें।

“जम्मा ५०० हो जाने भए चढ्नु नजाने भए बसिरहनु।” चालकले यति भनेर गाडी स्टार्ट गरेर केही पर पुर्‍याइहाल्यो ।

नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छो बाउको अनुहार भने झैं भयो- मलाई । अरु गाडी नभएको पनि होइन तर उनीहरूको सल्लाह नै हुँदोरहेछ टन्न नभरिएसम्म यस्तै के के जाति भनेर यात्रुहरूलाई अत्याउने, अनि गाडीमा बस्न बाध्य पार्ने । धेरै समयपछि रारालाई भेट्न जाने अथाह रहर पूरा गर्ने अभिप्रायले म आफैं उत्साहित थिएँ । त्यसैले यी गौण कुराहरूतिर नलगी उसै गाडीमा गुन्द्रुक कोचिए झैं कोचिएँ- के पुरुष के महिला!

न खबरदारी, न त जिम्मेवारी !

सबै खाँदिएर बाटो ततायौं- राराको स्पर्श गर्न। बोलेरोमा भएका यात्रुहरू पनि पहिलो पल्ट रारा घुम्नै आएका रहेछ्न् । हामी सबै अञ्जान यात्रीहरू साझा गन्तव्यको लागि प्रस्थान गर्‍यौं । एकआपसमा परिचय गर्दै र छायानाथमा पर्ने रारालाई छायामा पारिएको कारण खोतल्दै।

नगरपालिका हुन न्यूनतम पक्की सडक हुनुपर्ने मापदण्ड हुन्छ कि हुँदैन ममा खुलदुली जाग्यो ।

देशविदेशमा ख्याति आर्जन गरिसकेकी रारालाई भेट्न स्वदेशी तथा विदेशी पाहुनाहरू आइरहन्छ्न्– स्थानीयले त लाजले पनि केही पहल गर्नुपर्ने हो तर त्यस्तो सोच्नु नै अपराध ठहरिने अवस्था भइसकेको रहेछ ।

आफ्नो पहिचान बनाउन, मातृभूमिप्रतिको ऋण तिर्न पनि त्यति त गर्नै पर्थ्यो । त्यहाँका धेरैजसो जनप्रतिनिधिहरू कोहलपुर, काठमाडौं र सुर्खेतमा घर बनाएर उतै बस्दारहेछ्न्। न कसैले गर्दारहेछन् खबरदारी, न जनप्रतिनिधिले बुझ्दारहेछ्न् जिम्मेवारी !

दुर्गमका नागरिकको दुर्गति अनि नेताको अबैध धनको प्रगति चै मजैले हुने रहेछ। अख्तियारको हतियार पनि सुगम ठाउँमा मात्रै चल्ने कस्तो आर्टिफिसियल इन्टेलिजेन्स भएको ।

विभिन्न योजनाका लागि विनियोजित बजेट ठेकेदार मार्फत सीमित नेता र कर्मचारीहरूले प्रतिशतमा कमिसन खान्छन् । सम्पन्न नभएका स्वास्थ्यका भवनहरू पनि सम्पन्न भएको भनेर बजेट निकासा गराउँछन् । दुर्गम भत्ता पाउने उनै, महँगी भत्ता पाउने उनै, सेवा सुबिधा तलब भत्ता पाउने उनै- कसरी नबनोस् नेताको घर शहरमा । गरीब जनताको जीवन सहज किन हुनुपर्यो? अधिकांश कर्मचारीहरू अफिसमा भेटिँदैनन्, भेटिइहाले भने भेटी बिना काम गर्दैनन्।

जनप्रतिनिधिको त झन् के कुरा गर्नु! एक दिन वडा कार्यलय नगैकन वडाध्यक्षको कार्यकाल सकियो । वडाअध्यक्षले वडा सदस्यलाई काबा, वडा सदस्यले अर्कोलाई काबा, अहिले त “काबा” भन्ने शब्द नै एकबाट अर्कोमा सर्दा सर्दा अपभ्रंस भएर “बाबा” भन्न थालिसकेका छन् ।

नेपाललाई नै चिनाउने, नेपालीहरूलाई रोजगार दिन सक्ने त्यति सुन्दर राराले छायानाथ देवताको आशीर्वाद पाउन सकेको रहेनछ। जनप्रतिनिधि र कर्मचारीहरूकै कारण यहाँको विकास, चेतना, समृद्धि, शिक्षा, स्वास्थ्य सेवा सुविधामा निकै छाया पारिएको रहेछ । यसो भन्दाभन्दै हामी रारा पुग्यौं ।

राराको एम्बुस- एक पाेका चाउचाउकाे सातसय

रारातालको छेवैमा पुगेपछि बाटोभरी गरेका गुनासो र गन्थनलाई राराको अनुपम दृश्यले मनमेहक बनायो, मोहित तुल्यायो। तालको वरिपरि धुपी सल्लाको हरियो जङ्गल, नीलो, सफा अनि कञ्चन र गहिरो ताल । आँखाले भेट्न नसक्ने तालको छेउमा विशाल गौचरनमा चर्दै गरेका गाइवस्तु, आफ्नै धुनमा मुसुक्क हासिरहेको रारा देखेर मन फुरुङ भो । निकै अघिदेखिको रारा पुग्ने सपना पूरा भयो।

सीमित डुङ्गा र मानवस्रोतका कारण धेरै यात्रु लाइनबद्ध भएर डुङ्गाको प्रतीक्षामा थिए । म पनि उसैगरी लाइनमा उभिन पुगें । उभिएको १ घन्टामा पनि हाम्रो पालो आउने सम्भावना नदेखिएपछि खाजा खान यसो होटेल हेरें । अहँ कतै देखिएन। मसँगै आएका टोलीहरूले त त्यहाँ पाइँदैन भनेर आफैं बोकेर ल्याएका रहेछ्न् । पोका च्यातेर चाउचाउ चपाउन थाले ।

सभ्य नै देखिन्थे तर उनीहरूले पनि ती चाउचाउ र बिस्कुटका खोलहरू फाँको मार्न उभिएकै ठाउँमा फाले । जनावरले जहाँ खायो त्यही गोब्य्राए झैं गरी ।

हरे ! मान्छे देख्दा जति सभ्य देखिन्छन् व्यवहारमा त्यति नै असभ्य हुँदा रहेछन् । किन त्यसरी फालेका होलान्– प्लास्टिकका झोला, पोका र पाउच ? सुर्तीजन्य मेघाश्री र भोलाहरू अनि चुरोटका खोलहरू !

एक मन त भन्थ्यो ती सबैलाई टिप्न लगाउँ, अर्को मन भन्थ्यो म एक्लो बृहस्पतिले भनेर के लाग्ला र ? किन बाठो पल्टेको भनेर खेद्लान फेरि । यस्तै सोच्दै रारालाई फोहोर पार्दा आफूले निरीह भएर टुलुटुलु हेर्नु परेको प्रति क्षमा माग्दै बसिरहें । डुङ्गा लगभग आउने खबर पाइयो अनि लाइन बस्दा फ़ेरि अघिकै टोलीसँगै परियो। त्यो अघिको चाउचाउ र चुरोटका खोलहरू टिप्न लगाउने साहस बटुलें र भनें “आज हामी राराको सुन्दरता हेर्ने बहानामा भेट भएका छौं राराको लागि केही गर्न नसकिए पनि यो तालको वरपर छरिएका खोलहरू टिपेर फालौंन- जाउँ !”

मेरो कुरा सुनेर सबैजनाले असहज मानेझैं गरे । किनभने उनीहरूले पनि भर्खरै फोहोर फालेका थिए । लाजले रातोपिरो हुँदै सबैजना फोहोर फाल्न तम्सिए म पनि सँगै गएर सहयोग गरें । केही फोहोर बटुलेर एक ठाउँमा थुपार्‍यौं । यत्तिकैमा डुङ्गा पनि आइपुग्यो । सबै जना हरर चढ्यौं । एक घन्टा लगाएर वरिपरि घुम्यौं । पारी पुगेपछि एउटा होटेल देखियो। खाजा खानुपर्यो भनेर खाजा के छ भनेर होटेलवालालाई सोधेको २ मिनेटपछि जबाफ दियो- “केही पनि छैन”। म आश्चर्य मान्दै सोधें “यहाँ त मानिसहरू आइरहन्छन् स्थानीयहरू होटेल लज, खाजा खाना, नास्ता राखेर व्यावसायिक र व्यवहारिक बन्दै पैसा कमाउन सकिन्छ नि ! तिनले मेरा कुरालाई ध्यान नै नदिइकन मान्छेहरूको चहलपहल हेरिरहे । मलाई भोक लागिरहेको थियो अरु सबै फोटो खिच्न थाले।

अरु होटेल नि थिएनन्, म फ़ेरि तिनैलाई दाइलाई पिरोल्न गएँ ।” दाइ ! चाउचाउ त बन्छ होला नि? ” चुपचापले उनी भित्र गए । उनले बन्छ नि भनेनन् बन्दैन नि भनेनन् । म त्यहीँ वरपर फोटो खिच्दै थिएँ । एक्छिनपछि बाहिर निस्केर उनी बोले- “चाउचाउ पाक्यो”। म लुरुलुरु आएँ- मलाई मालिकले भर्खरै निर्देशन दिएझैं गरी । मलाई बेस्सरी भोक लागेकाले मसँग अरु उपाय थिएन । खाइसकेपछि भनें- बिल कति भयो दाइ ?

म तिर हेर्दै उनी बोले “सात सय।” म छक्क परें- एउटा चाउचाउ पकाएको सात सय? अरे बा कति महङ्गो ? किन यस्तो महङ्गो ? मेरो कुरा सुनेको नसुनेझैं गरी भित्र पस्यो। म एउटा ५०० को नोट र दुईटा सय सयको नोट राख्दिएर रारा छेउमा आएँ। म मुर्मुरिँदै बोलें- बाफ्रे बाफ ! जस्तोतस्तो मानिसले त यहाँ घुम्न आउँने रहर नगरे पनि हुने रहेछ। न खानपिन न बास बस्ने व्यवस्था- एउटा मात्रै होटेल भएकाले उसको सिन्डिकेट खतरै रहेछ। म मात्रै होइन त्यहाँ आउने अन्य यात्रुहरूलाई लुट्दै दादागिरी गरेको देखेर म अवाक भए। आखिर म पनि एम्बुसमा परिसकेको थिएँ ।

नेपाल वायुसेवा निगमको जहाज आउँछ अरे भनेर टिकटको लागि दौडधुप गरें। त्यहाँ फ़ेरि अर्को समस्या रहेछ- टिकटको लागि जिल्लादेखि प्रदेश र संघको नेताहरूको पावर अभ्यास हुँदोरहेछ । म एउटा अञ्जान यात्री कसलाई भन्सुन गर्नु? टिकट पाइएन। भोलिपल्टको टिकट त पाइयो तर बोर्डिङ पास लिएर अब उड्न पाइने भो भन्ने भएपछि जहाजको पर्खाइमा लामबद्ध भएर बसिरहेका वेला नेपालगञ्जबाट कल आयो- प्राविधिक समस्याले जहाज उड्न सकेन । भोलिपल्ट तारा एयरको जहाज आउने रे भनेर ५ बजे नै टिकट काट्ने ठाँउमा लाइनमा उभिएँ । त्यसमा पनि पावर नै लगाउन पर्ने रहेछ हरे !

मन्त्रमुग्ध पार्ने रारामा फेवातालको सम्झना

एक वर्ष अघि पोखरा जाँदा फेवाताल घुम्न गएको थिएँ । त्यहाँ वरिपरिका थकाली होटेलहरूको आतिथ्य सम्झिए । अनि उनीहरूको सरल, सभ्य र मधुर मुस्कानसहितको व्यापार गर्ने शैली याद गरें ।

फेवातालले कति धेरै परिवार पालेको छ, देश विदेशबाट आउने पाहुनालाई सत्कार गरेर उपकार गरेको छ । उनीहरूको जीवनस्तर उकास्न र जीवन शैली बदल्नलाई उकेरा लाएको छ । भलै शहरको बीचमा रहेकाले अर्गानिक हराएर आधुनिक जमानाका लवज र खुवाइकै प्रबन्ध गरिएको किन नहोस् । म जति पटक त्यहाँ पुगे पनि फेवातालसँगै फुरुक्क पर्छु।

राराको महिमा र मूल्य नबुझेर नेपाल सरकार लगायत यहाँको प्रदेश सरकार, स्थानीय सरकार र नागरिकहरूले उपेक्षा गरेको आभास भयो। न रारासम्म पुग्ने यातायातको प्रबन्ध गरिएको छ, न त्यहाँ खानपिन र बसोबास गर्ने प्रशस्त होटल वा टहरा छ्न्। एकचोटी राराको पानी अञ्जुलीभरि राखेर बात मारे- “प्रिय रारा! तिमी साँच्चै छायामा छौ । तिम्रो अवस्थिति नै छायामा परेको रहेछ । म जस्तै तिमीलाई भेट्न टाढा टाढाबाट आउने यात्रुहरूलाई यहाँ आउँदाको असहजता, भोक र थकान मार्न र केही दिन अडिन नपाउँदा भोगेको असुविधा हेरेर तिमी कति रुन्छौ होला है? तिम्रो सफा निश्चल चेहरा वरिपरि मान्छेहरूले कहाँकहाँबाट बोकेर ल्याएका रेडिमेट खाजा पोक्याएका प्लास्टिकका खोल अनि तिम्रो काखमा बिना चिन्ता खेलिरहेका माछालाई जोगाउन अरु के भनौं !

स्वर्गकी अप्सरा भनी राजा महेन्द्रले यसै भन्नुभएको होइनरहेछ । मुलुक कै गौरवशाली यो ताल ५ किलोमिटर लम्बाइ र ३ किलोमिटर चौडाइको रहेछ । १६७ मिटर गहिराइ रहेको यो तालले दिनभरि विभिन्न रङ बदलिरहँदो रहेछ। रारा राष्ट्रिय निकुञ्जको हरियाली बन- आहा ! त्यहींमाथि सिस्ने र कान्जिरोवा हिमालको परिदृश्य । माथि हिमाल तल तालमा छाया । यो पवित्रस्थलको परिदृश्य देखेर कुन मनुवा मन्त्रमुग्ध नहोला !

नीलो तालको छेउ छाउमा ती असला माछाहरूको नाच हेरेर नरमाउने को होला। यिनै स्वर्गीय आनन्दमा डुबुल्की मार्दै अरु जस्तै म पनि त्यसैत्यसै लट्ठिइसकेकी थिएँ ।

सुकबहादुर, भेडा र म

मनभरी राराको अथाह माया सँगाल्दै म फर्किएँ राराको किनारै किनार। बाटोमा लगभग १५० वटाजति भेडा चरिरहेको देखें। एक्छिन ती भेडा गोठालाहरूसँग पनि गफिएँ ।

यो उनीहरूको पुर्खौली पेशा जिजुबाजेकै पाला देखिको रहेछ। राराकै सेरोफेरोमा आफूले भेडा चराएर ६ दशक बिताइसकेका ती बाजेले राराको बारेमा मुक्तकण्ठले प्रशंसा गरे। रारामा आउने यात्रुहरूलाई दुई चार दिन अड्याउन सकेको भए गाउँलेहरूले उत्पादन गरेको सिमी, फापर, जौ, गहुँ गाउँमै बिक्री हुन्थ्यो । यहाँ त मानिसहरू आउँछन्, डुङ्गा चढ्छ्न्, अनि फर्किन्छ्न् । बास बस्ने ठाँउ नभएर नअडिएका पर्यटकहरू दोहोर्‍याएर आउन मन गर्दैनन् । उनले मसँग यस्तै यस्तै गुनासो राख्न भ्याए ।

यो कसले गर्देनन् त बाजे ? भनेर मैले उनीसँग जिज्ञासा राखें।

उनले भने “त्यहाँको बस्ती उठाएर राजा महेन्द्रले तराई झारे, यहीँका धर्तीपुत्रहरूले पो आफ्नो धर्म र आवश्यकता सोचेर रारालाई सेवा गर्थे । यहाँ आउने पाहुनाहरूलाई सत्कारका साथ अड्याएर राख्थे । जिल्लाकै एक जना सांसदले आएर होटेल खोलेर बसेका छन् । उनले पनि जीविकाको लागि नभएर सौखका लागि खोलेका हुन्- त्यो होटेल । सौखले खोलेको भएकाले होटेलमा उनी कहिलेकाहीं मात्रै आउँछन् । नत्र सधैं कर्मचारीहरूकै भरमा हो । होटेल कहिल्यै खाली हुँदैन, त्यसले पैसा लुट्नुसम्म लुटेको छ । विदेशी बसे भने स्वदेशी पाहुनालाई गन्दा पनि गन्दैन । मान्छे पेशामुखी हैन पैसामुखी भए नानी।” सुकबहादुर बुढा क्षेत्रीले गरेका यी कुरा सुनेर म त एक्छिन बोल्नै सकिन।

एयरलाइन्सको दादागिरी र युद्ध जित्ने म

स्थानीय बासिन्दाको यो मूल्यांकन अघि भर्खरै मैले भोगेको कुरासँग हुबहु मिल्यो । म हिँड्दै हिँड्दै मिलिचौरसम्म आइपुगें । त्यहाँ गाडी रिजर्भ नगरी हिँड्दो रहेनछ । म पनि २५०० तिरेर अरुसँग मिसिँदै ताल्चा विमानस्थलसम्म आइपुगें । ताल्चा विमानस्थल वरिपरि केही होटेलहरू रहेछ्न् । म त्यहीँ बास बसें । त्यसवेला भोलिपल्ट काठमाडौं कसरी पुग्ने भन्ने बाहेक अरु केही ध्याउन्न थिएन । नेपाल वायुसेवा निगमको जहाज आउँछ अरे भनेर टिकटको लागि दौडधुप गरें। त्यहाँ फ़ेरि अर्को समस्या रहेछ- टिकटको लागि जिल्लादेखि प्रदेश र संघको नेताहरूको पावर अभ्यास हुँदोरहेछ । म एउटा अञ्जान यात्री कसलाई भन्सुन गर्नु? टिकट पाइएन। भोलिपल्टको टिकट त पाइयो तर बोर्डिङ पास लिएर अब उड्न पाइने भो भन्ने भएपछि जहाजको पर्खाइमा लामबद्ध भएर बसिरहेका वेला नेपालगञ्जबाट कल आयो- प्राविधिक समस्याले जहाज उड्न सकेन । भोलिपल्ट तारा एयरको जहाज आउने रे भनेर ५ बजे नै टिकट काट्ने ठाँउमा लाइनमा उभिएँ । त्यसमा पनि पावर नै लगाउन पर्ने रहेछ हरे ! मसँगै टिकट काटेकी एकजना वृद्ध आमा थिइन्, छोराछोरी नेपालगञ्ज बस्दारहेछन् । अहिले उपचार गर्नका लागि जान लागेकी रहिछन् । प्लेन भाडा ७२०० मात्रै बोकेर घरबाट आएकी रहिछन्।” दुईदिनसम्म होटेलमा बास बस्नु पर्दा एक दिनको लज भाडा २५०० अनि सादा खाना एक छाकको ३००। उनले आफूसँग पैसा नभएकोले उताबाट फर्केर आउँदा दिने सर्तमा आफूले लगाएको तिलहरी बैना राखिन- फर्किँदा पैसा तिरेर तिलहरी लैजाने भनेर। “हामीलाई नै किन घरीघरी यसरी दु:ख दिन्छन् होला मान्छे र प्रभुले है नानी ? !”

ती आमाको एक वाक्यमा आएको क्रन्दनले मेरो मनलाई अमिलो बनायो । उहाँको बेथा देखेर मेरो सारा थकाइ र तनाव नगन्य लाग्यो। १२ बजे जहाज आउने पर्खाइमा हामी दु:खसुखका गन्थन गरेर बस्यौं । घरमा फोन गर्न टावर थिएन । त्यतिखेर ती आमाबाहेक अरु कोही आफन्त थिएन- मेरो लागि।

म जस्तै घुम्न आएका अरु पनि यात्रुहरू भन्दै थिए “अडकलेर ल्याएको खर्च सबै सकियो । बैंक पनि नजिक छैन, नेट टावर केही टिप्दैन। गमगढी गएर पैसा लिन जाउँ टिकट काटिसकेको प्लेन छुटिजाला। कस्तो अपहत्ते पर्‍यो । अब रारा आउने रहर बाँचुञ्जेलीलाई पुग्यो।” एअरपोर्टदेखि गमगढी पुग्न गाडीमा डेढ घन्टा लाग्छ । त्यही गाडी पनि प्रशस्त भए हो नि ! पाइँदैन । जानै परेमा रिजर्भ लान पर्ने बाध्यता हुन्छ । रिजर्भ लाँदा ६००० न्यूनतम रेट। ओहो ! यस्तो दुर्गम त्यहाँमाथि कृत्रिम दुर्दशा । अहिले भोगेर पछि सम्झेर सधैंभरिलाई पुग्ने चोटले मन भारी भयो। मलाई कहिले नेपालगञ्ज पुग्नुजस्तै भयो। ताल्चा विमानस्थलबाट नेपालगञ्ज आइपुग्नु भनेको एउटा लडाइँ जित्नु सरह रहेछ।

घुनले सुन के चिन्थ्यो र त्यस्तै रहेछ- कर्णालीमा रारा। ठूला ठूला नेताहरू चर्को चर्को भाषण गर्छन्- ‘कर्णालीको शान, हाम्रो रारा र नेपाली भाषाको मुहान जुम्लाको सिंजा!’ भनेर तर कोमल कर्णालीलाई कति कठोर र दुर्ज्ञेय बनाइएको छ- माल पाएर चाल नपाएका बुद्धुहरूलाई के थाहा ?

प्रकृतिले उपहार दिएको तर मान्छेले नचिनेको रारा, हरेक तरहले छायामा परेको महसुस भयो। छायानाथमा पर्ने रारा साँच्चिकै छायामा परेको आभास भयो। पर्यटन प्रबर्द्धन गरी विश्वभरि नेपाललाई चिनाउने र नेपालीहरूलाई पाल्नसक्ने प्रचुर सम्भावना बोकेको सुन्दर रारा कहिले चिन्ने, कसले चिन्ने ! मेरो कामना छ- प्रकृतिले यहाँका सबै गन्मान्यलाई सद्बुद्धी दिउन् ।

बल्लतल्ल १ बजे तारा एयरको जहाज आयो । जहाजमा चढेपछि नउड्दासम्म नेपालगञ्ज पुगिने विश्वास लागेन किनभने प्राविधिक समस्या भनेर उताकालाई यसैगरी गुमराहमा पारेर भाडा बढाउने वा अन्त पैसा बढी पाइए त्यतै जाने घटिया प्रवृत्ति भएको एयरलाइन्स रहेछ ! तेत्तीसकोटि देवताहरूको प्राथना गर्दै उड्ने कामनासहित जहाज भित्र बसियो। केही मिनेट मै जहाज उड्यो। रार माथि माथि जहाज उड्दा मैले झ्यालबाट आँखाले फेरि धितमरुञ्जेल रारालाई चियाएँ। नेपालगञ्ज अवतरण भएपछि युद्ध जितेर फर्केको सिपाही झै हर्षविभोर भएँ।

(श्रोत: आइएनएस)

तपाइँको प्रतिक्रिया

फेसबुक