आइतबार, असोज ९, २०७९

रातो मच्छिन्द्रनाथको जात्रा सकियो, अब देउताको बास पाटन र बुङ्ममतीमा

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ जेठ २१ गते १९:३०

गत वैशाख २१ गतेदेखि सुरु भएको रातो मच्छिन्द्रनाथको रथ जात्रा शनिवार भोटो देखाएसँगै सकिएको छ । लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा ललितपुर जिल्ला गुठीका प्रमुख हरिप्रसाद सुवेदीले भोटो देखाउँदै सम्पन्न भएको हो । यो जात्रा विगत दुई वर्ष देखी हुन सकिरहेको थिएन ।

उपत्यकाको सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरमा मात्रै नभई काठमाडौं उपत्यकावासीकै सहभागितामा धुमधामका साथ मनाइँदै आएको छ । विगत दुई वर्ष कोभिड–१९ का कारणले जात्रा नियमितरूपमा सञ्चालन हुन नसकेकामा यस वर्ष उत्साहका साथ रथयात्रा सम्पन्न भएको गुठीका प्रमुख सुवेदीले बताए ।

ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीका अनुसार जावलाखेलको जात्रालाई सात गाउँको जात्रासमेत भन्ने गरिएको छ । भोटो देखाउने काम सकिएसँगै देवतालाई बुङ्ममती लगिएको छ । देवता वर्षमा झण्डै आधा समय पाटन र आधा समय बुङ्ममती रहने गर्छन् । जात्रा समापन भयसँगै उक्त ऐतिहासिक भोटोलाई बुङ्ममतीमा सुरक्षा घेरा दिएर राखिने पनि प्रमुख सुवेदीले बताए ।

“मच्छिन्द्रनाथलाई पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थान हुँदै जावलाखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भन्ने गरिन्छ । यो रथयात्रालाई मच्छिन्द्रनाथको स्वर्गलोकको भ्रमणतुल्य मानिन्छ” ऐतिहासिक महत्व सुनाउँदै प्रमुख सुवेदीले भने ।

ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौँ र भक्तपुरवासीको पनि सहभागिता रहँदै आएको छ । रथ लिन जाँदा ललितपुरका किसान रथचक्र, काठमाडौँका गुरु बन्धुदत्त बज्राचार्य र भक्तपुरका राजा नरेन्द्रदेवसँगसँगै जानुले जात्राको ईतिहास काठमाडौँ र भक्तपुरवासीसँग जोडीएको अनुमान लगाउन सकिन्छ । तर पनि अहिले काठमाडौंवासी र भक्तपुरवासी रथ तान्न भने आउन छाडेका छन् । किसान रथचक्र, गुरु बन्धुदत्त बज्राचार्य र राजा नरेन्द्रदेवको सम्झनामा रथ यात्रा हुने गरेको जानकार बताउँछन ।

गाबहालबाट सुन्धारासम्मको यात्रा भक्तपुरका राजा नरेन्द्रदेवको र सुन्धाराबाट लगनखेलसम्मको यात्रा किसान ललित रथचक्रको स्मरणमा हुने गरेको छ । अहिले पनि पुल्चोकबाट गाबहालसम्मको जात्रालाई काठमाडौंवासीको र गाबहालबाट सुन्धारासम्मको जात्रालाई भक्तपुरवासीको जात्रा भनिन्छ ।

मच्छिन्द्रनाथको जात्राको तयारीका लागि गुठी संस्थान झण्डै वर्षभर नै लाग्ने गरेको छ । यस वर्ष झण्डै रु ५० लाख खर्च भएको गुठी कार्यालयले अनुमान गरेको छ ।

मच्छिन्द्रनाथको पर्व, पूजा, रथ निर्माणलगायत कामका लागि कार्यालयले रकम उपलब्ध गराउँदै आएको छ । जङ्गलमा गएर काठ काट्नेदेखि, आवश्यक सामग्री बनाउने र रथ बनाउने तथा भोटो देखाउँदासम्म विभिन्न समुदायको सहभागिता हुने गरेको छ ।

परम्परालाई तोड्दै पछिल्लो जात्रासम्बन्धी काममा केही वर्षदेखि युवाको सहभागिता बढिरहेको पाइन्छ । घरमा बुबा, हजुरबुबाले नसक्ने अवस्थामा सन्तानले उक्त जिम्मेवारी लिने गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक