बुधबार, असार १५, २०७९

अदृश्य घाउ

धनराज गिरी२०७९ जेठ २३ गते २:१८

“यतिखेर म लाइफ — रीभिजिट गर्दैछु सुपुत्र। आखिर जीवनमा यो प्रोफेसर जगमोहन आजाद यति बागी किन भयो? कसको लागि? केका लागि? किन? मलाई लाभ के भयो? म कति माथि पुगें?वा कति तल? किन हो यो लीला? म यो उत्खनन गर्दैछु छोरा।” नयाँ कार आयो घरमा। पुत्र आलोकनारायण विवेकीले बाउलाई लिएर घुम्न निस्कियो। यही समयमा आफ्नो बानी र परिवारको जिन्दगानीको बारेमा खुलेर विरेचित हुने मौका पायो।

लिटिल बुद्ध उपनाम पाएको आलोक, आफैं आलोकित छ । कुरा बुझेको छ । दुनियाँ चिनेको छ। बोल्यो, “बा, अतीतजीवी नहुने नि। सकियो। हजुरले नै अमिताभ बच्चनको पाँच जीवनसूत्र भन्नुभएको होइन र? बिर्सनपर्छ अब क्याम्पसलाई। बिर्सनपर्छ, अब अतीतका नकारात्मक अमित्रहरूलाई। यति राम्रो जिन्दगी छ हाम्रो। हजुरको लागि अपरिहार्य को हो? अबको समय त हजुरले अझ खारिएर पितामह ” सरलनारायण विवेकीज्यू ” ले भनेजस्तै ” भारवि” बन्ने हो। टेन्सन नही लेनेका बा, मै हूँ न !! ”
—-

“अरे पुत्र,कुनै कुनै कुरा अचम्मकै हुनेरहेछ। एक निर्दोष नै अभियुक्त भएपछि “अदृश्य घाउ” बढी दुख्ने नि,घाउ भएपछि “पीपनदी” बग्छ। यही भएर अब कसम खाएको यो लौरोको काम हो । पानीले आफ्नो सतह आफैं मिलाउने छ। हरेक पापीले सजाय पाउने कुरा पक्का छ। दलेहरू किन गले ? स्पष्थ छ, आफ्नै कुकर्मले! मैले केही गर्न पर्दैन छोरा, हरेक युगमा पापीले सजाय पाएको छ, सत्य इज सत्य। बाको भित्री मनले तिमीहरूमाथि भएको चरम शोषणलाई सहन नसकेको हो।

दोहोरो नाता हुने आफन्तहरूलाई पनि थाहा छ,को हो जरासन्ध र को हो भीम! को हो अमृत र को हो जहर! अहंकार र दम्भले व्यक्तिलाई पुर्याउने नरकमा। पैसाको बलले, अलि अलि छलले,केही दिन तथ्य लुक्ला, तर छोरा आगो लागेको स्थान गोप्य रहला, धूम्र त देखिन्छ। आखिर कर्ण कुन्तीपुत्र हुन् भन्ने कुरा जगजाहेर भयो। अब पीर नमान्नू!”

“म सबै बुझ्छु बा! हामीले हाम्रो बाको सरलता, सज्जनता, इमान, जमीर, सहयोगको भावना नबुझेको हो र? हजुरकै स्वास्थ्यमा प्रतिकूल असर नपरोस् भनेर हो। हजुरको साहित्यप्रतिको अनुराग थाह छ। ” आई हेट माई ड्याड” भनेर म आफ्नो डायरीमा लेख्ने छैन। हाम्रा हजुर बा “प्रेमसागर गिरोपाध्यायको अवतार हजुर आफैंमा प्रेमको सरोवर हुनुहुन्छ। कतिलाई माफ गर्नुभयो। त्यो “नटवरलाल “लाई पनि माफ गर्नुहोस् । अनुहार देख्नुभएको छैन ? हजुरको अनुहार “बालेन्द्र शाह बालेनको” जस्तो छ, ऊ ?

भो,भो,भो! अब पुग्यो बा! भित्र भित्र उसलाई पनि त थाहा छ सत्य के हो ? र हजुर कस्तो मान्छे हो! दुनियाँलाई खेल्ने स्पेस नदिनू क्या, बरू ” भुइँ कटहर” महाकाव्य लेख्नुहोस् । म छपाउने छु। मेरो बा किशोर, रफी,मुकेश, नारायण गोपाल, बच्चु कैलाश, लता, तारा, जगजीत आदिसित भुलेको नै मनपर्छ। इग्नोर इट,प्लीज बा ! लभ यू बा! विमल, निर्मल, कन्चन नि हजुरको जिन्दगानी,कमलपोखरीको “नीरज” हो हजुर, धीरोदात्तको अर्थ सिकाउनुभएको होइन? छोराको लागि यत्ति भासबाट बाहिर आउनुहोस् बा, हामीलाई हाम्रो “रोमान्टिक बा” चाहियो। हजुरको उज्यालो अनुहार नै हाम्रो शक्ति हो, प्रेरणा हो, ऊर्जा हो !”

“आयुस्मान भव पुत्र! “आजादले कालो चस्मा लगायो, किन कि नयननीर गाला नामको भीरबाट यात्रामा निस्किदै थिएँ ।

तपाइँको प्रतिक्रिया

फेसबुक