आइतबार, असोज ९, २०७९

खोलामा बस्ती कि बस्तीमा खोला: मिलन चोकको कथा

यशोदा भण्डारी / काठमाडौं२०७९ जेठ २४ गते २:४७

यशोदा भण्डारी

जुन ५, विश्व वातावरण दिवस। ज्येष्ठ शुक्ल षष्ठी अर्थात् सिथि नखः। पानीका श्रोतहरूको सरसफाइ र सुव्यवस्था गर्ने पर्व। अरू वातावरणसम्बन्धी यी दुई पर्व मनाइरहेका बेलामा काठमाडौँको एउटा अव्यवस्थित बस्ती कपनमा भने आकाशतिर हेरेर पानी पर्ने हो की बाढी आउने हो भनेर बस्न बाध्य छन् स्थानीय बासिन्दा।

कपनको मिलन चोक आसपासको क्षेत्र भएर बग्ने ठाडो खोला वातावरणलाई पूरै वेवास्ता गरेर नेपालमा विकास कसरी हुन्छ र त्यसले कसरी विनाश ल्याउँछ भन्ने कुराको राम्रो उदाहरण हो। विकास यसरी चाहिँ गर्न हुँदैन भनेर पाठ्यपुस्तकको एउटा पाठ बनाएर विद्यार्थीलाई पढाउनु पर्ने उदाहरण हो।

काठमाडौंको कपन मिलन चोक, भृकुटी चोक, तेन्जिङ चोक वर्षायाम सुरुभएपछि सँधै डुवानमा पर्छ। जताततै विकासका नाममा ढल पनि हालिएको छ, सडक कालो पत्रे पनि देखिन्छ तर झरी पर्न थालेपछि आसपासको क्षेत्र पूरै डुब्छ र सवारी आवागमन अस्तव्यस्त बन्छ।

मिलन चोकमा ठेला गाडामा मौसमी तरकारी तथा फलफूलको व्यवपार गर्ने रीता बरालको बर्खा लागेपछि डुवान, हिलो, फोहोर र ढलले कारोबार चौपट हुन्छ। ग्राहाक आउने त परको कुरा पानी सडक माथिबाट बग्न थालेपछि आफ्नै सामान जोगाउन धौधौ पर्छ– बराललाई। घाम लागेको समयमा, मानिसहरू सडकमा आनन्दले घुमफिर गर्दा बरालको व्यापार निकै राम्रो छ। फलफूल बेचेर ४ जनाको परिवार पालिरहेका बरालका अनुसार उहाँ बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म म यही सडकमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ– श्रीमान\ गाडी चलाउनुहुन्छ, बर्खा लागेपछि न श्रीमानको गाडी चल्छ न मेरो व्यापार हुन्छ। जेनतेन अचेल एक हजारसम्मको फलफूल बेच्छु त्यही पनि पानी र ढल छल्दै छल्दै घुम्नुपर्छ। पानी परिरहेको बेलामा त हामी रित्तो हात कोठामा फर्किने गरेका छौं।

पानी दर्केपछि मिलन चोक, भृकुटी चोक, तेन्जिङ चोक लगायतको क्षेत्रका व्यवसायी सटर बन्द गरेर सामान जोगाउन तिर लाग्छन्। कुन बेला पानी पस्छ पत्तै हुँदैन। हरेक वर्ष पानी पर्दा यहाँका सर्वसाधारण, व्यवसायी हरेकले कुनै न कुनै समस्या झेलेकै हुन्छन्। यो वर्षौंदेखिको समस्या हो।

कपनको मिलन चोक आसपासको क्षेत्र भएर बग्ने ठाडो खोला वातावरणलाई पूरै वेवास्ता गरेर नेपालमा विकास कसरी हुन्छ र त्यसले कसरी विनाश ल्याउँछ भन्ने कुराको राम्रो उदाहरण हो।

स्थानीय ध्रुव पौडेल, मिलन चोक टोल सुधार समितिले बाढी अथवा ढल निकासलाई व्यवस्थित बनाउन केही काम नगरेको बताउनुहुन्छ। विगत ५ वर्षदेखि मिलन चोकमा कपडा पसल चलाएर बस्नुभएका पौडेल, पसल सुरु गरेदेखि आजसम्म यही ढल तर्काउने, पसल भित्र पानी पस्न नदिने तथा सामान डुव्न बाट जोगाउने समस्यासँग जुधिरहनु भएको छ। “पसल राख्न थालेदेखिकै समस्या हो तर कहिल्यै समाधान भएन। पहिले हिलाम्मे सडक थियो। अहिले जेनतेन सडक हेर्न हुने बनाए फेरि पानीको निकास बन्द गरेर यो हालत् छ”– पौडेलले गुनासो गर्नुहुन्छ।

मिलन चोक आसपासको क्षेत्र भएर बग्ने ठाडो खोला अहिले यही बस्तीको मुनि भएर बग्छ। खोलामाथि बस्ती बसेपछि त्यही खोलाको निकास थुनिएर खोला निरन्तर बस्तीमा पस्न थालेको हो। बाटो बनाएको छ, ढलका पाइपहरू बिछ्याएका छन् तर पानीका लागि पर्याप्त निकास हुने उपाय गरिएन । वर्षैपिच्छे उही समस्या झेल्नुपरेको छ, पौडेल भन्नुहुन्छ, नगरपालिकाले यही डुवानलाई देखाएर हरेक वर्ष काम गरेको जस्तो पनि देखिन्छ तर अब त धोवीखोला समेत बस्ती भित्र आउन थालिसकेको छ।

स्थानीयका अनुसार ठूलो पानी परेको बेला कपनको मिलन चोक, शिब चोक क्षेत्रको सडकमा ३ फिटभन्दा बढी पानी जम्छ। बालबालिकाहरू डुव्छन्। सवारी साधन फस्छन्। जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरू घण्टौंसम्म थुनिएर बस्ने गरेका छन्। हरेक वर्ष बर्खाको पानी जमेर व्यवसायीको कारोबार चौपट बनाइरहेको हुन्छ। स्थानीय व्यवसायी पौडेलले, गएको वर्ष लगातार पानी पर्दा पसल भित्र धेरै दिनसम्म पानी जमेर ठूलो क्षति भएको सम्झनुहुन्छ। यो वर्ष पसल अगाडि पानीको बितण्डा छेक्न पौडेलले पर्खाल लगाउनुभएको छ, तर ढुक्क हुने अवस्था छैन।

अहिले नगरपालिकाले मिलन चोकको उत्तर पश्चिमतर्फ ढल हाल्ने काम गरिरहेको छ। ढल हाल्न खनेको खाल्डोले झनै अस्तव्यस्त बनाएको छ। महिनौंसम्म खाल्डो खनेर छाड्ने ठेकदारको लापर्बाहीले आजित भृकुटी चोकका व्यवसायी लक्ष्मण चौहानको व्यवसाय पनि बिग्रेको छ। बाटो समयमै मर्मत नहुँदा ग्राहक आउँदैनन्, घाम लाग्दा धुलो हुन्छ, अलिकति पानी परेपछि हिलोले हिडिसक्नु हुँदैन, चौहानले भन्नुभयो केही बेर ठूलो पानी पर्‍यो भने सडक बाटै खोला बग्न थाल्छ– को आउने। उनका अनुसार यो विगत ४ वर्षदेखिको समस्या हो। बर्खा लागेपछि त सटरको भाडा समेत तिर्न सकिन्न। बर्खा लाग्यो कि पसल बन्द गर्ने र सामान पोको पारेर नडुब्ने गरी राख्नुपर्ने बाध्यता छ।

विकास यसरी चाहिँ गर्न हुँदैन भनेर पाठ्यपुस्तकको एउटा पाठ बनाएर विद्यार्थीलाई पढाउनु पर्ने उदाहरण हो।

शनिवार दिउँसो मिलन चोकको पुरानो खहरे नजिकै व्यवसाय गर्दै आएका ७० वर्षीय वृद्ध नरबहादुर पराजुली पानी नपरेको मौका छोपेर पसल अगाडि पाइप गाड्दै हुनुहुन्थ्यो। निकास नपुगेर बाटोमा निस्कने खहरेको पानी पसल भित्र छिर्न नदिन पेटी लगाएर पाइप राख्दै गरेका पराजुलीमाथि पानीको बहाव छेकेर आफ्नो पसल तिर फर्काएको भन्दै स्थानीय किराना व्यवसायी खनिए। केही बेर तानातान र भनाभन भयो। सँगैको किराना पसले एक महिलाले पाइप खोसेर मिल्काई दिइन, पराजुली निराश भए, कामदार फर्काइए। कपनको डुवानग्रस्त क्षेत्रमा हरेक व्यक्तिले आफ्नो घर तथा पसल अगाडि ढलको पानी छेक्न पराजुलीले जस्तै कुनै न कुनै उपाए लगाएका छन् तर समस्या उस्तै छ।

स्थानीयको आन्दोलन, दबाब र भनसुनपछि स्थानीय तह चुनाव अगाडि मिलन चोकमा ढल व्यवस्थित पार्ने काम सुरु भएको थियो तर चुनाव सकिएपछि न प्रतिनिधि सभा सदस्य गगन थापा देखिनुभएको छ न स्थानीय चुनावका प्रत्यासी फर्किएका छन्। ढल हाल्न खनेको बाटो झन् अस्तव्यस्त भएको छ। टोल सुधार समितिका सदस्य रामहरी खड्का, चुनावका कारण रोकिएको काम अब चाँडै सुरु हुने बताउनुहुन्छ। यो वर्षौदेखिको समस्या हो। यसले सडकमा अवरोध सिर्जना गरेको छ। प्राकृतिक रूपमा पानीको वहाब रोकेर कंक्रिट संरचना बनाएपछि यस्तै हुन्छ, हामी सुधार्ने प्रयत्नमा लागेका छौं । खड्का भन्नुहुन्छ– केही समय लाग्छ।

गएको वर्ष लाखौं मूल्य बराबरको तरकारी धोवीखोलाको बाढीले बगाएको नमिठो अनुभव सँगालेको मिलन चोक तरकारी बजारका रामबहादुर राईले यो वर्ष पनि त्यस्तै विपत्ति आइलाग्ने अनुमान गर्नुभएको छ। कतै पनि नयाँ निकास खोजिएको छैन । ढल बाटो बाटै बग्छ कतै थुनिएको होला । राई भन्नुहुन्छ– अब निरन्तर पानी पर्दैछ, गएको वर्ष डेढ लाख रुपैयाँको आलु र प्याज गोदाममै डुवेको थियो। मध्यरातको झरिले धोबी खोलाको बाढी पस्छ, गोदाम डुव्छ। पोहोर ‘झन्डै १२ घण्टा पूरै गोदाम डुब्यो, पानीले भिजेको आलु, प्याज कुहिएर कामै लागेन। पसलमा राखेको तरकारी हिलाम्य हुन्छ, बिक्दैन। अहिले पनि त्यही हुने पक्का छ। वर्षौंदेखि तरकारीको कारोबार गरिरहेका राई न यो काम छाडेर अर्को काममा जोडिन सकेका छन्, न यो कारोबारले उनलाई चल्न दिएको छ।

गएको वर्ष बस्तिमा पसेको बाढीसँगै दस वर्षे बालक उज्जवल विक ढलमा खसेर वेपत्ता भएका थिए। मिलन चोकको बाढीमा परेका बालकको शब चार दिनपछि ललितपुरको घुसेलस्थित बागमती खोला किनारामा फेला पर्‍यो।

पसलमा खोलो छिर्न नदिन पर्खाल लगाउँदै एक व्यवसायी

त्यसपछि मिलन चोकबासीले यही घटना सम्झिएर सानो झरी पर्ना साथ आफ्ना बालबालिकालाई घर बाहिर निस्कनै दिन छाडेका छन्। राईका अनुसार गत वर्ष देवीनगर करिडोर सडकमा बाढीले बगाएर ल्याएको माटो थुप्रिएपछि, करिडोर आसपासका घरहरूमा बाढी पस्ने गरेको छ। अधिकांशको भुइँतलाको पसल डुव्छ। ‘स्टेस्नरी सामग्री, किराना पसल, कपडा सबैमा क्षति पुग्ने गरेको छ। कपन मिलन चोक, भृकुटी चोक, तेन्जिङ चोकलगायत क्षेत्र डुबानका कारण सवारी आवागमनसमेत प्रभावित हुने र सडक किनाराका अधिकांश घरहरूमा बाढी पस्ने गरेको छ– स्थानीय व्यवसायी राईले सम्झिनुभयो।

यो वर्षको प्रिमनसुन भित्रिसकेको छ। स्थानीय वायु र भारतको बिहार–पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीले निरन्तर वर्षा भइरहेको छ। यसको असर देशैभर फरक फरक पर्छ तर कपनस्थित बुढानीलकण्ठ वडा नं. १० मा पर्ने समस्या भने हरेक वर्ष उस्तै उस्तै बनेर दोहोरिन्छ। मिलन चोक फलफूल तथा तरकारी बजार कपनबासीका लागि निकै प्रसिद्ध बजार हो। यस क्षेत्रमा दशकौंदेखि त्यहाँका स्थानीयले तरकारी, फलफूल तथा अन्य खाद्य साम्रगी बेचेर आफ्नो गुजारा चलाउँदै आएका छन्। ठूलो झरी पर्नासाथ सबैको रोजी रोटी र कारोबार ठप्प हुन्छ। चोक बजारमा आउने बाढीले स्थानीयलाई साह्रै दु:ख दिएकाले अब यो समस्या समाधान गर्छु भन्दै यसपटकको चुनावमा नेकपा एमालेका नवराज भट्टराई वडा नं. १० को अध्यक्ष चुनिनुभएको छ।पानी परेको बेला बस्तीमा पस्ने बाढी नियन्त्रणका लागि आफू आफू नै लड्दै आएका स्थानीयले यसपटकको चुनावमा हरेक उम्मेदवारलाई यही डुवानको समस्या समाधान गरिदिन आग्रह गरेका छन्। बिना कुनै ठोस योजना हामीले धेरै लगानी गरेका छौं र यहाँका सर्वसाधारणले धेरै गुमाइसकेका छन्, भत्केको पुलस्थित टहरामा खाजा पसल सञ्चालन गर्दै आएका सोलुखुम्बुका पासाङ दावा लामा सम्झन्छन्, गएको वर्ष तीनवटै कोठामा नदी र ढलको पानी पसेर जलमग्न भयो।साँझको काम सकेर सुत्न मात्र लागेका थियौं, टहरामा बाढी पस्यो, त्यस्तो आपत्त कति परेको छ कति लामा भन्नुहुन्छ– सिरक, डस्ना ढलमा डुव्छ अनि खोलामा मिल्काइदिन्छौं। दराज, खाट, पकाउने तुल्याउने भाँडा डुव्छ, न सुत्न पाइन्छ न खान पाइन्छ।

पोहोर त कोठाभित्र झन्डै ३ फिट पानी जमेको थियो, यो पटक पालो आउँदै होला, लामा ठट्यौली पारामा भन्छन्, यही बाढीले त हो नि, तलको आधुनिक तरकारी तथा फलफूल होलसेल कृषि बजारको त्यत्रा पसल नि डुबेका थिए।

देवीनगर करिडोर सडकमा बाढीले बगाएर ल्याएको माटोले चारौतिरको पानीको निकास बन्द गर्ने गरेकाले यो भेगमा एउटै समस्या बल्झिने गरेको स्थानीय युवराज प्रसाईंले बताउनुभयो। माथि खहरे छेकेर खोला माथि बस्ति बनाउनेहरू डुव्छन्, अलि तल धोबी खोलाको जमिन मिचेर बसेकाहरू डुव्छन्, प्रसाईले थपे– करिडोरको नाममा खोलालाई जताततै खुम्च्याइएको छ । यो कपन बालुवाखानी क्षेत्रमा त खोला मिचेको मात्र छैन, खोला छोपेर बस्ती नै बसाइएको छ । संघीय राजधानी काठमाडौको घना आवादी क्षेत्र: कपनको मिलन चोक त्यसपछि डुव्न थालेको हो– अब यसैगरी डुबिरहन्छ। किनभने खोला बस्तीमा पसेको हैन, यो बस्ती खोलामा पसेपछि उब्जिएको समस्या हो।

(श्रोत: आइएनएस-स्वतन्त्र समाचार)

तपाइँको प्रतिक्रिया

फेसबुक