आइतबार, असोज ९, २०७९

नाम सुधार गृह: छैन पानी न छ सुत्ने ठाउँ

दुर्गा रानामगर/पोखरा २०७९ जेठ २४ गते ३:०१

दुर्गा राना मगर

पोखराको सराङकोट ग्यारजातीमा रहेको बाल सुधार गृह (बाल कारागार) मा विभिन्न जिल्लाबाट आएका बालकहरू बाल बिजाइँको मुद्दामा सजाय भुक्तान गरिरहेका छन् । बाल सुधार गृहको परिसरमा भान्छा, बस्ने होस्टल, विद्यालय, सुधार गृहको अफिस भवन रहेको छ । १८ वर्षभन्दा मुनिका बालबालिका भएकाले उनीहरूलाई पढ्नका लागि प्रोत्साहन गरिन्छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको कार्यक्रमअन्तर्गत न्यूनतम सुविधाबिहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप नेपाल) को व्यवस्थापनमा सुधार गृहमा रहेका बालकहरूलाई विद्यालयमा पढाउन ३ जना प्रशिक्षक राखिएका छन् । अहिले त्यहाँ रहेका बालकमध्ये केही सोही विद्यालयमा र केही क्याम्पसमा पढिरहेका छन् । १८ वर्ष नपुग्दै सुधार गृहमा आएका तर १८ वर्ष कटिसकेपछि पनि सजाय नसकिएकाले उनीहरूलाई सुधार गृहम राखिएको हो । उनीहरू ब्याचलर पढिरहेका छन् र सुधार गृहमा रहेका साना बालकलाई पढाउन सहयोग पनि गरिरहेका हुन्छन् ।

१५ बालक एउटै कोठामा

बालबालिका रहेको संवेदनशील क्षेत्र सुधार गृहको अवस्था भने नाजुक छ । पोखराको मात्र नभएर नेपालभर रहेका ८ वटै बाल सुधार गृहमा क्षमता भन्दा बढी बालबालिका राखिएका छन् । वि.सं. २०६८ सालमा पोखरामा स्थापना गरिएको बाल सुधार गृहको क्षमता ५० जनासम्मको हो तर त्यहाँ अहिले ९९ जना बालकहरू रहेका छन् । सुधार गृहको क्षमता भन्दा बढी बालबालिका राख्नुपर्ने बाध्यता रहेको बाल सुधार गृह पोखराकी सामाजिक कार्यकर्ता इञ्चार्ज रमा शर्माले बताउनुभयो । यसले गर्दा एउटै कोठामा १५ जना बालकहरू कोचिएर बस्नुपरेको छ । सुत्ने ठाउँ नपुगेर भुईंमै ओछ्यान लगाएर सुत्नुपर्ने अवस्था रहेको कैद भुक्तान गरिरहेका एक बालकले बताउनुभयो । सानो कोठामा दुई तलाको ४, ५ वटा खाट, एउटा खाटमा २ देखि ३ जना कोचिएर सुत्नुपर्ने हुन्छ ।

कोठामा खाट बाहेक बालकहरूको लत्ताकपडा पनि राखिएको छ जसले साँघुरो कोठामा बालकहरू बस्न बाध्य छन् । सुधार गृहको क्षमता बढाउन नसकेको वर्षौ भइसकेको छ । सुधार गृहको उद्देश्य बालबालिकाको बानीव्यवहारमा सुधार ल्याई उनीहरूलाई पारिवारिक र सामाजिक रूपमा पुनस्र्थापना गराउनु हो तर यसका लागि त्यसै अनुसारको वातावरण पनि आवश्यक पर्छ । उनीहरूको शिक्षा, स्वास्थ्यसँगै सर्वाङ्गीण विकासका लागि सुधार गृहको वातावरण बालमैत्री हुनु जरुरी छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन । इञ्चार्ज शर्मा बताउनुहुन्छ– ‘सुधार गृहमा रहेका बालबालिका शारीरिक, भावनात्मक रूपमा स्वस्थ हुनु जरुरी छ तर स्वास्थ्य तर्फ चासो लिइएको छैन । बालबालिकाको नियमित स्वास्थ्य परीक्षणका लागि एकजना हेल्थ चेकअप गर्ने मान्छे पनि छैन ।’

धारा छ तर पानी आउँदैन

बाल सुधार गृह रहेको सो ठाउँमा पानीको अभाव छ । पानी ल्याउन धेरै पहल गरिए पनि बाल सुधार गृहप्रति समाजको हेर्ने दृष्टिकोण सकारात्मक नहुदाँ त्यहाँको समुदायबाट पर्याप्त सहयोग नमिलेको इञ्चार्ज शर्माले बताउनुभयो । उहाँले भन्नुभयो– ‘पहिले हामीले वडा नं. २४ मा रहेको मुहानबाट पानी ल्याएर प्रयोग गरेका थियौं । पछि त्यहाँका वडाबासीले नै हाम्रो मुहान भत्काइ दिनुभयो । त्यस पश्चात् सुधार गृह भएको वडा नं १८ र नजिकैको वडा नं. २४ का वडा अध्यक्षहरू मिलेर छलफल गर्दा धेरै विवाद पनि भयो । विवादले पानी आउन सकेन । नयाँ मुहान बनाउने, पाइप बिछ्याउने कामका लागि हामी मुख्य मन्त्रीकोमा पुग्यौं, सिडिओमा गयौं, नगरपालिका, वडा कार्यालय सबैतिर पुग्यौ तर कसैबाट सहयोग मिलेन । दिनको २५ सयको पानीको ट्याङ्की किनेर पनि साध्य छैन । त्यसका लागि हामीलाई बजेट दिइएको छैन ।’

मनोपरामर्श दाता ज्योति गुरुङले भन्नुभयो– ‘सुधार गृहमा आउने बालबालिका लागि विशेष किसिमको वातावरण तथा प्रक्रिया अपनाएर मनोपरामर्श दिइनु जरुरी छ तर अहिले हामीले जेजति गरिरहेका छौं– त्यो अपुग छ ।’

सुधार गृहको गेटबाट छिर्ने बित्तिकै पानीको धारा छ तर त्यहाँ पानी आउँदैन । हाल पोखराबाट हप्तामा दुईतीन पटक पानीको ट्याङ्कर किनेर सुधार गृहमा प्रयोग गरिएको छ । यसले गर्दा नुहाउने, पिउने, कपडा धुने लगायतका काममा रुटिन बनाएर बालकहरूलाई प्रयोग गर्न लगाइन्छ । कहिलेकाहीं पानी किन्न ढिलाइ भए हप्तौंसम्म बालकहरू ननुहाइ बस्नुपर्ने अवस्था रहेको कैद भुक्तान गरिरहेका बालकले बताउनुभयो ।

३२ वर्षसम्म पनि नसुध्रिएको बालबालिकाको अवस्था

संयुक्त राष्ट्र संघको बालबालिकासम्बन्धी महासन्धि १९८९ मा नेपालले हस्ताक्षर गरेको ३२ वर्ष भइसकेको छ । ३२ वर्षसम्मका उपलब्धि पनि छन् तर अझै नेपालमा बालबालिकाको अवस्था भने अझै सुध्रन सकेको छैन । महासन्धिको धारा २४ ले बालबालिकाको स्याहारको विकासमा जोड दिँदै सम्पूर्ण बालबालिकालाई आवश्यक औषधोपचार सहयोग र स्वास्थ्य स्याहार उपलब्धतामा सुनिश्चित गर्नुपर्ने, बालबालिकाका लागि पर्याप्त पोषणयुक्त खाद्यान्न र शुद्ध पिउने पानीको व्यवस्था गरिनुपर्ने उल्लेख गरेको छ तर महासन्धिलाई नै अवलम्बन गर्ने महिला, बालबालिका तथा ज्येष्ठ मन्त्रालयको मातहतमा रहेको बाल सुधार गृहमा भने बालबालिकाका आधारभूत आवश्यकता पनि पूरा हुन सकेको छैन । अधिवक्ता तथा कास्की जिल्ला अदालतमा बाल इजालशमा समाजसेवीको रूपमा रहनुभएकी कुञ्जनी परियारले बाल सुधार गृहमा बालकहरूको अवस्था निकै दयनीय भएको बताउनुभयो । उहाँले सुधार गृहमा बालबालिकाका लागि आवश्यक पौष्टिक आहार, पिउने पानी, खेलकुद लगायतको व्यवस्था नहुँदा बालबालिका कसरी शारीरिक र मानसिक रूपमा स्वस्थ हुन सक्छन् भन्ने प्रश्न गर्नुभयो ।

वि.सं. २०६८ सालमा पोखरामा स्थापना गरिएको बाल सुधार गृहको क्षमता ५० जनासम्मको हो तर त्यहाँ अहिले ९९ जना बालकहरू रहेका छन् । सुधार गृहको क्षमता भन्दा बढी बालबालिका राख्नुपर्ने बाध्यता रहेको बाल सुधार गृह पोखराकी सामाजिक कार्यकर्ता इञ्चार्ज रमा शर्माले बताउनुभयो । यसले गर्दा एउटै कोठामा १५ जना बालकहरू कोचिएर बस्नुपरेको छ ।

हाल पोखराको बाल सुधार गृहमा रहेका बालकका लागि खाद्य खर्च भनेर सरकारले प्रति बालक दैनिक ६० रुपैयाँ भत्ता र ७ सय ग्राम चामल आउने गरेको छ । युसेप नेपालले हप्ताको एकचोटि मासु, अण्डा, गेडागुडीको व्यवस्था गरिदिएको छ । बालबालिका लागि पर्याप्त रूपमा खेलकुद सामग्री, स्थान तथा गतिविधिको अभाव छ । विद्यालयको पढाइबाहेकको समयमा बालकहरू क्यारम बोर्ड र टेलिभिजन हेर्नमा व्यस्त हुन्छन् । ठूला बालकहरू भने कागजका आकर्षक ससाना सजाउने घर बनाइ सिर्जनात्मक काममा लागेका रहेछन् । बालबालिकाका लागि सुधार गृहमा एकजना मनोपरामर्शको व्यवस्था गरिएको छ । मनोपरामर्श दाता ज्योति गुरुङले भन्नुभयो– ‘सुधार गृहमा आउने बालबालिका लागि विशेष किसिमको वातावरण तथा प्रक्रिया अपनाएर मनोपरामर्श दिइनु जरुरी छ तर अहिले हामीले जेजति गरिरहेका छौं– त्यो अपुग छ ।’

बालकहरूलाई स्थानान्तरण गरिने

राष्ट्रिय बाल अधिकार परिषद्का गण्डकी प्रदेश समन्वय अधिकृत बद्री वाग्लेले सो क्षेत्रमा पानीको सम्भावना नरहेको बताउनुभयो । उहाँले पहिले नै २ करोडको बजेट विनियोजन गरी पानी ल्याउने पहल गरेको जानकारी दिँदै उहाँले स्थानीय समुदायको पर्याप्त सहयोग नमिलेको बताउनुभयो । उहाँले अबको केही महिनामा तनहुँ ढकालटारमा निर्माण भइरहेको प्रदेशस्तरको सुधार गृहमा बालकहरू स्थानान्तरण गरिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘सुधार गृहको निर्माण अब अन्तिम चरणमा छ । बालबालिकाका लागि खेल मैदानसहित सुत्नका लागि पर्याप्त ठाउँ पनि छ । अहिलेको ठाउँ सानो छ त्यहाँ थप गर्न सकिन्न । अब तनहुँमा नै उनीहरूलाई स्थानान्तरण गरेपछि अहिले देखिएका समस्याहरू समाधान हुनेछन् ।’

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइँको प्रतिक्रिया

फेसबुक