शुक्रबार, वैशाख १४, २०८१

आसाम भ्रमण : बिपनामा सपनाजस्तै !

कमलराज भट्टराई२०७९ जेठ २६ गते १२:४३

मैले सानै छँदा देखि आसामका बारेमा सुन्ने गरेको थिएँ । हामी बसेको पहाडबाट हाम्रा छिमेकी र आफन्तजनहरू आसामतिर बसाई गएका थिए । कोही भने फर्केर यता आए । धेरै उतै बसे । उताबाट आउनेले सुनाउने गरेका कथाह रमाइला र रोमाञ्चकारी लाग्दथे । धेरै पछि त्यहाँ लेखिएका केही पुस्तक पढेपछि अझ रहस्यमय लाग्न थाल्यो । प्रत्येक मान्छेले ब्रम्ह्पुत्रको वर्णन अलग अलग तरिकाले गर्ने गर्दथे ।

यस रहस्यमय संसारको अवलोकन गर्ने अवसर यसपालि आसामको विश्वनाथ चारआलीस्थित विश्वनाथ कलेजले अन्तर्राष्ट्रिय साहित्यिक सेमिनारको आयोजना गरेर जुराइदियो । कलेजले आयोजना गरेको २०७९ बैशाख १ गते (१४ अप्रिल २०२२) मा हुने गोष्ठीमा प्रमुख वक्ताको रूपमा प्रा. डा. गोविन्दराज भट्टराई, प्रा. डा.अञ्जना वस्ती, प्रा. डा. विष्णु एस राई, प्रा. डा. कुमार कोइराला र बेलायतबाट आउने बिजय हितानलाई कार्यपत्र प्रस्तोताको रुपमा आमन्त्रण गरिएको रहेछ ।

पन्ध्र दिन अगावै भाइ गोविन्दराजले आसाम घुम्न जाने भए २०७८ चैत्र २८ गतेका लागि रेलको टिकट काट्ने निधो चाहियो भनेका हुँदा म, निर्मला, भाइ खगेन्द्र र बुहारी डा. व्यञ्जना समेत चार जनाले जान स्वीकृति जनायौं । उता काठमाडौंबाट आउँने टोलीमा डा. कुमार कोइराला दम्पति समेत ६ जना रहेछन । २८ गते बिहानै हामी डा. गोविन्दराज भट्टराई, डा. अञ्जना र हामी दमकका चार जना समेत ६ जना त्यसतर्फ लाग्यौं । काँकरभिट्टा पुग्दा काठमाडौंबाट आउँने डा. कुमार कोइराला र वहाँकी धर्मपत्नी सुवना कोइराला, डा. विष्णुएस राई र बिजय हितान रोयल आसाम लजमा बेलुकै आएर हाम्रो प्रतीक्षामा हुनुहुँदो रहेछ । हामी दमकबाट जाने चार जना नयाँ भएकोले चियापानसँगै परिचय गरियो ।

जंगभाइले तयार गरेको गाडीमा झोलाहरू राखेर हामी ६ जना पुरूष त्यसैमा बस्यौं र चारजना महिला जंगको गाडीमा । मेची पुल तर्नासाथ पारिका सुरक्षाकर्मीहरूले घेर्न थाले । पालैपालो परिचय पत्र र खोपकार्ड देखाएपछि अर्को पोष्टमा झोलाहरू जचाउँनु पर्नेभयो । भारी धेरै हुनाले गाडीबाट उतारेर लान गाह्रो थियो । उताको निमन्त्रणा पत्र देखाएर बिन्ती बिसाउँदा पार लाग्ला कि भनेर कुमार सरले कोशिस गर्नुभयो ।तर लागेन ।

“सुरक्षा के मामले में कोही सम्झौता नहीं होगा” भनेर रूखो जवाफ पाएपछि कष्टसाथ सबै झोला, सुट्केशहरू गाडीबाट उतारी जाँच गर्ने मेसिनमा राखेर चोख्याएपछि पुनः गाडीमा चढाइयो । हाम्रो रेल छुट्ने समय १२ः५५ भएपनि बाटामा आइपर्ने अवरोधहरूको ख्याल गर्दै बिहानै हिंडेका हुँदा ९ः३० तिर न्यू जलपाइगुडी रेलवे स्टेशन छेउमा जम्मा भएर खाजा खायौं । हाम्रा सामानहरू स्टेशनभित्र पुर्‍याउन कुल्लिहरू मोलतोल गरिरहेका थिए । जंग भाइले सबै सामानहरू प्रवेशद्वार सम्मै पुर्‍याइदिए । हामी गाडी लाग्ने प्लेटफर्म ज्ञ ब् मा गएर बस्यौं । तीनघण्टा जति पर्खनुपर्‍यो ।

म विगत २०५३ सालमा भाइ गोविन्द परिवार भारतको हैदरबार बसेको बेला घर आएर फर्किदा रेल चढाउन एकपल्ट न्यू जलपाइगुडी आएको थिएँ । त्यो बेला झोला बोकेर आकाशे पुलको भर्‍याङ्ग चढ्न र उत्रन निकै सास्ती खेप्नु परेको थियो । अहिले प्रविधिले फड्का मारेर कति अगाडि बढिसकेछ । स्वचालित विद्यूतीय भर्‍याङ्गमा झोला समातेर उभिंदा एकै चोटी गन्तव्यमा पुगिने तर यस्तोमा चढ्न बानी नपरेकालाई भने खतरै हुने रहेछ । चढ्ने र उत्रने बेलामा निकै सावधानी अपनाउनुपर्ने रहेछ । चिया पिउँदै, घुम्दै, गफगर्दै समय बिताइयो ।

मैले पहिले जस्तैगरिका रेलवे बुक्सस्टल होलान भनेर सबैतिर चाहारें । तर डिजिटल मिडियाले पठन संस्कृतिलाई प्रतिस्थापन गरेकाले सबै बन्द भएछन् । यहाँ मात्र होईन प्रायः सबै स्टेशनहरूमा यस्तै हालत रहेछ । खगेन्द्र भाइ बेलाबेलै गुगल सर्च गरेर गाडी कहाँ आइपुग्यो भनेर हेर्दै दुरीसहितका स्टेशनका नामहरू बताइरहेका थिए । विज्ञान र प्रविधिको चमात्कार कोसौं पर आउँदै र जादैं गरेका रेल गाडीको गति र आइपुग्ने समय बसीबसी थाहा पाइने ।

पहिले हाम्रो पालाको यात्रा कष्टकर थियो । हाम्रो गाडी निर्धारित समयमा आइपुग्यो । हामी हतार हतार आफ्ना सिटहरू खोजेर झोलाहरू राखिसक्दा गाडीले गति लिन थाल्यो । हाम्रो समुहको टिकट पन्ध्रदिन अगाडिनै भाइ गोविन्दले सिलीगुडीका साहित्यिक मित्र मुक्ति बराललाई यात्रु सङ्ख्या, उमेर, लिङ्ग, आदि विवरण दिएर बुकगर्न दिएका रहेछन । र, वहाँ आफैंले हाम्रो टिकट तीन दिन अघिनै घरमा ल्याइदिनु भएको थियो । समयमै टिकट गरेको हुँदा प्रथम श्रेणीको वातानुकुलित डब्बामा आरामसाथ बस्न पाइयो ।

हामीलाई खानेकुराको चिन्ता भएन । गाडी भित्रै विविध प्रकारका खाद्य पेय पदार्थहरू प्राप्त भइरहे । त्यतिन्जेलमा हामी एकअर्कामा रामैसँग घुलमिल भैसकेका हुनाले मीठामीठा गफगर्दै गयौं । कुमार कोइराला सर धेरै रमाइलो र ठट्यौले पाराको हुनुहँदो रहेछ । वहाँ र भाइ खगेन्द्रको केमेस्ट्री मिलेकाले गफ सुन्न खुबै रमाइलो भयो । विष्णु राई सर धेरै सुन्ने र कम बोल्ने स्वभावको हुनुहुँदो रहेछ । बेलाबेला रोचक कविताहरू सुनाउँदै गर्नुहुन्थ्यो । कवितामाथि चर्चा गर्दागर्दै समय दौंडेको पत्तै भएन ।

छ घण्टापछि गुवाहाटी जङसन पुगिएछ । हामी सामानहरू उतारेर बाहिर निस्कँदा हाम्रो स्वागतार्थ गुवाहाटी विश्वविद्यालयका नेपाली विभागध्यक्ष डा. खगेन शर्मा प्रतीक्षामा हुनुहँदो रहेछ । वहाँ हाम्रो घरमा आएर बस्नुभएको हुँदा मैले परिचय गर्नुपरेन । रेलवे स्टेशन नजिकैको होटल सागर रत्नमा बस्ने व्यवस्था मिलाइदिनु भएको रहेछ । भारी सामानजति वहाँकै गाडीमा राखेर आवाससम्म पुर्‍याइदिनु भयो । बेलुका खानपिन गरेर आराम गरियो ।

भोलिपल्ट हाम्रो गुवाहाटीका प्रसिद्ध देवस्थल र दर्शनीय स्थलहरू घुम्ने र बेलुका साहित्यका महारथी लील बहादुर क्षेत्री सरलाई भेट्ने योजना थियो । यो सबै व्यवस्था डा. खगेन शर्माले मिलाइदिनु भएता पनि बिहानै दुईवटा गाडी र हामीलाई मार्गदर्शन गर्न डा. खगेनकी आफ्नी धर्मपत्नी अनुपमा शर्मालाई लिएर हाम्रो लजमा आउनुभयो । निर्धारित कार्यक्रम अनुसार बिहान होटलले उपलब्ध गराएको जलपान गरेर सर्वप्रथम निलाचल पर्वतमा अवस्थित प्रसिद्ध भगवती कामाख्या देवीको दर्शन गर्न गइयो । यो ठाउँमा वि.सं. २०१२ हाम्रा सालमै पिताजीले वहाँकी माता (हाम्री हजुरआमा) लाई ल्याएर दर्शन गराउनु भएको र पछि आमा काकाहरूलाई समेत पुर्‍याएर दर्शन गरेको कुरा आमाले बारम्बार त्यहाँको वर्णन गर्नुहुन्थ्यो । हाम्रा परिवारका प्रायः सबैजना पहिले पुगिसकेका हुँदा नयाँ म मात्र रहेछु जस्तो लाग्यो ।

आसाम क्षेत्रको मुख्य पर्व बिहूको अवसर भएकोले मन्दिर परिसर सफा गरेर भव्य रूपले विविध रङ्गीबिरङगी फूलहरूले गेटैदेखि सजाइएको थियो । दर्शनार्थी श्रद्धालुहरू बिहानै देखि लाइनमा बसेका थिए । त्यहाँ बुझ्दा मुर्तिको दर्शन गर्न बेलुका सम्ममा मात्र पालो आउने कुरा सुनेर बाहिरैबाट परिक्रमा गरी आशिर्वाद मागियो । हामी मध्येका डा. कुमार कोईराला दम्पतीले एकजना पण्डा समातेर केही दक्षिणा कवलेर फूल प्रसाद पठाई भगवतीमा अर्पण गराएर ल्याइदिनु भयो । त्यहाँ दर्शनार्थीहरूले पैसा तिरेर लाइन नबसि सिधै दर्शन गर्न पाउने व्यवस्था पनि रहेछ । सर्वसाधारणले भने लाइनमा बसेर पालो पर्खनै पर्ने । यो पर्वमा आसामभरि चारदिनसम्म सरकारी बिदा दिइदो रहेछ । यसैबाट पर्वको महत्व दर्शिन्छ ।

सयौंको संख्यामा रातो वस्त्र लगाएका सहयोगीहरू परिसरमा घुमिरहेका थिए । छिटो दर्शन गर्न चाहनेहरूसँग पैसा लिएर दर्शन गराउने प्रसाद लगेर मन्दिरमा चढाएर ल्याइदिने आदि काम गर्नेहरूको जीवीकोपार्जन मन्दिरबाटै हुँदो रहेछ । हाम्रा परिवारमा म सानै छँदादेखि जानेको हरेक वर्ष असार आठ गतेका दिन भूमिरज बार्ने भनेर जमिन खनजोत नगर्ने परम्परा थियो । यता नेपालतिर असार आठ गतेका दिनलाई भूमिरज भनिन्छ र त्यो दिन जून २२ का दिनमा पर्दोरहेछ । त्यहाँ पनि सोही समयमा जुन २२ गतेदेखि २५ सम्म माता रजस्वला भएर मानिने अपवित्र हुने मान्यता अनुसार मन्दिरको ढोका बन्द गर्ने चलन रहेछ । उक्त समयमा त्यहाँ पनि जमिन खनजोत गर्न वर्जित रहेछ ।

यो परम्परा कहाँबाट कहिले सुरु भयो र यहाँसम्म आयो होला ? यो अध्ययन् र अनुसन्धानकै विषय हो जस्तो लाग्यो । पौराणिक मिथकीय वर्णनले ढाकेर वास्तविकता ओझेलमा परेको हुनसक्छ । जे भएपनि पुराणहरूमा वर्णन गरिएअनुसार सतीदेवीका विभिन्न अङ्गहरू पतन भएर बनेका एकाउन्न शक्तिपीठ मध्ये सबैभन्दा प्रमुख मानिंदो रहेछ । मन्दिर परिसरमा घुम्दैगर्दा मनमा आयो;
हे ! माता तिमी सृष्टिकी जननी हौ,
तिम्रो महिमा अपरम्पार छ
तिम्रो नाम लिएर हजारौं पालित छन्
तिम्रो आफ्नै सुष्टि सन्ततिले
आफ्नो अभिष्ट सिद्धि प्राप्त गर्न
तिमै्र अबोध सन्ततिको
तिम्रै वक्षस्थलमा बलि चढाउँदा
कति कष्ट हुँदो हो माता ?

मन्दिर भ्रमण सकेर हामी ब्रम्ह्पुत्रको वक्षस्थलमा रहेको दोस्रो प्रसिद्ध तीर्थस्थल उमानन्द मन्दिर दर्शन गर्न ब्रम्ह्पुत्र किनारतर्फ लाग्यौं । हिजो आउँदा पुल पार गरेको भएतापनि राति भएकाले देख्न नपाएको हुँदा आज प्रथम दर्शन भयो । पुराणहरूमा वर्णित ब्रम्ह्पुत्रलाई ब्रम्हाका मानष पुत्रका रुपमा लिइने हुँदा नदीलाई माताको रुपमा नलिएर पुरूष वाचक शब्द ‘नद’ भनिएको रहेछ । पिता कैलाशपर्वत र माता मानसरोवरबाट उत्पन्न भएका चार नदीहरूमध्ये सिन्धु सतत्दु्र (सतलज) पश्चिम पाटोतिर लागेका रहेछन् । र ब्रम्हपुत्र पूर्वहुँदै भारत र बर्मा (म्यानमार) छुट्याएर आसाम प्रदशेमा प्रवेश गरी बेलाबेलामा सृष्टि, स्थिति र प्रलय तीनै रूप लिँदै सागरमा समाहित हुने क्रममा उदगम स्थलबाट दक्षिणतर्फ लागेकी भगिनी नेपाल प्रवेश गरिन् । उनी कर्णाली नामले चिनिंदै भारत प्रवेश गरेपछि पवित्रभूमि अयोध्यामा पूगी सरयु नामले पूजिँदै पवित्र गंगामा समहित भई बङ्ग भूमिमा भेट भएर सँगै सागरमा विलय भएकी छन् ।

उमानन्द हिँडेको म ब्रम्हपुत्रको प्रथम दर्शनले भावुक भएर कता पुगेछु । हामी किनारमा पुग्दा उता जाने जलायान भरिएर नदी तटलाई छोडेनै लागेको रहेछ । त्यसैले हामीले अर्को आउन्जेल एकघण्टा जति पर्खिनुपर्ने भयो । हामी प्रतीक्षालयमा बसिरहँदा यता झापा धुलाबारीका साहित्यकार पूण्य खरेलहरूको टोलीसँग भेट भयो । उहाँले आफ्ना केही कृतिहरू हामीलाई हस्तान्तरण गर्नुभयो । केही बेरपछि दुईजना युवा बौद्धभिक्षु लामाहरू भेटिए । ती मध्येका एकजना नेपाली मूलका भुटानी खतिवडा ब्राह्मण रहेछन् । उनीहरू पनि उमानन्द दर्शन गर्न हिँडेका रहेछन । अर्का एकजना भुटानी मूल निवासी उता गयातिर बस्दा रहेछन् । अङ्ग्रेजी र हिन्दीमात्र बुझ्ने । नेपालीभाषीसँग कुरा गर्दा उनी गुवाहाटी पारिको पहाडस्थित गुम्बाका पुजारी रहेछन् । उक्त गुम्बा एकजना भुटानी लामाले बनाएको र पछि संरक्षण गर्ने जिम्मा भुटान सरकारलाई दिइएको हुँदा भुटान सरकारले खटाएपछि मात्र त्यहाँ आएका रहेछन् ।

मैले नेपाली मूलका ब्राह्मण बौद्ध भिक्षु भेटेको पहिलो पटक थियो । उनीसँग केही फोटा खिचेर यताउताका गफ गर्दागर्दै हामी जानुपर्ने बिशाल जलयानले गति लियो । करिब दुई किलोमिटर जति फैलिएको नदी पारगर्न पन्ध्र मिनेट जति लाग्यो होला । रमाइला दृश्यहरू हेर्दाहेर्दै समय बितेको पत्तै भएन । पारिपुगेर अलिकति उकालो चढेपछि मन्दिर परिसर पुगिंदो रहेछ । चारैतिर पानीले घेरिएको, कडा चट्टानले बनेको टापु माथि पुगेपछि फराकिलो र समथर रहेछ । यो शिवजीको मन्दिर रहेछ । देश विदेशबाट आउने धार्मिक पर्यटक, अध्येता,अनुसन्धाताहरूको आकर्षणको केन्द्र रहेछ । यो मन्दिरमा मुख्य दर्शन गर्ने स्थान भने मन्दिरभित्र प्रवेश गरेर सिँढीबाट तल गर्वगृहमा जानुपर्ने रहेछ । त्यहाँको भनाई अनुसार पूजास्थल वरिपरि देखिने पानी ब्रम्ह्पुत्रकै पानी भनिंदो रहेछ । जलयानले घुम्नका लागि एकघण्टाको समय उपलब्ध गराउँदो रहेछ ।

निर्धारित समयमा घुमिसकेर पहिले गएका सबै यात्रुहरू यानभित्र प्रवेश गरेपछि वारिपट्टि अघि आएकै घाटमा ल्याएर उतार्‍यो । दिन ढल्कनै लागेकाले हामी बास बसेको होटलमा आएर खाना खाइ केहीबेर विश्राम गर्‍यौं । निर्धारित भ्रमण तालिका अनुसार हामीले दिनभरिका लागि लिएका सवारी साधनमा बसेर त्यहँका दर्शनीय स्थलहरू अवलोकन गर्न निस्कियौं । पहिले त्यहाँका प्रसिद्ध चारधामको दर्शन गरियो ।

भारतभरिका कुना कुनामा भएका चारधाम दर्शन गर्न सम्भव नहुनेहरूका लागि सबै तीर्थस्थललाई समेटेर यो क्षेत्रको निर्माण गरिएको रहेछ । यहाँ प्रायः दक्षिण भारतमा भएका तिरूपति बालाजी, रामेश्वरम आदि सबै मन्दिरहरू बनाइएको रहेछ । यता सिक्किम सरकारले पनि पश्चिम सिक्किमको नाम्चीमा सबै तीर्थस्थल समेटेर बिशाल मन्दिरहरू निर्माण गरेर धार्मिक पर्यटकीय क्षेत्र बनाएको जस्तै । त्यहाँ पनि दैनिक हजारौं दर्शनार्थी पुग्ने गर्दछन् । दुईवर्ष अघि मैले पनि त्यो ठाउँको भ्रमण गरेको थिएँ । त्यो ठाउँ अग्लो पहाडको टुप्पोमा भएको र वरिपरिको हिमाली दृश्य पल्लो डाँडाको बिशाल बौद्धगुम्बाले त्यसै पनि आकर्षक हुन पुगेको छ ।

गुवाहाटी चारधामको अवलोकन पछि अर्कोपाटोमा रहेको वशिष्ठ गुफा र आश्रम हेर्न गयौं । धार्मिक स्थलमा सबैतिरको नियमजस्तै यहाँपनि निर्धारित स्थानमा जुत्ता खोलेर राख्नुपर्दो रहेछ । जुत्ता खोल्ने क्रममा मेले भिरेको सानो झोला त्यहि बिर्सेछु । नयाँनयाँ ठाउँ पहाडबाट फालहान्दै आएको सानो सानो झरना आदि हेर्दाहेर्दै भुलेछु । म आएर जुत्ता लगाई नजिकैको चिया पसलमा जम्मा भैसकेको समूहमा पुग्दामात्रै झोला छुटेको थाहा पाउँदा होस उड्यो । आसाम घुम्ने सबै खर्च त्यसैमा थियो । आधा मैले ज्याकेटमा बोकेर खर्चगर्दै गर्ने र आधा रकम मेरो जीवनसाथी निर्मलाले बोक्ने सानो झोलामा राख्ने गरेकोमा उनले आफ्नो झोला नबोकेर यसैमा राखेको कुरा बिर्सेको रहेछु । ब्यागभित्र खोजीहेरेँ । नभेटेपछि मेरो हालत वर्णन गरी साध्य छैन ।

म भन्दा अगाडि जुत्ता लगाउन आइपुगेका भाइ गोविन्दले बेवाारिसे अवस्थामा झोला भेटेर लगेछन् । हाम्रो टोलीका सबैले मलाईनै हेरिरहेका थिए । निर्मलाले धैर्य साथ ब्यागभित्रै खोजीगर्दा जस्ताको तस्तै रहेछ । यसरी मेरो बेहोसीले त्यहाँका सज्जन मानिसहरू प्रति शंका गरेकोमा मन खिन्न भयो र मनमनै माफी मागेँ । झोला छोडेबापत टोलीका सबै सदस्यहरूलाई चिया खुवाएर मेरो निहुँरिएको शिर उठाउने माङगेना (शिर उठाउने) कार्य गरें ।

वसिष्ठ आश्रमबाट फर्केर बासस्थानमा आई केहिबेर विश्राम गरेपछि निर्धारित कार्यक्रम अनुसार लील बहादुर क्षेत्री सरलाई भेटन गइयो । डा. खगेन शर्माले बिहान व्यवस्था गरिदिएका गाडीहरूले वहाँकै अगुवाईमा त्यहाँ पुर्‍याएर फर्किए । हामी १० जनाको टोलीमा डा. खगेन शर्मा र बहिनी अनुपा शर्मा समेत हामी १२ जना थियौं । हामी पुग्दा पूर्व जानकारी प्राप्त भएकाले सबै व्यवस्था मिलाइएको रहेछ । पल्टन बजार नजिक पर्ने शहर भित्रै भएपनि यो गुरू निवास एकान्तवन जस्तै शान्त थियो । क्षेत्री सर सन् २००८ मा आफ्नो कान्छो छोरा पल्लवलाई लिएर हाम्रो घर दमकमा आई एकरात बास बस्नुभएको थियो । पल्लव भाइ एक महिना अघि पनि हाम्रो घर आएर गएका हुँदा हाम्रा घरका सदस्यहरू प्रायः परिचित रहेछौं ।

लामो समयसम्म शिक्षण सेवामा रहेर साहित्य, वाङ्गमय कला र नाटकका माध्यमले अँध्यारोमा रुमलिएको समाजलाई उज्यालो चेतना छर्दै, आफ्नो नौं दशक लामो जीवन व्यतित गरिसक्नुभएका गुरु तपस्वी झैं लाग्ने व्यक्तिको सौभ्य मूर्तिले हर्षले गदगद हुँदै हाम्रो स्वागत गर्नुभयो । जीवनको उत्तरार्धमा पुगेर पनि अझै धेरै काम गर्न बाँकी छ । र, पूरा गरेरै विश्राम लिनेछु भन्दा हाम्रो टोलीका धेरै सदस्यहरूमा प्रेरणा र उर्जा थपिएको महसुस गरियो ।

दुई घण्टा जति साहित्य, शिल्प, कला, संस्कृति जस्ता शैक्षिक गतिविधिका बारेमा चर्चा परिचर्चा गर्दै जलपान गरियो । गुरुआमा, छोराछोरी सबै साहित्य र कलामा समर्पित भएका परिवारजन देखी हर्षित हुँदै गुरु आशिर्वाद लिएर आवासतर्फ फर्कियौं ।

तपाइँको प्रतिक्रिया