आइतबार, मंसिर १८, २०७९

‘तालाबन्दीको हतियार’ ले बिस्तारै मार्दैछ, त्रिभुवन विश्वविद्यालयलाई

कृष्ण तिमल्सिना२०७९ जेठ २६ गते १८:१९

कृष्ण तिमल्सिना

त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्यापस तेह्रथुम बहुमुखी क्याम्पस चुहान डाँडामा ४३ वर्ष सेवा गरेर उमेरका कारण अवकाश पाउनुभएका ६४ वर्षीय लक्ष्मी आङदाङ्वे बुधवार त्रिभुवन विश्व विद्यालयको डिन कार्यालयदेखि प्रशासन प्रमुखको कोठासम्म भौंतारिईरहनुभएको थियो । एकैछिन अगाडि उपकुलपतिको कार्यालयको ढोका चियाइरहेका आङदाङ्वे ४३ वर्षे सेवापछिको सुविधा बुझ्न, बेरुजु फछ्र्योट गर्न र पेन्सन पट्टाको लागि कागजपत्र मिलाउन ३ दिन लगाएर काठमाडौ आउनुभएको हो । त्रिभुवन विश्वविद्यालय प्रशासनले भने आङदाङवेलाई अवकाशपछि स्वभाविक रूपले पाउनुपर्ने सुविधा र अपेक्षित खुसी दिन सक्ने अवस्था छैन ।  किनभने त्रिभुवन विश्वविद्यालय १४० दिनअघिदेखि तालाबन्दी गरिएको छ ।

कम्मरमा ३५ हजार रुपैंया लिएर तेह्रथुमबाट काठमाडौका आएको ३ दिन भयो । निराश मुद्रामा उपकुलपतिको कार्यालय बाहिर मूल सडकमा भेटिएका आङदाङ्वेले भन्नुभयो, “यहाँ त तालाबन्दी गरिएको रहेछ । अहिले काम हुँदैन भनेर फर्काइदिए ।” आङदाङ्वेले जागिर सकिएको कागजपत्र मिलाउन आएको मौकामा श्रीमती चम्पावती र छोरी अञ्जलालाई पनि काठमाडौ घुमाउन लिएर आउनुभएको रहेछ । अहिले न विश्वविद्यालयको काम सल्टियो, न काठमाडौ घुम्ने खर्चले धान्लाजस्तो भएको छ । किनभने आङदाङवे झण्डै झण्डै बेखर्ची हुने अवस्थामा पुगिसक्नु भएको छ। आङदाङ्वेले भन्नुभयो, “काम बन्छ र फेरि काठमाडौ आउनु पर्दैन भन्ने भरोसा मर्दै गएको छ।”

सत्तारूढ नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका कार्यकर्ता, आंशिक र करार प्राध्यापकले पालैपालो तालाबन्दी गरेर विश्वविद्यालयलाई लथालिङ्ग बनाएका छन् । त्रिविका पदाधीकारीहरूका अनुसार, तालाबन्दीमा सहभागीलाई सत्तारूढ नेपाली कांग्रेसकै समर्थन र संरक्षण छ । आंशिक प्राध्यापकको करार नवीकरण गर्न र करारलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन पहिले प्राध्यापकले ताल्चा लगाएर विश्व विद्यालयमा राजनीति सुरु गरेका थिए ।

लगत्तै नेविसंघ त्रिवि इकाइको नाममा माघ ७ गते उपकुलपति, रजिस्ट्रार, रेक्टर लगायतको कार्यालयमा तालाबन्दी भयो । त्यसयता उपकुलपतिको कार्यालय अथवा त्रिवि प्रशासनबाट हुने सबैकाम ठप्प छ । त्यस्तै आंशिक प्राध्यापकले त्रिवि सेवा आयोगलगायत निकायको काम समेत अस्तव्यस्त बनाएका छन् । नाजायज र असान्दर्भिक माग राखेर भइरहेको तालाबन्दीको त्रिविकै प्राध्यापक र कर्मचारीले विरोध गर्दै आएका छन्  । तर प्रधानमन्त्री, शिक्षा मन्त्री वा गृहमन्त्रीको तहबाट तालाबन्दी खोल्न कुनै पहल भएको छैन। त्यसैको परिणाम, विगत १४० दिनयता आङदाङ्वे जस्ता सयौं अवकाशप्राप्त प्राध्यापक तथा कर्मचारीहरू रुँदै रुँदै फर्किइरहेका छन् ।

ज्ञान निर्माण, ज्ञानको प्रसार र अनुसन्धान गर्ने थलो मानिने विश्वविद्यालयमा निरन्तर तालाबन्दी र अवरोध हुँदा बजेटको तयारीदेखि, कर्मचारी प्रशासन सम्बन्धी सबै काम ठप्प भएका छन् । शैक्षिक क्यालेण्डरमा असर परिरहेको छ । विद्यार्थीको हक हितमा केन्द्रित शैक्षिक मुद्दा उठाएर रचनात्मक संघर्ष गर्ने गौरवपूर्ण इतिहास बोकेकोे नेविसंघले एकोहोरो ‘जनकपुरस्थित युथ क्याम्पसले ‘घुस नदिंदा’ त्रिविले बीसीए कार्यक्रमको सम्बन्धन खारेज गरेको भन्दै ‘घुस उठाउने’ उपकुलपति, रजिस्ट्रार, रेक्टरलगायत पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने अथवा राजीनामा गराउनुपर्ने अडान राखिरहेको छ ।

त्रिभुवन विश्वविद्यालयको डिन कार्यालयदेखि प्रशासन प्रमुखको कोठासम्म भौंतारिन बाध्य ६४ वर्षीय लक्ष्मी आङदाङ्वे र उहाँको परिवार

तालाबन्दी कै कारण त्रिविले प्राध्यापक र कर्मचारीलाई नियमित तलबसमेत दिन सकेको छैन । विश्वविद्यालयको शैक्षिक, भौतिक सुधार र अन्य कार्यक्रम लथालिंग भएको छ । कोरोना महामारीले भन्दा बढी विद्यार्थीको राजनीतिले विश्व विद्यालयलाई थला पारेको छ ।

यही विवाद कै बीचमा उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि त्रिवि परिसरमै गएको वर्ष भएको आक्रमणमा संलग्न भनिएका नेविसंघका इकाई सभापति हरि आचार्य, नेविसंघका त्रिवि इकाई सचिव योगेन्द्र रावललगायतमाथि लागेको ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता लिन आन्दोलनकारीले माग गरेका छन् । अहिले यो ज्यान मुद्दा अदालतमा विचाराधीन छ ।

अर्थहीन वार्ता शृङ्खला

नेविसंघले ताला लगाए लगत्तै माघ १० गते त्रिवि प्रशासनले एउटा वार्ता कमिटी बनायो भने अर्को छानबिन समिति बन्यो । छानबिन समितिले विद्यार्थीले आरोप लगाए जस्तो अनियमितता भएको फेला नपरेको ठहर सहितको प्रतिवेदन उहिल्यै बुझाइसकेको छ । त्यसपछि पनि नेविसंघका नाममा लागेको ताला खुलेको छैन ।

यही जेष्ठ १८ गते क्रान्तिकारी विद्यार्थी संगठनको नाममा केही विद्यार्थीले तालाबन्दी तोडेका थिए । लगत्तै नेविसंका युवा विद्यार्थीले जेठ १९ गते हुलहुज्जत सहित पुन: तालाबन्दी गरे र अब तालाबन्दी तोडेमा नराम्रो परिणाम निम्तिने चेतावनी दिएर फर्किए ।

त्यसपछि प्रहरीले निरन्तर तालाबन्दी भएको उपकुलपतिको कार्यालय भवन र अरु ताल्चा लागेको भवनहरू पहरा दिइरहेको छ । तालाबन्दी तोड्ने विद्यार्थीलाई लखेटेको प्रहरीले तालाबन्दी गर्न आएका नेविसंघका विद्यार्थीलाई भने सुरक्षा दिएको त्रिविका कर्मचारीहरू बताउँछन् ।

बुधवार दिउँसो, त्रिभुवन विश्व विद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारी, त्रिविले गठन गरेको वार्ता समितिका सदस्यसँगको छलफलमा हुनुहुन्थ्यो । वार्ता समितिका संयोजक प्राध्यापक अधिकारी, सहप्राध्यापक विष्णुप्रसाद वाग्ले र हिक्मतबहादुर रायका बीचमा आन्दोलनकारीसँग कुन एजेण्डामा छलफल गर्ने भन्ने एजेण्डा नै थिएन । किनभने विद्यार्थीहरूले भनेजस्तै कुनै पदाधिकारीको राजीनामा अथवा बर्खास्ती विधि, प्रक्रिया र कानुन अनुसार टुंगिने विषय हो । यो विषयमाथि लेखेर पठाउन त्रिवि प्रशासन तयार छ । तर विद्यार्थीहरू उधारो सहमतिमा हस्ताक्षर नगर्ने अडानमा छन् ।

माघ १० गते पछि आफूहरूले तालाबन्दी गर्ने समूहसँग ३ चरणमा छलफल गरेको, हरेक दिन सहमतिमा आउन र तालाबन्दी खोल्न अनुरोध गरिरहेको र १८ विद्यार्थी संगठनका २४ जना प्रतिनिधिसँग समेत छलफल गरेको संयोजक अधिकारीले सुनाउनुभयो । उनीहरूको माग ऐन, कानुनसँग जोडिएको छ । अख्तियारले छानबिन गर्न सक्ला, अथवा त्रिवि आफैंले छानबिन गरेको प्रतिवेदनले औंल्याएका कमजोरीबारे छलफल हुनसक्ला । यहाँ सिधै बर्खास्तीको एजेण्डा जोडिएको छ, हामीले निरन्तर उपकुलपति, रजिष्ट्रार र रेक्टरसँग यो विषयमा छलफल गरिरहेका छौं– निकास निस्केको छैन ।

विद्यार्थी संगठनले अनियमितताको विषय उठाएपछि, त्रिविले उक्त विषयमा छानबिन गर्न कानुन संकायका पूर्वडिन ताराप्रकाश सापकोटाको संयोजकत्वमा समिति बनाएको थियो । वार्ता समितिका संयोजक अधिकारीका अनुसार, उपकुलपति, रजिस्ट्रार र रेक्टरको कार्यालयमा तालाबन्दी कै बीचमा आवश्यक कागजात अध्यन गरेर छानबिन प्रतिवेदन तयार पारियो । त्यसपछि तालाबन्दी खुलाउन त्रिविले गठन गरेको वार्ता समितिले पटक पटक सोही प्रतिवेदनका आधारमा विद्यार्थीहरूलाई सहमतिमा ल्याउने प्रयत्न गर्‍यो । उपकुलपति लगायतले प्रधानमन्त्री, शिक्षामन्त्री, गृहमन्त्री समेतलाई भेटेर यो समस्या समाधान गरिदिन गुहार पनि मागे । तर कसैले अवरोध हटाउन चाहेको छैन । लाखौं विद्यार्थी, सयौं आङ्गिक क्याम्पस, हजारौं कर्मचारी र सयौं प्राध्यापकहरू समस्यामा परेका छन् ।

तेह्रथुमको चुहानडाँडामा बसेर त्रिविको सेवामा कपाल पकाएका लक्ष्मी आङदाङ्वेहरू धुरुधुरु रोएर त्रिवि प्रशासनको झ्याल ढोका चाहर्न विवश छन् । यदि त्रिविले प्रविधि मैत्री बनेर आफूलाई समयअनुकुल रूपान्तरण गरेको भए, न तालाबन्दीको राजनीति चल्थ्यो न आङदाङ्वेहरू सातुसामल बोकेर अवकाशपछिको कागजपत्र बनाउन हप्तौं काठमाडौंमा भौंतारिनुपर्थ्याे ।

सरकारले सुरक्षाको प्रबन्ध मिलाएर शैक्षिक वातावरण बनाउन सहयोग गर्नुपर्‍यो भन्दै आफूले तालाबन्दी लगत्तै सहकुलपति तथा शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेर गुनासो पोखेको उपकुलपति धर्मकान्त बाँस्कोटा बताउनुहुन्छ । म नियुक्ति भएको दुई वर्षमा मेरो कार्यालयमा मात्र दुई सयभन्दा बढी दिन तालाबन्दी भएको छ, कसरी विश्वविद्यालयको स्तरउन्नति हुन्छ ? बास्कोटाले गुनासो गर्नुभयो । ‘विश्वविद्यालयमा गएर बस्ने ठाउँ छैन, महिनौंदेखिका फाइलहरू पेन्डिङ छन् । वर्षौं सेवा गरेका कर्मचारी र गुरुहरू रुँदै फर्किरहनुभएको छ । यो समस्या समाधान गर्न सरकारले नै हस्तक्षेप गर्नुपर्छ’, उहाँले भन्नुभयो– ‘शैक्षिक माग तथा विश्व विद्यालय भित्रको अनियमितता सम्बन्धी विषय मात्रै हामीले पूरा गर्न सक्छौं ।

डिन कार्यालय र त्रिविका विभागहरूमा पनि तालाबन्दी कै समस्या छ । विश्व विद्यालयका विद्यार्थी भन्दा बढी टोले गुण्डाको शैलीमा भेला हुने युवाले विश्वविद्यालयलाई समस्यामा पारेको प्राध्यापक तथा कर्मचारीहरू बताउँछन् । गुण्डागर्दीको शैलीमा हतियार र रड लिएर ताला लगाउन आउनेलाई सुरक्षा दिने गृह प्रशासनले त्रिविको नियमित गतिविधि सञ्चालन गर्न पनि सुरक्षा दिनुपर्ने कर्मचारीहरू बताउँछन् । यद्यपि यो विषयमा त्रिवि प्रशासनले लिखित रूपमा प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय अथवा शिक्षा मन्त्रालयमा पत्रसम्म पठाएको छैन । त्यसैले अनन्त तालाबन्दीले केही कर्मचारी तथा केही पदाधिकारीलाई हाइसञ्चो भएको छ ।

नेविसंघभन्दा अगाडि करारलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी नगर्न माग गर्दै अनेरास्ववियु लगायत विद्यार्थी संगठनले झण्डै महिना दिन तालाबन्दी गरेका थिए । प्रजातान्त्रिक, समाजवादी प्राध्यापक संगठन, करार र आंशिक प्रध्यापकले पनि उपकुलपति कै कार्यकक्षमा ताल्चा लगाए । निरन्तर भइरहेको तालाबन्दीको विषय प्रतिनिधि सभादेखि संसदीय समितिमा समेत निरन्तर उठिरहेको छ । कुलपति तथा प्रधानमन्त्री देउवा, शिक्षामन्त्री पौडेल र गृहमन्त्री खाँडले भने चासो नदेखाएको र शान्ति सुरक्षाको व्यवस्था गर्न समेत सहयोग नगरेको गुनासो त्रिविका पदाधिकारीको छ ।

विद्यार्थीहरूको तालाबन्दी अन्त्यका नाममा सहप्राध्यापक चलाउनेमाथि रड प्रहार गर्नेहरू अहिले फौजदारी अभियोगमा मुद्दा खेपिरहेका छन् । यो सबै मुद्दा फिर्ता लिने चलखेल सुरुभएको कर्मचारीहरूको आशंका छ । ‘गैर विद्यार्थीले टोले गुण्डा उठाएर उपकुलपतिको कार्यकक्षमा ताल्चा लगाउँछन्, आर्थिक अनियमितता भएको प्रमाण अख्तियारमा लगेर पेश गर्न सक्दैनन्, त्रिविले कागजपत्र अध्यन गरेर छानबिन सकेको विषय सुन्न चाहँदैनन्, महिनौंसम्म शैक्षिक निकायलाई तहसनहस बनाएर राजनीति गर्छन्, अनि उनिहरूलाई नै उन्मुक्ति दिने हो भने कस्तो नजिर बस्छ ?’, त्रिवि प्रशासन महाशाखाका एक कर्मचारीले गुनासो गरे– ‘यसमा सरकार स्वयम् जिम्मेवार छ ।’ उनीहरूका अनुसार, तालाबन्दी कै कारण त्रिविले प्राध्यापक र कर्मचारीलाई नियमित तलबसमेत दिन सकेको छैन । विश्वविद्यालयको शैक्षिक, भौतिक सुधार र अन्य कार्यक्रम लथालिंग भएको छ । कोरोना महामारीले भन्दा बढी विद्यार्थीको राजनीतिले विश्व विद्यालयलाई थला पारेको छ ।

कहिल्यै फेरिन नसकेको त्रिभुवन विश्वविद्यालय

भनिन्छ, विश्व विद्यालयको पठन पाठन, आधुनिकताको सन्दर्भमा रूपान्तरण भइरहनुपर्छ । मानव समाज र ज्ञान विज्ञानलाई जोड्न सकिएन भने विश्व विद्यालय बेरोजगार उत्पादन गर्ने कारखाना मात्रै बन्छ । ठ्याक्कै यस्तै लयबाट गुज्रिरहेको त्रिभुवन विश्वविद्यालयले आफूलाई समयानुकुल रूपान्तरण गर्न नसकेकै कारण वर्षैभरी तालाबन्दीको समस्या झेल्नु परेको हो । त्यसको असर शैक्षिक क्यालेन्डरमा मात्र परेको छैन– प्राज्ञिक थलोमा समेत बाछिटा परिरहेको छ ।

त्रिविले आफूलाई विवेकशील र वस्तुपरक नबनाए कै कारण प्राध्यापक भर्ना र बढुवा कर्मचारीतन्त्रीय र केन्द्रिकृत छ । प्राज्ञिक क्षमताको खुला प्रदर्शन अथवा प्रतिष्पर्धालाई त्रिविले स्वीकार्नै सकेको छैन । कर्मचारीहरू प्राध्यापकमा बढुवा हुन्छन् । प्राध्यापक र कर्मचारीको सेवा र सुविधा लगभग समान छ । जबकि कर्मचारी सेवामूलक पेशा हो र प्राध्यापक प्राज्ञिक पेशा हो भन्नेसम्म त्रिविले छुट्याउन सकेको छैन । त्यसैको परिणाम: ताप्लेजुङको ओलाङचुङगोलादेखि दार्चुलासम्मका कर्मचारीले महिनौं लगाएर त्रिविले तयार पारेको प्रश्नपत्र बोकेर लैजान्छन् । गोप्य उत्तर पुस्तिका यसैगरी भरिया लगाएर बोकेर जम्मा पारिन्छ । अनि त्रिविले महिनौं कुराएर विद्यार्थीलाई पास अथवा फेलको सूचना दिन्छ ।

यसरी परम्परागत धारबाट कहिले प्रविधिको धार समाउन नसकेको त्रिविको यही कमजोरीमा युवा विद्यार्थीहरू निरन्तर टोले गुण्डाको शैलीमा गिर खेलिरहेका छन् । तेह्रथुमको चुहानडाँडामा बसेर त्रिविको सेवामा कपाल पकाएका लक्ष्मी आङदाङ्वेहरू धुरुधुरु रोएर त्रिवि प्रशासनको झ्याल ढोका चाहर्न विवश छन् । यदि त्रिविले प्रविधि मैत्री बनेर आफूलाई समयअनुकुल रूपान्तरण गरेको भए, न तालाबन्दीको राजनीति चल्थ्यो न आङदाङ्वेहरू सातुसामल बोकेर अवकाशपछिको कागजपत्र बनाउन हप्तौं काठमाडौंमा भौंतारिनुपर्थ्यो ।

(स्रोत: आइएनएस समाचार)

तपाइँको प्रतिक्रिया