शनिबार, वैशाख ८, २०८१

‘सांसदज्युको सर्वसाधारणसित सम्पर्कनै हुँदैन’ मदनभक्त अधिकारी, मेयर गैंडाकोट नपा

नेपालप्लस संवाददाता / नवलपुर२०७९ जेठ २७ गते ११:२४

मदनभक्त अधिकारी ! गैंडाकोट नगरपालिकाका नवनिर्वाचित प्रमुख हुन । लामो समय नेपाली कांग्रेसमा सकृय अधिकारी पछील्लो स्थानिय निर्वाचनमा ३ हजार हाराहारी मतान्तरले विजयी बनेका थिए । गैंडाकोटको समुन्नत बिकासको दिर्घकालिन योजना सहित मैदानमा आएका अधिकारीसँग निकै महत्वकांक्षी योजना छन । मदनभक्त अधिकारी नेपाली कांग्रेसका तत्कालिन चर्चित नेता सुर्यभक्त अधिकारीका छोरा हुन । तर यिनले नवलपुरमा आफ्नो छुट्टै स्थान बनाएका छन । पंचायत कालमा नेपाली कांग्रेसकै निर्देशनमा गैंडाकोट गाउँ पञ्चायतको प्रधानपन्च भएका अधिकारीको २०४६ साल पछी यो सार्वजनिक पद हो । पार्टीमा निकै ठूलो लगानी र त्यागका वावजुद अवसर नपाउनुमा जिल्ला र केन्द्र देखिकै नेताहरुले आफुलाई एक्ल्याएको उनको अनुभव छ । अझ शशांक कोइरालाले नवलपुरको चुनावी क्षेर ओगटेपछी मदनभक्त मात्र होइन धेरै जिल्ला नेताहरु पाखा पारिएका छन । अधिकारीसँग हामीले उनले ल्याएका विकास योजना सहित नेपाली कांग्रेसको संगठनका बारेमा कुराकानी गरेका थियौं । प्रस्तुत छ कुराकानीको संपादित अंश ।

गैंडाकोटको विकासका लागि तपाईंसँग के के कार्यक्रम छन ?

मदनभक्त अधिकारीले यो नगरपालिकाको विकास गर्न सक्छ भन्ने विश्वाशले चुनाव जिताएर पठाउनु भयो । मलाई गैंडाकोटमा ठ्याक्कै के समस्या छन भन्ने कुरा थाहा छ । जनताको चाहना पनि सम्बृद्ध गैंडाकोट सुखी गैंडाकोट हो । म जनताका चाहना अनुरुप नै अगाडि बढ्दै छु । मैले आफ्नो यो कार्यकालमा धेरै योजना अगाडि ल्याएको छु । एक दुई वटा त हामीले शुरु पनि गरिसक्यौं ।

के हो यहाँँको पहिलो प्राथमिकता ?

हाम्रो यहाँँको मुख्य समस्या भनेको ढल निकास र तटवन्धन हो । नारायणीले वर्षेनी गर्ने कटानको समस्यामा हामीले काम पनि शुरु गरिसकेका छौं । यो अली सानो मात्रामा हो । किनभने तटवन्धन र ढल निकाशको समस्या यस्तो हो जुन हाम्रो स्थानिय बजेटले मात्र सम्भव हुँदैन । मैले गैंडाकोटको मेयरमा सपथ लिइसकेपछी यि समस्याका बारेमा प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेको छु । यदी प्रदेशले मात्रै यि समस्या समाधान गर्न सक्दैन भने संघिय सरकार मार्फत भए पनि यि समस्या छिटो भन्दा छिटो हल गर्ने हाम्रो लक्ष्य छ ।

अहिले पुर्वपश्चिम राजामार्ग विस्तारको कामले गैंडाकोटका केही वडाहरु डुवानमा परेका छन । मुख्य ढलको काम त सडक विभागले गर्ने होइन र ?

मैले यो बिचमा सडक विभागका डीजीसँग यही विषयमा बैठक र छलफल गरेको छु । उहाँहरुको भनाइ के छ भने विभागले पुरानै कल्बोटहरुलाई विस्तार गर्ने हो, ढलका कुराहरु हाम्रो जिम्मामा पर्दैनन । डिजी सँगको भेट पछी मैले मुख्य मन्त्री कृष्णचन्द्र नेपालीसँग छलफल गरें । उहाँ सकारात्मक हुनुहुन्छ । उहाँले डीपीआर बनाउनका लागि इन्जिनियर पठाइदिन्छु, त्यसपछी त्यही आधारमा बजेट निस्कासन गरौंला भन्नुभएको छ । आशा गरौं, यो काम छिट्टै शुरु हुनेछ ।

अहिले नवलपुर १ बाट गएका सांसद मध्ये प्रदेशमा यहाँँको सांसद मुख्यमन्त्री नै हुनुहुन्छ । संघिय संसदमा गएका ब्यक्ति शशांक कोइराला राष्ट्रिय तहको नेता हुनुहुन्छ । काम गर्दा सहकार्य भएको होला । योजनाहरु सम्पन्न गर्न सजिलो भएको होला नि ?

मुख्यमन्त्रीले त यहाँँको समस्या समाधान गर्न हातेमालो पनि गर्नु भएको छ । मिलेसम्म बजेट पनि पारीदिनुभएको छ । तर संघिय सांसदसँग हाम्रो खासमा संपर्क नै हुँदैन कसरी सहकार्य हुन्छ !

उहाँले सहकार्य गर्न खोज्नु भएन कि के भयो ?

खोई उहाँले हामीलाई मनपराउनु भएन कि के हो मैले त केही बुझ्दै बुझ्दिन । खासै संपर्क हुँदैन हाम्रो उहाँसँग ।

उहाँ त फेरी यहिंबाट चुनाव लड्ने भन्दै हुनुहुन्छ । तर तपाईंहरु संपर्क नै हुँदैन भन्नु हुन्छ । चुनावी कुरा कसरी सम्भव होला त ?

मैले उहाँको सचिवलाई यदि कोइरालाजीले चुनाव लड्ने हो भने यहि क्षेत्रमा आएर बस्नु पर्छ र जनसंपर्क बढाउनु पर्दछ, अन्यथा चुनाव जितिंदैन भनेर भनेको छु ।

कांग्रेसको संगठन बिग्रेको छ । चुनाव जित्न त संगठन पनि त गर्नु पर्‍यो नि होइन र ?

उहाँबाट संगठन हुँदैन । डाक्टर साबबाट यहाँँ संगठन हुँदैन हामी स्पष्ट छौं । हामीले गरिदिएको संगठनले चुनाव जित्नु भयो भने छुट्टै हो नत्र उहाँले चुनाव जित्नु हुन्न ।

तपाईं पनि सुर्यभक्त अधिकारिको छोरा । यात्रो ठूलो राजनीतिक परिवार । अनी अर्को राजनीतिक परिवारको मान्छेलाई चुनाव लड्न बोलाउनु पर्‍यो । अहिले कस्तो महशुस हुन्छ ?

म आफैं चुनाव लड्ने ईच्छा थियो । अरु साथीको पनि ईच्छा हुँदो हो । राजनीतिक हानथाप भयो । त्यो हामीभित्रको किचलोको फाईदा उठाएर उहाँ यहाँ आउनु भयो । पछी के भयो भने उहाँ केन्द्रिय सदस्य, महामन्त्री हुनुभयो । हामीले जती विरोध गरे पनि, टिकट हामीलाई दिनुपर्छ भने पनि टिकट उहाँ कै हातमा थियो । आफ्नो टिकट आफैं ल्याउनुभयो । आउनुभयो । त्यो रोक्न सक्ने हाम्रो शक्ति नै भएन ।

अब त तपाईंहरु मध्ये कोही होला नि कि सधैंभरी उहाँलाई नै ल्याइरहने ?

हामी सल्लाह गर्दै छौं । सकेसम्म उहाँलाई विदाइ गर्नुपर्दछ । मैले स्पस्टै भनेको छु- चुनाव लड्ने हो भने यहीँ आएर बस्नु पर्दछ । नत्र जितिन्न । बरु यो क्षेत्रमा एउटा सर्वे गर्न डाक्टर साबले मान्छे पठाइदिनुस् । आफ्नो विषयमा जनधारणा कस्तो छ भन्ने प्रस्ट हुन्छ ।

शशांक कोइरालाको तपाईं प्रतिको आशा पनि सकियो अब ?

सक्कियो भने पनि भयो । टिकट ल्याए पछी मदनभक्त चाहिन्छ भन्ने त होला उहाँलाई । तर मैले कोइरालाजीका लागे के भनेर भोट माग्ने ? स्थिती राम्रो छैन ।

सुर्यभक्त अधिकारीका समयमा यो जिल्लामा नेपाली कांग्रेसको जस्तो संगठन थियो अहिलेको स्थानिय निर्वाचनमा जिल्लामा समग्र कांग्रेसको अवस्था दयनिय देखियो । संगठन त लथालिङ्ग भएछ नी ?

शशांक कोइरालाले जुन प्रकारले संगठन गर्नुपर्ने थियो त्यो भएन । चुनाव जितेर जाने काम मात्र भयो । सुर्यभक्त अधिकारी लगायतका यहाँँका ब्यक्तिहरुले गरिदिएको संगठनका कारणले कोइरालाजीले आजसम्म चुनाव जितिरहनुभएको छ । संगठनको काममा कोइरालाजी जिरो हो । हुन त अरुको पनि हात होला । त्यसमा पनि उहाँकै मान्छेहरु हुन । जस्तो कि उहाँको पीए छन, उनले डाक्टर साब काठमाडौबाट जहाज चढ्न लाग्नु भयो भने ‘ल है डाक्टर साब जहाज चढ्दै हुनुहुन्छ । मिनेटमा तपाईंहरु भरतपुर एयरपोर्टमा आउनुस’ भनेपछि दुई चार जना मान्छे छन तिनिहरु त्यहाँ पुग्छन । कुन ठाउँमा लैजाने, राख्ने हो त्यहाँ पुर्‍याउँछन । त्यहाँ कार्यक्रम सकिएपछी गाडीमा हालेर एयरपोर्ट लानु पर्ने हो कि होटलमा लाने हो त्यहाँ पुर्‍याउने । यहाँँका अन्य कुनै पनि सर्वसाधारणलाई भेट्न नदिने । उहाँको यो कारणले पनि यहाँँको संगठन धेरै बिग्रिएको छ ।

तपाईंहरुको भूमिका के त ?

मैले शुरुमा उहाँ आउँदा नवलपरासी पहिले एउटै थियो । अब एक नम्बर क्षेत्र मात्र होइन पुरै जिल्ला विकास हुने भो भनेर मान्छेहरुले त्यो आशा गरेका छन । त्यो आशालाई नमेट्नु होला है भनेको हुँँ । तर जिल्लाको त के कुरा भो यो उहाँले चुनाव लडेको क्षेत्रमा पनि यति धेरै गुनासा छन कि सानो मेहनतले थेग्न सकिंदैन । हाम्रो भुमिका त के हुनु, हामीले शुरुमै भनेको हो, उहाँले मान्नु हुँदैन । आजभोलि त संपर्क नै हुँदैन ।

अब यहाँँको संगठन सुधारन के गर्नु पर्दछ ?

पहिला मेरो बुवा सुर्यभक्त अधिकारीले घरघरै गएर संगठन गर्नुभएको हो । कसैले उहाँलाई थप्पड हान्यो भने पनि भोलिपल्ट बिहान गएर तैले मलाई थप्पड हानिस तर केही पिर नगरेस है बाबु भनेर संगठन गर्नु भएको हो । अहिले त्यस्तो छैन । यदि संगठन बचाउनु छ भने त्यसरी नै घर घर डुल्नु पर्दछ । जनताका सुख दु:खका कुराहरु बुझेर गयो भने संगठन भयो नत्र सररर जहाजमा आयो अनी होटलमा बस्यो । त्यो तालले संगठन कसरी हुन्छ ?

शशांक कोइरालाले चुनावमा मेरो ६ करोड रुपैयाँ खर्च भएको हो भने । तपाईंहरु त चुनाव मै संलग्न हुनुहुन्थ्यो । के साँच्चै खर्च भएको हो र तत्रो रकम ?

मलाई त हो कि जस्तो लाग्छ । किन भने यहाँँको अवस्था अर्कै भएको छ । जिल्ला र क्षेत्रका लागि उहाँको केही योगदान छैन । खासमा उहाँ तीन तीन कार्यकाल चुनाव लड्दा पनि मान्छेहरुले चिनेकै छैनन । अब त्यस्तो तालले चुनावमा होमिए पछी खर्च भए होला नि त्यती पैसा ।

कसले खायो त त्यो पैसा ?

त्यो त उहाँलाई थाहा होला । जो जसलाई दिनुभएको थियो उनैले खाए होलान नि ।

साँच्चै खर्च हुन्छ र त्यती पैसा ?

उहाँको शुरुको चुनावमा म आर्थिक संयोजक थिए । निकै थोरै पैसा खर्च भएको हो । उहाँले मेरो ८० हजार खर्च भएको हो भन्नु भएको छ । त्यो भन्दा अली बढी नै हो । तर मेरो संयोजकत्वमा त्यात्रो रकम खर्च भएको होइन ।

तपाईं पनि सांसदको टिकटकै दावेदार नै हुनुहुन्थ्यो । तपाईं आफू चुनाव लडेको भए कति खर्च गर्नु हुन्थ्यो होला ?

म चुनाव लडेको भए त निर्वाचन आयोगले तोकेको खर्च भन्दा पनि कम खर्च हुन्थ्यो र मैले जितेर पनि देखाउँथें ।

तपाईं पार्टीको निर्देशनमा पंचायती कालमा पनि प्रधानपन्चका लागि चुनाव लड्नुभयो, जित्नु भयो । अहिले यतिका वर्ष पछी फेरी मेयरमा चुनाव लड्नु भयो, जित्नु भयो । के फरक रहेछ त्यो बेला र अहिले ?

आकाश जमीनको फरक छ । त्यतिबेला घरघरमा गएर मलाई भोट दिनुस भने पछी नाई कसैले पनि भन्नु हुन्थेन । हुन त अहिले पनि भन्नु भएन । त्यो बेला चुनावमा पैसाको मोलमोलाई हुन्थेन । अहिले त्यस्तो मोलमोलाई हुँदोरैछ । योपनि मलाई जहाँसम्म लाग्छ यिनै सांसदहरुले गर्दा भएको हो । पहिले र अहिले त धेरै फरक छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक