शुक्रबार, वैशाख १४, २०८१

सुत्केरीलाई रु. ५००० भत्ता, सरकारले नदिए आफ्नै गोजीबाट दिने वडाध्यक्षको घोषणा

नेपालप्लस संवाददाता / नवलपुर२०७९ जेठ २७ गते १५:२६

वडाध्यक्ष-धामनाथ सापकोटा

हालै सम्पन्न स्थानिय निर्वाचनका लागि नेपाली कांग्रेसले जारी गरेको आफ्नो घोषणा पत्रमा ५ हजार रुपैयाँ सुत्केरी सहायता भत्ताको रुपमा उपलब्ध गराइने उल्लेख छ । धेरै मान्छेहरुलाई घोषणा पत्रमा उल्लेख गरिएका कुराहरु पुरा हुन्छन भन्नेमा विश्वास छैन । घोषणा पत्रहरु खासमा चुनावी हतियारका रुपमा प्रयोग हुन्छन र चुनाव पछी कुनै कुनामा थन्किन्छन ।

यो चुनावमा नेपाली कांग्रेस ठुलो पार्टीको रुपमा देखियो । धेरै नगर र गाउँपालिकाहरु कांग्रेसको पकडमा पुगेका छन । यदि काग्रेसले चाहने हो भने घोषणा पत्रमा उल्लेख गरिएको ५ हजार रुपैयाँ सुत्केरी भत्ताको ब्यवस्था तुरुन्तै लागु हुन सक्छ । तर यो कुरा त्यति सम्भव देखिंदैन । नेपाली कांग्रेस पार्टी पुन: सत्ता र गठवन्धन जोगाउने कसरतमा छ । चुनाव सकियो घोषणापत्रका काम पनि सकिए । सरकारी अस्पातालमा बच्चा जन्माउने सुत्केरी र नवजात शिशुलाई पोषणयुक्त खानाका लागि सरकारले १५ सय रुपैयाँ उपलब्ध गराउने गर्दछ ।

सरकारले सुत्केरीका लागि शुरु गरेको १५ सय रुपैयाँ दिने कार्यक्रम धेरै अर्थमा साकारात्मक छ । तर अहिलेको यो महङ्गो बजारमा सुत्केरीले पाउने १५ सय रुपैयाँले मुस्किलले दुई दिनको पोषिलो खाना उपलब्ध हुनसक्छ । हुन त अहिले धेरै परिवार यस्ता छन जसले सुत्केरीको स्याहार सम्भार आफैं गर्न सक्छन । त्यस्ता परिवारलाई सरकारले भत्ता स्वरुप दिने १५ सय रुपैयाँले खासै अर्थ राख्दैन । तर अझै धेरै संख्यामा यस्ता परिवार छन जो सुत्केरीका लागि पोषणयुक्त खानाको जोहो गर्न असमर्थ छन । १५ सय बाहेक न त संघिय सरकार, न प्रदेश सरकार न स्थानिय सरकार कसैले पनि खासै चासो राखेको देखिंदैन । वा यस विषयमा खासै वहस गरेको सुनिदैन ।

खासमा भन्ने हो भने आगामी समाजको जग भनेको तिनै भर्खर जन्मेका शिशुहरु हुन । तिनलाई जोगाउने र स्वास्थ्य बनाउने जिम्मा सरकार, स्थानिय निकाय र यो समाजको पनि हो । तर खोइ त चासो र वहस ?

यद्यपी भर्खरै सम्पन्न स्थानिय निर्वाचनमा गैंडाकोट वार्ड नम्बर- ९ मा नेपाली कांग्रेसको तर्फबाट विजयी भएका वडा अध्यक्ष धामनाथ सापकोटाले आफ्नो वडाका सुत्केरी महिलालाई २५ सय रुपैयाँ सहयोग स्वरुप उपलब्ध गराउने घोषणा गरेका छन । वडाभित्र स्थायी बसोबास गर्ने महिला सुत्केरी हुँदा पोषणभत्ता स्वरुप वडा कार्यालयबाट २५०० रुपैँया उपलव्ध गराउने निर्णय भएको उनले बताएका छन । सरकारी अथवा निजी जुनसुकै अस्पातलमा सुत्केरी भए पनि महिलाहरुले यो सुविधा प्राप्त गर्न सक्ने छन ।

आमाहरुको सम्मान तथा कमजोर अवस्थाका महिलाहरुलाई सरकारले सहयोग गरेको अनुभूति दिलाउन वडाले नगरमै पहिलोपटक सुत्केरी भएवापत रकम उपलव्ध गराउन लागेको अध्यक्ष सापकोटाको भनाइ छ । सुत्केरी भएको आवश्यक कागजातसहित वडा कार्यालयमा निवेदन दिएपछि सो रकम उपलव्ध गराउने निर्णय भएको छ ।

सुत्केरीलाई भत्ता दिने गैंडाकोट वडा नम्बर-९ को यो घोषणा नेपालमै पहिलो हो । तर यसका लागि न त नगरपालिकासँग कुनै बजेट छ न वडा सँग । कसरी बाँड्छ त वडाले यो भत्ता ?

सापकोटा भन्छन “हामीले आफ्नो घोषणापत्रमै ५ हजार सुत्केरी भत्ता दिने भनेर उल्लेख गरेका छौं । यो हाम्रो पार्टीको केन्द्रिय समितिले जारी गरेको घोषणापत्र हो । त्यहि अनुरुप हामीले भनेका हौं । हामी जनताका अगाडि कसरी झुटो बोल्न सक्छौ ? बोलेको कुरा पुरा हुनु पर्दछ भन्ने हाम्रो मान्यता हो” ।

यसबारेमा हामीले गैंडाकोट नगरपालिकामा संपर्क गर्‍यौं । पालिकाका कर्मचारीहरुले सुत्केरी भत्ता शिर्षकमा कुनै बजेट नभएको स्पष्ठ पारे । फेरि हामीले वडा अध्यक्ष धामनाथ सापकोटालाई सोध्यौं- यो शिर्षकमा बजेट त कतै पनि छैन । कसरी दिनुहुन्छ ?

मैले भनी सकें नि ! हामीले चुनावमा भोट माग्दा जनतालाई भनेका कुरा हुन यि । यो शिर्षकमा बजेट छैन भने शिर्षक थप्न पर्‍यो । पालिका, प्रदेश सरकार र संघिय सरकार सम्म जान्छौं । यदी कतैबाट पनि भएन भने सुत्केरिलाई दिने भनेर घोषणा गरेको २५ सय रुपैंयाँ मैले मेरो पकेटबाट दिन्छु । जनतालाई ढाँट्ने कुरा भएन” सापकोटाले भने ।

तपाइँको प्रतिक्रिया