शनिबार, वैशाख १५, २०८१

आमाको मन : हिजो गएकामा खुशियाली, आज नफर्किएकामा हुटहुटी

नेपालप्लस संवाददाता / चितवन२०७९ जेठ २८ गते २१:५१

जेठको उखर्माउलो गर्मी । कठिन मौसममापनि सजिलै टिक्ने भनिएका कागसमेत बिजुलीको तारमा मुख फट्टाएर बसेका थिए । हामी चितवनको टाँडी हिंड्यौं । हामी जहाँ जाँदै थियौं त्यसको अनुमान मात्रै थियो, ठेगाना थिएन ।

नेपाल माबीको पिठ्युँतिर एक चोकमा जम्मा भएका केहि युवाहरुलाइ सोध्यौं ‘गौरी जोशीलाई चिन्नुहुन्छ ?’

‘अहँ चिन्दैनौं ।’

‘उहाँले चितवनमा धेरै सामाजिक काम गर्नुभएको छ । अमेरिका बस्नुहुन्छ । चितवनमा मोबाईल ब्लड बैंक बनाउन बस किन्दानै लाखौं आर्थिक सहयोग गर्नुभएको थियो । दिनदुखिहरुलाई धेरै सहयोग गर्नुभएको छ’ बेलिबिस्तार लगाएपछि चिन्छन् कि, हाम्रो अनुमान !

अहँ चिनेनन् । पूर्व पस्चिम राजमार्गमै जोडिएको हरिहर मन्दिर अगाडि एउटा कलेजी रङको घर एक्लै थियो । त्यसको छेवैमा किराना दोकान । सोध्यौं ‘ओ भाई गौरी जोशीको घर कहाँ हो ?’

‘को गौरी जोशी ? थाह भएन ।’

आ ……जे पर्ला त भनेर कलेजी रङको घर भित्रै पस्यौं । ठ्याकै गौरी जोशीकै घरमा पुगिएछ ।

सुनसान जस्तो घरको एउटा कोठामा एक जना आमा भेटिनुभयो ।

भुइमा जरा गाडेर झिक्रोमा लहरिंदै माथि पुगेको घिरौंलाको लहरो जस्तो पाईप । भुइँबाट पाईप खाटमा ठडिंदै आमाको नाकसम्म पुगेर अडिएको । टेबलमा औषधीका पोका । तातो पानीको बाफ लिने भाँडो छेउमै उभिएको । कुरा गर्न आँटै आएन । केहि बेर हेरिराख्यौं ।

तर कतिन्जेल चुपचाप बस्ने ? मान्छे स्वार्थी जिवनै हो । साँच्चै स्वार्थी । आखिर यो संसार माया, ममता, आशा, भरोसा, लोभ र स्वार्थले त टिकेको छ । हामी अक्षरका खेति गर्नेलाई त झन अर्काको मनका कुरा खोतल्ने स्वार्थ लुकेकै हुन्छ । र त हामीपनि स्वार्थी ।

७१ वर्ष सम्म अनेक दुख कष्ट र अथाह कठिनाई बोकेर भित्र भित्रै पाकेको भुप कुमारी जोशीको मनभित्रको बारीबाट केहि खोस्रिन मन लाग्यो । प्रश्नका कुटा चलायौं ‘आमा आजकाल अलि राम्रो, सन्चो भएको छ की ?’ आखिर केहि न केहि बोलेर गफ त शुरु गर्नै पर्‍यो ।

उहाँ चुपचाप बस्नुभयो ।

बाटो पारीको हरिहर मन्दिरमा आउने जाने तिर्थालु बाक्लै छन् । मन्दिरमा घण्ट उसैगरि बजिरहेको छ । तिर्थालुहरुले मन्त्र जपिरहेका छन् । मन्दिरमा बज्ने घण्ट र जपमा एउटा समानता छ । बाटा वारी अमेरिकामा बसेका अर्बपती गौरी जोशीकी माताको मनमापनि घण्ट बजिरहेको छ, मेरा तीन छोरा, छोरी, ज्वाई, नातिनातिना यता आउलान् कि नआउलान् ? तिर्थालुहरुले मन्दिरमा खै के माग्छन् देउतासित कुन्नी ! तर भुप कुमारी जोशीले ‘मेरा छोरा र छोरी नेपालै फर्किदिउन्, वरिपरि बसिदिउन्’ भन्ने माग्नुभएको छ ।

हो, अर्बपती छोरो गौरी जोशी मात्रै होइन । उहाँका अन्य दुई छोरा साहिंलो, कान्छो र छोरीपनि उतै छन् । यता जेठो छोरो र बुहारीले छोराछोरीको झल्को मेटिदिएका छन् । रेखदेखमा तिनैको भर छ । तर त्यतिले आमाको मन ढुक्क हुन्छ र ?

‘छन त जेठो छोरो, बुहारी र नातिनतिना छन् । तर चार चार वटा बच्चा उति टाढा भएपछि आमाको मनले कहाँ मान्छ र बाबु’ आमाले भन्नुभयो ।

कान्छो छोरो डा. माधवराज जोशीसित आमा भुप कुमारी जोशी

मान्छेको जिवन कस्तो हो भने सुखले बेरिंदापनि दुखले छोड्दैन । हिजो खोजेको सुखले आज पुग्दैन । अझ कहिलेकाहिं त हिजो खोजेको सुखले भोलि पिरोल्छ पनि । हिजो त्यहि छोरो अमेरिका गैदिए हुन्थ्यो भन्ने लाग्थ्यो । गयो । भुप कुमारी जोशीको मनमा खुशिको भेल बग्यो । आज त्यहि खुशिको भेलले त्यति बेला झैं खुशि दिन्न । पहिले अमेरिका गैदिए हुन्थ्यो जस्तो लाग्थ्यो, अहिले फर्किएहुन्थ्यो भन्ने लाग्छ । हिजो गएकामा खुशियाली । आज नफर्किएकामा हुटहुटी ।

पाँच भाई र तिन दिदी बहिनीको परिवार छुट्टाभिन्ना भएपछि लम्जुङको तिलाहा, कार्की डाँडाबाट भुप कुमारी जोशी र पुष्पराज जोशी पैदलमा सुखको थलो खोज्दै पैदलै पैदल चितवनको टाँडी झरेका थिए ।

आफन्त सबै उतै छोडिएका थिए । नामनै टाँडी भएकाले सिंचाई थिएन । पाखो बारीमा धान फल्दैनथ्यो । मकैलेनै गुजारा चलाउनुपर्थ्यो । यता टाँडीमा जोशी दम्पत्तीका कोहि थिएनन्, दम्पत्ती मात्रै थिए । बच्चा साना थिए । खेतिपाती थियो । बच्चा हेरिदिने कोहि थिएन । नगद आम्दानीको बाटो थिएन । बस्तुभाउ थिए । भातको रहर मेट्न मकै बेचेर धान किन्नुपर्थ्यो ।

“हुनेखानेहरु भात खान्थे, हामी भात खान नपुग्नेमा पर्थ्यौं” भुप कुमारी बिगतमा फर्किनुभयो ।

“घाँस नकाटी स्कूल जान पाउँदैनथियो । स्कूलबाट आएपछि फेरि एक मुठो घाँस काट्थ्यो । कोदालो खन्ने, हलो जोत्ने सबै गर्‍यो, केहिमा पछि थिएन । यस्तै दुखमा हुर्किएको हो गौरी” आमाको मनले कहिले बिर्सन्छ र ?

भनिन्छ नी, भगवानलेपनि कहिलेकाहिं दुखैमा प्रहार गर्छन् । अमेरिकी राष्ट्रपती अब्राहम लिंकनले भने जस्तै ‘दुखिका घरमा मात्रै बास गर्छन् कहिलेकाहिँ इश्वरले ।’ जोशीको परिवारमा त्यस्तै भयो । छोरी जम्मा पाँच वर्षकी । तीन जना छोरा पढ्ने, छोरी हुर्काउने बेला पुष्पराज जोशीले २०४९ सालमा यो धरतीबाट बिदा लिनुभयो । अब भने यो परिवारमा साँच्चै दुखका दिन शुरु भए ।

तर भुप कुमारी जोशीले हिम्मत हार्नुभएन । कति आँसु बगे । तर छोराछोरी कमजोर बन्लान् भनेर देखाउनुभएन । घरको कुनामा कतै छेल परेर गुन्युँले पुछ्नुभयो ।

जेठो छोरोलाई स्कूल पठाउन खोज्दा एक्लै जान मानेन । त्यसपछि तीन वर्षको छोरो गौरी जोशीलाई साथी पठाउनुभयो । दाजुलाई धरालो लाग्दै स्कूल पुगेका गौरी तीन कक्षाबाट सरासर पास हुँदै गए । आठ कक्षामा पुग्दा दाजु फेल भएपछि भाईको लाजले पढ्न मानेनन् ।

“आठ कक्षमा फेल भएपछि भाई पास भयो म फेल भएँ । भाई माथि गयो, लाज हुन्छ म पढ्दिन भनेर छोड्यो” भुप कुमारी जोशीलाई हिजो जस्तै लाग्छ ।

कतै नरोकिई पढ्दै जाँदा १३ वर्षमै एसएलसी दिने भए गौरी जोशी । उमेर बढाएर १६ बनाएको थियो । २१ वर्षमै गौरीले स्नातकोत्तर गरेका थिए ।

तर जति अब्बल भएपनि के गर्नु ? गौरीका दुखले छुट्कारा पाएनन् ।  आमालाई झलझली आइरहेको छ- २१ वर्षमा गौरीले स्नातकोत्तर सक्यो । स्नातक गरेपछि जागिर खोज्दै अनेक ठाउँ भौंतारियो । डिग्री गर्ने बेलासम्मपनि काम पाएन । यो देशमा आफ्ना मान्छे नभए केहि नहुने रैछ भन्ने उसलाई पक्का भएछ । त्यसपछि अमेरिकाको कलेजमा निबेदन हाल्यो । त्यो बेला डिग्री गरेकालाई अमेरिका जान अहिले जस्तो गाह्रो थिएन । आफन्तसित ऋण मागेर पठाएँ । अमेरिका पिएचडी गर्न गएपनि फेरि आइटीमा स्नातकोत्तर गर्नतिर लाग्यो । त्यहाँपनि सजिलो भएन । पैसो कमिएन । पछि मैले त्यहि टाँडीको जग्गा बेचेर ऋण तिरिदिएँ ।

भन्छन् नी, यो पृथ्वी गोलाकार छ । एउटा कुनोबाट अर्को कुनोसम्म पृथ्वीले पुरै चक्कर लगाउन समय लाग्छ । एक न एक दिन त सबै कुनोको पालो आउँछ । गौरीले आइटीमा स्नातकोत्तर गरेपछि जोशी परिवारले दुखका दिनको राप र तापको मार खेप्नुपरेन । करिब एक दशक जागिर गरेपछि आफ्नै ब्यवशाय शुरु गरेको माईलो छोरो अहिले अर्बपती बनेको देख्दा कुन आमाको मन प्रफुल्ल हुन्न ?

साहिंलो र कान्छो भाई, बहिनी र ज्वाई सबैलाई गौरीले अमेरिकातिरै जाने बाटोको झ्याङ फाँडेर सजिलो बाटो कोरिदिए ।

भुप कुमारी जोशीले विश्वको सबैभन्दा आकर्षित भनिएको देश छोरोको फेरो समातेर एक दर्जन भन्दा धेरै पटक घुमिसक्नुभएको छ । पछिल्लो समय त लगभग चार वर्ष बस्नुभयो ।

अमेरिकामा स्वास्थ्य, सरसफाई, बत्ती, पानी सबै कुराको सुख र सुविधा देख्दा भुप कुमारी जिल्ल पर्नुहुन्थ्यो ।

भुप कुमारी जोशीलाई प्रश्न गर्‍यौं ‘उसो भए यता भन्दा अमेरिका राम्रो आमा ?’

“होइन यहिं राम्रो । बोलिचालि सबै मिल्ने । आफन्त धेरै यतै । त्यहाँ सबै बाहिर जान्छन् । बच्चाहरु पढ्न जान्छन् । टिभी हेरौं आर्काको भाषा बुझिने होइन । दिनभरि ढोका लगाएर बस्नुपर्छ, समय कटाउन गाह्रो ।”

१५ वर्षदेखि लागेको मधुमेह र दमले भुप कुमारी जोशीलाई अप्ठेरो पारेको छ । मान्छेको चोला कतिखेर के हुने होला ? सबै परिवार वरिपरि भैदिए हुन्थ्यो भन्ने सपना देख्न छोड्नुभएको छैन ।

हिजो मकै खाएर गुजारा गरेको जिवन । अहिले अमेरिकादेखि नेपाल अरु कता कता देशमापनि गौरीले लगानी गरेको सुन्नुहुन्छ । विशाल विशाल घर, उध्योग, कार्यालय त्यहि घाँसदाउरा गर्ने त्यो माईलाले स्रिजना गरेको होला र ? आमाको मनलाई कहिलेकाहिं अपत्यारिलो लाग्छ ।

‘कमाउनु कमायौ । अब पुग्यो । यतै फर्क । अब यतै बसे हुन्न र? दानपनि कति हो कति दियौ । टिभीमा देख्छु । मञ्चमा देख्छु । नेतापनि भयौ । पैसो जति भएपनि त्यस्तै हो । अब आउ, पुग्यो भन्छु । तर उसले आमा, छोरीछोरी आउन मान्दैनन् भन्छ’ छोरोको बाध्यता सुनेपछि उहाँ केहि बोल्नुहुन्न ।

अमेरिका नपठाएको भए काखमै हुन्थ्यो । अमेरिका पठाएकोले नफर्किने भो भन्ने कुरापनि त आमाको मन हो, खेलिहाल्छ ।

तर फेरि अर्को मनले संझाइहाल्छ, ‘काखमा भएर मात्रै के गर्ने ? काखमा बसिरहेकाहरुको यहाँ हालत देखिएको छ । काखमा हुनेकोपनि कतिको बिजोग भैराख्या छ । पालेका छैनन् बाउ आमा ।’

आखिर मान्छेको जिन्दगी भनेकोपनि भुरुर्र उड्ने चराको जस्तै त रैछ ! हिजो लम्जुङको कार्की डाँडाबाट जोशी परिवार उडेर चितवन आयो । त्यो बेला जोशी दम्पत्तीका पखेंटा चितवन सम्म यात्रा गर्न सक्ने थिए । त्यो भन्दा टाढा पुग्न सक्ने थिएनन् । यहि दम्पत्तीले आफ्ना बचेरालाई आफू भन्दा सक्षम पखेंटा हालिदिए । र तिनका बचेरा अमेरिकासम्म पुगे । न हिजो लम्जुङको कार्की डाँडाबाट उडेर चितवन झरेको जोशीको जोडी फर्केर लमजुङ गयो न अब अमेरिका पुगेका आफ्ना बचेरा नेपाल फर्किन्छन् । आखिर पखेंटाले आफ्नो क्षमता अनुसारको यात्रा तय गर्ने त हो । मन गडिसकेपछि त्यहि ठाउँ आफ्नो लाग्छ र ति पखेंटापनि त्यहिं रमाउन थाल्छन् ।

‘बाबु मान्छेपनि चरा जस्तै त रैछ नी ! आफ्ना सन्तानलाई पखेंटा हालिदियौं ति उडेर अमेरिकासम्म पुगे । उडेको चरालाई पखेंटा काटेपछि के हुन्छ ? ऊ त उड्न लागेको थियो । खुला आकाशमा उड्न लागेकालाई पखेंटा काटेर सधैंकोलागि कुँजो बनाउन मन लाग्दैन” आमा त हुन् । हरेक आमाले आफ्ना बचेराबाट चित्त बुझाउने केहि न केहि निहुँ भेटिहाल्छन् ।

“आउँछु छिट्टै भनेको छ । आउँछ । कहिलेकाहिँ त महिनामा दुई पटकनै आइपुग्छ । अहिले भाई आउँछ, ऊ फर्केपछि आउँछु भनेको छ । दशैंमा त पक्का आउला” उता हरिहर मन्दिरमा धातुका घण्ट बजिरहेका छन् । यता भुप कुमारी जोशीको मनमा पनि मायाको घण्ट बज्न छोडेको छैन ।

तपाइँको प्रतिक्रिया