शनिबार, वैशाख ८, २०८१

कुर्सीको घुर्की, नेताको फुर्ती !

कमला राना२०७९ जेठ २८ गते २३:१७

कमला राना

धेरै वर्ष अगाडिदेखि बाँचेको एउटा सतिसालले अरु रुखहरूलाई खिज्याएर भन्ने गर्थ्यो ‘ए अस्ति भर्खर जन्मेका पिलन्धरेहरू ! तिमीहरूलाई त मान्छेहरूले ढालेर लान्छन्, ए ! हाँडीबाट उछिट्टिएका ठेट्नाहरू ! तिमीहरूको न रूप छ न मुख छ, तिमीहरू धेरै दिन बाँच्दैनौ पनि। मलाई हेर ए झिक्राहरू! म कति पाको छु सय वर्षसम्मको हावा हुरी आँधी, चट्याङ, भुइँचालो सबै सहेर खल्ली खाएको छु खल्ली ! म जत्तिको कोही छैन। तिमीहरू त सिट्ठो हौ सिट्ठो । तिमीहरूलाई झुक्किएर मान्छेले ढालेर लग्यो भने पनि तिमीहरूबाट बन्ने भनेको त्यै झ्याल ढोकाका चौकस, दलान र मुसलका छेस्का, खाटका खुट्टा त हौ। छ्या अभागीहरूको जन्म हत्तेरिका!’

सधैं झै* बुढो रुखले मुख बजारेको देखेर बनका अरु रुख बिरुवा सबै आजित थिए ।वाक्क दिक्क मानेर सुन्न बाहेक अरु गर्ने विकल्प केही नभएझैं भएको थियो। त्यै जङ्गलमा हुर्कंदै गरेको एउटा लोर्के ठिठो रुखलाई भने झोक चलेछ। सधैं यो बजियाको हप्की-दप्की र धम्कीमा हामी कति बाँच्नु ? अब एउटा जुक्ति नझिकी भएन भनेर जङ्गल भरका सिसौ, सान्धन, कटुस, बाज, लगायत सबै रुखहरूसँग एकले अर्कालाई सन्देश प्रवाह गर्दै बैठक बस्ने सल्लाह भएछ।

तन्नेरी रुखले जङ्गलमा भएका सबै बोट बुट्यानहरू जो त्यो बूढो रुखबाट हेपिएका र चेपिएका थिए, ती सबैलाई एकजुट हुन आग्रह गर्यो। स्वतन्त्र भएर बाँच्न, अन्यायविरुद्ध लड्न विभिन्न रणनीतिक योजना बनायो। सबै मिलेर त्यो बूढो बोटलाई तह लगाउने, र वनबाट खेद्ने र सिध्याउने खेलमा लागेछन्। सबैजना मिलेर सो बूढो रुखले गर्ने गाली बेइज्जतीको प्रतिकार गरेर दस दिन भित्र आफ्ना योजना सफल पार्न तयार भएछ्न्। समय यस्तै गरी चलिरहेको थियो। मान्छे लगाएर कसरी कटाउने त भनेर सिसौको बोटले जुक्ति झिक्यो । एक दिन गाउँको एउटा मान्छेलाई फकाएर भन्यो- ‘हेर्नुस् हाम्रो जङ्गलमा एउटा यति राम्रो रुख छ कि त्यसको टिम्मा, पात काठ सबै निकै बलियो छ । १०० वर्ष नाघेको ।छिप्पिएको । त्यो काठबाट घरका झ्याल ढोका, दराज, कुर्सी के के बनाउने हो । सबै थोक बनाउन पुग्छ ।’

त्यो मान्छेलाई सिसौको बोटले भनेको कुरा चित्त बुझ्यो । एकै रुखबाट धेरै थोक बनाउन नि मिल्ने, आहा ! मलाई नि चाहिएको त्यस्तै हो। घरमा गएर सल्लाह गर्यो ।भोलिपल्टै रुख काट्न हिँड्यो।अनि बञ्चरोले ताक्दै भनेछ ‘आहा, कति राम्रो सालको छिप्पिएको बुढो रुख! तिमीलाई अब म घर लिएर जान्छु। यसबाट मलाई चाहिँने सबै थोक बनाउँछु।’ रुख रुन थाल्यो । ‘बचाउ बचाउ’ भन्दै चिच्यायो। कसैले ठाडा कान लाएनन् । उसले सबै रुखहरूसँग गुहार माग्यो तर कुनै रुखले पनि वास्ता गरेनन् । उनीहरूले सुनेको नसुनेझैं गरे । आज भने यो बुढोलाई जङ्गलबाट बाइ बाइ गर्न पाइने भो भनेर उनीहरू रमाइरहेका थिए ।

अन्तत: रुख काटियो। त्यो रुख जङ्गल छोडेर अब मान्छेको घर जाने भयो। रातभरि उ लम्पसार परेर रोइरह्यो । अहँ, कसैले पनि उसलाई कठै ! सम्म भन्न नि आएनन्। उसको यतिका वर्षसम्मको रजगज छिनभर मै स्वाहा भएपछि अन्तिम बचन बोल्दै कुर्लेछ्न् ‘ए मेरा सारा साथीहरू! मेरो छेउमा आउनुहोस्, म एउटा विनती बिसाएर हजुरहरूबाट बिदा हुन्छु । म अब जङ्गल छोडेर जाँदैछु । जाँदाजाँदै तपाईंहरूको मुहार स्पर्श गरेर जान्छु । एउटा आशीर्वाद दिएर जान्छु।’ त्यो रुख भाव विह्वल हुँदै रोएको देखेपछि सबैको मन पग्लिएछ । सबैले आफ्नो आफ्नो गच्छे अनुसारको नासो लिएर बिदाइको कोसेली दिन आए । उसले ती सबै चिज लिन मानेन बरु एउटा सर्त राख्यो। ‘मैले तपाईहरूको चित्त दुखाएको छु- मलाई माफ गर्दिनोस । जहाँ जस्तो अवस्थामा रहे पनि भेट हुँदा चाहिँ बोलाउनुहोस्, बोल्नुहोस् न है।’

बूढो रुखले आफ्नो गल्ती स्वीकार्दै पोखेको वेदनाले जङ्गलका सबै रुखहरूको मनमा दया जागेछ । सबैले माफ गरिदिए अनि तपाईंको अन्तिम इच्छा के छ त भनेर सोधेछन् । बाठो रुखले भन्यो- ‘म त मरिसकें मेरो कुरा मान्छेले सुन्दैनन् के भनु र खै?’ सबै रुखहरूको आँसु आयो ।उनीहरूलाई दया लागेर आयो । अनि एकै स्वरमा भने ‘तपाई धन्दा नलिनोस् के बन्न चाहनु हुन्छ हामीलाई भन्नुहोस न ।’

बुढो रुख भित्रभित्र खुसी हुँदै आयो । अब यिनिहरूको सहाराले म कुर्सी बन्ने कुरा व्यक्त गर्नुपर्यो भनेर रुँदै फ़ेरि भनेछ- ‘भैगो तपाईंहरूलाई दुख दिनु दिइसकें । अब फ़ेरि किन जाने बेलामा पनि पाप बोक्नु दु:ख दिएर। म अझै लज्जित हुन चाहन्न।’ सबै रुखहरूले निकै सम्झाए । आफूहरू उसैको छत्र छाहारीमा हुर्केको शुभचिन्तक भएकाले अन्तिम इच्छा पूरा गरिदिने बाचा बाँधे।” सबैले एकै स्वरमा भने, ‘हजुर हाम्रो पुर्खा हो । अभिभावक हो । केही अप्ठ्यारो नमानी भन्नुहोस्- तपाईंको इच्छा हामी पूरा गर्दिन्छौ।’ बूढो रुखले नै आँसु पुछ्दै भन्यो ‘म कुर्सी बन्न चाहन्छु, नेताजी बस्ने कुर्सी’ । सबै मुखामुख गरे अनि उसको चाहना पूरा गरिदिने वचन दिएर गए।

केही बेरपछि मान्छे बुढो रुख लिन आयो। जङ्गलका सबै रुखहरूले मान्छेलाई समाते। मान्छेले आफू अघि ढालेको बुढो रुख लिन आएकाले केही नगर्न अनुरोध गरे। रुखहरूले उसलाई बेपत्ता पार्न सक्ने भनेर धम्क्याए। रुख जिल्ल पर्यो । अघि भर्खर आफूलाई त्यही बुढो रुख काट्न लगाउने अनि अहिले यस्तो भूमिका खेल्ने कस्तो षडयन्त्रकारी भन्दै मान्छेले हप्कायो । तर धेरै रुखहरूले घेराबन्दी गरेपछि उसको केही लागेन। धेरैको अगाडि उ शिथिल भयो । धेरै अनुनय गर्यो । तर केही सीप चलेन । एक दिन भयो दुई दिन भयो । मान्छे जङ्गलमै मर्ने स्थिति आउन थाल्यो । उता उसको परिवारले खोजी गर्न थाल्यो । तर कहिँ पाइएन किनकि रुखहरूले सिमलको धोद्रोमा लुकाएर राखेका थिए। मान्छे दिन दिनै आत्तिन थाल्यो । र भन्यो ‘मलाई छाडिदिनुस,तपाईहरूको माग के हो म पूरा गर्दिन्छु।’ सबैले खुसी हुँदै भने- ‘त्यो बूढो रुख हाम्रो पुर्खा हो । उसलाई लगेर तपाईंले अरु केही बनाउन पाउनु हुन्न । उसको अन्तिम इच्छा कुर्सी बन्ने छ । त्यो पूरा गर्दिनुस। यदि कुर्सीको सट्टामा अरु थोकमा प्रयोग गर्नु भो भने तपाईं लगायत तपाइँको साखा सन्तानको विनाश हुनेछ।’

रुखहरूको कुरा सुनेर त्यो मान्छेले निकै आश्चर्य मान्यो। जसरी नि ज्यान जोगाउन त छँदैछ । उसले रुखहरूको सर्त मान्यो । र घर फर्क्यो । केही दिनपछि उ केही खेतालाहरू लिएर रुख लिन गयो र घरमा ल्याएर उनीहरूले भने जस्तै १५ थान कुर्सीहरू बनायो। घर बनाउनका लागि काटेको भए पनि उसले घर बनाउन पाएन। जङ्गलमा घेरा हालेर यातना दिएको सम्झ्यो। उ खिन्न त थियो नै । तर मनमा त्यै सन्तान बिनाश हुने त्रासले सतारह्यो। अब यी कुर्सीहरू आफ्नो घरमा राख्नु हुन्न भन्ने सोचले उसले ती कुर्सीहरू एउटा फर्निचर पसलमा लगेर बेचिदियो। अरु भन्दा भिन्न स्टाइलको ती आकर्षक कुर्सीहरू सबैको आँखामा अडिए । तर साधारण नागरिकले किन्ने आँट गर्न सक्दैनथे। अरु भन्दा बलियो र भिन्न डिजाइन र गुण भएकाले महँगोमा बेच्यो। कुर्सीको बारेमा पसलेले बजारभरी हल्ला चलायो । रातारात त्यो कुर्सी निकै महँगोमा बिक्री भयो। साधारण मान्छेहरूले बस्ने नभै सो कुर्सी नेताहरू बस्ने ठाँउमा पुग्यो। बुढो रुखको चाहना पूरा भयो ।

त्यो रुखबाट बनेको कुर्सीहरूमा विभिन्न पार्टीका शीर्ष नेताहरू बस्न थाले। जङ्गलमा हुँदा अरु रुखहरूलाई होच्याउने, खिसिटियुरी गर्ने हेप्ने बानी भएको रुखबाट बनेको ती कुर्सीहरूको पनि आदत केही परिवर्तन भएको थिएन । जब त्यो कुर्सीमा मान्छे बस्थ्यो त्यहाँ बसिसकेपछि तुरुन्तै व्यवहार परिवर्तन हुन्थ्यो। म जस्तो सर्वशक्तिमान कोही छैन, म नै शेर हु, मभित्र प्रचण्ड शक्ति छ, म खडग जस्तो धारिलो र बलियो छु, बहादुर छु । यस्तै यस्तै अहमता निस्किहाल्थ्यो। कुर्सीले कहिलेकाहीं बडो घुर्की लाउने गर्थ्यो ‘तिमी मलाई राम्रोसँग सम्मान गरेर बस। हैन भने तिमीले ममाथि बसेर तिम्रो सात पुस्तालाई पुग्ने गरी कमाएको धन सात मिनेटमा स्वाहा पार्दिन्छु । त्यति मात्रै होइन, म माथि बस्न नमिल्ने गरी लडाइदिन्छु, जिन्दगीभर उठ्न नसक्ने गरी बुझ्यौ?’ सबै कुर्सीले सबै नेताहरूलाई दिने धम्की यही नै थियो।

नेताहरूलाई कुर्सीको दिनदिनैको धम्की त छँदैथियो त्यहीमाथि अरुले नदेख्ने गरी अपचलन गरेको शक्ति, पैसा र पदको भूतले तर्साइरहन्थ्यो । कतिसम्म भने निद्रामा समेत उ भन्ने गर्थ्यो– ‘मेरो प्यारो कुर्सी! तिमी मेरो जिन्दगीको सबैथोक हौ । म तिमीलाई चोट पुर्याउने छैन। मलाई नलडाउनु।’ सबै नेताका कुर्सीहरूले बोल्ने भाषा एउटै थियो । नहोस् पनि कसरी? मूलबाट आएको पानी गाग्रीमा राखे पनि, गिलासमा राखे पनि, करुवामा राखे पनि पानी पानी नै हो । स्वाद फेरिदैन । त्यस्तै फरक फरक पार्टीबाट फरक फरक नेताहरू त्यो बूढो रुखबाट बनेको कुर्सीमा बसे पनि कुर्सीले दिने धम्की एकै थियो । साधारण जनताको छोराछोरी जो नेता बनेर कुर्सीमा बस्थे । त्यसपछि उ साधारण हुँदैनथ्यो। उसको अहंकार र फुर्ती फेरि अजिबको भएर आइहाल्थ्यो। आफू बाहेक अरु मान्छेलाई उनीहरूले मान्छे नै गन्दैनथे। कुर्सीको घुर्कीले उनीहरूको फुर्ती बढ्दा बिलासिता, अहमता हाबी हुने र नैतिकता, मानवीयता, धर्म र धैर्य कुर्सीमा टासिन्थ्यो र आफ्नो खोपडीमा भने ती सबै गुणहरू रितिन्थ्यो।

धेरै वर्ष बित्यो । तर त्यो कुर्सीको आयु घटेको छैन। जङ्गलका अरु बाँकी रुखहरूको आयु सकियो। कोही दाउरा बने । कोही काठ बने । कोही जङ्गलमै कुहिएर माटो बने । कोही कुर्सी नै बने । तर झिनामसिना खालका कुर्सी बने जहाँ जनता जनार्दन बस्न सक्छन् । आफैंले मिहिनेत गरेको पैसाले किन्न सक्छन् । तर त्यो बुढो रुखबाट बनेको कुर्सी सानोतिनो पैसाले किन्नै सकिँदैन । चम्चागिरी र चाप्लुसी नगरी त्यो वरपर पुग्न पनि सकिदैन । कस्तो शक्तिशाली, कति अजम्बरी बहादुर कुर्सी हो- त्यो । न केहीले कोर्न सक्छ न कोहीले चोर्न नै। हाम्रै नेपालमा मात्रै भएको त्यो कुर्सीको घुर्की हामी सर्वसाधारणले बुझ्नै सक्दारहेनछौं।

जङ्गलमा अरु रुख हरूलाई धम्क्याएको त्यो बूढो रुख जब कुर्सी बन्यो अब त मान्छेलाई घुर्की लाउन थालेको छ। त्यो घुर्कीलाई बुझ्न तालिम लिइरहेका केही मान्छेहरू त्यहाँ पुग्न अलापविलाप गरेर मरिहत्ते गर्छन् । त्यहाँ पुगेपछि उसको पनि फुर्ती फ़ेरि छोइनसक्नुको हुने नै छ। फुर्ती चुलिदै छ नैतिकता सुल्किँदै छ। बनमा खाइखेली हुर्कंदै गरेका ती बोटबिरुवाहरू भोलि फ़ेरि मान्छेले कुर्सी बनाउलान कि भनेर अल्पआयुमा स्वर्गलोक जाने तयारीमा छ्न् !

(श्रोत: आइएनएस-स्वतन्त्र समाचार)

तपाइँको प्रतिक्रिया