बुधबार, असार १५, २०७९

राजा वीरेन्द्रका कलागुरु कलाकार विजय थापा

ज्ञानेन्द्र विवश२०७९ जेठ २८ गते २३:३१

ज्ञानेन्द्र विवश

राजा वीरेन्द्रका कलागुरु हुनुहुन्छ– कलाकार विजय थापा। वीरेन्द्र शाहका नाममा राजा वीरेन्द्रले केही चित्ररचना गरेको सार्वजनिक भएकै हो। यसरी राजा वीरेन्द्र युवराज हुँदै उहाँले कला सिकाउने अवसर पाउनुभएको थियो। उहाँ भन्नुहुन्छ– ‘वि.सं. २०१९÷०२० सालमा श्री ५ युवराजाधिराज वीरेन्द्रवीरविक्रम शाहलाई नारायणहिटी राजदरबारको बङ्गला नं. १ मा केही महिना चित्रकला सिकाउने जस्तो महत्वपूर्ण जिम्मेवारी पाउँदा मैले त्यो भूमिका अत्यन्त सहजताका साथ पूरा गरेको थिएँ।’

कलाकार विजय थापाको जन्म वि.सं. २००० सालमा नवलपरासीको रामनगरमा भएको हो। उहाँका बुबाआमा बलबहादुर थापा क्षेत्री र सन्तकुमारी थापा हुनुहुन्छ। उहाँको पुर्खौली थलो लम्जुङ हो।

उहाँ भन्नुहुन्छ— ‘त्यो बेला तराईमा पहाडेहरू कमै ओर्लिन्थे। थारुहरूको घना बस्तीमा हाम्रो घर थियो। हाम्रो घरमा दुबेजी नामका व्यक्ति आउने गर्नुहुन्थ्यो। उनै दुबेजीसँग दाइ प्रभाकरको साथ लागेर म भारतको गोरखपुर पढ्न प्रस्थान गरें। त्यहाँको पिपराइच स्कुलमा दाइ र म भर्ना भयौं। पढाइको क्रममा म भारतको फैजावाद र बनारससम्म पुगें। चित्रकलामा सानैदेखिको रुचि थियो। सरस्वतीपूजाका दिन शिवसिंह मास्टरले कालो पाटीमा सरस्वतीको चित्र बनाउँथे। पछि त्यो काम मलाई सुम्पियो। मैले बनाएको चित्र सबैले राम्रो मान्थे। पशुपक्षी र रुखविरुवाका चित्र पनि बनाउथें। घरका भुइँ र भित्ताहरूमा अँगारले चित्र कोर्दा आमाले ‘कालोले भित्तामा कोर्दा ऋण लाग्छ’ भनेर गाली गर्नुभएको आजै जस्तो लाग्छ।’

वि.सं. २०१९ सालमा भारतको काशी हिन्दू विश्वविद्यालयको ललितकला महाविद्यालयबाट उहाँले ललितकलामा छ वर्षको स्नातक तह पूरा गर्नुभयो। सोही साल स्वदेश फर्केलगत्तै आफ्नो पहिलो एकल कलाप्रदर्शनी काठमाडौँमा गर्नुभएको थियो। सो प्रदर्शनीको उद्घाटन तत्कालीन परराष्ट्र मन्त्री ऋषिकेश शाहबाट भएको थियो। सोही वर्ष पोखरा र धरानमा समेत उहाँले एकल कलाप्रदर्शनी आयोजना गर्नुभएको थियो। उहाँका अनुसार ती प्रदर्शनीले त्यो बेला नेपाली कलालाई शहरदेखि गाउँसम्म पुर्‍याएको थियो।

वि.सं. २०२२ सालमा श्री ५ युवराजाधिराजको अध्यक्षतामा नेपाल ललितकला संस्था (नाफा) को स्थापना भएको थियो। वि.सं. २०२६–०३४ सालसम्म उहाँले नाफाको कोषाध्यक्ष पद बहन गर्नुभएको थियो। उहाँ नाफाको स्थापनालाई नेपाली कलाजगत्को निकै ठूलो उपलब्धि मान्नुहुन्छ। नाफाको स्थापनासँगै राष्ट्रिय कलाप्रदर्शनी जस्तो कलामहोत्सवको थालनी भएको विजय थापा स्मरण गर्नुहुन्छ। वि.सं. २०२२ सालमा नेपाल युवक सङ्गठनले आयोजना गरेको ‘राष्ट्रिय युवा मेला’ मा आफ्ना कलाकृतिहरूले पनि प्रदर्शित हुने मौका पाएको उहाँ बताउनुहुन्छ।

कलाकार विजय थापाले वि.सं. २०२३ सालमा ललितपुरमा पनि एकल कलाप्रदर्शनीको आयोजना गर्नुभएको थियो। सोही वर्ष आयोजित राष्ट्रिय कलाप्रदर्शनीमा पनि उहाँको सहभागिता रहेको थियो। त्यसैगरी वि.सं. २०२४ सालमा पुरातत्व विभाग र नेपाल ललितकला संस्थाको संयुक्त आयोजनामा भएको कलाप्रदर्शनीमा पनि उहाँले भाग लिनुभएको थियो। वि.सं. २०२७ सालमा नेपाल ललितकला संस्थाले आयोजना गरेको अन्तर्राष्ट्रिय कलाप्रदर्शनीमा उहाँको चित्ररचनाले ‘सर्वोत्तम पुरस्कार’ प्राप्त गरेको थियो। वि.सं. २०३७ सालको राष्ट्रिय कलाप्रदर्शनीमा समसामयिक चित्रतर्फ उहाँले प्रथम पुरस्कार पाउनुभएको थियो। वि.सं. २०५८ सालमा उहाँले ‘सुप्रबल गोरखा दक्षिणबाहु’ पदक पाउनुभएको थियो। वि.सं. २०७५ सालमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले उहाँलाई ‘अरनिको राष्ट्रिय ललितकला पुरस्कार’ बाट सम्मान गरेको थियो।

वि.सं. २०२५–०२८ साल उहाँ तत्कालीन गृह पञ्चायत मन्त्रालयको तालिम सामग्री उत्पादन केन्द्रमा कलाकारका रूपमा कार्यरत रहनुभएको थियो। त्यसपछि वि.सं. २०३१ सालसम्म ललितकला क्याम्पसमा अध्यापन गर्नुभयो। वि.सं. २०३१–०३८ सालसम्म नेपाल परिवार नियोजन सङ्घमा कला अधिकृत हुँदै सञ्चार महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्नुभयो। वि.सं. २०२७–०३५ सालसम्म उहाँले ‘कलाकार’ पत्रिकाको सम्पादन र प्रकाशनसमेत गर्नुभयो। सो पत्रिकाले साहित्यलाई समेत कलासँगै अगाडि बढाएको स्मरणीय छ।

वि.सं. २०४४ सालमा राजधानीसँगको सम्बन्ध र सम्पर्कबाटै टाढिएर उहाँ आफ्नो गृहजिल्ला नवलपरासी फर्किनुभयो। वि.सं. २०५५ सालमा उहाँ पुनः काठमाडौं आउनुभयो। काठमाडौं फर्के लगत्तै उहाँले नेपाल ललितकला संस्थामा स्टुडियो पनि लिनुभयो। पुनः पुरानो जोस र जाँगरसहित कलाकर्ममा लीन हुन थाल्नुभयो। त्यसै वर्ष ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित पनि हुनुभयो। यसबाट नेपाली कलाजगतले आपूmलाई बिर्सिसकेको रहेन छ भन्ने आफूलाई महसुस भएको उहाँ बताउनुहुन्छ। वि.सं. २०५६ सालमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ–परिषद् सदस्यमा उहाँ नियुक्त हुनुभयो। त्यहाँ रहँदा उहाँले ‘आकृति’ नामक पत्रिकाको प्रकाशन प्रारम्भ गर्नुभएको थियो। सो कला पत्रिकाले कलासमीक्षाका साथै कला र कलाकारको चिनारी अभिलेखनमा महत्वपूर्ण योगदान दिएको थियो।

वि.सं. २०५७ सालमा ‘जीवनको रङ’ शीर्षकमा उहाँको तेह्रौं एकल प्रदर्शनीमार्पmत आफ्ना चित्रहरू उहाँले लामो समयपछि सार्वजनिक गर्नुभएको थियो। ती काममा उहाँले आफ्नो मौलिक शैलीलाई निरन्तरता दिँदै अझ परिष्कृत प्रस्तुति दिनुभयो। उहाँको पछिल्लो प्रदर्शनी वि.सं. २०६८ सालमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा भएको थियो। यसैबीच उहाँले विभिन्न ऋतुमाथि सिर्जना गर्नुभएका प्रणय–विम्बका कलाहरूको प्रदर्शनीसमेत गर्नुभएको थियो।

उहाँका क्यानभासमा प्रायः ज्यामितीय आकृतिहरूको चित्ताकर्षक संयोजन रहेका हुन्छन्। सन्तुलित र मिठासपूर्ण रङ–सङ्गति उहाँका विशेषता हुन्। उहाँ तेलरङ र एक्रेलिक दुवै माध्यममा काम गर्न रुचाउनुहुन्छ। उहाँका चित्र–पात्र र विषयवस्तुमा मानवीय जीवननै समेटिएका हुन्छन्।

उहाँ भन्नुहुन्छ– ‘क्यानभासमा रङलाई खेलाउने होइन, रङले कलाकारलाई खेलाउन दिनुपर्छ। चित्ररचनाका क्रममा म रङद्वारा परिचालित हुन्छु। रङहरूको सुन्दर संयोजनविना चित्ररचनामा प्राण भरिन नसक्ने मेरो विश्वास रहिआएको छ।’

कलाकार विजय थापा आधुनिक शैलीका चित्रकारका अतिरिक्त कुशल ‘पोट्रेट आर्टिस्ट’ पनि हुनुहुन्छ। उहाँ ल्यान्डस्केप पेन्टिङ पनि दक्षतापूर्वक बनाउनुहुन्छ। हालसम्म आपूmले कतिवटा पोट्रेट बनाएँ त्यसको कुनै हेक्का नरहेको उहाँ बताउनुहुन्छ। पोट्रेट विधामा आफ्नो क्षमता देखाउन पाइने र कलाकारले राम्रो आयआर्जनसमेत गर्न सक्ने उहाँ बताउनुहुन्छ।

वि.सं. २०३८ सालमा कलाकार थापाले विभिन्न क्षेत्रका महत्वपूर्ण व्यक्तित्वहरूको १७८ थान तेलरङमा पोट्रेट बनाउने अनुबन्ध पाउनुभएको थियो। प्रधानमन्त्री कार्यालय, सिंहदरबारका लागि उहाँले नेपालका प्रधानमन्त्रीहरूको पोट्रेट बनाउने कार्य वि.सं. २०३९–०६७ सालसम्म गर्नुभयो। वि.सं. २०४३ सालमा उहाँले कवयित्री चाँदनी शाहका कवितामा आधारित चित्ररचनाहरूको एकल कलाप्रदर्शनी गर्नुभएको थियो।

नेपाली कलाको वर्तमान अवस्थाप्रति उहाँ भन्नुहुन्छ– ‘कला भनेको राष्ट्रको सांस्कृतिक धरोहर हो। गुणस्तरका दृष्टिले नेपाली कला आज निकै अगाडि बढिसकेको छ। तथापि कलाकारहरूको जीवनस्तर भने सन्तोषजनक ढङ्गले उठ्न सकेको छैन। कलाक्षेत्रको विकासका लागि राज्यले अलिकति पनि दायित्व पूरा गर्न नसकेको यथार्थ हो। यस क्षेत्रप्रति

राज्यले समुचित ध्यान नपुर्‍याएसम्म यो दयनीय अवस्थामा सुधार हुने अपेक्षा राख्न सकिँदैन।’

(सबै तस्बिर लेखक स्वयम्) श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइँको प्रतिक्रिया

फेसबुक