बिहीबार, चैत १५, २०८०

पहिलो खेलमै हार, टाढिँदै विश्वकप सपना

आशुतोष अधिकारी २०७९ जेठ २८ गते २३:४२

आशुतोष अधिकारी

आइसीसी वर्ल्डकप लिग २ अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले पराजयसँगै प्रतियोगिताको शुरूवात गरेको छ । अमेरिका, ओमान र नेपाल सम्मिलित त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमै नेपाल ओमानसँग १३ रनले पराजित हुन पुग्यो । ५० ओभरको खेलमा प्रतिओभर ४.२५ रन प्रतिओभरको औसतमा २१२ रन बनाउने चुनौति पाएको नेपालले लक्ष्यसम्म पुग्न भरपुर संघर्ष गरे पनि पराजय टार्न भने सकेन । यो हारले नेपालको आगामी एकदिवसीय विश्वकप खेल्ने सपना झनु कठिन बन्न पुगेको छ ।

बिहीवार राती सम्पन्न खेलमा टस जितेर ब्याटिङ रोजेको ओमानलाई ५० ओभरमा २११ रनको मध्यम स्कोरमा रोक्न सफल भएको थियो । ओमानका कप्तान जीसन मक्सुदले १२६ बलमा १०४ रनको ठोस पारी खेलेपछि मात्र ओमानले २ सय रनको आँकडा पार गर्न सफल भएको थियो । ओमानलाई मध्यम योगफलमा सीमित पार्ने क्रममा नेपालका करण केसीले १० ओभर बलिङ गर्दै ३८ रन खर्चेर ५ विकेट लिएका थिए भने कप्तान सन्दिप लामिछानेले पनि आफ्नो १० ओभरको स्पेलमा १ मेडेन ओभरसहित ४४ रन खर्चेर २ विकेट लिएका थिए ।

प्रत्युत्तरमा २१२ रनको सामान्य लक्ष्य पछ्याएको नेपाली टोलीले ४९.४ ओभरमा अलआउट हुनुअघि १९८ रन मात्र बनाउन सफल भयो । नेपालका लागि आरिफ शेखले ६६ रनको अर्धशतकीय पारी खेले पनि अन्य कुनै ब्याट्सम्यानले उनलाई गतिलो साथ दिन नसक्दा नेपालले जित्नसक्ने खेल समेत हार खान पुग्यो ।

नेपालका ओपनिङ जोडी कुशल भुर्तेल र आशिफ शेख घाइते भएपछि ओमानविरुद्धको खेलमा नेपाली पारी शुरूवात गर्ने मौका पाएका सुनिल धमला र सुवास खकुरेलको जोडी त्यो अवसर सदुपयोग गर्न असफल रहे । सुनिल ३८ बलको सामना गर्दै १२ रनमा आउट भए भने सुवासले ३ रन भन्दा बढी बनाउन सकेनन् । युवा खेलाडी देव खनालले ५३ बलमा ५ चौकाको सहयोगमा ३४ रन बनाएर नेपालको इनिङ्लाई केही अगाडि लैजाने कोशिस गरेका थिए ।

प्रतियोगिताअघि खेलिएको अभ्यास खेलमा शतक प्रहार गरेका टोलीका कप्तान रोहित पौडेलले २० रन मात्र बनाउन सके भने फर्ममा रहेका अनुभवी खेलाडी दिपेन्द्रसिंह ऐरी पनि १६ रनमै आउट हुन पुगे । त्यस्तै विकेटकिपर–ब्याट्सम्यान विनोद भण्डारी १४ रनमा आउट भए भने नेपालको अन्तिम आशाका रूपमा रहेका फिनिसर करण केसी पनि ८ रनभन्दा बढी बनाउन असफल भए । नवौं नम्बरका सोमपाल कामीले १२ बलमा १३ रन बनाउँदै ओमानी आक्रमणको केहीबेर सामना गरे पनि कप्तान सन्दिप लामिछाने २ रनमा रन आउट हुन पुगेपछि नेपाल झिनो अन्तरले पराजित हुन बाध्य भयो । उच्चश्रेणीको क्रिकेटको लामो अनुभव भएका नेपालका कप्तान सन्दिप लामिछानेले आफ्नो ब्याटिङमा सुधार गर्न नसक्नु नेपाली टोलीका लागि दुखद् साबित हुँदै आएको छ ।

नेपाललाई १९८ रनमा सीमित पार्ने क्रममा ओमानका कप्तानले ३ विकेट लिए भने खबर अलीको नाममा पनि ३ विकेट रह्यो । खेलमा शतक बनाउँदै ३ विकेट समेत लिएका ओमानका कप्तान खेलका म्यान अफ दी म्याच चुनिए ।

समस्या ब्याटिङमा कि आत्मविश्वासमा ?

कमजोर ब्याटिङलाई नेपालको परम्परागत समस्या मानिँदै आएको छ तर नेपाली टोलीको अमेरिका भ्रमणभन्दा अगाडिका परिदृश्यहरूलाई आकलन गर्ने हो भने यसपटक नेपाली टोलीको ब्याटिङ लाइनअप पनि बलियो देखिएको थियो । ओपनिङमा जमेको कुशल भुर्तेल र आशिफ शेखको जोडीदेखि लिएर पछिल्ला केही खेलमा मध्यक्रममा रोहित–दिपेन्द्र–आरिफको गतिलो प्रदर्शनले नेपाली ब्याटिङमा नयाँ आशाको सञ्चार गरेको थियो । त्यसमाथि ‘फिनिसर’का रूपमा करण केसीको भूमिका र ‘हार्ड हिटर’ आदिले अन्सारीको आगमनले नेपाली टोलीको ब्याटिङ लाइनअपलाई थप बलियो बनाएको आभाष सबैले गरेका थिए ।

तर यी सबै कागजी तथ्यहरू मैदानमा गलत साबित भएका छन्, महत्वपूर्ण घडीमा नेपाली टोलीको ब्याटिङ पुन: एकपटक धरमराउन पुगेको छ । त्यसले समस्या नेपाली टोलीको ब्याटिङमा नभई खेलाडीहरूको आत्मविश्वासमा रहेको तर्फ इङ्गित गरेको छ । महत्वपूर्ण खेलहरूमा नेपाली टोलीको प्रदर्शन आशा अनुरूप हुन नसक्नु वा विशेष खेलहरूमा नै चुक्नुमा कतै मनोवैज्ञानिक पक्षले त काम गरिरहेको त छैन? यसको पनि उत्तर खोजिनु आवश्यक छ ।

शृङ्खला शुरूहुनुभन्दा ठीक अघि प्रारम्भिक जोडी कुशल भुर्तेल र आशिफ शेखले चोट बोक्नु पनि नेपालका लागि धेरै महँगो पर्नसक्ने देखिएको छ । कुशलको स्थानमा टोलीमा बोलाइएका सुवास खकुरेल पहिलो खेलमा असफल भइसकेका छन् । लामो समयपछि नेपालका लागि खेल्ने मौका पाएका सुवासले यदि अर्को खेलमा पनि राम्रो प्रदर्शन गर्न सकेनन् भने जारी प्रतियोगितामा मात्र होइन, नेपाली राष्ट्रिय टोलीका लागि समेत त्यो नै उनको अन्तिम खेल नहोला भन्न सकिन्न ।

कठिन बन्दै नेपालको विश्वकप सपना

प्रतियोगिताको पहिलो खेलमै भोगेको हारले एकदिवशीय विश्वकप २०२४ खेल्ने नेपालको अभियानमा ठूलो धक्का लागेको छ । यो प्रतियोगितामा नेपाली खेलाडीहरूले गर्ने प्रदर्शनले नै नेपालको विश्वकप यात्राको मार्गचित्र तयार गर्नेछ । तीन वर्षभन्दा लामो व्यस्त खेलतालिका भएको सात राष्ट्र सम्मिलित वल्र्डकप लिग २ को शीर्ष ३ टोलीले मात्र विश्वकप छनौटमा स्थान बनाउनेछन् । अमेरिका भ्रमण अघिसम्म नेपाल १२ खेल खेल्दै १४ अंक सहित अंकतालिकाको पाँचौ स्थानमा थियो । हारसँगै नेपाल एक स्थान तल खस्किएर छैठौंमा पुगेको छ । ताजा स्थितिमा ३४ खेल खेल्दै ४२ अंकसहित ओमान तालिकाको पहिलो स्थानमा छ ।

अबको एक महिनाभित्र नेपालले वल्र्डकप लिग २ का दुई महत्वपूर्ण शृङ्खलामा प्रतियोगिताको शीर्ष चार टोलीहरूको लगातार सामना गर्नुपर्ने छ । जारी शृङ्खलाको दोस्रो खेलमा नेपालले शनिवार आयोजक अमेरिकाको सामना गर्दैछ । गत हप्ता मात्र युएई र स्कटल्याण्ड सम्मिलित शृङ्खलाको अन्तिम खेलमा स्कटल्याण्डलाई १०४ रनले अनि यसै शृङ्खलाको पहिलो खेलमा ओमानलाई ११४ रनको फराकिलो अन्तरले हराएको अमेरिका नेपालविरुद्ध उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । त्यसको विपरीत, पहिलो खेलमा हार खेप्दैे नेपाली टोलीले गुमाएको आत्मविश्वासलाई अमेरिकाविरुद्धको खेल जित्दै फिर्ता ल्याउनु नेपालका लागि कम्ती चुनौतिपूर्ण हुनेछैन ।

प्रतियोगितामा क्रमश: शीर्ष चार स्थानमा रहेका ओमान, स्कटल्याण्ड, युएई र अमेरिकाले अहिलेसम्म गरेको प्रदर्शनलाई विश्लेषण गर्ने हो भने उनीहरूको खेलको स्तर नेपालको केही माथिल्लो दर्जाको देखिन्छ । यस कुरालाई हामीले स्वीकार गर्नैपर्छ किनभने स्कटल्याण्ड आफैंमा क्रिकेटकल्चर भएको देश हो जहाँका धेरै खेलाडीलाई काउन्टी क्रिकेट जस्तो उच्चश्रेणीका प्रतियोगिताहरूको अनुभव छ । त्यसबाहेक अन्य तीनै टोलीका अघिकांश खेलाडी भारतीय र पाकिस्तानी मूलका रहेका र त्यहाँका खेलपूर्वाधार र खेलाडीले पाउने सेवा–सुविधा र तालिम नेपालको तुलनामा धेरै स्तरीय हुने गरेको छ ।

विश्वकपमा पुग्ने बाटोका रूपमा रहेको यो प्रतियोगिता २०२३ सम्म जारी रहने र यसको अन्त्यसँगै शीर्ष ५ टोलीले थप चार वर्षका लागि एकदिवसीय मान्यता पाउने भएका कारण पनि नेपालका लागि वर्ल्डकप लिग २ ज्यादै महत्वपूर्ण छ । अहिलेको स्थितिमा प्रतियोगितामा पाँचौ स्थानको नामिबिया र नेपालको अवस्था लगभग समान रहेको देखिन्छ । यो सिरिज लगत्तै नेपालले बलिया दुई टोली स्कटल्याण्ड र युएईको सामना गर्नुपर्ने हुन्छ । नेपाललाई शीर्ष तीनमा मात्र होइन, शीर्ष पाँचभित्र पर्नका लागि नै ठूलो संघर्ष गर्नुपर्ने देखिन्छ । त्यसैले पनि शीर्ष ३ भित्र रहेर प्रतियोगिताको अन्त्य गर्दै नेपाललाई विश्वकप छनौटको अन्तिम खुड्किलोसम्म पुर्‍याउन हाम्रा खेलाडीले कुनै चमत्कारपूर्ण प्रदर्शन गर्नुपर्ने देखिन्छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइँको प्रतिक्रिया

फेसबुक