आइतबार, असोज ९, २०७९

त्रासै त्रासमा मनाङका बाढी प्रभावितहरू

नवीन लामिछाने/मनाङ२०७९ जेठ ३० गते १७:५६

नवीन लामिछाने

मनसुन नेपालमा भित्रिसकेको छ। मनसुनको सुरुआत भएसँगै वर्षा भएपछि प्राकृतिक विपत्ति पनि बढ्दै गएको छ। गत वर्ष जेठ र असारमा मर्स्याङ्दी नदीमा आएको बाढीका कारण हिमाली जिल्ला मनाङका विभिन्न क्षेत्रमा क्षति पुगेको थियो।

गत वर्षको ३१ जेठ र असारको पहिलो साता मर्स्याङ्दी नदीमा आएको बाढी प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सकिएको छैन। बाढीबाट क्षति पुगेका बाढी प्रभावितको आवास तथा बाढीले क्षति पुगेको संरचनाको निर्माण एवं पुनर्निर्माण गर्न सकिएको छैन। विशेषगरी गत वर्ष बाढीले नासोँ गाउँपालिकाका विभिन्न गाउँमा बढी क्षति पुर्‍याएको थियो।

गत वर्षको बाढीका कारण घरबारविहीन भएका मनाङ नासोँ गाउँपालिकाको सिरानताल र ताल गाउँका प्रभावित पुराना घरलाई सरसफाइ गरेर बस्न बाध्य छन्। मनसुनको सुरुआत भएपछि बाढी प्रभावित त्रास नै त्रासमा बस्न बाध्य छन्। मनाङको सदरमुकाम चामे नै मर्स्याङ्दी नदीको जोखिम रहेको छ। नदीमा आएको बाढीले चामेको विद्यालय लगायत विभिन्न सार्वजनिक संरचनामा क्षति पुर्‍याएको थियो। बाढीले क्षति पुर्‍याएका संरचनाको हालसम्म पनि मर्मत सकिएको छैन।

वर्षामा बाढीको त्रास छ भने जाडोमा चिसोले बाढी प्रभावित सकसमा जीवन जिउन बाध्य छन्। हिउँदको चिसो कठ्याङ्ग्रिदै कटाएका बाढी प्रभावितका लागि सुरक्षित आवाससहित बस्ती स्थानान्तरणको पर्खाइमा छन्। बाढीका कारण विस्थापित तालगाउँ र सिरानतालका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने आसमा छन्।

मौसम पूर्वानुमान महाशाखाले यस वर्ष पनि वर्षा बढी हुने जानकारी गराएको छ र वर्षा सुरु भइसकेकोले मनाङवासी तथा विशेषगरी ताल गाउँवासीमा त्रास बढेको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताउनुभयो। सुरक्षित आवास अभावमा उनीहरूले भत्किएका संरचनामा बाढीले ल्याएको गिट्टी, बालुवा, ढुङ्गा हटाएर टिनको टहरा निर्माण गरी बसेको आचार्यले बताउनुभयो।

उहाँका अनुसार गत मंसिरमा गण्डकी प्रदेश सरकारले दिएको रु.दुई लाख र नासोँ गाउँपालिकाले दिएको रु.एक लाखले अस्थायी टहरा मर्मत गरी बसेका छन्। बाढी पीडितका लागि वर्षायाम अगावै स्थानान्तरण वा सुरक्षित बासको व्यवस्था गर्ने योजना तयारी गर्न नसकिएको प्रजिअ आचार्यले बताउनुभयो। गतवर्ष मर्स्याङ्दी नदीको बाढीले तालगाउँ र सिरानतालको बस्ती तहसनहस पारेको थियो।

बस्ती सार्न विज्ञको सुझाव

नासोँ गाउँपालिका–१ तालगाउँ र सिरानगाउँ मर्स्याङ्दी नदीबाट बढी जोखिममा छन्। नदीको किनारमा आएको बाढीको जोखिममा यी दुई गाउँ नै हुन्। जोखिमयुक्त स्थानमा भएको बस्तीले मानवीय क्षति पुग्ने भनेर विज्ञहरूले सार्नुपर्ने सुझाव दिएका छन्।

जोखिमयुक्त बस्ती सार्नुपर्ने विज्ञको सुझावपछि सुरक्षित स्थानको खोजीमा स्थानीयवासी छन्। सुरक्षित स्थानको खोजी गर्दा गर्दै स्थानीयवासी हिउँदभित्रै घर बनाउने भनिए पनि वर्षा सुरु हुँदासम्म पनि जोखिमयुक्त घर मर्मत गरी बसिरहेका छन्।

वर्षा लागिसक्दा पनि सुरक्षित बासको अझै ठेगान लगाउन सकिएको छैन। यसले गर्दा पुर्ख्यौली थातथलो नै छोड्नुपर्ने हो की भन्ने चिन्ताले बाढी प्रभावित शान्त रुपमा बस्न सकेका छैनन्।

सुरक्षित स्थानको पहिचान नहुँदा उनीहरूले व्यक्तिगत तवरबाट घर बनाउन समेत पाएका छैनन्। स्थानीय सरकार र प्रदेश सरकारको केही राहत रकम प्रदान गरेको थियो। जग्गा अभावका कारण बाढी प्रभावितको सुरक्षित आवास निर्माण प्रक्रिया अघि बढ्न नसकेको प्रजिअ रवीन्द्र प्रसाद आचार्यले बताउनुभयो। सिरानतालको सात र तालगाउँको ४३ घरधुरी अन्य सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको छ।

त्रासमै बाढी प्रभावित

ताल गाउँका बाढी प्रभावित त्रासमा रहेको एक वर्ष भएको छ। एक वर्ष हुँदा समेत तालगाउँवासी सुरक्षित अनुभूति गर्न सकेका छैनन्। स्थानीय मोहन गुरुङले बाढीले क्षतिग्रस्त बनाएको गाउँवासी वर्षाको भेल सुरु हुन लागेपछि त्रसित भएको बताउनुहुन्छ।

लामो सयमको पर्खाइ पछि टिनको टहरा बनाउन उहाँले बताउनुभयो। “ढिलै भए पनि ओत लाग्न पाएका छौं। सरकार भएको अनुभूति गरेका छौं,” उहाँले भन्नुभयो, “अझै जोखिम छ र त्रास भने कम भएको छैन। यसवर्ष पनि नदीमा बाढी नआउला भन्न सकिदैन। त्रासले निद्रा छैन।”

नदी किनारमा रहेको तालगाउँ बाढीको उच्च जोखिमको क्षेत्र मानिन्छ। सिरान ताल क्षेत्रको भौगर्भिक अध्ययनको तयारी थालेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। भौगर्भिक अध्ययनको नतिजापछि यस क्षेत्रको संरक्षणका लागि थप व्यवस्थापन गर्ने तयारी गरिएको छ। अध्ययनपछि उक्त ठाउँमा बस्न मिल्ने वा नमिल्ने विषयमाथि निष्कर्ष निकालिनेछ। यहाँका आधा जति बासिन्दा तालमै बस्न इच्छुक छन्।

मेरुदण्डको सडक सकस

मनाङको मेरुदण्डको रुपमा रहेको बेसीशहर –चामे सडक खण्डको १०७ किलोमिटर छ। गत असार १ र त्यसपछि आएको बाढीपहिरोले मनाङको मेरुदण्डको रुपमा रहेको बेसीशहर –चामे सडक खण्ड पक्की रुपमा निर्माण गर्न नसक्दा सकसमा यात्रा गर्नुपर्ने बाध्यता छ मनाङवासी तथा पर्यटकलाई।

यस सडकखण्डको चट्टानसँगै माटोले बनेको हुँदा वर्षायाममा पानी पर्नासाथ यात्रा सकस हुन्छ। एक मात्र मनाङ प्रवेशको कच्ची सडक छ। वर्षायाममा न त हिउँदयाममा यहाँको काम गर्न सक्ने अवस्था नरहेको प्राविधिकहरू बताउँछन्। मौसमको प्रतिकूलताले गर्दा सडक निर्माणमा समस्या हुँदै आएको छ।

बेसीशहर–चामे–खाङ्सार सडक खण्ड १०७ किलोमिटरमध्ये धेरै स्थानमा बाढीपहिरोले क्षति पुर्‍याएको थियो। उक्त सडकखण्डको नेपाली सेनाको प्राविधिक टोलीले समेत बाढीपहिरो पछि अध्ययन गरेको थियो। माटोको अवस्था अध्ययन तथा अनुगमनपछि सेनाको प्राविधिक टोलीले बेशीशहर–चामे सडक खण्डको नयाँ ट्रयाक खोल्ने प्रक्रियामा अगाडि बढाउने भनिए पनि हालसम्म मौसम प्रतिकुलताले काम हुन सकेको छैन।

मनाङको वैकल्पिक मार्ग हेलिकप्टर

विकट हिमाली जिल्ला मनाङमा बाढीपहिरो गत वर्ष आएको बाढीपहिरोले सडक यात्रा पूर्ण रुपमा बन्द भयो। गत जेठ १४ र असार १ मा आएको बाढीपहिरोले मनाङको सडक पूर्ण रुपमा रोकिएको थियो।

स्थलमार्ग अवरुद्ध भएको खण्डमा हेलिकप्टरको सहायता बिना कुनै पनि यात्रा हुन सक्दैन। अचानक कुनै पनि दुर्घटना भएको खण्डमा मनाङमै उपचार हुन सक्ने अवस्था नहुनु र सडक मार्ग अवरुद्ध भएमा हेलिकप्टर चार्टड मात्रै विकल्प हो।

यहाँको मौसम पनि कति बेला प्रतिकूल वा अनुकूल बन्न पत्तै पाउन मुस्किल हुन्छ। यस्तो अवस्थामा स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारले मनाङको मेरुदण्डको रुपमा रहेको मार्गलाई बजेट वर्षैपिच्छे विनियोजन गर्दै आएको छ। तर, मौसमको अनुकूलता र ठेकेदारले समयमा काम गर्न नसक्दा मनाङको यात्रा सकस नै रहेको छ।

आगामी आर्थिक वर्षका लागि संघ सरकारले रु. ६१ करोड मनाङको मेरुदण्डको मार्ग चामे– बेसीशहर सडक मार्ग निर्माणका लागि बजेट विनियोजन गरेको छ। तथापि यो मार्ग पक्की रुपमा निर्माण हुन सकिरहेको छैन। डुम्रे–बेसीशहर–चामे सडक कार्यालयले लमजुङले मौसमको प्रतिकूलताले गर्दा यहाँको सडक निर्माणमा सकस भएको जनाएको छ।

साना जलविद्युतको भरमा मनाङ

हिमाली जिल्ला मनाङ विद्युत प्राधिकरणबाट प्रवाह हुने विद्युत उपभोग गर्न गर्दैन। यहाँ साना लघु जलविद्युतको प्रसारण लाइनमार्फत चलेका विद्युतले मात्रै धानेको छ।

चामे लघु जलविद्युत आयोजना लगायतका साना जलविद्युतबाट उत्पादन भएको र सोलार प्रयोग गरेर बिजुलीको उपभोग भइरहेको छ। गत वर्ष राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको केही महिनामा नै बाढीपहिरोको प्रकोपमा पर्‍यो र उक्त विद्युत उपभोग हुन सकेन।

यहाँ राष्ट्रिय प्रसारण लाइनको विद्युत सरकार तथा गैरसरकारी सङ्घसंस्थामा जडान गरिएको छ। यहाँ सर्वसाधारणले राष्ट्रिय प्रसारण लाइनको विद्युत उपभोग गरेका छैनन्। सर्वसाधारणलाई विद्युत प्रवाह गर्ने गरी छाडिएको छैन। सर्वसाधारणले लघु जलविद्युत र सोलारको विद्युत उपयोग गरिरहेका छन्।

गत वर्ष बाढी पहिराले क्षति पुर्‍याएको सरकारी सङ्घसंस्थालाई कार्य सम्पादनका लागि सहज बनाउने उद्देश्यले गण्डकी प्रदेश सरकारले सौर्य उर्जा जडान गरिदिएको थियो। प्रदेशबाट सरकारी कार्यालयहरूको सेवा प्रवाहको सहजताका लागि सौर्य उर्जा जडान हो।

सदरमुकाम चामेदेखि भ्राताङसम्म ०७७ माघमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको विद्युत आपूर्ति भएको थियो। मनाङमा लमजुङको मर्स्याङ्दी –५ घेर्मु स्थित राधी साना जलविद्युत् आयोजनामा निर्मित सबस्टेसनबाट २९ किलोमिटर तार टाँगेर ३३ केभी विद्युत् प्रसारण लाइन चामे–१ स्यार्कु स्थित सबस्टेसनमा जडान गरिएको थियो। बाढीपहिरोले प्रसारणमा एक करोड ७० लाख बराबरको क्षति पुगेको छ।

बाढीपहिरोले ३३ केभी लाइनको ८.४ किलोमिटरको एक सय १६ वटा पोल, ५.६ किलोमिटरको ११ केभी लाइनको ८८ वटा पोलमा क्षति पुर्‍याएको छ। ४०० भोल्टको ५१ पोलमा क्षति पुगेको थियो।

भौतिक पूर्वाधारको निर्माणमा चासो

राष्ट्रिय योजना आयोगले विगतमा बाढीपहिरोले भौतिक संरचनाको पुनर्निर्माणका लागि अगाडि बढ्ने मेसो देखायो तर, पुरा गर्न भने सकेको छैन। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल र गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले सहितको टोलीले हिमाली जिल्ला मनाङको विकासको अवस्था, चुनौती र सम्भावनाका सम्बन्धमा अध्ययन गरेको थियो।

विभिन्न गाउँबस्तीमा विपद्का बेला भएको क्षति अवलोकन एवम् निजी घर, पुल, सडक, विद्युत पुनर्निर्माण गरी आगामी कदमका सम्बन्धमा स्थलगत अनुगमन तयारी थाल्ने प्रयास गरे पनि अहिलेसम्म पुरा हुन सकेको छैन। विकट क्षेत्रको विकास माथि खेलवाड गर्न नहुने भन्दै वर्षायाममा पनि सहज बनाउने उद्देश्यले यहाँको विकास हुन आवश्यक रहेकोले समयमा कार्य गर्न अनुरोध गरिएको थियो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइँको प्रतिक्रिया

फेसबुक