आइतबार, मंसिर १८, २०७९

दुइ बुबा र दुइटी आमा हुने धर्मपुत्र र पुत्रीका कथा

तियाना अस्मिता साल / फ्रान्स२०७९ जेठ ३० गते २३:५५

तियाना अस्मिता साल

धर्मपुत्रीका रुपमा सन् १९९३ मा मेरा पेरिसका माता र पिताले काठमाडौंमा मलाइ ग्रहण गर्नुभयो । त्यो बेला म ६ महिनाकी थिएँ । पेरिस लैजाने अनुमति प्राप्तिकालागि लामो झमेला भएपछि पिताजी एक्लै पेरिस फर्कनुभएछ । र माताजीले मलाइ काखमा च्यापेर काठमाडौंका बिभिन्न सरकारी कार्यालय धाउनुभएछ । फाइल सदर गर्न आनाकानी भएपछि माताले बक्सिस (घुस) दिएर काम सक्नुभयो । अनि म नेपाली राहदानीमै पेरिस आइपुगेँ । म पेरिस टेक्दा साँढे सात महिनाकी थिएँ ।

पेरिस आएपछि म बिधिवत रुपमा मेरा फ्रान्सेली माता पिताकी छोरी बनेँ । नेपालमा म अस्मिता पाण्डे थिएँ । यता आएपछि नाम फेरिएर म तियाना अस्मिता साल भएँ । मेरो नेपालको अस्मिता नाम बिचमा बस्यो ।

पेरिसबाट मेरो परिवार बसाइ सराइ गरेर साँ मामे भन्ने ठाउँमा पुग्यो र म त्यहिँ हुर्केँ ।  माता पिताले तिम्रो उत्पत्ती स्थल नेपाल हो भनेर सानैबाट बताउनुभएको थियो । म नेपालकी छोरी रहिछु भन्ने कुरा मनमा राखेरै म हुर्के । म हुर्कदा बढ्दा परिवारमा मलाई कुनैपनि भिन्नता थिएन । यताको सभ्यता र सँस्कृतिमा अभिन्न भएर म हुर्कँ । तर स्कूलमा भने मलाइ तिम्रो रङ र हाम्रो रङ किन मिल्दैन भनेर साथीहरुले जिस्काउँदा मन दुख्थ्यो । तिम्रो बुबा ममी कुन देशबाट आउनुभएको हो भनेर सोध्थे मलाइ साथीहरुले । मैले मेरा मातापिता फ्रान्सेली नै हुनुहुन्छ भन्दा पत्याउँदैनथे । कतिले यस्तो हुनै नसक्ने कुरा भन्थे ।

हुर्कँदै जाँदा मलाइ जन्म दिने माता पिता कुन् होलान् र परिवार कहाँ होलान् भनेर जान्न मन लाग्यो । यस्तो कुरा मनमा आउँदा त्यतिबेला १५ वर्षकी थिएँ । तर मलाइ साँच्चै जन्म दिने आमा बुबा खोज्न मन लागेको चाहिँ सन् २०१८ मा हो ।

मेरो नेपाली परिवार मैले २६ वर्षको हुदा चिन्न पाएँ । शुरुमा मलाइ नेपालको परिवार खोज्न डर लाग्थ्यो । धर्मपुत्र र धर्मपुत्री भएर आएका कतिपय मेरा साथीहरुले आफ्नो देशमा परिवार त चिनेका थिए तर परिवारमा उनीहरुको इज्जत र स्थान मिलेको थिएन । कतिपय परिवारले आफ्ना छोराछोरीसँग पैसा मागेका थिए । कतिपय परिवारले आफ्ना छोराछोरीलाई लुकाएर धर्मपुत्री बनाएर पठाइदिका थिए । कतिपयमा उनीहरुलाई पुरै बिर्सिएको थियो । कतिले त्यो बच्चा अर्काकै भैसक्यो र हामीबाट टाढा भयो भन्ने ठाने । यसरी अरुलाई दिइएका बच्चाहरुलाई परिवारमा ठाउँ दिँदा परिवारिक अशान्ती हुन्थ्यो । त्यसैले मलाइ पनि शुरुमा डर लाग्यो । यसकोलागि मैले केहि वर्ष कुर्न पर्यो र आफूले आफूलाई दह्रो र आत्मबिश्वासले भरिपूर्ण बनाउन पर्यो ।

सन् २०१८ मा मलाइ अब मेरो परिवार खोज्ने उपयुक्त समय आइपुग्यो भन्ने लाग्यो । एकमनमा २०१५ को भुकम्पमा परिवारमा दुर्घटना आयो कि या माओवादी द्वन्दमा पो पर्यो कि या कोभिडले पो सताएको छ कि भन्ने त्रास थियो । यस्तो अवस्थामा म आफैंले आफैंलाई संभवत मैले मेरो परिवार कहिल्यै भेटाउन सक्दिन होला भनेर तयार पनि पारेँ । केहिगरी भेटाइहालेँ भनेपनि मेरो परिवारले मलाइ इन्कार गर्छ होला भन्ने डरपनि नभएको होइन। डरै डरका सामु मैले जे त होला भनेर खोज्ने निर्णय गरेँ ।

सन् २०१८ मा म मानविय सेवाको लागि फिलिपिन्स पुगेकी थिएँ । त्यहाँ मैले साँढे एक महिना एक फिलिपिनो परिवारसँग बिताएँ । त्यहाँ रहँदा बस्दा म परिवारको सदस्य जस्तै भएँ । अरु फ्रान्सेलीहरु म झैँ घुलमिल हुन सकेनन । फ्रान्स फर्कने बेलासम्म म त गाउँका आमाहरुकी साझा छोरी भएँ । त्यतिबेला मलाई अनुभूति भयो कि म अब नेपाल फर्कनुपर्छ । मेरो परिवारले मलाइ यसै गरी माया दियो भने म पनि यसैगरी घुलमिल हुन सक्छु भन्ने लाग्यो । मेरो रगतमा नेपालीपन छ भन्ने अनूभूती पनि भयो ।

म सन् २००४ मा अर्थात ११ वर्षकी हुँदा र २००८ मा अर्थात १५ वर्षकी हुँदा फ्रान्सेली माता र पिताका साथ नेपाल पुगेकी थिएँ । पहिलो पटक नेपाल पुग्दा म पर्यटकका हिसाबले मेरा माता पितासँग घुमफिर गरेर फर्केँ । उ बेला पनि मलाइ यो देश मेरो हो भन्ने अनुभूती चाहिं भएकै थियो । तर मैले मेरा माता पितासँग नेपालमा मेरो परिवार कुन होला भनेर खोज्ने या सोध्ने काम गरिन ।

२००८ मा नेपाल जाँदा भने मैले बालाजु वरिपरि चक्कर लगाएँ । किनभने म बालाजुमा जन्मेको भन्ने कुरा थियो । बालाजुका सडकमा हिंड्ने मानिसहरुलाई मैले नियाली नियाली हेरेँ । यिनिहरु मध्ये कुनै मानिस मेरो परिवारको सदस्य पो हो कि या कसैले मलाइ चिन्छ कि भन्ने लाग्यो । कुनै महिला देखेँ भने यिनी मेरी आमा पो हुन् कि जस्तो लाग्यो । कुनै दिदी बहिनी देख्दा यिनिहरु नै पो मेरा सहोदर दिदी बहिनी हुन् कि भन्ने पनि लाग्थ्यो । त्यो पटक पनि मैले उनीहरुलाई भेट्न सकिन ।

उताबाट फर्केपछि म पढाइमै भुलेँ र नेपालको परिवार खोज्ने सपना केहि समयलाई थाँती राखेँ । सुखद मान्नुपर्छ, म जन्मेको ठाउँ चाहि मैले देखेँ । त्यो माटोमा मैले नेपाली सुवास भनौँ कि बिउ त्यो चाहिं छरेर फर्केँकी थिएँ ।

यहाँको बिश्वविद्यालयबाट पत्रकारिता र नाट्यबिधामा मैले सन् २०१८ मा स्नात्तोकत्तर पुरा गरें । त्यसपछि भने नेपाल गएर परिवार खोज्ने कुरा मेरो प्राथमिकतामा पर्यो । अब यो नै सबैभन्दा उपयुक्त समय हो भन्ने लाग्न थाल्यो ।

मेरो फ्रान्सेली साथीकी आमाले नेपालका बच्चाहरुलाई धर्म पुत्रपुत्री बनाउने मानिसहरुसँग सम्पर्क राखिरहनुभएको रहेछ । उहाँले नै दक्षिणकालीका रोशन बस्यालको नाम दिनुभयो । बस्याल र साथीहरुको सम्पूर्ण चिल्ड्रेन होम नामको एउटा दिन दुखी बच्चाहरु राख्ने घर छ दक्षिणकालीमा । त्यो घरलाई मेरो साथीकी आमाले पनि सहयोग गर्नुहुन्छ । हो यसका सन्चालक मध्ये एक बस्यालले दुइ वर्ष लगाएर मेरो परिवार खोजे । उनले अब तिम्रो परिवार भेटिएला जस्तो छ भन्थे । फेरी यो होइन त्यो पो हो कि भन्थे । ठ्याक्कै मेरो परिवार चिन्न उनलाई दुइ वर्ष लाग्यो । यिनै रोशन मार्फत मैले मेरो नेपालको परिवारलाई सन् २०२१ को डिसेम्बर महिनाको एक गते फोनमा भेटेँ ।

त्यतिबेला थाह पाएँ, मलाइ जन्म दिने आमा दुवाइमा काम गर्नुहुँदो रहेछ । मेरो बुबाको देहान्त भैसकेको रहेछ ।

फोनमा बातचित भइरहेको चार महिना पछि अर्थात यसै वर्षको मार्च महिनामा नेपाल पुगें । आमा पनि मलाइ भेट्न भनेर दुवाइबाट छुट्टी लिएर आउनुभएको थियो । उहाँलाई लिएर मेरा दिदीका छोरीहरु मलाइ लिन एयरपोर्ट आएका थिए ।

मार्च महिनाको ३१ तारिख । काठमाडौंको आकाश अँधेरो थियो । मलाइ लिन म लाइन बसेको ठाउँमा दिदीको छोरी आएकी थिइन् । बाहिर निस्केपछि मलाइ देखेर आमा एकदमै रुनु भयो । म चाहिं एकछिन अक्क न बक्क भएँ । न रुन सकेँ न हाँस्न सकेँ । कतै हराएको जस्तो भएँ । के भैरहेको छ भन्ने बुझ्न आफैंलाई कठिन भयो । मिश्रित अनुभूतिहरु हुँदा मानिस रोकिने रहेछ । म त्यस्तै भएँ । मलाइ उहाँहरुले सरासर मैले बुक गरेको होटल पुराएर फर्किनुभयो ।

मलाइ जन्म दिने आमाले म जीवितै छु र राम्रै छु भन्ने चाहि सोच्नुभएको रहेछ । मेरी आमाका लागि म भेटिनु जीवनको सबैभन्दा ठूलो खुसी भयो रे । तर उहाँले मलाइ “तिम्रा फ्रान्सेली माता पिता नै सच्चा बुबा आमा हुनुहुन्छ” भन्नुभएको छ । आमाले उहाँहरुप्रति अत्यन्त ठूलो श्रद्दाभाव राख्नुभएको छ । मेरी जन्मदिने आमालाई म पढेर ठूलो मानिस भएको, टाठी बाठी भएकोमा एकदम खुसी छ । मैले मेरा दुइ दिदीहरुसँग राम्रो सम्बन्ध बनाएकी छु ।

मेरी ठूली दिदीसँग मेरो निकै हेलमेल भैसकेको छ । उहाँ परिवारका साथ कलकत्ता बस्नुहुन्छ । मेरी अर्की दिदी काठमाडौंको बालाजु बस्नुहुन्छ र म अश्मिता अहिले तियाना भएँ । मलाई जन्म दिने आमाका हामी तीन छोरी रहेछौँ ।

मलाई जन्म दिने आमा सँग बोल्दा उल्था गरिदिने मानिस खोज्नुपर्छ । त्यसैले मैले आमा सँग अझै धित मर्नेगरि बात मारेकी छैन ।

म काठमाडौं बस्दा मलाइ आफ्नै परिवेशमा रहन मन लाग्यो । किनभने म फ्रान्सेली रहन सहनमा हुर्केकी मानिस परेँ । म यो पटक २५ दिन नेपाल बसेर आएकी हुँ । यो अबधिमा बुबाका परिवार तर्फ राम्रोसँग चिनजान भयो तर आमाको तर्फबाट भएको छैन ।

मेरो नेपालको आमाको नाम र थर तपाइहरुलाई नदिउँ अहिलेलाई । मलाइ लाग्छ मेरी आमाको विगत दुखदायि थियो । म मेरी आमाकी तेस्री छोरी हुँ । म शायद आमाले नचाहेर जन्मेकी छोरी थिएँ । मेरी आमाले मलाइ राम्रो शिक्षा दिक्षा र नयाँ अवसर पाओस भनेर धर्मपुत्री बनाउन दिनुभएको हो भन्ने कुरा मलाइ मेरा दिदीहरुले बताउनुभएको छ ।

मलाई जन्म दिने पिताको देहान्त पछि मेरी आमा कमाउनकालागि दुवाइ जानुभएको रहेछ ।

मेरी आमाको परिवारका सदस्यहरु सर्लाही बस्नुहुँदो रहेछ । मैले बुबाको परिवारका सदस्यहरु भने भेटेँ । मेरो बुबाको परिवारमा मलाइ धेरै राम्रोसँग स्वागत गर्नुभयो । असाध्यै मान र सम्मान दिनुभयो । सबैले मलाइ फलानोको छोरी भनेर देख्ने रहर गर्नुभयो । मेरो बुबाको परिवारका केहि सदस्यहरु अष्ट्रेलिया, कोही अमेरिका बस्नुहुँदो रहेछ । नेपालमा रहेका परिवारसँग फोटो खिच्ने, रमाउने काम भयो । बुबाको पान्डे परिवार धनी पनि रहेछ ।

मेरा माता पिता दुवै ब्राम्हण परिवारको हुनुहुन्छ । फ्रान्समा मैले अरुपनि नेपाली धर्मपुत्रीहरु भेटेकी छु । मैले म जस्तै दुइ फरक पहिचान र उत्पत्ती बिन्दु भएका चेलीहरुको सन्जाल बनाउने उद्देश्यले अहिले काम गरिरहेकी छु । नेपालबाट फ्रान्स आइपुगेका यस्ता चेलीहरुको आफ्नै कथा हुन्छ । मेरो जस्तै । काठमाडौं र फ्रान्सको यात्रालाई जोड्ने प्रयत्न गरिरहेकी छु ।

म नाट्यशालामा काम गर्ने नाट्यकर्मी भएका हिसाबले मैले नेपाली र फ्रान्सेली गरी दोहोरो परिचय भएका चेलीहरुका कथा, नाटक मार्फत देखाउने मेरो उद्देश्य छ । यस्तो कथा म नेपालमा पनि देखाउन चाहन्छु र फ्रान्समा पनि । यसै मार्फत म धर्मपुत्र र पुत्रीका कथाहरुलाई उजागर गर्नुपर्छ, बातचित र छलफल हुनुपर्छ भनेर फ्रान्सको बिदेश मन्त्रालयलाई झकझकाउन गइरहन्छु । नेपाल हुँदा म काठमाडौंको फ्रान्सेली दुताबास पनि पुगेँ ।

म जस्ता चेलीहरुका दुइ बुबा र दुइ आमा छन् । यो कथा म जनमानसमा देखाउन चाहन्छु । धर्मपुत्री या धर्मपुत्र बन्नु भनेको एक खालको वियोगान्त कथा हो भने अर्को खालको सुखान्त कथा पनि हो । फ्रान्समा म जस्तै अरु मुलुकका धर्मपुत्र र पुत्रीहरु छन् । मैले के बुझेँ भने धर्मपुत्र पुत्रीहरुले पनि आफ्नो सीमा चिन्न जरुरी हुन्छ । म चाहन्छु फ्रान्समा पनि यो विषयमा खुलेर छलफल होस ।

(प्रस्तुती : अनुराधा पौडेल)

तपाइँको प्रतिक्रिया