बिहीबार, वैशाख १३, २०८१

काठमाडौंको फोहर राजनीति गर्नेका लागि कडा मल

फोहोर ब्यवस्थापन गर्न १७५ पटक सम्झौता

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ जेठ ३१ गते ९:१६

Image Credit-The Himalayan times

काठमाडौंमा फोहरको समस्या कहिले देखिको हो भन्ने कुरा कसैलाई भनिरहन पर्दैन । फोहरका कुराले दशकौं नाघेको छ तर पनि फोहर उस्ताका उस्तै छ । समस्या अझ धेरै बल्झिएको छ । यस अघि पनि विभिन्न पार्टीबाट यो महानगर पालिकामा मेयरका लागि बुट बजारेका सबैले फोहरलाई नै मुख्य एजेण्डा बनाएका थिए । अहिले पनि सबैको चुनावी एजेण्डा त्यही नै छ । यदि नव निर्वाचित मेयरले राम्रोसँग काम गर्न पाएनन भने अझै दशकौंसम्म काठमाडौंमा फोहरको किस्ती चढेर चुनाव लड्नेहरुको लर्को उस्तै हुने छ ।

महानगरको मेयरमा वालेन शाहले चुनाव जिते पछी फोहरमा फेरी वहस शुरु भएको छ । वालेन शाहले समस्या समाधानका लागि पहल त गरेका छन तर यसलाई राजनीतिक दलहरुले अवरोध र कामको जस लिनका लागि बवन्डर खडा गरे भने त्यो नयाँँ हुने छैन । भर्खर वालेन शाहको पहलमा सरकारले एक सय छहत्तरौं पटक सम्झौता गरेको छ ।

दुई वर्षका लागि भनेर विसं २०६२ मा काठमाडौं उपत्यकाको फोहर नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलमा फ्याँक्न सुरु गरिएको थियो । यस विचमा सिसडोलवासीका माग र समस्यालाई सम्बोधन गर्दै सरकारले एक सय पचहत्तर पटक सम्झौता गरिसकेको छ । यसले के देखाउँछ भने काठमाडौंको फोहर फोहर मात्र होइन यो राजनीति गर्नेहरुका लागि रसायनिक मल भन्दा पनि अझ कडा मल हो ।

पछिल्लो सम्झौता भएसँगै नेपाली कांग्रेसका युवा नेता गगन थापाले सामाजिक संजालहरु मार्फत ६ बुँदे सुझाव दिएका छन । समस्याको दिर्घकालिन समाधानका लागि सुझावहरु मनासिव हुन सक्दछन । तर दशकौं सम्म कार्यकारी निकायमा रहेको पार्टीका नेताले सामाजिक संजालमा लेखेर जनता लोभ्याउने भन्दा पनि आफ्नो पार्टीका मुखियाहरुको गर्धन समात्ने हिम्मत गर्नु पर्दथ्यो । अब यो समस्या काठमाडौं, सिसडोल-बन्चरेडाँडा र त्यहाँ वारीपरिको मात्र होइन । समस्या पुरै देशको हो ।

गगन थापाले आफ्नो ६ बुँदे सुझावमा भनेका छन- ‘संघीय सरकारको निश्चित समयभित्र गर्ने भनिएको कामको अनुगमन गर्न र आवश्यक पर्दा सहजिकरण समेत गर्न काठमाडौं, धादिङ र नुवाकोटका सांसदहरूको अनुगमन, सहजिकरण समिति प्रस्तावित गरेका छौं। यो समितिले हरेक हप्ता बैठक बसी सहमतिमा भएको प्रत्येक बुँदाको कार्यन्वयन भए नभएको अनुगमन गर्ने छौँ । कहिँ अप्ठ्यारो परेमा सहजीकरण गर्ने छौँ, काम नगर्ने निकायलाई झक्झकाएर काम गर्न बाध्य बनाउने छौँ । समस्या आएपछि तात्नेभन्दा समस्या नै आउन नदिने गरी काम गर्नु पर्ने छ,’ ।

गगन थापा सँग जनताले निकै आश गरेका छन । उनले देशलाई कुनै न कुनै विन्दुमा पुर्‍याउन सक्छन भन्ने धेरै नेपालीको विश्वास छ । तर उनले प्रतिनिधित्व गरेको जिल्ला, उनी बस्ने शहर वा भनौं देशको राजाधानीमा बल्झिएको यत्रो समस्यामा उनको आवाज सामाजिक सन्जालमा मात्र सिमित रहनु उदेकलाग्दो कुरा हो । यसले के प्रस्ट हुन्छ भने काठमाडौंमा फोहर खासमा कुनै पनि समस्या होइन । समस्या भनेको राजनीतिक फोहर हो । नत्र २०६२ यता भएका एक सय पचहत्तर पटकका सम्झौतालाई सम्झेर पनि सबै दलका नेता कार्यकर्ताले लाज मान्नु पर्ने हो ।

अहिले दुनियाँमा फोहर भन्ने कुनै समस्या नै होइन । धेरै देशले फोहरलाई इन्धनका रुपमा प्रायोग गर्न लागेको वर्षौ भइसकेको छ । नर्वे, फिनल्याण्ड जस्ता उत्तरी ध्रुविय देशहरुले परमाणु निर्भरता कम गर्न फोहरबाटै बिजुली र ग्याँस उत्पादन गर्न थालेका छन । विश्वमा प्रयोगमा आइसकेको यो प्रविधी नेपालका लागि त्यति नौलो थिएन ।

धेरै अघि केशव स्थापित काठमाडौं महानगरपालिकाको मेयर थिए । उनले एउटा कुराकानीको क्रममा काठमाडौंको फोहर ब्यवस्थापनको जिम्मा कुनै नर्वेजियन कम्पनिलाई दिने प्रकृया अघि बढिसकेको जनाएका थिए । तर त्यो प्रकृया विचमै रोकियो । केशव स्थापित आफैंले पछी भने- “धेरै कुरा मिलेन । राजनतिक तहमा यो कमिशनको जालो थामी नसक्नु छ” ।

मुख्य समस्या यहि हो । काठमाडौंको फोहरमा हुर्किने कुर्सी सबै राजनीतिक दलको आँखाको केन्द्रमा छ । अहिलेका मेयर वालेन शाहले त्यत्तिकै चुनाव जितेका होइनन । उनको अहिलेको कुर्सी पनि यही फोहरमा हुर्किएको हो । तर फरक के हो भने राजनीतिक दलहरुले कुर्सी उमार्ने यो फोहरलाई सधैं जोगाइराख्न चाहन्छन भने वालेन शाहले फोहर ब्यवस्थापना गरेर एउटा सुकिलो कुर्सीको कल्पना गरेका छन ।

केही वर्ष अघिसम्म फोहर ब्यवस्थापनका लागि नर्वे लगायत विभिन्न देशको उदाहरण दिइन्थ्यो । हाम्रा लागि ति देशले फोहरलाई देशको अर्थतन्त्र सँग जोड्ने गरी चढेको खुड्किलो नौलो पनि थियो, अझै छ । तर ति टाढाका सपना र कल्पना भन्दा धेरै नजिक हाम्रै देशका अन्य नगरपालिकाले फोहर ब्यवस्थापनमा मारेको फड्को काठमाडौंलाई पनि उपयोगी हुन सक्दछ ।

हेटौंडाले कम्पोष्ट मल बनाइरहेको छ । वालिङ नगरपालिका फोहर किन्ने तरखरमा छ । दाङ र धनकुटामा पार्क नै बनेको छ भने काठमाडौंमा किन व्यवस्थापन गर्न सकिँदैन ? अझ वालिङ नगरपालिकाको फोहर ब्यवस्थापना लोभलाग्दो छ । उनिहरुले कुहिने र नकुहिने (प्लास्टिक र शिशा जन्य) फोहरको वर्गिकरण गर्दै पालिकाले त्यसलाई मल देखि लिएर अन्य सामाग्री बनाउने साना कारखानाहरुलाई बेच्ने गरेका छन । यही ब्यवस्थापनका विषयमा हामीले वालिङका मेयर कृष्ण खाँड सँग संपर्क गरेका थियौं ।

पहिले त हामीले त्यहाँ कस्ता खालका फोहरहरु पालिकाले षंकलन गर्ने गर्दछ भनेर सोध्यौं । “हामीले कुनिने र नकुहिने फोहरलाई वर्गिकरण गरेका छौ । स्थानियले त्यही हिसावले छुट्ट्छुट्टै राख्नु हुन्छ । कति कुहिने फोहर उहाँहरुकै बारीमा प्रयोग हुने खालको हुन्छ । त्यसबाहेकको फोहर हामीले उठाउँछौ । अनी मान्छेको मल मुत्र मिसिएको ढललाई शुद्धीकरण गरेर पानी शुद्द भए पछी खोलामा मिसाउँछछौं । र लेदोलाई हामीले प्रांगारिक मलको रुपमा प्रयोग गरेका छौं” पालिका प्रमुख खाँडले भने ।

उनका अनुसार भारतको एउटा कम्पनी सँग शिशा र प्लाष्टिकजन्य पदार्थलाई पुन: प्रयोगगर्न मिल्ने बनाउनका लागि मेशिनको सम्झौता भैसकेको छ । जुन छिट्टै नै आउँदै छ ।

खाँड भन्छन “आहिले मगाएका मेशिनहरु आइपुगे पछी हामी फोहर किन्ने योजनामा पनि छौं । खासमा यो फोहर मात्र नभएर नगरपालिकाको आम्दानिको श्रोत पनि हो ।”

काठमाडौंले वालिङ नगरपालिकालाई हेर्‍यो भने पनि अहिलेको अवस्थामा धेरै कुरा सिक्न सक्दछ । उपत्यकाको फोहरमध्ये ५५ देखि ६० प्रतिशत घरमै व्यवस्थापन गर्न सकिने विभिन्न अध्ययनले देखाएको छ। त्यस्ता फोहरलाई करेसाबारीमै व्यवस्थापन गर्न सके पनि धेरै हदसम्म समस्या कम हुनेछ । फोहर ब्यवस्थापनको समस्या जग्गा र पैसा मात्रै होइन । समस्या इच्छा शक्तिको पनि हो । गगन थापाहरुले सामाजिक संजालमा सुझाव दिएर काम प्रभावकारी हुँदैन । यदि उनी र उनको पार्टीले साँच्चै काठमाडौंको फोहरको समस्या समाधान गर्न चाहन्छ भने गौंडा कुरेर बसेका आफ्ना कार्यकर्ताहरुलाई वालेन शाहको भिजनसँग हातेमालो गर्ने निर्देशन दिनु पर्दछ ।

तपाइँको प्रतिक्रिया