बुधबार, असार १५, २०७९

कथा : बटुक प्रसाद

रामचन्द्र सापकोटा२०७९ जेठ ३१ गते ९:५६

बटुक प्रसाद उपाध्याय, उमेरले ६५ वर्ष । कपाल सेतै फुलेको । सेवानिवृत्त शिक्षक अनि एकल पुरुष । श्रीमती बितेको पनि १० वर्ष भैसकेको थियो । छोरा उमंग, बुहारी, नाति, नातिना सबै विदेश पुगे । छोरी मायाको पनि बिहेदान गरि दिएर सबै जिम्मेवारीहरुबाट मुक्त भए झैं थियो। कुनै बखत जाहान र केटा-केटीहरुले भरिएको बडेमानको घर, समय परिस्थितिले गर्दा एक्लै हुनु पर्दाको समय कम्ता विरक्तको थिएन । अझ विगत सम्झँदा बटुक प्रसादको मुटु बेला बेलामा फुलेर घाँटीसम्म आए झैं हुन्थ्यो। अनि आफ्नै मन-मुटुलाई सम्हालेर बस्थ्यो । गरोस् पनि के ! उही पुराना यादहरु सम्झँदै मन बुझाउनु बाहेक अर्को विकल्प थिएन ।

पैसा भने पछी भने उसका तीन नेत्र खुल्थे । उ भन्ने गर्थ्यो, आफूसँग भएको पैसालाई पनि काम दिनु पर्छ ताकि अझै कमाउन सकियोस् । पैसा नआउने ठाउँमा उ कहीं कतै लगानी गर्थेनथ्यो । उसको आम्दानीका विभिन्न श्रोत भएर होला उ सँग सय भए हजार बनाउँथ्यो । हजार भए दश हजार र अनि लाख सजिलै बनाउँथ्यो । त्यो पैसालाई पनि कहीं काममा लगाउँथ्यो । विदेशमा छोराको कमाई भन्दा उसको कमाई यहाँ बढी थियो । जसले गर्दा दिन प्रति दिन उ झन् धनी हुँदै गईरहेको थियो ।

गाउँघरमा सबैले उसलाई कति भाग्यमानी पनि भन्दथे । छोरा बुहारी सबै विदेश, राम्रो ठूलो घर अनि चिल्लो गाडी । प्रशस्त जग्गा जमीन अनि धेरै बैंक ब्यालेन्स, दुःखको त कुनै गुन्जायस नै छैन । तर उसको एक्लै हुनुको पिडाको बारेमा कसलाई के थाहा ?

एकदिनको कुरा हो, उसले छोरा उमंगलाई फोन गरेर उतै विदेश तिर आउन मन लागेको बतायो । अनि मनमनै जिन्दगीको उत्तरार्ध उतै छोरा, बुहारी, नाति, नातिना सँगै बसेर काट्ने निधो गर्यो ।

विदेशको नयाँ ठाउँ नयाँ परिवेश, उसलाई रमाइलै लागेको थियो । करिब ३० दिन पछि एक दिन अचानक छोरा बुहारीको सल्लाह भयो । अब बालाई घर नेपाल पठाउने । अनि बालाई सुनाए- “बा अब तपाईं नेपाल जानु । पछि फेरि आउनु होला । अलि लामो समय बस्नु होला । अहिले यहाँ पनि व्यवस्था अलि नाजुक नै छ ।

बुढाले खाना खाँदै थिए। छोराको कुरा सुनेर मुखमा लगेको गास पनि थालमै छोडी दियो। बुढो केही बोल्न चाहन्थ्यो। तर केही बोलेन । बुहारीले अलि परबाट हेरीरहेकी थिई । उसको मुटु भक्कानिएर आयो । एकान्त खोज्दै बाथरूम भित्र छिर्यो ।

आफ्ना सन्तानहरू भनेर सामिप्यता खोज्दै सात समुन्द्र पार गरेर आउँदा, आज उनीहरु नै तरक्क तर्कन खोजेको देख्दा बटुक बुढालाई टेकेको जमीन नै भासिए झैं लाग्यो । अनेक बहानामा आफूलाई सम्हालेर बाथरूमबाट बाहिर निस्कियो र छोरालाई भन्यो । “बाबु, मेरो नेपाल जाने टिकेट काटी दे!”। यो कुरा सुनेर छोरालाई कस्तो नमज्जा लाग्यो तर बुहारी भने “यस !” भनेर देब्रे हात मुठ्ठी कसेर झड्का दिँई खुसीमा हर्षोल्लास गर्दै थिई ।

बटुक बुढोले ट्याक्कै देख्यो । उसले बुहारीलाई हेर्दै टाउको हल्लायो र सानो रुमालले हात पुछेर आफ्नो कोठा तिर गयो । करिब चार दिन पछिको टिकेट पाइयो । उक्त दिनहरु कसरी विते बटुक बुढालाई पत्तै भएन । प्लेन र ट्रान्जिटमा भेट भएका जेठाबा जेठिआमा र अरू नेपालीहरुलाई आफ्नो मन भरीको पिडा भन्दै नेपाल आइपुग्यो ।

विदेशबाट फर्के पछि बटुक प्रसादको सबै तौर-तरिका परिवर्तन भएको थियो । छोरा बुहारी प्रति उसको रिस अझै शान्त भएको थिएन। हरेक कुरामा उसले आफूलाई जोडेर भन्ने गर्थ्यो । “मैले अहिले सम्म गरेको दुःखको अर्थ के भयो र?” आज आएर यो बुढेसकालमा म एक्लै बस्नुपर्ने ?

उ ढुंगा जस्तै निरस बनिसकेको थियो । उसलाई कुनै कुराको लोभ, मोह कसै प्रति दया, माया अहँ रत्तिभर लाग्न छाड्यो । उसलाई कुनै कुराको मतलब थिएन । बेचैनी पनि बढ्दै गइरहेको थियो । के गरुँ र कसो गरुँ भएको बेला छोरा बुहारीलाई केही गरेर स्वाद चखाई दिने मन भयो । उसले एउटा घडेरी बाहेक भएभरको सम्पूर्ण जायजेथा बेचेर करोडौं रुपैयाँ बैंकमा जम्मा गर्यो । उसले कहीं कतै कसैलाई सहयोग गर्नु परेमा पहिला आफूले गरेको दुःख सम्झन्थ्यो । “साला जिन्दगी ! यस्तै रैछ” भन्दै निर्धक्क सहयोग गर्न थाल्यो। माया छोरीले बा को सबै चाला थाहा पाई । बालाई सम्झाउन आइपुगी र भनी “भाइले के अक्षम्य अपराध गरेको छ र यो सब गर्दै हुनुहुन्छ?”।

बुढेसकालमा छोरा, बुहारी, नाति, नातिना सगै बस्ने भनेर विदेश गएको मान्छेलाई उनीहरुले एक महिना मै अनेक बाहानामा नेपाल पठाउँदा असाध्यै मनमा चोट लागेको दुःख व्यक्त गर्दै भन्यो “मैले पाएको पुर्ख्यौली सम्पति केही गर्ने छैन । बाँकी मैले दुःख गरेर कमाएको सम्पति कसैलाई एक कौडी पनि दिने छैन” भन्यो । उसको पुर्ख्यौली सम्पति भनेको सबै पहाडमा थियो । माया पनि केही बोल्न सकिन । भाइलाई गाली गर्न मन लागेको थियो। यता बा ले कसैलाई केही नभन्नु भनेर बाचा गराएका थिए ।

*******

(१२ वर्ष पछि….)

बटुक प्रसादको छोरा उमंगलाई नेपालको सम्झनाले सताउन थाल्यो । अब भएन, बाले के गरीरहेका छन् भनेर घर फोन गर्यो। सदा झैं यसपटक पनि फोन उठेन। त्यसको केही दिन पछि नेपालबाट माया दिदीले बा सिकिस्त बिरामी हुनु भएको छ जति सक्दो चाँडो आइजा भनेर फोन गरी । अनि उ सपरिवार नेपाल आयो । सरासर घर गयो । सायद धेरै पछि भएको भएर होला उसलाई आफ्नो घर ठम्याउन मुश्किल पर्यो । गाउँ बिस्तारै शहरमा परिवर्तन भएको थियो। उसको घर वरपर ठूलठूला भवनगहरु ठडिएका थिए । आफ्नो घर भएको ठाउँमा “बटुक महल” लेखिएको सात तले एउटा ठूलो नयाँ घर थियो। घर भित्र गएर हेर्दा जताततै दोकान नै दोकान । यस्तो लाग्थ्यो, यो त कुनै ठूलो सपिङ मल हो । ऊ दङ्ग पर्यो। अनि नजिकैको घरको दोस्रो तलामा रहेको छिमेकीलाई तलै बाट सोध्यो ।

“ए दाई, मेरा बा खै” ?
छिमेकिले तल हेर्दै भन्यो “ए उमंग बाबु पो रैछ। मन्दिर जाऊ मन्दिर!”।  त्यसपछि उमंग “यी बुढा ! किन होला घर नबसेर मन्दिर गएको” भन्दै घर भन्दा करिब ५०० मीटर पर रहेको राधाकृष्ण मन्दिर तिर गयो । राधाकृष्ण मन्दिर पहिला भन्दा निकै आकर्षक र भव्य भएको पायो । मन्दिरलाई दाहिने पारेर नजिकै अविरल बगिरहने कञ्चन पानीको नदीले झन् मन्दिरको सुन्दरता बढाएको थियो ।

मन्दिरको पुजारीले उसलाई मन्दिर परिसर भित्र स्वागत त गर्यो । तर अनुहार भने मलिन बनायो। उमंग भित्र भित्रै डराउँदै वरपरका संरचनाहरुको अवलोकन गर्‍यो । पुजारीको पछि पछि उ मन्दिर नजिकै रहेको ठूलो भवन भित्र छिर्‍यो ।  भित्र एक ठूलो कोठाको छेउमा उमंगको नजिकको नाता पर्ने अंकल किरिया बसेको देख्यो । उसले निको चाल मानेन । नजिकैको कुर्ची तानेर थुचुक्कै बस्यो । वरपर सबैका आँखा रसाउने थाले । पल्लो कोठामा माया दिदी पनि डाँको छोडेर रुन थाली । उमंगको श्रीमती र छोरा छोरीले केही बुझ्न सकेनन् र अलमल परे । केही बेर पछि उमंग पनि काकासँगै आफ्नो बाउको किरियामा बस्यो ।

१३ दिन सम्मको आशौच सकिए पछि उमंग मन्दिर वरपर डुल्ने क्रममा सोही भवनको कोठाहरू र तलाहरु अवलोकन गर्न थाल्यो । जहाँ उक्त भवनको भुई तलामा क्यान्टिनको पनि व्यवस्था गरिएको थियो । त्यहाँ दिनमा ४ पटक खाना र नास्ता वितरण गरिने कुरा थाहा पायो । पहिलो र दोश्रो तलामा करिब ४०-५० वटा ससाना फ्ल्याटको व्यवस्था गरिएको थियो। जहाँ असहाय वृद्धवृद्धाहरु बस्ने गर्दा रैछन । हरेक फ्ल्याटमा एउटा सानो किचन सहित सुत्ने कोठा । ट्वाइलेट बाथरुममा तातो चिसो पानीको व्यवस्था गरिएको थियो । तेस्रो तलामा कथा, प्रवचनका लागि हल र वृद्धवृद्धाहरुको सुसारेहरु बस्ने कोठाहरु रैछन । चौथो तलामा बेला बेलामा डाक्टरहरु आएर वृद्धवृद्धाको स्वास्थ्य जाँच गर्ने कोठाहरु थिए । र अन्य कर्मचारीहरु पनि बस्ने कोठाहरुको व्यवस्था गरिएको थियो।

पाँचौं तलामा धार्मिक पुस्तकालय, अफिस र अतिथीका लागि कोठाहरु रहेछन । छैठौं र सातौं तलामा आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि धर्मशालाको व्यवस्था गरिएको थियो । भवनको दुई तिरबाट लिफ्ट रहेछ । हरेक लिफ्टमा पालेको व्यवस्था गरिएको थियो । भवनको सबै भन्दा माथिको तलाको बिचको केही भाग ढलान गरि बाँकी भाग खुल्ला राखिएको थियो जहाँबाट सारा शहर वरपरको दृष्‍य देख्न सकिने व्यवस्था गरिएको थियो। र ढलान मुनि बिचमा एउटा सुन्दर सिङमर्मरले बनाइएको मूर्ति कुँदिएको थियो । उक्त मूर्तिको पछाडि पहाडको दृष्‍य थियो । जसमा दुई तिरबाट पानिको सानो फहरा बगिरहेको थियो । उक्त पहाडको दृष्‍य भन्दा माथि सुनौलो अक्षरमा “स्व. बटुक प्रसाद उपाध्याय ट्रष्टद्वारा संचालित राधाकृष्णधाम” लेखिएको थियो ।

यि सबै देखे पछी उमंगले उक्त ट्रष्ट बटुक महलबाट भाडा स्वरुप आउने लाखौं रुपैयाँबाट चलेको रहेछ भन्ने थाहा पायो । क्रमश…..

तपाइँको प्रतिक्रिया

फेसबुक