आइतबार, साउन २९, २०७९

त्रिशुली नदीको तालसँगै रोइरहने मृतकका आफन्तका आँसु

दिपक सापकोटा 'अन्जान'२०७९ जेठ ३१ गते १८:३६

जेठ को २५ गते काम विशेषले म काठमाडौं जानुपर्ने भयो । छोटा दुरिको रातमा त्यति सम्भव हुँदैन । तर लामो दुरिको यात्रा भने मलाई रातमै निको लाग्दछ । त्यसैले त्यो रात २६ र २७ गते काम सक्ने गरी म नारायणघाटबाट गाडी चढ्न हिंडे । गाडीको खोजिमा पोखरा बसपार्क सम्म निकैबेर भौंतारिए । ओहो गाडी त पाइदैन कि क्या हो ? नारायघाटमा उखर्माउलो गर्मी छ । धेरैबेर कोकाकोलाका बोत्तल रित्याएपछी म ठिङ्ग पुल्चोकमा उभिएको उभियै भएँ । तीन हप्ता अघि आएको आँधीले नारायणीको पुलमा उभिएको सबै बिजुलीका पोलहरु ढलेका थिए । ति पोल त एक हप्ता अघि हटाइए । तर पुलको मुन्तिर जुडिएका टेलिफोनका तारहरु चहै चहै भएका छन । र नारायणीबाट चल्ने सिरोटोले ति तारहरुलाई पिङ जस्तै बनाएको छ ।

माथि नारायणीको पुर नाङ्गो भएको छ । एक महिना अघिसम्म बिजुलीका पोल ठडिएका थिए । अहिले पहिरो गएको पहाड जस्तो भएको छ पुल ।

भर्खरै त्यो पुललाई उज्यालो पार्दै एउटा बस आयो । काठमाडौं काठमाडौं ! खलाँसीको आवाज सुनियो । अब हिंडिहाल्छ । सिट भोरिन लागिसक्यो ।

हजुर कहाँसम्म ?

काठमाडौं – मैले भनें ।

भाडामा सहमति बन्यो । बस्ने सिट पनि अगाडिकै गज्जब भयो । भोलि बिहान ४-५ बजे पुग्छु होला । रात १० बज्यो, गाडी ईस्टाट भयो । सबै यात्री लाई लाग्यो अब हिंड्छ होला । गुड्न थाल्यो । ५ मिनेट १० मिनेट १५ गर्दै मैले गफ सकें । मलाई यात्रा गर्दा सबैसँग गफिन मन लाग्छ । यतिका मान्छेहरु के कामको लागि जाँदै होलान राजाधानी भन्ने हुन्छ । क्याबिन देखि अन्तिम सिटसम्म सबैका उस्तै कुरा छन, उस्तै समस्या छन । धेरैलाई विदेश जानु छ । कतिका दलालले पैसा खाएका छन र उठाउन जाँदैछन । कती त जनप्रतिनिधी छन । वडाअध्यक्षहरु । आफ्नो गाउँमा वा वडामा बजेट पार्नु छ । त्यसकालागि आफ्नो क्षेत्रका सांसद भेट्नुछ । ति सांसदहरु भेटिने हुन कि होइनन ।

‘ओहो,, काठमाडौं त कुनै दिन समस्यै समस्याले पुरिन्छ कि क्या हो’ । नजिकै सिटमा बसेका दाङका एकजना शिक्षक प्रमोद धिताल ।  आफ्ना समस्या भनेनन् तर एक छिन् गफिए । तिनी पटक पटक भन्थे, देशको समस्या क्यै गरी समाधान नहुने भयो । मान्छेका किसिम किसिमका कुरा ।

एक्कैछिन त भयो म चढेको । रामनगरमा गाडी फनक्क एउटा खानाखाने होटलमा रोकियो । ‘खाना,नास्ता गरौं है गाडी अब रुक्दैन खानाको लागि’ खलाँसी भाई कुर्लिदै बसबाट झर्‍यो । धेरै मान्छे भोका थिए टाढाबाट आएका । जसलाई जे रुचि हुन्छ त्यहि खाँदै पिउँदै तान्दै चपाउँदै त कोहि दिशा पिसाब गर्न दौड धुप गर्दै यत्र तत्र छरिए । पाँ पुँ पाँ पुँ ……गाडीको हर्न बज्यो । उही खलाँसी भाइ जाउँ जाउँ भन्दै फेरी कुर्लिए ।  आफ्नो सिटमा बस्न हतार भयो । ५ मिनेट मै गाडी होटलबाट हिंड्यो । भित्र फेरि सुनसान छायो । प्राय आफ्नो मोबाइलमा थिए भने कोहि सुत्न थालेका थिए । मलाई गफिने मान्छे भएन भने मोबाइलमा गेम खेल्न मन पर्छ । म पनि त्यतै घोप्टिएँ ।

केही बेरमा गाडी फेरि झ्याप्प रोकियो । किन रोकियो सबैले सहज अनुमान लगाउन सकिने खालको थियो । अगाडि, धेरै अगाडिसम्म गाडीको लर्को थियो । कहाँँ के भयो कसैलाई केहि थाहा भएन । सामान्य जाम होला, केहीबेरमा खुल्ला भन्ने लाग्यो । यात्रुहरु धेरैका अनेक समस्या थिए । कसैले भोली नै सांसद भेट्नु थियो । कोही विदेशबाट आएको छोरालाई लिन जाँदै थिए । कसैले भोली नै दलाललाई भेट्नु थियो । कति त यस्ता थिए जसको भोली नै विदेश जाने टिकट थियो ।

‘खास के को जाम हो यो ?’ कसैले सोध्यो ।

‘पहिरो गएको छ रे’ मान्छेहरुको विचबाट आवाज आयो । पहिरो गएको ठाँउ हिडेर १० मिनेट मै पुग्न सकिने रहेछ, गाडी छेउतिर लाग्यो । अनि म लगायत अरु केही मान्छेहरु पहिरो गएको भिर तिर लाग्यौं । रातको १२ बजिसकेको थियो । माथिबाट पल्टिने ठूला ठूला ढुङ्गाहरु ज्यानमारा जस्ता थिए । भोलि बिहान १० बजेसम्म खुल्न सक्छ भन्ने हामीले अनुमान लगायौं । रातभरि पानी पर्‍यो । बसमा बस्ने कसैले पनि झिमिक्कसम्म गर्न पाएन । माथि पहाडबाट बग्ने गेग्र्यानले हाम्रो बससम्म नै धावा बोल्यो ।

फोटो- काठमाण्डु पोस्ट

अगाडि पछाडि जताततैबाट पानी बगेको छ । हे भगवान ! दुनियाँ देख्न नपाउँदै मरिन्छ कि क्या हो ? मनमा अनेक तर्कनाहरु खेलिरहे । विहानको पाँच बज्दै थियो । हामी चढेको बस भन्दा अली अगाडि रोकिएको एउटा भारतीय नम्बरप्लेटको गाडीमा गन्द्रम्म पहाडको एउटा टुक्रो खस्यो । त्यो गाडी अब फेरि चल्न सक्दैन । त्यसका सिसा र तेल ट्यांकी काम नलाग्ने गरी फुटे । हामीले हेर्दा देर्दै त्यहाँ पुरानो गाडीको अस्थिपंजर राखिए जस्तो भयो । त्यसबाहेक अगाडिको अर्को नेपाली ट्रक पनि पहिरोबाट अछुत रहेन, टुट फुट भयो । चेचिसमा ढुङ्गा बजारिए । ओहो यो कस्तो दैबको लीला हो ! कतै मानविय क्षति भयो कि भन्ने चिन्ताले सबैलाई पोलिरह्यो ।

अली अगाडि पुगेर एक जनालाई सोधें ‘मान्छेलाई त केही भएन नि ? “खै अहिलेसम्म त्यस्तो केही सुचना छैन” ति मान्छेले जवाफ दिए । तर विभिन्न ठाउँँबाट एम्बुलेन्समा काठमाडौं लैजाँदै गरेका दुई जना विरामीको त्यहिं मृत्‍यु भएछ । मन खिन्न भयो । विहान उज्यालो भैसकेको थियो । आसपासमा खानेकुरा थिएन । तै पनि मान्छेहरुको आ-आफ्नै ताल थियो ।

मैले ति अघि भर्खर एम्बुलेन्समा मृत्‍यु भएका मान्छेहरुलाई सम्झें । पहिरो गएर गाडी नरोकिएको भए शायद ति मान्छेहरु बाँच्थे कि । या यो मृत्‍युको खेल भगवानले नै खेलिरहेको हुन्छ ? कस्तो हो के यो सृष्टी ? एम्बुलेन्समा आफन्त मर्नेहरुका परिवार अली पछाडिपट्टी डाँको छोडेर रोए ।

बाटो मुनिको त्रिशुली नदी आफ्नै तालमा हिंडेको छ । यो पानी कहाँँ गएर सकिन्छ होला ? जहाँँ पुगे पनि ति पछाडि एम्बुलेन्सको आडमा रोइरहेका मृतकका आफन्तहरुका आँसु पनि सँगै पुग्ने छन । ति निर्दोश आँसुलाई पहाड भत्काएको दोष नलागोस ।

बाटो खुल्ने कुनै अत्तोपत्तो छैन । बिहानै प्रहरीलाई खबर गरेका थिए कतिले । खोइ कसैले बाटो खोल्ने छाँट देखाएनन । यो सधैं यस्तै हो । हरेक वर्षामा पहाडका टुप्पाहरु भत्किन्छन् । हामी समस्या विसाउन राजधानी हिंडेकाहरुलाई तर्साउँछन ।

वरिपरी दोकान खोज्यौं । पानी अझै परिरहेको छ । यो अनकन्टार पहिरोमा कसले खोल्छ र दोकान । यि पहाडहरुले मृत्‍युको बाटो देखाउँछन । हामी निकै असभ्य भएका छौं । किनभने हामीले नदीले बोलेको सुन्न छोडेका छौं । पहाडहरुको चिच्याहटलाई वेवास्ता गरेका छौं । त्यसैले यि रिसाउँछन । मैले धेरैबेर लगाएर नदीले बोलाएको सुनिरहें । त्यो एकतमासको आवाज । मैले सुनेर के हुन्छ र ? कसले सुन्नुपर्ने हो यो नदीको आवाज ? यि पहाडहरुको चित्कार !

कसैले डेढ घण्टा हिंडेर चाउचाउ र विस्कुट लिएर आयो । शरीरमा अलिकती तरान पस्यो । तर धेरै मान्छे भोका थिए । ति पसलेले लिने चर्को दाम तिर्न नसक्ने थे कती । यात्रा गर्दा धेरैका आफ्ना समस्या हुन्छन । जरुरी कामले हिंड्नुपर्ने हुन्छ । तिसित सिमित खर्चको जोहो हुन्छ । यसरी समस्या परेका बेला असुल्ने चर्को मूल्यले कति मान्छेहरुको ढाड सेकिन्छ ।

भोलिपल्ट दिनको २ बजे बल्लतल्ल पहिरो खुल्यो । खुल्यो त के भन्नु बस चालकहरुले ‘मर्नु भन्दा बोहुलाउनु निको’ को हालतमा बस हिंडाए । परमेश्वर ! धन्न केही भएन, बाँचियो । यो समस्या अहिलेको होइन । नारायणघाट सडक खण्डमा हुने पहिरोका कारण ज्यान गुमाउने र सास्ती भोग्ने मान्छेहरुको संख्या हजारौं छ । यो सडकमा मात्र नेपालको कुल बिकास बजेटको ९ प्रतिशत रकम विनियोजन गरिएको हामीले धेरै सुनेका छौं । पैसा कहाँँ जान्छ ? कसले खान्छ ? यो चासोको विषय होला कि नहोला ? मानविय क्षतिका कुरा छुट्टै छन । मैले बाटो रोकिएर एम्बुलेन्समा मर्नेहरुलाई सम्झें । यो देशलाई तिनले पनि त कर तिरेका होलान् । उफ जिन्दगीका यि उखर्माउला गठवन्धनहरु !

तपाइँको प्रतिक्रिया

फेसबुक