आइतबार, साउन २९, २०७९

सामुदायिक विद्यालयको पढाइ निजि सरह बनाउन “हायर एण्ड फायर” को अधिकार

सरोज बराल / ईनरुवा२०७९ जेठ ३१ गते २३:४०

केही वर्ष पहिले सामुदायिक विद्यालयमा शिक्षकहरुले राम्रो पढाउने नगरेको भन्योभने, “संस्थागत विद्यालयमा पो ३०३५ जना विद्यार्थी राखेर पढाइन्छ र पो राम्रो गर्छौ त । हामीले जस्तो एउटा कक्षामा ८०९० वा १०० जना राखेर पढाउनु परेको भए थाहा हुन्थ्यो त ।”

अलिपछि यस्तै कुरा गर्दा सामुदायिक विद्यालयका शिक्षकहरुको भनाइ हुन्थ्यो, “अलिक सचेत मानिसहरुले आफ्ना नानीहरु संस्थागत विद्यालयमा पठाउँछन् । केही गर्न नसक्ने, नजान्ने अभिभावकका छोराछोरीहरु, अर्काको घरमा कामगर्ने केटाकेटीहरु पढाएर कसरी राम्रो होस् त ?”

यसको केही समयपछि आएर सामुदायिक विद्यालयमा विद्यार्थी किन छैनन् भन्दा संस्थागत विद्यालयमा जाने विद्यार्थीहरु जुत्ता, टाइ लगाएर गएको देख्छन् । अरु केटाकेटीलाई पनि टाइ लगाउने रहर लागेर त्यता जान्छन् । सामुदायिक तिर आउँदैनन् भनियो ।

त्यसपछि सामुदायिक विद्यालयमा पनि टाइ लगाउने व्यवस्था गरियो । तर पनि विद्यार्थीहरु सामुदायिक विद्यालय गएनन् । रिक्सा चलाउने, सामान्य जनबनि गरेर जिविका चलाउनेहरुका नानीहरु पनि संस्थागत भनिने निजि विद्यालयतिर जान थाले । अभिभावकले पनि सकिनसकि, एक छाक खाएर भएपनि निजि स्कुलमै आफ्ना नानीहरु पठाउन थाले । उनीहरुको एउटै उद्देश्य भनेको आफूले दु:ख पाएको भएपनि आफ्ना छोराछोरी राम्रो पढेर पछि सुखमय जिन्दगी बिताउन सकुन् ।

तर आजकाल सामुदायिक विद्यालयका शिक्षकहरु भन्न थालेका छन् “अहिलेको आकर्षण भनेको र अहिलेको समाजमा बिक्ने भनेकै अँग्रेजी भाषा हो । अँग्रेजी पढ्न र सिक्नका लागि मात्र उनीहरु निजि विद्यालय गएका हुन् ।”

उनीहरुले यसो भन्दैगर्दा कोही पनि यो स्विकार गर्न तयार छैनन् कि आफूले नपढाएकै कारणले विद्यार्थीहरु सामुदायिक तर्फ नआएका हुन् । वास्तवमा त्यो स्कुलमा नानीहरु किन पठाउने जुन स्कुलमा त्यहीं कार्यरत शिक्षकका छोराछोरीहरु पढ्दैनन् । त्यहाँ शिक्षकले राम्रो पढाउँछन् भन्ने लाग्थ्यो भने निशुल्क पढाइ हुने ठाउँ छाडेर शुल्क तिरेर पढाउने ठाउँमा किन लैजान्थे आफ्ना नानीहरुलाई ? तिनीहरुलाई आफूले कामगर्ने विद्यालय र आफ्ना सहकर्मी साथीहरु प्रति भरोसा छैन । त्यसकारण त्यहाँ पढाउनै चाहँदैनन् ।

अहिले अंग्रेजि माध्यमबाट पढाउने भनिएपनि सामुदायिक विद्यालयमा फेरि पनि पढाइ हुँदैन । यदि अंग्रेजि माध्यमबाटै पढाउने हो भने अंग्रेजि माध्यमबाट पढाउने शिक्षकहरु निजि विद्यालयबाटै करारमा लिनुपर्ने हुन्छ । सामुदायिकमा भएका शिक्षकहरुमा “कामचोर” प्रवृत्ति हावी छ । कामचोर प्रवृत्ति भएका शिक्षकहरुबाट अँग्रेजी माध्यमको पढाइ हुन सक्दैन ।

निजिबाट करारमा लिएको खण्डमा उसले काम राम्रोसँग गरेनभने कारवाहीस्वरुप उसलाई कारवाही गर्न सकिन्छ, निस्कासन गर्न सकिन्छ । तर सामुदायिकको स्थायि शिक्षकले काम गर्न सकेन भने उसलाई कारवाही गर्न कसले सक्छ ? त्यसमाथि ऊ संघसंगठन नामको राजनैतिक दलको भातृ संगठनको सदस्य रहेको हुन्छ । अहिले सामुदायिक विद्यालयको पढाइ भताभुङ्ग हुनुको कारण यस्तै कामचोर प्रवृत्तिका जागिरे हुनुले हो भन्दा कुनै गल्ति हुँदैन ।

अस्ति भरखर एउटा विद्यालयमा अंग्रेजि माध्यम लागू गर्दा कसरी गर्ने होला भन्ने विषयमा छलफल हुँदै थियो । मैले त्यहाँ निजि क्षेत्रकै शिक्षकहरु ल्याउनुपर्छ, सामुदायिकका त कस्ता छन् भन्ने थाहै होला भन्दैगर्दा एकजना सामुदायिक शिक्षक रिसाउँदै हुनुहुन्थ्यो । “नेपाल सरकारको शिक्षा आयोग पास गरेका शिक्षकहरु छन् । के सोच्नुभएको छ सामुदायिक शिक्षकहरुलाई ?” भनेर कराउँदै हुनुहुन्थ्यो । विषयलाई अन्यत्रै मोड्नका लागि मैले गल्ति भयो भनिदिएँ । भन्न मन लागेको त अरु धेरै कुराहरु थिए ।

हो, यो कुरा मलाई प्रष्ट थाहा छ सामुदायिक विद्यालयका शिक्षकहरु सबै तालिम प्राप्त हुनुहुन्छ । निजि स्कुलको भन्दा राम्रो तलव स्केल छ । ग्रेड र भत्ताहरु पनि पाउनुहुन्छ । विषयगत योग्यता भएकाहरु हुनुहुन्छ । तर त्यस्तो योग्य शिक्षकहरु भएको संस्थाहरुको अवस्था आज के छ त ? किन त्यस्ता स्कुलमा विद्यार्थीहरु छैनन् ? तिनका एसै इ परीक्षाको परिणाम कस्तो छ त ? त्यसकारण म फेरि पनि भन्छुन् त्यहाँ कार्यरत शिक्षकहरु राजनैतिक दलको सदस्य रहुन्जेल र कामचोर प्रवृत्ति रहुन्जेलसम्म त्यहाँको पढाइ जुनसुकै माध्यमको बनाएपनि केही फरक पर्नेवाला छैन ।

अँ, यहाँ कसैकसैले भन्न सक्नुहुन्छ, निजि विद्यालयको परीक्षाफल राम्रो हुनुको कारण परीक्षाकेन्द्रमा हुने चलखेल, सिट प्लानिङदेखि अन्य अनेक कुराहरु मिलाएर परीक्षा दिलाएपछि परीक्षाफल राम्रो भइहाल्छ नि । यस्तो भन्नुभयो भनेपनि प्रश्न फेरि तपाईंहरु तिरै सोझिन्छ । किनकि परीक्षाको केन्द्राध्यक्षदेखि लिएर परीक्षाहलको गार्डहरु सबै तिनै कामचोर शिक्षकहरुबाट लिइएको हुन्छ ।

निजि स्कुलमा काम गर्ने शिक्षकहरु कोही पनि तालिम प्राप्त छैनन् । अहिले पनि मावि तहमा पढाउने शिक्षकहरुको तलव खरदार वा आधारभूत तह बराबर मात्र छ । उनीहरुसँग नियुक्तिपत्र छैन । उनीहरु कतिबेला संचालकले निकालिदेला र बेरोजगार हुनुपर्ने अवस्था आउने हो भनेर डर मानिमानि पढाउनु पर्छ । पढाइमा अलिकति कमजोरी भयो भने काम गर्न असक्षमको आरोपमा निकालिने अवस्था सिर्जना हुन्छ ।

तर सामुदायिकमा हेरौं त कसले के गर्दो रहेछ भन्ने प्रवृत्ति छ । यसरी एकातिर श्रम ज्यादा र पारिश्रमिक कम भएर श्रमशोषणमा परिरहेकाहरु छन् भने अर्कोतिर पारिश्रमिक राम्रो छ तर श्रम शुन्य बराबर भएपनि कसैले केही गर्न नसक्ने अवस्था । त्यसकारण यदि सामुदायिकको पढाइलाई निजि सरह बनाउने हो भने त्यहाँ पनि “हायर एण्ड फायर” को अधिकार प्रधानाध्यापकलाई हुनुपर्छ । अनिमात्र केहि हुन्छ । तर उस्तै परे प्रधानाध्यापकलाई फायर गर्नसक्ने क्षमता भएका शिक्षकहरु छन् । किनकि ति शिक्षकहरु भनेका राजनैतिक दलका सदस्यहरु हुन् ।

देशमा शिक्षाको उचित विकास गर्नका लागि सामुदायिक विद्यालयलाई नै सुधार गर्नु पर्दछ । यसका लागि सामुदायिक शिक्षकका छोराछोरीहरु सामुदायिक मै पढाइनु पर्दछ र त्यहाँ कार्यरत शिक्षकहरु कोही पनि स्थायि हुनुहुँदैन । राम्रो काम नगर्ने शिक्षकलाई प्रधानाध्यापकले हटाउन पाउने र प्रधानाध्यापकले राम्रो नगरे संचलक समितिले हटाउन पाउने हुनुपर्दछ । संचालक समितिमा रहनेहरु त्यसै विद्यालयका अभिभावक हुनुपर्दछ र तिनीहरु राजनैतिक दलका सदस्य हुनुहुँदैन । यतिभए पढाइ हुने माध्यम जेसुकै भएपनि फरक पर्दैन । नत्र अंग्रेजि माध्यममा पढाइ गरेपनि सामुदायिक विद्यालयको पढाइ सुधार हुने छैन । अहिले केही विद्यालयमा सुधार भएको अंग्रेजि माध्यम भएर होइन । त्यहाँका शिक्षकहरुले कामचोर प्रवृत्तिलाई त्यागेको कारणले मात्र हो ।

(बराल विद्यालयका शिक्षक र पत्रकारसमेत हुन्)

तपाइँको प्रतिक्रिया

फेसबुक