आइतबार, मंसिर १८, २०७९

सानो झरीमा पनि किन डुब्न थाल्यो काठमाडौं ?

यशोदा भण्डारी / काठमाडौं२०७९ असार २ गते २१:४६

२०१८ मा काठमाडौं–भक्तपुर राजमार्गमा हनुमन्ते बगेर डुबानमा परेको थियो। फोटो: नेपाली टाइम्सको अभिलेख

अव्यवस्थित सहरीकरण, जग्गाको लोभले पुरिएका खोल्सा एवं नालाहरू मात्र होइन जलवायु परिवर्तनका कारण पहिला पहिला दुई दिनमा पर्ने पानी अहिले दुई घण्टामै आउँछ जसले गर्दा एक छिनमै पानी धेरै ठाँउमा जमिसकेको हुन्छ ।  त्यसले निकास पाउँदैन र काठमाडौँ पानी परेको केही क्षणमा नै डुब्छ।

यशोदा भण्डारी

काठमाडौको थापागाउँ नजिक धोवी खोलाको किनारमा वर्षौंदेखि छाप्रो हालेर बसेका ८० वर्षीय चक्रबहादुर लामा रातभरि परेको झरीका कारण छाप्रो भित्र पसेको पानी सफा गर्दै हुनुहुन्थ्यो। लामाका लागि यो नित्य कर्म जस्तै सामान्य समस्या हो। ‘सानो दर्के झरी परेपछि धोवीखोला उर्लिएर आउँछ’, लामाले भन्नुभयो– ‘खोलाले ढलको निकास छेक्छ अनि बाटोबाट ढल उम्लिन थाल्छ। पानी दर्किन थालेपछि सामान जोगाउने तिर लाग्नुपर्छ, जाने ठाउँ छैन।’ धोवी खोलाको बितण्डा सहेर लामा एक दशकयता यसैगरी बर्खेभेल छल्दै झारफुक गरेर गुजारा चलाइ रहनुभएको छ।

यो डुवान र कटानको समस्याले सुकम्वासी र गरिबलाई मात्र पिरोलेको छैन। गएको साता, काठमाडौमा परेको मुसलधारे वर्षाले प्रधानमन्त्रीको सरकारी निवास नै डुवायो। केन्द्रीय बैंक अगाडिको सडकमा रहेको ढलबाट पानीको निकास बन्द भएपछि बालुवाटार आसपास क्षेत्रको ढल सबै प्रधानमन्त्री निवास भित्र पस्यो।

हरेक वर्ष काठमाडौका विभिन्न सडक, वस्ती, खोल्सा र खहरेमा परेर औसत ५ जनाको ज्यान जाने गरेको तथ्यांक प्रहरीसँग छ। त्यसैले आकाशमा कालो बादल मडारिन थालेपछि प्रहरी सक्रिय हुनु पर्ने अवस्था आएको छ। नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीका अनुसार, र बागमती, विष्णुमतीसहित हनुमन्ते खोला, धोबीखोला, सुन्दरीघाट लगायतमा पानीको बहाव उच्च हुन थालेकाले नदी किनाराका बस्तीमा सधैं निगरानी गरिराख्नुपर्ने भएको छ।

विज्ञहरूका अनुसार आकासे पानी संकलन अथवा जमिनमुनि जाने प्रक्रिया बन्द भएपछि काठमाडौका ढल तथा खोला खोल्सामा पानीको चाप बढेको हो। जताततै कंक्रिट संरचना बनाउँदा आकाशको पानी तर्किएर ढल मै मिसिन्छ र ढल सोझै खोला खोल्सामा जान्छ। परिणाम अनपेक्षित दुर्घटनाहरू निरन्तर काठमाडौमा दोहोरिइरहेका छन्।

किन हुन्छ डुबान ?

सहरी क्षेत्र मौसम परिवर्तन, अव्यवस्थित संरचना र नदी मासिएका कारण डुबानमा पर्छन्। मौसम परिवर्तनका कारण छोटो अवधिमा अधिक वर्षा हुन्छ। अव्यवस्थित संरचनाका कारण पानी जमिनमुनि जान नपाइ बगेर खोला वा खोल्सीतिर सोहोरिन्छ। ढल वा नालामार्फत निकास नहुँदा जलमग्न हुन बेर लाग्दैन। काठमाडौंको हकमा खोल्सा एवं नालाहरू मासिएको वा पुरिएका कारणले डुबानको समस्या बढ्दो छ– पूर्वाधारविद् डा. गोबिन्द पोखरेलले बताउनुभयो।

योजनाविद् पोखरेलका अनुसार, हाम्रो सहरी सडकमा वर्षामा बग्ने पानी र निकासका लागि ढल व्यवस्थित गर्ने प्रणाली समावेश छैन। सहरमा सडकजत्तिकै ढल पनि महत्वपूर्ण हुन्छ तर बाटोको उब्रेको भागमा नाला बनाइन्छ, जुन वर्षाको पानी समेट्न पर्याप्त हुँदैन। काठमाडौंमा बर्खे पानी निकासको प्रबन्ध नहुँदा मध्यमखालको वर्षा हुँदासमेत जमल, पुतलीसडक, बबरमहल, तीनकुने, कपन, शान्तिनगर, ललितपुर र भक्तपुरका कतिपय ठाउँमा पानी जमेर अस्तव्यस्त बन्ने गर्छ डा. पोखरेलले बताउनुभयो।

केही वर्ष पहिलेसम्म काठमाडौंमा डुबानको खासै समस्या थिएन। विभिन्न कारणले काठमाडौंको अव्यवस्थित सहरीकरण उच्च गतिमा भइरहेको छ। संयुक्त राष्ट्र संघको एक अध्ययनअनुसार, विश्वका उच्च १० सहरीकरण वृद्धि भएका क्षेत्रमा नेपाल पनि पर्छ। २००७ को दशकताका भवन, सडक तथा अन्य पूर्वाधारले केवल यहाँको एक प्रतिशतजति क्षेत्रफल मात्रै ओगटेको थियो। जुन २०७९ सालमा २५ प्रतिशत पुगेको छ।

खोला किनारको अतिक्रमणले वहाव क्षेत्र साँघुरो बनाएको छ। खोलामा पानीको बहावलाई असर पर्ने गरी संरचना निर्माण हुने क्रम बढ्दो छ। खोलाको चौडाइ पर्याप्त नहुँदा बहावको गति बढ्नुका साथै पानीको सतहसमेत माथि आइपुग्छ। जसले खोला वरपरका बस्तीमा भेल पस्ने जोखिम बढेर गएको हो। उदाहरणका लागि, बागमती नदीमा कुपण्डोलमा पुलको लम्बाइ १६० मिटर छ। अर्थात् त्यस ठाउँबाट बाढी सहजै बगेर जान त्यसै बराबर नदीको चौडाइ चाहिन्छ तर ठीक त्यसको माथि र तल नदीको चौडाइ ७५ देखि ८० मिटरमा सीमित छ। साथै, पानीको सहज बहावलाई चाहिने न्यूनतम चौडाइ अवरुद्ध हुने गरी बाटो बनाउने, पर्खाल लगाउने काम उत्तिकै द्रुत गतिमा छ। यी सबै कारणको एकमुष्ट असरका रूपमा सामान्य वर्षामा समेत डुबानको ठूलो प्रभाव देखिन थालेको छ।

उपत्यकामा नमिचिएको नदी र खोला छैन। हिजोआज काठमाडौंमा खोला छैनन्, नाला मात्र बाँकी छन् झैं लाग्छ। कतिपय सानातिना खोला–खोल्सीको त अस्तित्व नै नामेट भइसकेको छ। महाराजगञ्जभन्दा केही माथि सुरु भएर थापाथली पुगी बागमतीमा मिसिने टुकुचा खोला हराउन लागिसक्यो। त्यस्तै, सीतापाइला–स्वयम्भू क्षेत्रको भचाखोलामा कंक्रिटको स्ल्याब हालेर त्यसमाथि बाटो बनाइएको छ। कपनमा खहरे खोलालाई करिब एक मिटरको ह्युमपाइपमा कैद गरिएको छ।

खोला तथा नदी किनारको अतिक्रमणले बहाव क्षेत्र साँघुरो बन्ने र खोलामा पानीको बहावलाई असर गर्ने गरी संरचना निर्माण हुने क्रम बढ्दो छ। खोलाको चौडाइ पर्याप्त नहुँदा बहावको गति बढ्नुका साथै पानीको सतहसमेत उच्च हुन पुग्छ जसका कारण खोला सजिलै आसपासका बस्तीमा पस्ने जोखिम बढेर गएको छ। उदाहरणका लागि, कुपण्डोलस्थित वागमती नदीको पुलको लम्बाइ करिब १६० मिटर छ अर्थात् त्यस ठाउँबाट बाढी सहजै बगेर जान त्यति बराबर नदीको चौडाइ चाहिन्छ तर ठीक त्यसको माथि र तल खोला अतिक्रमणले चौडाइ ७५–८० मिटरमा सीमित भएको छ। पानीको बहावलाई चाहिने न्यूनतम चौडाइ अवरोध हुने गरी बाटाहरू बनाउने, पर्खाल लगाउने काम दस–पन्ध्रवर्षयताउच्च गतिमा बढ्दो छजसले गर्दा यी सबैको असर सञ्चित हुन गई सामान्य वर्षामा समेत डुबानमा ठूलो प्रभाव देखिन थालेको छ पूर्वधारविद् डा. पोखरेलले बताउनुभयो।

वातावरणविद् तथा पानी व्यवस्थापन विशेषज्ञ मधुकर उपाध्याले सडकको पानी किन यसरी बग्न थाल्यो भन्ने प्रश्नमा उहाँले आकाशबाट परेको पानी सडकबाट निकास भएन जसले गर्दा सबै ठाउँमा परेको पानी सडकमै बग्ने भयो र ढल नभएको ठाउँमा मानिसहरूले घर घरको पानी पनि सडकमै हाल्ने भए जसले गर्दा सडकमा पानी बढ्न थाल्यो। ढलहरू भनेका ठाउँमा पनि ढल बेलैमा सफा नगरेर पानी सडकमै आउने भयो। यो वर्ष प्रि मन्सुनबाटै पानी बढी आएको र पानीको तीव्रता बढी भएको वातावरणविद् उपाध्यायले बताउनुभयो। पहिला पहिला दुई दिनमा पर्ने पानी अहिले दुई घण्टामै आउँछ जसले गर्दा एक छिनमै पानी धेरै ठाँउमा जमिसकेको हुन्छ र त्यसले निकास पाउँदैन। हामीले सिमेन्ट र पिच लगाएर बाटो घाटो अथवा पानी रसाउने ठाँउहरू टालेको हुनाले पानीले बस्ने ठाउँ पाउँदैन त्यसले गर्दा सडकमै पानी आउँछ र सडकबाटै घरभित्र छिर्ने त्यो क्रम पछिल्लो समय बढेको उहाँले बताउनुभयो।

नेपालमा अहिलेसम्म पनि भू–उपयोग नीति कार्यान्वयनमा नआउनु दुर्भाग्यपूर्ण छ। बाढी जोखिम नक्सांकन (फ्लड रिस्क म्यापिङ) गरी जोखिमका आधारमा कुन क्षेत्र के प्रयोजनका लागि उपयुक्त हुन्छ भनेर स्थानीय तहमै आम नागरिकलाई सचेत गराउन आवश्यक छ। यस्तो हुन नसकेकैले हाल नदी खोलाको जलाधार क्षेत्रमै पनि धमाधम बस्ती बसिरहेका छन्। काठमाडौं उपत्यका विकास प्राधिकरणले खोलाको मापदण्ड तोकेको छ तर नगरपालिकाबाट नक्सा पास गराएरै बगरमा धेरै घरहरूको निर्माण भइरहेका छन्। यसमा राज्यकै निकायहरू दोषी छन्। साथै राज्यको कमजोरीको फाइदा उठाउँदै राज्यले निषेध गरेका ठाउँमा पनि घर बनाउने अनि विपत् आएपछि राज्यलाई नै दोष दिने नराम्रो परिपाटी पनि देखिँदैछ। यसले गर्दा जलाधार क्षेत्रमै निर्मित घरहरू त डुबानमा पर्ने नै भए, अझ खोलाको बहाव साँघुरो हुन गई पानीको सतह अस्वाभाविक रूपमा बढेर सुरक्षित मानिएका खोला वरिपरिका घरहरू पनि डुबानमा पर्छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइँको प्रतिक्रिया