बुधबार, असोज १९, २०७९

आमाको प्रश्न : तिमेरु बहिष्कारवादीलाई कसरि भोट दिने ?

ददि सापकोटा२०७९ असार ३ गते १५:५९

स्थानिय निर्वाचनले गाउँ तातेको थियो । एक थरि भोट माग्न आए । ति गए । फेरि अर्कोथरि आइपुग्थे । भोट मागेर गएपछि ति फेरि घर घरै फर्किदैनथे । हार्ने के फर्किन्थ्यो । जित्नेपनि फर्किन्नथ्यो । तर निर्वाचन आएपछि फर्किहाल्छन् । कांग्रेसकाले आएर भोट मागे- आमा यो पटक हामीलाइ दिनुपर्छ भोट । आमा केहि बोल्नुभएन । टाउको हल्लाइदिनु भो । ति गए ।

फेरि सूर्य टोली आए । ‘आमा यो पटकपनि हामीलाई भोट दिनुहोला । हामीले यो यो काम गरेर देखायम । अझै धेरै गर्न बाँकि छ । वृद्ध भत्ता दिने पार्टी हो । जितेपछि अझै बढाउँछ आमा ।

वडामा निर्वाचन जित्नेले वृद्ध भत्ता बढाउने र घटाउने गर्न सक्छ कि सक्दैन भन्ने कुरो हाम्री आमालाई थाह नभएको होइन । थाह छ । तर वृद्ध आमा बाहरुलाई थाह हुन्न भन्ने ठान्छन् पार्टीका पहरेदार र नेताका चौकिदारहरुले । सधैं नजान्ने, गँवार ठान्छन् । तर आमाले यत्ति बोल्नु भो ‘हस’ ।

नागरिकताले उमेर ७१ देखाएपनि आमाको उमेर खासमा ८८ लगभगको छ । तर जोश जाँघ लोभलाग्दो छ । राजनितिक कुरा गर्न लागेपछि आमा जुरुक्कै उठ्नुहुन्छ । औंला र शारिरिक भाषामा उत्तिकै पोख्त हुनुहुन्छ । तिथि र मिति हेक्का नभएर के भो त ? प्रमुख राजनितिक घटनापनि उत्तिकै याद छन् ।

फेरि हलो पार्टी निधारमा रातो अबिर र जुम्ले हात जोड्दै आइपुग्यो ‘आमा यि पार्टीहरुले देश लुटेर सके । यो महँगी बनाउने सबै काम यिनै पार्टीको हो । अब हलोमा भोट दिनुपर्‍यो ।’ यति बेला पनि आमाले केहि नजाने, नबुझेझैं गरिदिनु भयो ‘टाउको हल्लाएर ।

अब भने खतरा पार्टी आयो भोट माग्न । एक्काइसौं शताब्दीको नयाँ जनवादी क्रान्ति गर्ने । सुकुम्बासीलाई जग्गा दिने । रोजगार बढाउने । मल दिने, बिउ दिने । मुखले मिल्ने जति सबै दिने । हाम्रो देशको सिमा रक्षा गर्ने र भारतले हडपेको जमिन फिर्ता लिने । तर कहिल्यै भोट चाहिं नहाल्ने । अरुलाईपनि भोट हाल्न नदिने । बाहिरबाट हेर्दा पार्टी नभए जस्तो । छामेर, सुँघेर हेर्दा ह्वास्स बिप्लव विप्लव, नेकपा नेकपाको हस्को आउने पार्टी । मुखले हाम्रो पार्टी चुनाउमा छैन, होइन भन्ने तर मान्छे त्यहि पार्टीका। कति जानेको छल्नपनि ।

चुनावको सम्मुखमा बिप्लव नेत्रित्वको पार्टीमा सानोतिनो भूकम्प गयो । निर्वाचनमा भाग लिनै हुन्न भन्ने एक पक्ष । अर्को पक्ष पार्टीको नाम नलिईकनै स्वतन्त्ररुपमा उम्मेदवारी दिने ।

यहि मौका बिप्लव माओवादीका केहि स्थानिय नेताले छोपे । उम्मेदवारी दर्ता गर्ने भन्दै नाम सार्वजनिक गरे । हाम्रै आफन्त थिए, त्यसमा एक जना । एक दिन आमासित आएर भोट मागे ।

‘आमा (चन्द्र कुमारी सापकोटा) यो पटक म उठ्न लागेको छु, मेयरमा । मलाई भोट दिने होला नी !

आमा अक्कन बक्क हुनु भो, केहि बेर ।

आमाको बोलि धेरैबेर रोकिन सकेन । सक्ने कुरै भएन ।

‘तिम्रो पार्टीलाई कसरि भोट दिने ? आफूले कहिल्यै भोट नदिने अनि अरुले कसरि भोट दिन्छन् ?’

अबबाट चुनाउमा जाने हो । अबबाट दिने हो ।

‘हैन अहिलेसम्म अरु कसैलाई कहिल्यै भोट नदिने । अरुलाई पर्दा नदिनेलाई कसले दिन्छ ?’ आमाले थप तर्क गर्नु भयो ।

त्यति मात्रै होइन, हिजो चुनाउका बेला अरुलाई भोट हाल्न नदिने । भड्याम र भुडुम गर्ने । पड्काउने । चुनाउ बिथोल्न खोज्ने तिमीहरुको पार्टी । अहिले उहि अवस्थामा भोट माग्न सुहाउँछ ? कसले दिन्छ ? कसरि पत्याउँछ ?

चन्द्र कुमारी सापकोटा

अब आमाको राजनितिक तर्क बढ्दै गयो । भन्नुभो – ए ए त्यति मात्रै हो र ? तिमीहरुले त यो ब्यवस्थाले हाम्रो हित गर्दैन, भोट हाल्नै हुन्न भनेर मतदाता सूचीमा नाम दर्तापनि गर्न हुन्न भन्यौ । नाम दर्ता गर्ने बेला लुकिलुकि जानुपर्‍यो । मतदाता सूचीमा आफैंले नाम नलेखाउने । आफ्नै नाम नभएकालाई, आफैंप्रति विश्वाश नभएकालाई कसले दिन्छ ? आफूले आफ्नै भोट त नपाउने भएपछि अरुले कसरि दिन्छ ?

कति छन् तिमीरुका पार्टीका मान्छे ?

खै कति छन् कति ?

अनि कसले दिन्छ त भोट तिमीलाई ?

कसैले दिन्न भन्दैन । भेटेका जति सबैले दिन्छु, हस भनेका छन् । दिन्छन् कि दिन्नन् के थाह ? तपाईले त दिनुहुन्छ नी ?

म एउटीले दिएर जितिन्छ र ? मसितै भोट माग्न परेपछि अरु कसले देला भोट ? यस्तो पारालेपनि चुनाउ जितिन्छ र ? बेइज्जत मात्रै होला ।

आमाले फेरि दोहोर्‍याउनु भयो- तिमेरको पार्टीका मान्छे कति छन् ? सधै क्रान्ति क्रान्ति, शोषक, समान्ति, चुनाव बहिस्कार भनेर हिंड्छौ । तर मान्छे त देख्दिन मैले । थाह होला नि त कति छन् मान्छे !

मान्छे त छन् नी, किन नहुने ?

मान्छे त होलान् । तर देखिंदैनन् । लुकेर यता र उति हान्ने, हानेर भाग्ने र सधै बहिस्कार गर्नेका मान्छे कति छन् कसरि थाह पाउने ? जनतालाई केहि दिएनौ । कागज बनाउने बेला कांग्रेसले गर्‍यो । कि सूर्यले गर्‍यो । बुढाबुढीलाई भत्ता सूर्यले दियो । तिमीहरुले कहिल्यै केहि गरेनौ । जेमापनि बिरोधै मात्रै गर्‍यौ । आफ्ना लागि केहिपनि नगर्नेलाई देलान् र ? मैले के गरें, अब के गर्छु भनेर माग्ने होला नी भोट ?

कहिल्यैपनि नउठेसि, चुनाउमै नगएसि कहाँ आउँछ र भोट ? चुनाव लडेपछि पो जितिने हो । आउने हो भोट आमा !

आमालाई थाह छ, चुनाउमा जित्न जनताले पत्याउनु पर्छ । जनताले पत्याउन जनताकालागि काम गरेको हुनुपर्छ । कतै न कतै सुख र शान्ति दिएको हुनुपर्छ । जनताका काम गरेको हुनुपर्छ ।

आमालाई अर्को कुरोपनि थाह छ- गाउँघरमा खोज्दै हिंड्दा दुई चार जना समर्थक पनि नभएको पार्टीले चुनाउ जित्दैन ।

‘तिमीहरुको पार्टीनै छैन । पार्टी पार्टी भन्छौ मान्छे छैनन् । चुनाउ जित्न त अलि ठूलो पार्टीमा पो लाग्नुपर्छ । कि सूर्यमा लाग । कि त रुखमा लाग । जित्नेनै तिनैले हो । मान्छेनै नभएको पार्टीमा लागेर कहिले जित्छौ ? आखिर यहि ब्यवस्थामै चुनाउ लड्ने भए ठूलो पार्टीमा पो लाग्नुपर्छ । कहिल्यै तार नलाग्ने पार्टीमा लागेर के काम ?

तर प्रचण्डेको पार्टीमा भने नलाग’ आमाले जोड दिनु भो ।

किन नी आमा प्रचण्डेको पार्टीमा नलाग्ने ?

यसो गर्छु उसो गर्छु भनेर कति अशान्ति मच्चायो । कति जनताका छोराछोरी मरे । पढाई छोडेर गए । बाउ आमा टुहुरा बने । अहिले तिनै लुला लंगडा भएकापनि बिजोग भएर बसेका छन् । त्यसले गर्दा कतिले दुख पाए । यो गर्छु त्यो गर्छु भनेर सारा जनतालाई लग्यो, गर्‍यो त केहि ? त्यस्ताको पार्टीमा त लाग्नुहुन्न ।

अब भने आमाका तर्क यति दह्रा आए कि त्यसलाई काट्न सक्ने उपाय, तर्क केहि रहेन । उनले आमाका कुरा सुनिरहे । तर्क नभएपछि मान्छेले भाग्ने बहाना खोज्छ । कि त रिस पोख्छ । वा कुनै आरोप लागएर सुइँकुच्चा ठोक्छ ।

उनले आमालाइ चस्स हुनेगरि भने ‘सबै कुरा तपाईलाइनै थाह रैछ । अब अर्को पटक तपाई चुनाउमा उठ्नुस् र प्रधानमन्त्री बन्नुस् । सप्पै काम तपाईलेनै गर्नुस् ।’

आमालाई अब सहनै नसक्ने भो । भन्दिनु भो ‘म जिन्दगिभरि राजनितिमा लागेको भए त केहि न केहि हुन्थें । कम्तिमा जनताले पत्याउने पार्टीमा त लाग्थें । खोज्दै हिंड्नुपर्ने, कतै नदेखिने पार्टीमा त लाग्ने थिईन ।’

तपाइँको प्रतिक्रिया

फेसबुक