आइतबार, साउन २९, २०७९

आसाम : विश्वनाथ चारालीतर्फ

कमलराज भट्टराई२०७९ असार ४ गते १४:४३

तेस्रो दिन चैत्र ३० गते (१३ अप्रिल) का दिन हाम्रो गुवाहटीबाट विश्वनाथ चारीआली पुग्ने कार्यक्रम थियो । हाम्रो भूयान (बस) को टिकट ११ः३० को थियो । बिहान नित्य कर्मपछि एकछिन बजारतिर घुम्न निस्कँदा बजार खुलिसकेको थिएन । सडक छेउमा ठेलामा चिया बनाएर बेच्ने उद्यमी प्रशस्तै हुँदा रहेछन् । कसैकसैले सडक पेटीमा बस्ने बेन्ची पनि राखेका थिए । धेरै जसो उभिएरै चियाको चुस्की लिइरहेका थिए । हामी मध्येका धेरैले हिजो बिहानै ठेलावाल चियाको स्वाद पाइसकेका थियौं । खगेन्द्र भाइ भने दाजु गोविन्द र कुमार कोइराला दम्पतिलाई चियाको विशेषता सुनाइरहेका थिए ।

एउटा बस्ने बेन्च भएको ठेला छेउमा रोकिएर चियाको अर्डर गर्याैँ । धेरै मानिसहरू चियाको पालो पर्खिरहेका थिए । एकैछिनमा हाम्रो पालो आई हाल्यो । चिया साँच्चै सन्तुष्टिप्रद रहेछ । बिहु पर्व विशेषमा खाइने विविध खाद्य पदार्थहरू फलफूल, तरकारी बाटाको पेटी ढाकेरै बेच्न राखिएका थिए । त्यसले गर्दा पैदल यात्रुलाई भने निकै सकस रहेछ । यतातिरको भन्दा त्यहाँ फुट्पाथे व्यापारीहरूका लागि धेरै खुकुलो नियम रहेछ । हामी केही क्षण घुमेर बासस्थानमा आई झोलाहरू मिलाएर होटलको लवीमा जम्मा भयौं ।

त्यहाँ बिहानको जलपान तयार भैसकेको रहेछ । त्यता गएर लाइन लाग्यौँ । चौध, पन्ध्र प्रकारका विविध परिकारहरू सजाइएका थिए । ती मध्ये केही परिचित र केही अपरिचित, त्यहीका रैथाने र दक्षिण भारततिरका परिकार थिए । आफ्नो रूची अनुसार कर्नफ्लेक्स र दूध सुजीको हलुवा जस्तै त्यहाँको भाषामा उत्तपम, पुरी, रोटी, सलाद, जुस आदि थिए । रूचि अनुसार सबैले लियौँ । कसले कति पटक थप्यो भनेर हेर्दै हाँस्दै सबै तृप्त भएपछि बासस्थान छोड्नुपर्ने हुनाले काउन्टरमा गएर आ­आफ्नो कोठाको तिर्नुपर्ने रकम बुझायौँ ।

दस बजे हामीलाई गाडी चडाउन डा। खगेन सर आइपुग्नु भयो । वहाँकै गाडीमा भारी सामानजति राखी डा। गोविन्दलाई लिएर उहाँ बस टर्मिनल तर्फ लाग्नुभयो । बाँकी हामी लोकल बस चढेर त्यो ठाउँ (पलटन बजार) बाट १० कि.मि. टाढा रहेको बेतकुची बालाजी मन्दिर छेउको आइ.एस.बी.ट.। बस टर्मिनल पुग्यौं । गुवाहाटीबाट प्रायः सबैतिर जाने बस त्यहाँबाट छुट्ने रहेछन् । सुविधा सम्पन्न यात्रु प्रतीक्षालयको व्यवस्था रहेछ । एक घण्टाको प्रतीक्षापछि हामी सवार भएको भूयान त्यहाँबाट पूर्वाेत्तर दिशामा पर्ने २६० कि.मि.। टाढाको विश्वनाथ चारीआली तर्फ लाग्योे । गुवाहाटी शहर बाहिर पुग्नै लाग्दा बाटो मर्मत हुँदै रहेछ । र, दुवैतर्फ गाडीहरू जाममा परेर थुप्रिएका रहेछन् । एक घण्टा जाममा परेर गर्मी खाइयो ।

मुस्किलले त्यो ठाउँ छाडेपछि ब्रम्हपुत्रको पुल तरेर बाँया तर्फ लागियो । बाहिर कतै ठूला ठूला फाँटहरु, बाँसघारीले घेरिएका एकैनासे स–साना घरहरु भएका गाँउहरु देखिन्थे । कतै बाटा नजिकै, कतै टाढाटाढा हरिया थुम्के पहाडहरु देखिन्थे, यता नेपालतिरका चुरे पहाड जस्तै । यस्तै वरपरका दृश्यहरू हेर्दै विविध विषयमा रमाइला गफ गर्दै हाँस्दै तीनघण्टा जति हिँडेपछि एउटा चमेना गृह अगाडि पुगेर गाडी रोकियो । प्रायः सबै ठाउँका सूचना पाटीहरू स्थानीय भाषामा लेखिएका हुँदा कुन ठाउँ पुगियो, भन्ने पत्ता लगाउन सकिएन । कताकता बाटामा भेटिने साना बजारहरुमा भने अंग्रेजी भाषामा पनि ठाउँका नामहरू लेखिएका हुन्थे । हामी बाहिरतिर ध्यान दिइरहेका थिएनौं । आफ्नै धुनमा रमाइरहेका थियौं । छेउछाउका सिटमा यात्रुहरू आउँदै जाँदै गरिरहेका थिए । हेर्दा नेपाली जस्तो लागेपनि नेपाली बोलेको सुनिएन ।

हामीले खाजा खाएको ठाउँबाट बसको पछाडिको अन्तिम सिटमा चारपाँच जना नयाँ मान्छे चढेका थिए । हाम्रो दस जनाको टोली एकै ठाउँमा बसेर मस्ती चालले गफ गर्दा अरूलाई बाधा परिरहेछ भन्ने ख्याल नै गरेनछौँ । पछाडिबाट “भाइसाब ! आप लोग बहुत हल्ला कर रहें हैँ, शान्त हो जाइये”, भनेर हिन्दीमा भनेपछि हामी सतर्क भयौं ।

केही बेरमा तेजपुर टाउन पुग्यौं । त्यहाँबाट केही नयाँ यात्रु प्रवेश गरेर हाम्रै छेउछाउका सिटमा बसे । यात्रुमध्येका एक जनाले हाम्रो कुरा सुनेर नेपालीमा कुरा गर्न थाले । कहाँबाट आउनुभएको ? कहाँ जाने ? भनेर सोधेपछि हाम्रा टोली प्रमुखले विश्वनाथ चारआली जाने भनेपछि तिनले हामी सँगै गुवाहाटीदेखि आएका गाडीका कण्डक्टरलाई बोलाएर नेपालीमै कुरा गर्दा थाहा भयो । ती गोरा सुन्दर युवक जो बेलाबेला छेउमा आएर उत्सुकतावस हाम्रा कुरा सुन्थे, तर केही बोल्दैनथे, अचानक हामीसँग खुलेरै नेपालीमा कुरा गर्न थाले । उनी उतै विश्वनाथ गोलियाका बासिन्दा रहेछन् । उनैले हामीलाई विश्वनाथमा पर्खेर बस्नुभएका आयोजक समितिका सदस्यहरूसँग सम्पर्क गरेर बाटाको जामले गाडी ढिलो भएकाले त्यहाँ पुग्न एक घण्टा जति ढिलो हुने जानकारी गराए । हाम्रो गाडीको त्यहाँ पुग्नुपर्ने निर्धारित समय ६ः३० रहेछ । तर यहीँ ७ः०० बजिसकेको थियो र अझै एकघण्टाको बाटो बाँकी रहेको जानकारी प्राप्त भयो ।

हामीसँग तेजपुरमा भेट हुने ती नेपालीसँग कुरागर्दै गयौँ । उनी यतै नेपालको ताप्लेजुङ जिल्लाको आठराई चुहानडाँडाबाट बसाईं गएका ओली थरका रहेछन् । उता विश्वनाथ बजारमा हामीलाई पर्खेर बस्नुहुने सम्मेलन आयोजक मण्डलीका सदस्यहरूसँग बेलाबेला सम्पर्क गर्दै ८ः०० बजेतिर विश्वनाथ बसस्टेण्ड पुगियो । हामीलाई सहयोग गर्ने ओली भाइको घर पाँच किलोमिटर यतै भएपनि हामीलाई नछोडी विश्वनाथ बस स्टेण्डसम्मै पुर्‍याई आयोजकहरूलाई जिम्मा लगाएर मात्रै प्राइभेट अटोमा घर फर्किए । अतिथि खातिरदारी र सहयोगको यो भन्दा ठूलो उदाहरण के हुन सक्छ र ?

हामी गाडीबाट उत्रनासाथ हाम्रो स्वागतार्थ प्रतीक्षामा बस्नुहुने कार्यक्रम आयोजक सरहरू ज्ञान बहादुर क्षेत्री, चन्द्रमणि उपाध्याय, छत्रमान सुब्बा, अञ्जन बास्कोटा, प्रकाश (परेश) सुब्बा, पूर्ण कुमार शर्मा हामीलाई बासस्थानसम्म पुर्‍याउन र प्रबन्ध मिलाउन गाडी लिएर प्रतिक्षामा बस्नु भएको रहेछ । वहाँहरू मध्ये ज्ञान ब. क्षेत्री, चन्द्रमणि उपाध्याय र छत्रमान सुब्बा हाम्रो दमक घरमा पहिले आइसक्नु भएको हुँदा हाम्रो लागि यो अवसर पुर्नमिलनको मात्र थियो । बाँकी सदस्यहरूसँग सामान्य परिचय पछि सामानहरू गाडीमा राखेर उहाँहरूले बासस्थानतिर लानुभयो ।

बासस्थानको व्यवस्था त्यहाँको सरकारी अतिथी भवन (सर्किट हाउस) मा मिलाइएको रहेछ । हामी नेपालबाट जाने सबै भेला भैसकेपछि हाम्रा लागि कोठाहरूको प्रबन्ध मिलाउने क्रममा कसलाई कसरी राख्ने भन्ने सम्बन्धमा छलफल भएछ । चन्द्रमणि सरले मलाई बिस्तारै भन्नुभयो, वहाँहरूले हामी दशै जनालाई माथिल्लो तलामा मिलाउन खोज्नुभएको रहेछ । त्यहाँ एउटा बैठक कक्ष सहितको अति विशिष्ट अतिथीका लागि व्यवस्था गरेको कोठामा प्रमुख अतिथी डा. गोविन्दराज भट्टराई दम्पतीका लागि व्यवस्था गरी अन्य तीनवटा विशिष्ट अतिथी कोठामा डा. कोईराला दम्पती, म र खगेन्द्र भट्टराई परिवार बसियो । चन्द्रमणि सरले भन्न खोज्नु भएको परिवार नहुने डा. विष्णु राई र विजय हितानलाई तल्लो तलामा राख्न मिल्छ मिल्दैन भन्ने रहेछ । मैले “हुन्छ” भनेपछि सोहि व्यवस्था गरियो । राति ९ः०० बज्न लागेको थियो । पानी पर्दै थियो । दिनभरीको यात्राको थकाई, भोक र निन्द्राले एकैचोटि सताउन थालेको थियो ।

सामानहरू निर्धारित कोठाहरूमा थन्काएर एकछिनको विश्राम पछि खाना खान जान आग्रह गर्नुभयो । भोजनको व्यवस्था वासस्थानदेखि एक कि।मि जति टाढा प्रकाश (परेश) सुब्बाको निवासमा गरिएको रहेछ । घरपरिवार बाहेक हामी यताबाट जाने दस जना र आयोजकहरू समेत सोह्र जना थियौं । यति ठूलो समूहलाई उत्तम शाकाहारी भोजनको व्यबस्था गर्नु कति कठिनाइ थियो होला ? तर, प्रकाश सुब्बा र विष्णु देवीले सहज रूपमा व्यवसथापन गर्नुभएको रहेछ । सबैजनाले एकैचोटि खान स्थानाभावले दुई समूहमा बाँडिएर खाइयो । म दोस्रो समूहमा परेको हुँदा एउटा कुनामा चन्द्रमणि सरसँग गफगर्दै बसेँ । वहाँका लागि रोटी र दूधको व्यवस्था हुँदै थियो । गफकै शिलशिलामा उहाँले जोड्नुभयो, “यो परिवार तीन पुस्ता देखि यस इलाकाको सम्मानित र प्रतिष्ठित परिवार हो । प्रकाश (परेश) सुब्बा स्वतन्त्रता सेनानीको रुपमा चिनिने प्रसाद सिंह सुब्बाको नाती हुनुहुन्छ । वहाँहरूको परिवार एक प्रकारको सन्त परिवार हो । तीन पुस्तादेखि उहाँहरूको घरमा निरामिष सात्विक भोजन मात्रै चल्छ । नित्य पाठपूजा अतिथि सत्कार उहाँहरूको परम्परा हो ।”

हाम्रो भोजन ग्रहण गर्ने पालो भएको थियो । हामी टेवल वरिपरि बस्यौं । संयोगले मेरो दाहिनेतिर प्रकाश सुब्बा र बाँया तर्फ छत्रमान सुब्बा अनि अगाडिपट्टि चन्द्रमणि सर पर्नुभएछ । अरू को को हुनुहुन्थ्यो थाहा भएन । खाना अगाडि आउँन साथ मनमनै “त्वदीयम् वस्तु गोविन्द तुभ्य मेब समर्पयेत्”(जसले यो सम्पुर्ण पदार्थ जुटायो उसैमा समर्पण गर्दछु), भनेर यताउता नहेरी खान थालेँ । केही क्षण पछी दाँयातर्फ हेर्दा प्रकाश सुब्बा हात जोडेर आँखा बन्द गरी ध्यान मग्न हुनहुँदो रहेछ । अघि चन्द्रमणि सरले भन्नु भएको कुरा सत्य रहेछ । उहाँहरू भोजनलाई परमात्मामा अर्पण गरेर प्रसादको रुपमा ग्रहण गर्नुहुँदो रहेछ । हामी उहाँहरूले गर्नुभएको स्वागत सत्कार र हार्दिकताले गदगदहुँदै आवासतिर लाग्यौँ ।

तपाइँको प्रतिक्रिया

फेसबुक