आइतबार, मंसिर १८, २०७९

त्रिभुवन विश्वविद्यालयको जमिनमा प्राध्यापकहरूको ठेक्कापट्टा

कृष्ण तिमल्सिना२०७९ असार ४ गते २०:२७

फोटो स्रोत-पोखरान्युज

कृष्ण तिमल्सिना

त्रिभुवन विश्वविद्यालय अन्तर्गत् चल्छ एक हजार निजी क्याम्पस, ६० भन्दा बढी आफ्नै आंगिक क्याम्पस अनि छन् विभिन्न सङ्कायमा १५ हजार भन्दा बढी कर्मचारी।

यो विश्वविद्यालय र मातहतका निकायको पूर्ण स्वामित्वमा छ, देशभर १ करोड ३१ लाख ३७ हजार वर्गमिटर जग्गा। ओहो ! कति धनी विश्वविद्यालय। तर हैन यसलाई आफ्नैले लुटेर खोक्रो बनाइसके। यही खोक्रो बनाउनेको एउटा पाटो यहाँ खोल्न लागिएको हो।

यो विश्वविद्यालयका नाममा २०३३ सालपछि, विभिन्न स्थानमा जोडिएको जमिन अहिले भूमाफियादेखि विश्वविद्यालयकै कर्मचारी र प्राज्ञिक जनशक्ति प्राध्यापकहरूले ठेक्का पट्टामा लगाएर मनोमानी गरिरहेका छन्। यसरी त्रिभुवन विश्वविद्यालयको नाममा रहेको सम्पत्ति अपचलन अथवा दुरुपयोग गर्नेको सूची लामो छ। त्यसमा पनि विश्वविद्यालयको साख बढाउन अहोरात्र खटिनुपर्ने प्राध्यापक अथवा कर्मचारीले झनै खुलेआम विश्वविद्यालयको सम्पत्तिमा रजाँई गरिरहेका छन्। शैक्षिक माफियाको रजगज त झनै डरलाग्दो छ।

प्राध्यापक र कर्मचारीको अपारदर्शी ठेक्का पट्टा

त्रिभुवन विश्वविद्यालय वर्षमा आधा भन्दा बढी आन्दोलनको चपेटामा पर्छ। विद्यार्थी र कर्मचारी मात्र हैन यहाँका प्राध्यापकहरूले नै आन्दोलन गरेर विश्वविद्यालयको सिनेट बैठकलाई समेत प्रभावमा पार्छन्। त्यही आन्दोलनको बलमा त्रिभुवन विश्वविद्यालयको प्राध्यापक संघले विश्वविद्यालयको नाममा रहेको ५० रोपनी भन्दा बढी जग्गा ठेक्कामा लगाएर एकलौटी कारोबार गरिरहेको छ।

बल्खुस्थित जनप्रशासन क्याम्पस र विश्वविद्यालयको केन्द्रीय परिसरसँग जोडिएको एक आनाको एक करोड हाराहारी पर्ने ५० रोपनी जमिनमा अहिले बल्खु– कुलेखानी हुँदै चल्ने टाटासुमोको पार्क छ। प्राज्ञिक पेशामा आवद्ध प्राध्यापकहरूले संघको भवन बनाउन भनेर लिएको जमिनबाट मासिक २ लाख रुपैयाँ भाडा असुल्छन्। जुन पैसा सोझै त्रिभुवन विश्व विद्यालय प्राध्यापक संघको खातामा जम्मा हुन्छ। बल्खु संयुक्त सुमो पार्कका व्यवसायीहरू अहिले मासिक २ लाख २५ हजार भाडा दिइरहेको बताउँछन् ।

तर त्रिभुवन विश्वविद्यालय प्रशासन बेखबर छ। केही टाठाबाठा प्राध्यापकले विश्वविद्यालयको जमिन भाडामा लगाएर मनोमानी गरेको विषय प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति हुँदै अहिले अख्तियार पुगेको छ।

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले बल्खुको मूल सडकमा मात्र हैन विश्वविद्यालय गेट अगाडि पनि झण्डै १५ रोपनी जमिन लिएको छ। त्यो पनि संघको बोर्ड राखेर मासिक दुई लाख भन्दा बढी भाडा असुल्छ। त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ केन्द्रिय समितिको भवन निर्माण स्थल लेखिएको गेट भित्र विशाल नर्सरी छ: थापा नर्सरी। मूल सडकबाट झण्डै वाग्मतीको किनारसम्म जोडिएको विश्वविद्यालयको यो जमिनको मासिक भाडा दुई लाख छ। सँगै जोडिएको अर्को बुढाथोकी नर्सरी रहेको ३ रोपनी जमिन पनि त्रिभुवन विश्वविद्यालय कै हो। तर बुढाथोकी नर्सरीले तिर्ने भाडा भने नेपाल प्राध्यापक संघ र त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको खातामा बाँडिएर जान्छ। विश्वविद्यालयले एक पैसा पाउँदैन। बुढाथोकी नर्सरीले मासिक ५० हजार रुपैयाँ दुई वटा खातामा बाँडेर जम्मा गर्ने गरेको छ।

नेपाल प्राध्यापक संघले नर्सरीको भाडा मात्र लिँदैन। उसको आफ्नै भव्य व्यापारिक भवन त्रिवि कै जमिनमा बनेको छ। मूल सडकमा रहेका सात वटा व्यापारिक प्रयोजनका सटरबाट मासिक ७० हजार भाडा उठ्छ। माथिल्लो तलामा रहेको १४ वटा कोठा पनि संघले भाडामा लगाएको छ। तेस्रो तलाको एउटा कुनामा नेपाल प्राध्यापक संघको बोर्ड देखिन्छ। व्यापारिक भवनसँगै पछाडि संघको अतिथि गृह छ। ३ रोपनी जमिनमा बनेको अतिथि गृहमा, विभिन्न जिल्लाबाट आउने प्राध्यापकहरू निश्चित पैसा तिरेर बास बस्छन्। नेपाल प्राध्यापक संघले वार्षिक कति कमाउँछ ? विवरण अपारदर्शी छ।

त्रिविको सम्पत्ति अपचलनमा नेपाल प्राध्यापक संघसँगै त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले पनि प्रतिष्पर्धा गरिरहेको छ। जसले टियु गेट अगाडि ३ तले व्यवसायिक भवन बनाएर अधिकांश कोठा भाडामा लगाएको छ। कर्मचारी संघको भवनको तल्लो तलामा होटल व्यवसाय चलाएर बसेका ‘भरत गुरु‘ आफूहरूले मासिक साढे सात हजार रुपैयाँ भाडा कर्मचारी संघको खातामा हाल्ने गरेको बताउँछन्। संघले विश्वविद्यालयसँग लिएर नक्सा पास समेत नगरी बनाएको भवनमा सात वटा सटर छन्। १४ कोठे भवनको भुइँ तला सबै भाडामा छ। माथिल्लो तलाको १४ कोठा पनि भाडा मै छ। होन्डा कम्पनीको सर्भिस सेन्टर देखि मासिक ६० हजार तिर्ने ब्लक उद्योग समेत संघले कब्जा गरेको विश्वविद्यालयको जमिनमा छन्। संघले ६ रोपनी जमिनमा भवन र ब्लक उद्योग राखेर भाडा असुली रहेको छ भने सँगै रहेको निजी पेट्रोल पम्पलाई ४ रोपनी जमिन भाडामा दिएको छ। पेट्रोल पम्पले मासिक एक लाख भन्दा बढी भाडा तिर्छ तर कर्मचारी संघको खातामा जान्छ।

नेपाल प्राध्यापक संघका महासचिव नरेन्द्र शिवाकोटीले विश्वविद्यालय अन्तर्गतका प्राध्यापकको हक हित र उन्नयनका लागि मात्रै प्रयोग गर्न पाउने गरि विश्वविद्यालय सिनेटबाट स्वीकृत भएको उक्त जमिन आफूहरूले अन्जु बानियाँलाई सम्झौता गरेर ५ वर्षका लागि भाडामा दिएको बताउनुभयो।

“वार्षिक १० प्रतिशत भाडा बढ्ने शर्तमा एउटै व्यक्तिलाई दिएको जमिन अहिले कुन प्रयोजनमा कसरी भोगचलन भइरहेको छ भन्ने जानकारी छैन” सिवाकोटीले बताउनुभयो, “भाडा कति आउँछ ठ्याक्कै जानकारी भएन, तर प्राध्यापक संघले बनाएको टियु गेट अगाडिको गेस्टहाउस समेत ठेक्कामा सञ्चालन भइरहेको छ।”

“हामीले व्यवस्थापन गर्न सकेनौं, त्यसैले प्राध्यापक संघको गेस्टहाउस न्यूनतम शुल्क उठाएर प्राध्यापकहरूलाई बस्न दिने शर्तमा ठेक्कामा दिएको हो” शिवाकोटीले भन्नुभयो, “यही नर्सरी, भवन र गेस्टहाउसबाट आएको पैसाले प्राध्यापक संघले प्राज्ञिक गतिविधि गर्दै आएको छ ।” त्रिवि सामान्य प्रशासन महाशाखा प्रमुख श्रेष्ठले प्राध्यापक तथा कर्मचारीले सिनेट बाटै स्वीकृत गराएर जमिन लगेकाले यसबारे विद्यालयले प्रश्न गर्न नमिल्ने बताउनुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइँको प्रतिक्रिया