बिहीबार, वैशाख १३, २०८१

नेपाल र भारतमा दुई पटक बेचिएकी काजलकलीको यस्तो बिजोग

सुराजन श्रेष्ठ२०७९ असार ५ गते १६:१२

 

आज गएर हेर्दा मैले पहिला त काजलकली मरिसक्यो भन्ने ठानेको थिएँ । सुँडबाट हल्का सास फेरे जस्तो गरे पछि बल्ल “काजलकली सास छोडिसकेको छैन रहेछ” भनेर मन मनै भनेँ । लगभग मरेतुल्य अवस्थामा रहेको काजलकलीको केही तस्वीरहरु यहाँ सार्वजनिक गरेको छु ।

दुई पटक नेपालदेखि भारत बेचबिखन हुँदा पनि सिमानामा रोकेर फर्काइएको हात्ती हो, काजलकली। फर्काएर ल्याइसकेपछि न त यहाँबाट बेचेको साहुले मतलब गर्यो न त काजलकलीलाई किनेको भारतको साहुले । सुरुमा कमजोर भएर उसको भीमकाय शरीर ढल्दा पनि उसले आफ्नो शरीर अढाएको भित्तामा पल्टेर उल्टो पार्दै धानको खेतमा लडेको रहेछ । ऊ त्यसरी खसिसकेपछि उसको शरीर उस्तै रहेन । उसको शरीर भित्र धेरै घाउ भएको हुनसक्थ्यो होला । तर उसको शरीरमा के भएको हो भनेर जाँचबुझ, खोज (डायग्नोसिस) गर्ने प्रयास कहिल्यै भएन ।

कानूनी रुपमा कसैको स्वामित्वमा नरहेको काजलकलीलाई राष्ट्रिय निकुञ्जले पनि अधिग्रहण गर्न इच्छा राखेन । न त राम्रो उपचार दिने ईच्छा नै राखे । सौराहाको युनाइटेड हात्ती सञ्चालन पनि चुपचाप नै बस्यो ।

कसैले नहेर्ने भएपछि एकचोटी सहयोगको अपील गरेको भए हुन्थ्यो, त्यो पनि भएन। मैले त कसैको हात्ती होइन भनेर हिजो भर्खरै मात्रै थाहा पाएँ । भने पछि यत्ति कुरा बुझ्नुस् की सौराहामा हात्ती व्यवसायीहरुले हात्तीसँग सम्बन्धित कति घटनाहरुलाई गुपचुप राख्दारहेछन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पनि हात्ती दर्ता प्रक्रिया सुरु गरेको भनेर त्यो एउटा कागजको फाइलमा कुन कुनामा फालेछ । पुरै बन्दी (घर पालुवा) हात्तीहरुलाई दर्ता गरेको पनि छैन ।

काठमाडौँमा वैशाख ११ देखि वैशाख १३ सम्म एसियाली हात्तीलाई बचाउने र उनीहरुको कल्याणमा ध्यान दिने बारे ठूलो अन्तराष्ट्रिय गोष्ठी भयो । सरकारी कर्मचारीहरुले त्यसमा भाग लिए । ‘हात्ती संरक्षण गरौँ’ भनेर टी-सर्ट, ब्याजहरु लगाए होलान् । तर त्यही समय आसपास नै ढलेको काजलकलीलाई सहयोग गर्न मनैबाट कसैले, कहिल्यै ईच्छा जाहेर गरेनन् ।

अब चित्त नबुझेको कुरा गर्न थालें भने धेरै होला । तर मात्रै एउटा बिन्ती छ की सम्बधित निकायले काजलकलीको नेपाली साहु को थियो भनेर छानबिन गरोस् । उक्त व्यक्तिलाई कानूनी दायरामा ल्याइ सजाय दिइयोस् । युनाइटेड हात्ती सन्चालन समितिले पनि यसमा सहयोग गरोस् । हामी पशु कल्याणकर्मीहरुको सहयोग लिनुभन्दा बरु हात्तीलाई बेवारिसे तरिकाले मर्न छोडिदिन्छु भन्ने खालको घमण्डपन नदेखाओस्। हामीलाई शत्रुको रुपमा नहेरियोस्।

उसलाई बचाउन सकिने सम्भावना एकदम न्यून देखेको छु । तर चाहेको खण्डमा उसलाई न्याय प्रदान गर्न सकिने सम्भावना धेरै छ । एकदमै सस्तो भइसक्यो आजकल यो शब्द तर पनि भन्न चाहान्छु ‘जस्टिस फर काजल कली’ (काजलकलीलाई न्याय देउ) ।

(फोटो र शब्द दुबै श्रेष्ठको फेसबूकबाट लिईएको हो-संपादक)

तपाइँको प्रतिक्रिया