बिहीबार, चैत १५, २०८०

इम्युनिटीवर्धक खोप: आयुर्वेदीय स्वर्ण प्राशन

डा। रामदेव पण्डित (आयुर्वेद चिकित्सक)२०७९ असार ५ गते १७:२२

के हो स्वर्ण प्राशन ?

स्वर्ण प्राशन संस्कृत शब्द हो । स्वर्ण अर्थात् सुन र प्राशन भनेको प्रयोग विधि हो । बालरोग सम्बन्धी आयुर्वेदीय ग्रन्थ, ‘कश्यप संहिता’का अनुसार बच्चाहरूमा प्राथमिक रूपमा रोगप्रतिरोधात्मक क्षमता बढाउन सुन मिश्रित औषधिको प्रयोग हो । प्रत्येक महिनाको पुष्य नक्षत्रका दिन चटाउनु वा खुवाउनु स्वर्ण प्राशन विधि हो । यही औषधीलाई थोपाको रूपमा खुवाउनुलाई स्वर्ण प्राशन बिन्दु भनिन्छ । स्वर्ण प्राशन नेपाली एवं भारतीय समाजमा प्राचीन एवं परम्परागत रूपमा बच्चाहरूलाई गराइने १६ संस्कार मध्येको एक संस्कार पनि हो । यसलाई आयुर्वेदीय खोप पनि भन्ने गरिन्छ।

स्वर्ण प्राशनमा सुनको भष्म, मह (रसायन) र औषधयुक्त घ्यू मिश्रित हुन्छ । औषधयुक्त गाईको घ्यूमा अमला, बोझो, ब्राह्मीमण्डुकपर्णी, गुडुची, शतावरी, जेठीमधु, अश्वगन्धा, शंखपुष्पी आदि जडबिुटि (एवं प्रक्षेप द्रव्य: मरिच, सौंफ, पिप्पली, आदि) निश्चित मात्रा राखिन्छ र विशेष विधिबाट विशेषज्ञ आयुर्वेद चिकित्सकद्वारा त्यार पारिन्छ । यसरी अर्धठोस् स्वरूपमा निर्मित औषधी बच्चालाई चाट्न लगाउने विधान छ । हिजोआज त्यसरी स्वर्ण प्राशन बिन्दु बजारमा किन्न पनि पाइन्छ जसलाई थोपा थोपाको रूपमा प्रयोग गर्न सकिन्छ ।

स्वर्ण प्राशनका फाइदा

स्वर्ण प्राशनले प्राथमिक रूपमा शरीरको रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) बढाउँछ । यसले बच्चाको मनोबल (बुद्धि), पाचन बल (अग्निबल) र शारीरिक बल बढ्नुको साथै ओज, आयु एवं सुन्दरता समेत सहज रूपमा बढ्दछ । स्मरण शक्ति एवं ग्रहण शक्ति (मेधाशक्ति) अति नै सबल बनाउँछ । पटक पटक हुने सामान्य स्वास्थ्य समस्याहरू रुघाखोकी, ज्वरो, पेटको दुखाइ, पखाला लाग्नु, पाचन सम्बन्धी समस्या आदि समस्याहरूलाई स्थायी रूपमा हटाउन सहयोग गर्दछ । त्यस अतिरिक्त बच्चाहरूको शरीरिक मानसिक विकासका लागि आवश्यक तत्त्वहरूको आपूर्ति गराउँछ । शरीर भित्र जमेर बसेका विषालु पदार्थहरूलाई शरीरबाट बाहिर निकाल्न मदत गर्दछ । आँखा एवं कानको कार्यक्षमता पनि बढाउँछ। शास्त्रीय मान्यता अनुसार स्वर्ण प्राशन पवित्र एवं मंगलकारक हुन्छ । फलत: अदृश्य एवं नकरात्मक ऊर्जाहरूबाट सुरक्षा प्रदान गराउँदछ ।

स्वर्ण प्राशनको निमार्ण विधि

आधारभूत रूपमा स्वर्ण प्राशनको मुख्य घटक भनेको सुनको भष्म (स्वर्ण भष्म), मह र औषधसिद्ध घ्यू नै हो । उपलब्धता र आवश्यकताका बमोजिम चिकित्सकले योग्य औषधीय जडीबुटीहरू (अमला, बोझो, ब्राह्मीमण्डुकपर्णी, गुडुची, शतावरी, जेठीमधु, अश्वगन्धा, शंखपुष्पी आदि)को चयन गरी त्यसलाई घ्यूसँग सिद्ध गर्दछन् । आयुर्वेदीय शास्त्रोक्तविधिद्वारा निमार्ण गरिने स्वर्ण प्राशन निकै संवेदनशील र बुद्धिमतापूर्वक धैर्यका साथ बनाउनुपर्ने हुन्छ । यसको निर्माण आधिकारिक अनुभवी आयुर्वेद अभ्यासीले मात्र गर्न सक्दछ । अनाधिकारिक रूपमा अनुभवहीन व्यक्तिबाट निमार्ण गरिएको स्वर्ण प्राशन निष्प्रभावी मात्र नभएर हानीकारक एवं दीर्घरोग कारक पनि हुन सक्दछ ।

स्वर्ण प्राशनमा सुनको भष्म, मह (रसायन) र औषधयुक्त घ्यू मिश्रित हुन्छ । औषधयुक्त गाईको घ्यूमा अमला, बोझो, ब्राह्मीमण्डुकपर्णी, गुडुची, शतावरी, जेठीमधु, अश्वगन्धा, शंखपुष्पी आदि जडबिुटि (एवं प्रक्षेप द्रव्य: मरिच, सौंफ, पिप्पली, आदि) निश्चित मात्रा राखिन्छ र विशेष विधिबाट विशेषज्ञ आयुर्वेद चिकित्सकद्वारा तयार पारिन्छ ।

स्वाद र गन्धका लागि मरिच, सौंफ, पिप्पली, आदि राखिन्छ । समग्रमा स्वर्ण प्राशनका सबै घटकहरू मिलेर शरीरमा धातु निमार्णको कार्यलाई गतिशील बनाउँछ, त्रिदोषलाई सन्तुलनमा राख्दछ र शरीरको मललाई शरीबाट सम्यक रूपमा बाहिर निकाल्दछ । मनमा सत्विकता वृद्धि गराउँछ ।

कति खुवाउने त ?

मात्राको योजना चिकित्सकद्वारा बच्चाको उमेर र तौलको आधारमा निर्धारण गर्ने गरिन्छ । दैनिक रूपमा खानेहरूका लागि मात्रा एउटा तरिकाले योजना गरिन्छ भने पुष्य नक्षत्रमा मात्र खानेहरूका लागि अर्कै तरिकाले योजना गरिन्छ । विहान खाली पेटमा, सूर्योदयभन्दा पहिले नै स्वर्ण प्राशन गराउनु उत्तम मानिन्छ । सुरुको १ महिना देखि ६ महिनासम्म स्वर्ण प्राशन दैनिक रूपमै पनि दिइन्छ र त्यसपछि प्रत्येक महिनाको पुष्य नक्षमा (प्रत्येक २८ दिनमा १ पटक आउने) दिनु उपयुक्त मानिएको छ ।

२३ अगस्त सन् २०२० मा स्प्रिङ्गरको ‘बायोलोजिकल ट्रेस् एलिमेन्ट रिसर्च’ जर्नलमा स्वर्ण प्राशन सम्बन्धी प्रकााशित एक अध्ययनका अनुसार बच्चाहरूलाई सुरुको ६ महिनासम्म २२ थोपा त्यसपछी ४४ थोपा खुवाउनु पर्ने शास्त्रीय निर्देश छ (सामान्यत: १ मि।लि।मा २० थोपा हुनेगर्दछ) । चिकित्सकको सल्लाह लिएर महामारीको अहिलेको अवस्थामा हरेक बच्चाहरूलाई अबको १ देखि २ महिनासम्म दैनिक रूपमै खुवाउनु निकै सुरक्षात्मक हुनसक्दछ ।

स्वर्ण प्राशन गर्दाको सावधानी

स्वर्ण प्राशन चिकित्सकको सल्लाह लिएर मात्र बालबालिकामा अभ्यास गर्नुपर्दछ । चिकित्सकले बच्चाको उमेर, तौल, उचाइ, खानापान शैली, पटक पटक हुने स्वस्थ समस्या एवं रोग आदि आवश्यक केही मापदण्डहरूको अध्ययन गरेर मात्र स्वर्ण प्राशन अभ्यास गराउँछन् । पखाला चलेको, ज्वरो आएको, अपच आदि भएको बिरामी बच्चालाई स्वर्ण प्राशन गराइँदैन वा चिकित्सको सल्लाह लिएर मात्र गराइन्छ ।
त्यारी स्वर्ण प्राशन अन्य भ्याक्सिन जस्तै संवेदनशील हुने भएकोले यसलाई आफू बसेको कोठासँग मिल्ने तापक्रममै राख्नुपर्छ । धेरै तातो वा धेरै चिसोमा संरक्षण गरिनु हुन्न । जाडोमा घ्यू चिसो भएर स्वर्ण प्राशन जम्न गएमा त्यसलाई भाँडोसँगै मनतातो पानीमा राख्ने र पघ्ली सकेपछि त्यसलाई हल्लाएर मात्र पुन: प्रयोग गनुपर्छ ।

स्वर्ण प्राशनको साइडइफेक्ट

अहिलेसम्मसम्म स्वर्ण प्राशनबारेमा भएका सबै अनुसन्धानहरूले यसलाई सतप्रतिशत साइडइफेक्ट रहित देखाएको छ । स्वर्ण प्राशनमा प्रयोग भएका घटकहरूको स्वाद र गन्धका कारण केही बच्चाहरूमा उल्टी हुनुबाहेक अहिलेसम्म अन्य कुनै नकरात्मक असर भेटिएको छैन ।

नानो मेडिसिनको नानो पार्टिकल र स्वर्ण प्राशनको स्वर्ण भष्म

स्वर्ण प्राशनको प्रमुख तत्व भनेको त्यसमा प्रयोग हुने शुद्ध सुन धातु नै हो । सुन एउटा यस्तो धातु मानिन्छ जो पाचन क्रियामा गए पनि त्यसमा कुनै रसायनिक रूपान्तरण हुँदैन साथै सुनको संगठन (कम्पोजिसन) मा पनि कुनै परिवर्तन आउँदैन ।

पछिल्ला दशकका अनुसन्धानहरूले के देखाइरहेको छन् भने आधुनिक नानो मेडिसिनमा रोगको परीक्षण एवं उपचारका लागि नानो पार्टिकलको रूपमा प्रयोग हुने सुन धातु जैवमैत्री (बायो–कम्प्याटिबल) हुन्छ ।

सुनलाई नानो पार्टिकल बनाउन विभिन्न रसायनिक विधि, इलेक्ट्रो केमिकल रेडिएसन विधि, फोटोकेमिकल विधि र जैविक विधिहरूद्वारा प्रशोधन गर्ने गरिन्छ । यसरी यी विधिबाट बनाइएको सुनको नानो पार्टिकल नानो मेडिसिनमा प्रयोगमा ल्याउँदा त्यसको शरीरमा निकै हानिकारक असरहरू हुनेहुन्छ ।

शुद्ध सुन धातुलाई जैविक तत्वहरू (बाईलोजिकल कन्जुगेट) जस्तै प्रोटिन, पेप्टाइड, फ्याटिएसिड्, एमिनोएसिड् आदिको साथमा मेडिसिनको रूपमा प्रयोग गर्दा त्यसबाट कुनै प्रकारको साइडइफेक्ट बिना सतप्रतिशत सुरुक्षित हुने गर्दछ । यसरी बनेको नानो मेडिसिनसँग एन्टी ब्याक्टेरियल, एन्टी क्यान्सर, एन्टी इन्फ्लामेटरी आदि प्रभावहरू हुने गर्दछ ।

स्वर्ण प्राशनले कसरी काम गर्दछ ?

शुद्ध सुन धातुको भष्ममा सुन धातुको नानो पार्टिकल विभिन्न सेप, साइज र कम्पोजिसनमा राखिन्छ जुन मह, जडीबुटी औषधीसिद्ध घ्यूले घेरिएको हुन्छ । यसरी घेरिएको सुनको नानो पार्टिकलले मल्टिभ्यालेन्सी देखाउने गर्दछ । साथै स्वर्ण प्राशनमा हुने विभिन्न सेप, साइज र कम्पोजिसनका सुनको नानो पार्टिकलले गर्दा नै स्वर्ण प्राशन कुनै एक रोगको विरुद्धमा मात्र नभएर धेरै खाले रोगहरूको विरुद्धमा एकसाथ नन–स्पेसिफिक एन्टीबडीरूपी जैविक इम्युनिटी उत्पादन गर्न सक्षम हुन्छ । यसै कारण स्वर्ण प्राशन कोभिड १९ का सबै खाले भेरियेन्ट वा म्युटेन्टका लागि पनि प्रभावकारी मानिन्छ ।

डेन्ड्राटिक सेललाई लक्षित गर्ने रणनीतिबाट विश्वमा धेरै इम्युनोथेरापीहरू र भ्याक्सिनहरूको विकास भएको छ । ती विधिहरू निकै प्रभावकारी पनि देखिएका छन् । त्यही रणनीति अन्तर्गत स्वर्ण प्राशनको पनि अनुसन्धान भएका छन् र वैज्ञानिकता पुष्टि गरिएको छ ।
डेन्ड्रिटिक सेल स्तनधारी जीवको इम्युन सिस्टममा हुने कोष हो जसको उत्पादन हड्डी भित्रको बोन म्यारो सेलबाट हुन्छ । यस सेलको कार्य भने शरीरभित्र शरीर बाहिरबाट आउने एन्टिजेन (संक्रामक तत्व–कोभिड १९ वा बीजातीय तत्व) लाई विभिन्न तरिकाले आफू भित्र हुल्दछ र एम्सीएच् ककप्लेक्स बनाउँछ । त्यसपछि त्यस एन्टीजेन विशेषलाई डेन्ड्रिटिक सेलले टी सेल (विशेष प्रकारको ह्वाइट ब्लड सेल) को अगाडि प्रस्तुत गर्दछ । टी सेलले प्रस्तुत उक्त एन्टिजेनको विरुद्धमा शरीरमा एन्टीबडीरूपी साइटोकाइन (रगतमा घुलनशील इम्युनी कारक तत्व आइएल ६, आइएल ७, आइएल १०, आइएल १२, आइएल २३, टीएनएफ र आइएनएफ उत्सर्जन गर्दछ । फलत: यसबाट युक्तिकृत बल
(एडप्टिभ इम्युनिटी) प्राप्त हुन्छ ।

नेपालमा स्वर्ण प्राशनको उपब्धता

स्वर्ण प्राशनको अभ्यास विशेषत आयुर्वेदीय बालरोग विशेषज्ञहरूले गराउने गरेको पाइन्छ । नेपालमा हालसम्म आधा दर्जन जति दर्तावाल विशेषज्ञ अयुर्वेद बालरोग चिकित्सकहरू छन् । अन्य विधाका विशेषज्ञ आयुर्वेदीय चिकित्सकहरू पनि यस विधिको अभ्यास गराउने आधिकारिक व्यक्तिहरू हुन् तर नेपालमा २३ जना आयुर्वेदीय स्त्री तथा प्रसुति रोग विशेषज्ञ चिकित्सकहरूले मात्र यसको औपचारिक अभ्यास गराउने गरेको तथ्याङ्क छ । त्यस अतिरिक्त केही आयुर्वेद चिकित्सकहरूले स्वर्ण प्राशन विन्दु बेच्ने एवं त्यस सम्बन्धी परामर्श दिने मात्र गरेको पाइन्छ । तयारी स्वर्ण प्राशन बिन्दु खरिद गर्न पनि मिल्छ । स्वर्ण प्राशन इम्युनिटी बढाउने पूर्णत: प्राकृतिक, सुरक्षित र प्रभावकारी विधि हो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइँको प्रतिक्रिया

फेसबुक