आइतबार, असोज ९, २०७९

संस्कृतिको संरक्षण किन ?

डा . लक्ष्मीप्रसाद खतिवडा२०७९ असार ७ गते १७:५४

डा . लक्ष्मीप्रसाद खतिवडा

संस्कृति भनेको समाजको सोच, विचार, काम गर्ने प्रकृति आदिमा निहित हुन्छ। प्रकृतिको मूल अवस्थाबाट संस्कार गरिएको मानवीय व्यवहार संस्कृति हो भने प्रकृतिलाई अपचलन गरिएको वा विचलित भएपछिको स्थितिलाई विकृति भनिन्छ।

संस्कृति भनेको प्राकृतिक वस्तु होइन। यो त सिक्ने वा आर्जन गर्ने वस्तु हो। संस्कृतिमा मानिसले जन्म वा वंशानुगत रूपमा प्राप्त हुने निश्चित व्यवहारहरू हुन्छन् भने व्यक्तिले आफ्ना पूर्वजहरूबाट सामाजिक व्यवहारहरू उत्तराधिकारका रुपमा प्राप्त गर्दछ। सांस्कृतिक सम्पदा भनेको विगतका पुस्ताहरूबाट विरासतमा प्राप्त समाजको मूर्त र अमूर्त सम्पदा हो। संस्कृतिमा मूर्त वा भौतिक र अमूर्त वा गैरभौतिक गरी दुईवटा छुट्टाछुट्टै विभागहरू हुन्छन्।

मूर्त संस्कृति

सांस्कृतिक सम्पदाका मूर्त संस्कृति जस्तै भवनहरू, स्मारकहरू, सामाजिक कलाकृति, सामाजिक परिवेशका परिदृश्यहरू, पुस्तकहरू आदि हुन्। यी सामान्यतया चल र अचल सम्पदा गरी दुई समूहमा विभाजित हुन्छन्। अचल सम्पदाले भवन, भवनका मानव निर्मित अङ्गहरू जस्तै झ्यालहरू (नेपालका सन्दर्भमा देशेमरु झ्या), भित्ते चित्रहरू आदि पर्दछन्। यिनमा कलात्मक सिर्जनाहरू, भवनहरू र स्मारकहरू जस्ता निर्मित सम्पदाहरू र मानव रचनात्मकताका अन्य भौतिक वा मूर्त उत्पादनहरू पर्दछन्। प्रतीकात्मक र साङ्केतिक विम्बहरुकै समष्टिबाट निर्मित पौराणिक कथावस्तुका रोचक घटनावलीलाई पछ्याएर बनाइएका विवाह, व्रत, चाडपर्व, पूजा आराधनाका लागि बनाइएका चित्र अचल संस्कृतिका नमुना हुन्।

त्यस्तै रङ्गशालाका प्रतिष्ठानहरू, कलात्मक आवासीय भवन वा ऐतिहासिक ठाउँ र स्मारकहरू मूर्त सम्पदा हुन्। यसमा निर्दिष्ट विम्वहरु विज्ञान वा प्रविधिका लागि समेत प्रेरणाका स्रोत हुनसक्छन्। मूर्त संस्कृतिको संरक्षणका पक्षहरू जस्तै संग्रहालय अभिलेख विज्ञान, पुरातात्विक महत्वका सांस्कृतिक सम्पदाको माइक्रो फिल्मिङ आदि सांस्कृतिक विज्ञानका क्षेत्र हुन्।

अमूर्त संस्कृति

अमूर्त वा अभौतिक संस्कृति विचार, आदर्श, भावना र विश्वाससँग सम्बन्धित हुन्छन्। लोकगीत, भाषा, परम्परागत ज्ञान, जैविक विविधता सहितका महत्त्वपूर्ण परिदृश्यहरू अमूर्त संस्कृति अन्तर्गत पर्दछन्। सामाजिक मूल्यमान्यता र परम्पराहरू, चालचलन र अभ्यासहरू, सौन्दर्य र आध्यात्मिक विश्वासहरू, कलात्मक अभिव्यक्ति, भाषा र मानव गतिविधिका उत्कृष्ट पक्षहरू पनि अमूर्त संस्कृति अन्तर्गत पर्दछन्। इतिहासको विशेष कालखण्डमा निर्मित सामाजिक रीतिरिवाजहरू, समाजमा व्यवहार गर्ने तरिकाहरू र औपचारिक सामाजिक नियमहरू पनि अमूर्त संस्कृतिका अङ्ग हुन्। युनेस्को (२००३) ले मानव व्यवहारका अभ्यास, सामाजिक प्रतिनिधित्व, सामाजिक अभिव्यक्ति, मानवीय ज्ञान, सीपलाई स्थानीय समुदायको सांस्कृतिक अंशको रूपमा पहिचान गरेको छ।

अमूर्त सांस्कृतिक सम्पदाको सुरक्षाको लागि युनेस्को महासन्धि (२००३) को अवधारणाको अनुमोदनलाई पक्षराष्ट्रले अनिवार्य पालन गर्नुपर्ने प्रावधान रहेको छ। महासन्धिले अमूर्त सांस्कृतिक सम्पदा र मूर्त सांस्कृतिक सम्पदा बीचको अन्तरनिर्भरतालाई परिभाषित गर्दै सांस्कृतिक विविधतालाई वैचारिक स्रोत र दिगो विकासको चालकको रूपमा पहिचान गरेको छ।

विश्व परिवेशमा सांस्कृतिक संरक्षण

मध्य युगको अन्धविश्वासको विरुद्धमा आधुनिक विज्ञानको जन्म भएको हो। तर यही विज्ञानका नाममा हाम्रा चालचलन, रीतिवाज, शिक्षा, स्वास्थ्य सबैलाई परिवर्तन गरी विज्ञान र संस्कृति भनेका फरक कुरा हुन् भनेर बुझ्यौ र बुझायौँ। आजको जमानामा विज्ञानले ठूलो सफलता हासिल गरेको छ। टेलिफोन, टेलिग्राफ, इन्टरनेट, मोटर, चलचित्र, हवाइजहाज आदि सबै आधुनिक विज्ञानका महान् उपलब्धि हुन्। जीवनमा यी तत्वहरूको महत्त्वपूर्ण भूमिका हुन्छ।

वैज्ञानिक र प्राविधिक विकासहरू अपरिवर्तनीय तथ्यहरूमा आधारित हुन्छन्। विज्ञानले तथ्य जाँच गर्ने, दिमागलाई घटना, वस्तु वा परिस्थितिको सम्बन्धमा स्पष्ट, वस्तुनिष्ठ हुन जोडदिन्छ भने संस्कृतिले मानवीय समस्यालाई उपयुक्त ढङ्गले समाधान गर्न र नयाँ मापदण्ड निर्माण गरी अधिकतम कार्य क्षमता हासिल गर्न प्रयास गरिरहेको हुन्छ। शिक्षा र संस्कृतिका क्षेत्रमा विज्ञानको महत्त्वपूर्ण भूमिकालाई ध्यानमा राख्दै संयुक्त राष्ट्र संघले युनेस्को स्थापना गरेको हो। युनेस्कोको काम शिक्षा र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नु हो।

युनेस्कोको पहलमा सन् १९५४ मा सांस्कृतिक सम्पदाको संरक्षणका लागि हेग कन्भेन्सनमा सांस्कृतिक संरक्षण सम्बन्धी सन्धिमा हस्ताक्षर भएको थियो। विशेष गरी पुरातात्विक क्षेत्रमा लुटपाट, खन्ने कामबाट रोकथाम, विश्वभरका चर्च, मस्जिद, मन्दिर र सङ्ग्रहालयहरूबाट कलाकृतिको चोरी हुनबाट रोक्ने उक्त सन्धिको मूल विषयवस्तु रहेको थियो। सांस्कृतिक सम्पदाको संरक्षण व्यावहारिक पहलमात्र नभएर कानुनी संरक्षण दिन अन्तर्राष्ट्रिय सम्झौता र कानूनहरूसमेत निर्माण गरी युनेस्कोले लागु गरेको छ।

संयुक्त राष्ट्र संघ, संयुक्त राष्ट्र शान्ति सेना, युनेस्को, रेड क्रसको अन्तर्राष्ट्रिय समिति र ब्लू शिल्ड इन्टरनेशनल जस्ता संस्थागत निकायहरुले सांस्कृतिक सम्पदाको संरक्षणमा संवेदनशील भएर काम गर्न विभिन्न सम्झौता गरेका छन्। दक्षिण एसियाली सम्पदाका हकमा शास्त्रीय सभ्यता विशेष गरी वैदिक सनातन परम्पराको संरक्षणलाई सर्वोच्च महत्त्व दिएका छन्। स्थानीय समुदाय र स्थानीय सहभागीता बिना सांस्कृतिक संरक्षण असम्भव हुने हुनाले नैतिकता र सामाजिक विचारहरूको ठोस आधार लिएर मात्र यस्तो काम सम्भव छ भन्ने संयुक्तराष्ट्र सङ्घ र युनेस्कोको निष्कर्ष रहेको छ।

दिगो विकास र संस्कृति

संस्कृति दिगो विकाससँग सम्बन्धित हुन्छ। दिगो विकास सांस्कृतिक अर्थशास्त्रको विषय हो। दिगो विकास भनेको आफ्नै पुस्ताको लागि मात्र नभएर भावी पुस्ताको समेत विकास सुनिश्चित गर्न नीतिगत मापदण्डको निर्माण गर्नु र भावी पुस्तालाई हस्तान्तरण गर्नु हो। संस्कृतिले दिगो विकासलाई अगाडि बढाउँछ। युनेस्कोको सन् २०१८ को प्रतिवेदन अनुसार सांस्कृतिक क्षेत्रका तथ्य, सूचक तथा तथ्याङ्कहरू र गतिविधिहरूले संस्कृति दिगो विकासको शक्तिशाली चालक हुन सक्छ भनेर देखाएको छ।

संस्कृतिले दिगो विकासलाई सक्षम बनाउँछ। कुनैपनि आर्थिक क्रियाकलाप गर्दा समुदायमा आधारित सकारात्मक सामाजिक, आर्थिक र वातावरणीय प्रभावहरु सहितको विकास अर्थतन्त्र विधि निर्माण गरी आर्थिक समृद्धिमा सांस्कृतिक क्षेत्रको योगदानबारे उल्लेख गर्नुपर्ने प्रावधान रहेको छ। सांस्कृतिक सम्पदा, सांस्कृतिक र रचनात्मक उद्योग, दिगो सांस्कृतिक पर्यटन र सांस्कृतिक पूर्वाधार सहितको समृद्ध श्रमशक्ति निर्माणमा जोड दिइएको छ।

सामाजिक समावेशीकरण दिगो विकासको लागि अपरिहार्य अङ्ग हो। दिगो विकासका लागि लक्षित एजेन्डा (२०३०) ले विकासका चुनौतीहरू र अवसरहरूलाई सम्बोधन गर्न स्थानीय समुदाय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारवालाहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने भन्ने संयुक्त राष्ट्र सङ्घ र युनेस्कोको निष्कर्ष रहेको छ।

स्थानीय संस्कृति, परम्परागत ज्ञान प्रणाली र वातावरणीय व्यवस्थापनले पारिस्थितिक चुनौतीहरूको सामना गर्न, जैविक विविधताको संरक्षण गर्न, जलवायु परिवर्तनको प्रभाव कम, नयाँ नयाँ खाद्यान्न वनस्पतिको पहिचान गरी धान, मकै, गहुँ र आलुमा निर्भर रहेको जनसङ्ख्यालाई थप खाद्यान्नको खोजी गर्न मद्दत गर्दछ। यसले सांस्कृतिक पुँजीको संरक्षण गर्दै भावी पुस्ताप्रति विचार र जिम्मेवारी हस्तान्तरण गर्छ। संस्थागत मान्यताले सांस्कृतिक पूँजीलाई आर्थिक पूँजीमा रूपान्तरण गर्न सहयोग पुर्‍याउँछ। सांस्कृतिक पुँजीबाट विभिन्न फाइदाहरू लिन सकिन्छ। सांस्कृतिक पूंजीको क्षमता वृद्धि गरिएन भने यसले समाजमा द्वन्द्व निम्त्याउँछ।

संस्कृतिका विशेषता

संस्कृतिका आफ्नै विशेषताहरू हुन्छन्। संस्कृति संचयीकृत हुन्छ। संस्कृतिमा समावेश भएका विभिन्न ज्ञानहरू एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएका हुन्छन्। संस्कृति परिवर्तनशील हुन्छ। ज्ञान, विचार र परम्पराहरू अद्यावधिक र नयाँ संस्कृतिसँग अन्तरघुलित हुन्छन्। संस्कृति भनेको जीवन पद्धति हो। हामीले खाने खाना, लगाउने लुगा, बोल्ने भाषा र पूजा गर्ने भगवान र हामीले सोच्ने पद्धतिको प्रतीक हो संस्कृति। संस्कृतिले मूर्त र अमूर्त वा भौतिक र अभौतिक वस्तु र भावनाहरू, विचारहरू समेटेको हुन्छ जुन हामीले परिवार र समाजको सदस्यको रूपमा पुस्ता दरपुस्ता प्राप्त गरेका हुन्छौं।

संस्कृति गतिशील हुन्छ। संस्कृति स्थिर वा स्थायी हुँदैन। समय बित्दै जाँदा संस्कृति निरन्तर गतिशील हुँदै जान्छ र यसमा नयाँ विचार र नयाँ सीपहरू थपिन्छन् र पुराना तरिकाहरू परिवर्तन हुन्छन्। संस्कृति वैचारिक स्वरुपको हुन्छ। व्यक्तिले समाजमा सांस्कृतिक विचार र व्यवहार पालना गर्ने अपेक्षा गरिन्छ र समयक्रममा यसले सामाजिक स्वीकृति प्राप्त गर्छ र आदर्श सभ्यतामा परिणत हुन्छ।

संस्कृति समाज र देश अनुसार फरक हुन्छ। यसको विकास ऐतिहासिक ज्ञान र ज्ञान हस्तान्तरण प्रक्रिया एवम् सामाजिक वा राष्ट्रिय सन्दर्भमा राजनीति र आर्थिक प्रणालीमा समेत आधारित हुन्छ। उदाहरणका लागि, हाम्रो अभिवादन गर्ने तरिका, पहिरनमा, खानपिनमा, पारिवारिक सम्बन्धमा, सामाजिक र धार्मिक रीतिरिवाज र विश्वासहरूमा अरुको भन्दा फरक तरिका रहेको छ।

सांस्कृतिक अपचलन कि हस्तक्षेप ?

संस्कृति गतिशील र परिवर्तनशील हुने भएकाले यसमा हस्तक्षेप हुने सम्भावना पनि हुन्छ। यस्ता हस्तक्षेपबाट जोगिनु हाम्रो कर्तब्य हो। नेपाली जीवन, कला कौशल, ज्ञान विज्ञान, हाम्रो सामाजिक जीवन, व्यापार, सङ्गठन, उत्सव, चाडपर्व आदि सबै संस्कृतिका अङ्ग हुन्। तर यस्ता दैनन्दिन व्यवहारमा हाम्रा मौलिक मूल्य र मान्यता हराउन थालेका छन्।

एकातिर पाश्चात्य संस्कृतिको प्रभावका कारण नेपालीहरू आफ्नो धर्म, दर्शन र संस्कृति बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेका छन्। आफ्नो रहनसहन, भाषा, भावना र विचारलाई त्यागेर आफ्नो सांस्कृतिक स्वाभिमान बिर्सदैछन्। आज हामी पश्चिमको नक्कल गर्ने व्यावहारिक अभ्यासदेखि साहित्यिक चिन्तनका क्षेत्रमा प्रवेश गरिसकेका छौँ। मौलिक सांस्कृतिक तथ्य र प्रेरणालाई बिर्सेर पश्चिमको नक्कल गर्नु हाम्रो संस्कृतिको हिस्सा बनेको छ।

हामी विद्यालय वा विश्वविद्यालयमा पढेको ४-५ घण्टाको कुरालाई विज्ञान भन्छौँ भने १९-२० घण्टा घर परिवार र सामाजिक समुहमा गरिएका व्यवहार र सोचलाई अन्धविश्वास भन्छौँ। यो सोच नेपाली समाजमा अत्यन्तै खतराको घण्टीको रुपमा देखापरेको छ।

धर्मले संस्कृतिको निर्माण गर्छ। संस्कृतिले सभ्यताको। जस्तै भौतिक संस्कृति (ट्यान्जिवल कल्चर) र अभौतिक सम्स्कृति (इन्ट्यान्जिवल कल्चर)। पाश्चात्य विद्वानहरु समेत सोझै क्रिश्चियन धर्मले निर्माण गरेको संस्कृति (इन्ट्यान्जिवल कल्चर) र सभ्यता (ट्यान्जिवल कल्चर) भन्दैनन्। धर्मको नाम उच्चारण नगरिकन केवल संस्कृतिको मात्र वकालत गर्छन्। सबैलाई आफ्ना पुर्वजको धर्मले निर्माण गरेको संस्कृतिको रक्षा गर्ने हक छ। तर हामी क्रिश्चियन धर्मले निर्माण गरेका पाश्चात्य सांस्कृतिक चालचलनलाई चाहि सभ्यताका प्रतीकका रुपमा ग्रहण गर्छौँ। यो हाम्रो सांस्कृतिक अपचलन हो कि संस्कृति माथिको हस्तक्षेप हो ?

शिक्षा र विज्ञानका लागि पाश्चात्य ज्ञान सिक्नु, जान्नु पर्छ तर पाश्चात्य संस्कृति चाहिँ विज्ञान र हाम्रो संस्कृति चाहिँ अन्धविश्वास हो भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ। सांस्कृतिक द्वन्द्व राजनीतिमा प्रतिविम्बित हुनथाल्यो भने त्यस्तो द्वन्द्व नियन्त्रणभन्दा बाहिर जानसक्छ। बेलैमा सचेत रहौँ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइँको प्रतिक्रिया

फेसबुक