बुधबार, वैशाख १२, २०८१

राष्ट्रिय सभामा बहुमत नपुगेपछि फ्रान्सेली राष्ट्रपती नैतिक अप्ठेरोमा

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असार ६ गते १८:२३

एमानुयल माख्रों

फ्रान्सेली राष्ट्रपती एमानुएल माख्रोंले आइतवार भएको राष्ट्रिय सभा निर्वाचनमा पूर्ण बहुमत नपाउने भएपछि नैतिक अप्ठेरामा पर्ने भएका छन् । आइतवार, जुन १९ मा भएको निर्वाचनमा गठबन्धन सँगै राष्ट्रपतिको पार्टी, रनेसँस (पूर्व-ला रिपब्लिक अँ माश) ले पूर्ण बहुमत ल्याउन सकेन । मोडेम, होराइजन्सलाई सँगै ल्याएर गठबन्धन निर्माण गर्दै उनको पार्टीले विधायिका चुनावमा ३८ दशमलव ६३ प्रतिशत मत मात्र प्राप्त गर्‍यो । प्रतिनिधिहरूको २४६ सीटहरू जित्यो ।

पूर्ण बहुमत ल्याउन २८९ सिट ल्याउनु आवश्यक थियो, तर राष्ट्रपतीको पार्टीले सकेन । यो सुविधा प्राप्त नभएकाले एमानुएल माख्रों आफ्ना कानूनहरू पारित गर्न विभिन्न पक्षहरूसँग वार्ता गर्न बाध्य हुनेछन् । उनले आफ्नो पहिलो कार्यकाल २०१७ देखि २०२२ सम्म अन्य दलसित सहमतिको आवश्यक थिएन, किनकि उनले पूर्ण बहुमत ल्याएका थिए ।

ला नुप्स [१] – समाजवादी पार्टी (पिएस) मार्फत ला फ्रंस आँसुमिज (एल एफ ई) देखि यूरोप एकोलोजी ले भेयर (ई ई एल भी) सम्मको वामपन्थी पार्टीहरूको गठबन्धन थियो । यो गठबन्धन देशको दोस्रो राजनीतिक शक्ति बन्यो । यिनले ३२ दशमलव ६४ प्रतिशत मत अर्थात् १४२ सीट जिते । विभिन्न वामपन्थी लेबल अन्तर्गत अन्य बाईस प्रतिनिधिहरू पनि निर्वाचित भएका छन् ।

ल मोंद दैनिक अखवारद्वारा संकलित तथ्याङ्क अनुसार राष्ट्रपति चुनावमा आफ्नो तेस्रो स्थानको आधारमा सबैभन्दा धेरै उम्मेद्वारहरू प्रस्तुत गर्ने ला फ्रंस अँसुमिजले ७२ सीटहरू जित्यो । २०१७ को तुलनामा एक महत्त्वपूर्ण लाभ हासिल गर्‍यो । किनकि अँसुमिजले पहिले एक्लै मात्र सत्र निर्वाचन क्षेत्रमा जितेको थियो ।

ईईएलभी र वातावरणीय पक्षका विभिन्न दलले २३ सिट जम्मा गरेका छन् । समाजवादी पार्टी (पि एस) ले २६ सिट जित्यो । २०१७ देखि २०२२ सम्म यसमा २८ सांसदहरूको समूह थियो । नुप्सको तर्फबाट ४९ जना उम्मेदवार बनाएको पिसिएफले १२ वटा निर्वाचन क्षेत्रमा मात्रै सिट जितेको छ । नुप्सको राजनीतिक शक्ति एउटै समूहमा बस्ने कि छुट्टाछुट्टै बस्ने भन्ने टुंगो छैन ।

नेशनल र्‍याली (आरएन) एक अति दक्षिणपन्थी पार्टीले १७ दशमलव ३० प्रतिशत मत वा ८९ सीटहरू प्राप्त गरेर ऐतिहासिक् बिजय प्राप्त गरेको छ । पाँच वर्षअघि यो लेबलमा आठ जना सांसद मात्रै निर्वाचित भएका थिए । राष्ट्रपति चुनाव पछि द रिपब्लिकन (एल आर) पार्टीले मात्र ६ दशमलव ९८ प्रतिशत भोट वा ६१ सीटहरू जित्यो।

मतदाता सूचीमा दर्ता भएका ४६ दशमलव २३ प्रतिशत फ्रान्सेली जनताले मात्र यो राष्ट्रिय सभा चुनावहरूमा मतदान गर्न गए । मतदानमा अनुपस्थिति संख्या बढेर ५३ दशमलव ७७ प्रतिशत पुगेको छ ।

तीन मन्त्रीले राजीनामा दिनुपर्ने

राष्ट्रपतिको गठबन्धन भोट र सीट संख्यामा पहिलो फ्रान्सेली राजनीतिक शक्ति बने पनि यो एमानुएल माख्रोंका लागि ठूलो धक्का हो । उनले राष्ट्रिय सभामा पूर्ण बहुमत मात्र जित्न सकेनन्, उनका तीनजना मन्त्री पराजितसमेत भए ।

जस्टिन बेनिन समुद्री मन्त्री, ग्वाडेलोपको दोस्रो निर्वाचन क्षेत्रमा विभिन्न वामपन्थी उम्मेद्वार क्रिश्चियन ब्याप्टिस्ट सँग ४१ दशमलव ३५ प्रतिशत मत ल्याएर पराजित भए । उनका प्रतिद्वन्दीले ५८ दशमलव ६५ प्रतिशत ल्याए । पा-द कालेको छैटौं निर्वाचन क्षेत्रमा स्वास्थ्य मन्त्री, ब्रिजिट बुर्गुनियोंले नेशनल र्‍यालीका प्रतिनिधि क्रिस्टिन इङ्ग्रान्डसँग पराजय भोगिन ।

वातावरण मन्त्री द मोसालिन पनि एस्सोनको छैटौं निर्वाचन क्षेत्रबाट पराजित भईन् । उनले नुप्सको जेरोम गुएज (५३.३६%) का उम्मेद्वार विरुद्ध मात्र ४६.६४% प्राप्त गरिन् ।

एमानुएल माख्रोंले चेतावनी दिएका थिए: पराजित हुने मन्त्रीहरूले सरकार छोड्नुपर्नेछ। त्यसैले आगामी दिनहरूमा तिनले राजिनामा दिनेपर्ने छ ।

अप्ठेरामा राष्ट्रपती

फ्रान्सका राष्ट्रपती यो राष्ट्रिय सभाको परिणामबाट अप्ठेरामा पर्ने भएका छन् । राष्ट्रिय निति निर्माणमा अब उनको पार्टीको एकल निर्णय नहुने भएको छ । संसदमा आफ्नो पूर्ण बहुमत नआएपछि अब उनले बहुमत पुर्‍याउन कि त गढबन्धनलाई फुटाएर केहि दललाई आफ्नो समर्थनमा तान्न सक्नुपर्छ । वा गठबन्धनसँगै सहमति गर्नुपर्छ । त्यससरि गठबन्धन गर्दा तिनले आफ्नो पार्टीको निति अनुसार अनेक शर्त र मन्त्री पदको दाउ राख्न सक्छन् । ति पार्टीका केहि निति लागु गर्न सहमति जनाउनुपर्छ । त्यस्तो सहमतिले राष्ट्रपतीले चाहे अनुसार आफ्ना निति लागु गर्न सक्ने छैनन् ।

कतिपय पार्टी त प्रधानमन्त्रीको पार्टीको निति भन्दा निकै परका छन् । जस्तो, मारिन ल पेनको पार्टीको निति र राष्ट्रपतीको पार्टीको नितिमा आकाश जमिनको भिन्नता छ । फ्रान्सलाई ईयुबाट बाहिर निकाल्नुपर्ने, फ्रान्सेली मुद्रा युरो त्यागेर फ्र्यांकनै बनाउनुपर्ने, आप्रवाशीहरुमाथि कडा निति अँगाल्नुपर्ने, रुससितको संवन्ध अहिलेको जस्तो कडा हुन नहुने वा ईयुले चाहे जस्तो हुननहुने लगायत धेरै नितिहरु माख्रोंको पार्टीको भन्दा कडा छन् । यस्तो पार्टीसित यदि मिलेर सरकारमा सँगै काम गर्नुपरेमा माख्रोंलाई सहज हुने छैन ।

आफ्नै देशको राष्ट्रिय सभा निर्वाचनमा बहुमत ल्याउन नसकेपछि यसले राष्ट्रपती माख्रोंलाई इयुको नेत्रित्वमापनि नैतिक चुनौति थपिने छ । अहिले इयुको नेत्रित्व फ्रान्सले गरिरहेको छ । माख्रों इयुको सर्वशक्ति, बलियो राजनेता हुने आकांक्षा राख्छन् । यस्तो आकांक्षीले आफ्नै देशमा बलियो, सर्वश्रेष्ठ प्रमाणित गर्न नसक्दा २७ देशको बलियो, विश्वाशिलो र भरपर्दो नेता बन्न नैतिकरुपलेपनि असहज बनाइदिन्छ । त्यसैले अहिलेको विधान सभा निर्वाचन राष्ट्रपती एमानुएल माख्रोंकालागि चुनौतिपूर्ण बनेको छ ।

तपाइँको प्रतिक्रिया