बिहीबार, चैत १५, २०८०

सन् २०२४ बाट सगरमाथाको आधार शिविर सार्ने तयारि

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असार ८ गते ११:३२

Photo Courtesy: Karma Sherpa

हिमनदी पग्लनाले नेपाललाई सन् २०२४ सम्ममा सगरमाथाको आधार शिविर सार्ने तयारि भैरहेको फ्रान्सेली मेडियाले उल्लेख गरेको छ ।

जलवायु परिवर्तन र मानवीय गतिविधिले अहिलेको स्थानलाई असुरक्षित बनाएपछि नेपालले सगरमाथाको आधार शिविर ४०० मिटर तल लैजाने तयारीमा गरेको फ्रान्सबाट प्रकाशित युरोन्युजले उल्लेख गरेको हो ।

युरोन्युजले लेखेको छ- विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथामा दुईवटा आधार शिविरहरू छन्, जसमा नेपालको दक्षिणी साइट सबैभन्दा लोकप्रिय छ । यो ५,३६४ मिटरको उचाइमा छ । सगरमाथाको चुचुरो आरोहण गर्न चाहने आरोहीहरूको लागि सुरूवात बिन्दु यहि हो र अब यो असुरक्षित भएपछि चार सय मिटर तल सार्ने तयारि गरिएको हो ।

तर वसन्त ऋतुमा सगरमाथाको टुप्पोमा पुग्नेहरुको तुलनामा धेरै मानिसहरू शिविरमै गुज्रने गरेको र हरेक वर्ष लगभग १,५०० साहसी पर्वतारोहिहरुले शिविर प्रयोग गर्ने गरेको समाचारमा उल्लेख छ ।

नेपालको आधार शिविर खुम्बु हिमनदीमा अवस्थित छ जुन जलवायु परिवर्तनले खतरामा परेकोले बरफको फैलावट बढेको छ  । यहाँको बरफ द्रुत गतिमा पातलो हुँदै गएको छ र आरोहीहरूले सुत्ने क्रममा चट्टान झैं जमेर बसेका हिउँका ढिक्काहरु खुल्न थालेको बताएका छन् । बढ्दो चट्टान झर्ने र हिमनदीको सतहमा पानीले आधार शिविरलाई असुरक्षित बनाउँदै लगेको समाचारमा जनाईएको छ।

सन् २०१८ मा बेलायतको द युनिभर्सिटी अफ लीड्सको अनुसन्धानले यस क्षेत्रको हिमनदीको एक भाग प्रतिवर्ष एक मिटरको दरले पातलो हुँदै गएको पत्ता लगाएको थियो । विज्ञहरूका अनुसार यसको मतलब हरेक वर्ष करिब ९५ लाख घनमिटर पानी पग्लेर गैरहेको छ  ।

“वैज्ञानिकहरूले हिमनदीमा यसको तापक्रम मापन गर्न खोपेर हेर्दा तिनीहरूले सोचे भन्दा धेरै न्यानो थियो” रिपोर्टमा भनिएको छ ।

नेपालको व्यस्त सगरमाथा आधार शिविरलाई कसरी सार्दै हुनुहुन्छ ?

नेपाल सरकारले सगरमाथा आरोहण अनुगमन गर्न गठित समितिको सिफारिसमा आधार शिविर सार्ने योजना आएको हो ।

जलवायु परिवर्तनले हिमनदीलाई अस्थिर बनाएको मात्र होइन हरेक वर्ष शिविरबाट माथितिर जानेको संख्याले पनि प्रभाव परेको छ ।

“हामीले आधार शिविरमा हरेक दिन करिब ४,००० लिटर पिसाब फेला पारेका छौं” यस कदमको हेरचाह गर्ने समितिका सदस्य खिमलाल गौतमले बीबीसीलाई भनेको भन्दै युरोन्युजले उल्लेख गरेको छ ।

खाना पकाउन वा न्यानो रहन जलाइने मट्टितेल र ग्यासजस्ता ठूलो मात्रामा प्रयोग गरिने इन्धनले पनि हिमनदीमा असर गरिरहेको उनको भनाइ छ । विगतका वर्षहरूमा सरकारले पर्वतारोहीहरूले पर्वतमा छोडेका उपकरण र फोहोर सफा गर्न हप्ता दिन खर्च गर्नुपरेको थियो ।

नेपालले वर्षभरि बरफ नहुने ठाउँ कम उचाइमा भेट्टाउने आशा गरेको छ । टोलीले नयाँ स्थानको प्राविधिक र वातावरणीय आवश्यकताहरूको मूल्याङ्कन गरेपछि अधिकारीहरूले स्थानीय समुदायहरूसँग यस कदमको बारेमा छलफल गर्ने भएका छन् ।

अधिकारीहरुले हालको शिविरले अझै तीन देखि चार वर्षको लागि धान्न सक्ने तर सन् २०२४ बाट त्यसले धान्न नसक्ने अवस्था आउनसक्ने बताएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक