शनिबार, वैशाख १५, २०८१

कथा : बटुक प्रसाद- २

रामचन्द्र सापकोटा२०७९ असार ११ गते ५:०५

(यो कथाको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुस्)

रामचन्द्र सापकोटा

बटुक प्रसादको निकै फरक तरिकाले अन्त्य भएको थियो । उसलेले बिहे गरे पछि जब उ पहाडबाट तराई झर्यो उसका यस्ता दिनहरु शुरु भए जसले उसको आगामी जिन्दगी कहिल्यैं नसम्हालिने गरि खल्बलियो । दुःखले धेरै समयसम्म छोडेन । शिक्षकको जागीरले बुढा बुढीको गुजारा चलाउन गाह्रो परेको बटुक प्रसादले मर्ने बेलासम्म पनि बिर्सेन । खै कसरी भयो, माया छोरी जन्मे पछि सबै ठीक हुँदै गयो ।

माया, बटुक प्रसादको जेठी छोरी थिई । जो बिछट्टै राम्री र असाध्यै बुद्धिमान थिई। बटुक प्रसादले मायालाई आफ्नो भाग्य फेर्न सक्ने आँटिली छोरी तथा आफ्नो ‘लक्की चार्म’ मान्दथ्यो । उसलाई यस्तो लाग्दथ्यो- यो छोरी मात्र जन्मेको होइन उ सँगै बटुक परिवारको भाग्यपनि जन्मेको हो ।

हुन पनि छोरी जन्मे पछि उसले बिस्तारै सम्पति जोड्न थालेको थियो । उसले सरकारी नोकरी सँगसँगै आफ्नै व्यवसाय पनि शुरु गर्यो । सम्पत्ति थपिंदै गयो । ब्यापार फस्टायो । तीन वर्ष पछि अर्को छोरो पनि जन्मियो । सन्तान सोचे जस्ता, धन सम्पत्ति खोजे जस्तो । कस्तो पो भयो जिन्दगी । बटुक प्रसादले भन्ने गर्थ्यो “जिन्दगी त्यति लामो छैन।” त्यसैले उ छोटो समयमा धेरै पैसा कमाउन चाहन्थ्यो । त्यतिखेर विदेश जाने लहड भर्खर-भर्खर चलेको थियो। उसले आफू सरकारी जागीर छाडेर विदेश जान मन गरेन । बरु श्रीमतीलाई रोजगारीको लागि विदेश पठाउने निधो गर्यो । श्रीमतीसँग सल्लाह गरेर उसलाई विदेश पठायो ।

यता उसका छोरी र छोरा सानै थिए । शिक्षकको जागिर खाने वा व्यवसाय चलाउने उसलाई धौ धौ भयो । निकै सास्तिका ३,४ वर्ष बिते । विदेशमा उसकी श्रीमतीले मनग्य पैसा कमाउन सकिन, नेपाल फर्कि । दुःख पाएकोले होला उ निचरेको कागती झै देखिन्थी । बटुक प्रसादले श्रीमतीलाई माया होइन हेला गर्न थाल्यो । उनीहरुको दिनहुँजसो झगडा पर्दथ्यो । हुँदा हुँदा बटुकले अब अर्की श्रीमती ल्याउने कुरा समेत गर्न थाल्यो । हुन त यो सबमा उसकी श्रीमतीको दोष थिएन । समय परिस्थिति नै त्यस्तै आईलाग्यो ।

बटुक प्रसादमा पैसाको नसा चढेको थियो । गाउँलेहरुले पनि झगडाको मुल चुरो बुझ्न सकेका थिएनन । पल्लाघरे जेठा बाले सम्झाए पनि । तर बटुक प्रसाद आफ्नै अड्डिमा थियो । उल्टो ति जेठा बालाई हकारेर पठायो । माया छोरी अब कुरा बुझ्ने भइसकेकी थिई जो उमेरले १२ वर्ष पनि नाघिसकेकि थिई ।

एक दिन बटुक प्रसादका श्रीमान श्रीमतीको झगडाले उग्र रुप लिंदै गरेको थियो । उसले धेरै बेर देखि आफ्ना बाउ आमाको झगडा सुनिरहेकी थिई । एक दुई पटक त झगडा रोक्न पनि खोजी । तर को रोकिने ? खाटमा बसिरहेको भाइलाई च्याप्प समातेर आँगनमा निस्किइ । मायाँको निधारमा चिट्चिट पसिना निस्केका थिए । आँखामा आँसु । फरक्क फर्केर बा आमा दुवैलाई भनी- ‘हामीलाई तिमीहरुको संसारमा बाँच्नु छैन । तिमीहरु झगडा गर्दै गर, हामी नदीमा डुबेर मर्न जान्छौं ।’

मायाले पछाडि पनि फर्केर हेरिन । काखमा च्यापेको सानो भाई रुन थाल्यो । बुढा-बुढी मुखमा हेराहेर गरे । दुवै बोल्न सकेनन् । कस्तो अचम्म ! कल्पना नै गर्न नसकेको कुरा छोरीले गरि । हाम्रो झगडाले कतिसम्म दिक्क भएकि रैछ त छोरी । बटुक प्रसादलाई धिक्कार लाग्यो र छोरीलाई फर्काउन गयो । छोरा छोरीलाई काखमा राखेर रुन थाल्यो । जीवनमा पहिलो पटक अति विघ्न रोयो ऊ ।

माया त अझै जिद्दी गर्दै थिइ- फर्किन मानिन ।

बटुकले उसको गालामा मुसार्दै भन्यो- ‘अबदेखि हामी कहिल्यै पनि झगडा गर्ने छैनौं ।’

झगडा गरेनन पनि । बटुकको जिन्दगीमा धेरै अगाडि कल्पना गरेको त्यो दिन फर्केर आयो । धन सम्पत्ति कमाएकै थिए । घरमा झगडा नहुँदाको आनन्द अर्कै हुन्थ्यो, त्यो पायो ।

उक्त परिवारको दिनहरु सबै सुख सुविधा सँगै कटिरहेको थियो। एक दिन दैव निष्ठुरी बन्यो । सवारी दुर्घटनामा परेर बटुककी श्रीमतीको निधन भयो । केही वर्षमा बटुकले छोरी छोरा दुबैको विहे गरिदियो । मायाले आमाको मृत्‍यु पछी कती पटक भनी- बाबाले विहे गर्नुस भनेर । तर बटुकले मानेन । बरु भन्यो- यो मेरो नाती नातिना खेलाउने उमेर हो । कहाँ बिहे गर्छु अब ? केहि समय पछि नाती नातिना पनि भए । फेरी उसले खोजेजस्तै जिन्दगी शुरु भए झैं लाग्यो ।

तर त्यो खुशी धेरै बेर टिक्न सकेन । छोराले विदेश जाने अड्डी कस्यो । बटुकले रोक्न सकेन । जिन्दगी फेरि एक्लो भयो । हिंड्ने बेलामा छोरोले उमंगकासाथ भनेको थियो- म अलिकती ब्यवस्थित भएपछी तपाईं पनि उतै आउनु होला । उतै बसौंला नि । केटाकेटीले पनि त्यता राम्रो शिक्षा पाउँछन ।’

बटुकले नसुने झैं गर्‍यो । छोरो, बुहारी, नाती नातिना सबै निस्किए । उसलाई हात हल्लाउन पनि मन लागेन । के भयो कुन्नी मुटु थिच्चिए झैं भयो । त्यो साँझ बटुक प्रसादले आफ्नी स्वर्गिय श्रीमतीको फोटो हेरेर धेरै बेर रोयो । कहिलेकाहिं संसार अचानक अँध्यारो देखिन्छ । बटुक प्रसादले पनि जताततै अँध्यारो देख्यो । जिन्दगी त अलपत्र परेझैं लाग्यो । जब अगाडि हिंड्ने सबै बाटाहरु बन्द भएको देखिन्छ तब त्यत्रो सम्पत्तिको भारी बोकेर कता जानु ? घरमा कोही नहुँदाको खाली जीवन पनि अजिवको हुँदो रहेछ । बुढेसकाल पुग्नै लाग्दा उसले महशुस गर्‍यो ।

बिच बिचमा छोराले फोन गरेर आफूसँगै आउन नभनेको होइन । तर कुन्नी किन हो उसको मनै देखि जहाज चढ्ने धोको पलाएन । माया मात्र थिइ उसको सहारा । कहिलेकाहिं भेट्न आउँथी । तर अर्काको घरमा गएकी छोरीले आफ्नो रेखदेख गरेको उसलाई कत्ति पनि चित्तबुझेको थिएन । भन्यो पनि । छोरीले मानिन।

बरु भनी- तपाईं भाईसँग जानुभयो भने मैले स्याहार गर्नै पर्दैन ।

त्यो उ विरामी परे पछीको कुरा थियो । छोरीको कुरा नमानेर साध्य भएन । विरामी हुँदा उसका दिमागमा अनेक तर्कना आएका थिए । एक पटक त विहे गर्ने बारेमा पनि सोच्यो । छ्या के भन्ला यो समाजले ! तै पनि जिउने आधार त साथी संगती पनि हुन । साथीको आवश्यकता त बुढेसकालमा पो बढी हुँदो रहेछ । तर समाज त छ नि । त्यो बुढेसकालमा जोडीन आउने साथीलाई कसरी हेर्छ समाजले । उसले जीवनमा पहिलो पटक दुनियाँको सबैभन्दा ठूलो अदालत समाज नै भएको ठोकुवा गर्‍यो । त्यसैले बटुकले विदेश जाने छोरीको प्रस्ताव स्विकार्‍यो ।

छोरा बुहारीले एक महिना मै बटुकलाई अनेक बाहानामा नेपाल पठाए । मायाको बाउ छोरीलाई उसको भाई प्रति अत्यन्तै रिस उठ्यो, तर गरोस् के ? आखिर बटुक फेरि पनि घरमा एक्लो हुने नै भयो । त्यहिंबाट उसले बाँच्न सिक्यो ।

पल्लाघरे जेठाबा आध्यात्मी थिए । तिनको ज्ञानको पुन्ज जिल्लाभरी फैलिएको थियो । बटुक प्रसादले एक दिन भेट्न पनि खोज्यो, तर हिम्मत आएन । कम्ता हकारेको होइन त्यो बेला ति जेठाबालाई । एक दिन जेठा बाले नै उनलाई भेट्न बोलाए। दुवै बुढाहरुको भेटमा एउटा अर्थपूर्ण जुक्ति निस्कियो जसले गर्दा बटुक प्रसाद कहिल्यै एक्लो हुन नपर्ने गरी खुशी भयो ।

सम्पत्ति सबै बेचेर गरिव र असहायहरुको सेवामा लगाउने निर्णय कम्तासँग माथिंगल हल्लाउने खालको थिएन । तर त्यस्तो निर्णय गर्दा पनि बटुकलाई कत्ती पिरलो भएन । एक दुई पटक मायाले सम्झाएकी पनि थिई, तर उसले मानेन । कोष बन्यो । त्यसैलाई मियो बनाएर दर्जनौं दुःखी गरिवले पढिरहेका छन ।

बाउको किरिया गरेपछी उमंग फर्केर गैसकेको थियो । उसले बाउले संचालनमा ल्याएको कोषबाट चलेका भव्य राधाकृष्णधाम नामक धर्मशाला, वृद्धाश्रम र अनाथ आश्रमा रुची देखाएन, उ विदेश फर्कियो । अहिले कोषको संरक्षक छोरी माया छ । कोष बाहिरको चौरमा बटुक प्रसादको मूर्ती छ । दर्जनौं मान्छेहरुले हरेक दिन मूर्तीलाई ढोग गर्छन् । एक साता अघि मात्र बटुक प्रसादलाई एउटा पुरस्कारले सम्मान गरिएको छ । आखिर बाँच्नु भनेको के रहेछ !

तपाइँको प्रतिक्रिया