आइतबार, साउन २९, २०७९

भारतीय गुडसँग प्रतिस्पर्धा गर्न नसक्दा धमाधम बन्द हुँदै नेपाली गुड उद्योग

गोपालजंग थापा२०७९ असार ८ गते १८:५५

गोपालजंग थापा

उखुको राम्रो उत्पादन भएर प्रशस्त गुड बनाइने कैलाली टीकापुर नगरपालिकाको बाढी प्रभावित क्षेत्र श्रीलङ्कामा गुड उद्योग विस्तारै बन्द हुन थालेका छन् । कर्णाली नदीबाट हरेक वर्षामा आउने बाढीले यहाँ वितण्डा नै मच्चाउने गर्दछ। नदीको बीचमा भएको टापु अर्थात वरिपरिबाट नदीले घेरिएका कारण यो ठाउँलाई श्रीलङ्का भनिएको स्थानीय बताउँछन्।

भारतसँग सिमा जोडिएको नेपाली बस्ती श्रीलङ्कामा अन्नबाली राम्रो फल्ने भएकाले यस ठाउँलाई उर्वर भूमि मानिन्छ। धान, गहुँ, मकै स्थानीय किसानले लगाउने मुख्य वालीहरू हुन। यी वालीहरू मध्ये श्रीलङ्कामा उखु पनि राम्रै उत्पादन हुन्छ। उखु खेती राम्रो हुने भएकाले यहाँ गुड उद्योगहरू सञ्चालनमा छन्।

वि.सं. २०५४/०५५ सालमा नै श्रीलङ्कामा गुड बनाउने उद्योगहरू (गुड मिलहरू) स्थापना भएका थिए। दुःखद कुरा पछिल्लो समय गुड मीलहरू धमाधम बन्द हुन थालेका छन्।

तयारी गुड

पूर्णागिरी गुड उद्योगका सञ्चालक झपटबहादुर बुढा राज्यको बेवास्ताका कारण ठूलो सम्भावना भएर पनि गुड उद्योग फस्टाउन नसकेको बताउँनुहुन्छ । उहाँले स्थानीय स्तरमा सञ्चालित घरेलु उद्योगहरूको दीर्घकालीन संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनका लागि सहयोग नपाएको दुखेसो गर्नुभयो।

“कुनै बेला हजुर श्रीलङ्कामा १७ वटा सम्म गुड मिल चल्थे”, उहाँले भन्नुभयो “अहिले जसोतसो गरी ६ वटा मिल चलिरहेका छन्, यिनको पनि अवस्था यस्तै हो भने बन्द हुन बेर छैन।”

झपटबहादुर बुढा

बुढाका अनुसार श्रीलङ्कामा पहिले उखु लगाउने किसानहरूको संख्या धेरै थियो। उद्योगीहरूले स्थानीयस्तरमा उत्पादित उखु पेलेर गुड उत्पादन गर्थे। त्यो बेला किसान र उद्योगी दुवैलाई राम्रै थियो। तर पछिल्ला केही वर्ष यता भारतीय गुडसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योगीहरू पलायन हुने अवस्था आएको उहाँको भनाई छ।

“नेपालमा खुला सिमानाका कारण भन्सार नतिरी विभिन्न ठाउँबाट समेत अवैध रुपमा गुड भित्रिन्छ श्रीलङ्का । त्यसै माथि भारतमा किसानहरूले राम्रो अनुदान पनि पाउँछन्, कामदार पनि सहजै पाइन्छन” बुढा भन्नुहुन्छ, “यही कारण भारतीय गुड सस्तोमा पाइने भएकाले हामीले उत्पादन गर्ने गुडलाई बजारमा प्रतिस्पर्धा गर्न गाह्रो छ।”

उहाँले केही वर्ष यता उखु लगाउने किसानहरूको संख्या पनि कम हुँदै गएकोले गुड मीलका लागि चाहिने उखुको अभाव हुँदै गएको बताउनुभयो । उखु लगाउने किसानले समयमै भुक्तानी पाएनन् । जंगली हात्तीले पनि उखु खेतीमा असर गर्न थालेपछि किसानहरू समेत निराश हुँदै गएको बुढाले बताउनुभयो ।

किसानलाई राम्रो अनुदान दिएर उखुको मूल्य पाउने ग्यारेण्टी गरेको खण्डमा आम्दानीको राम्रो स्रोत हुने उहाँ बताउनुहुन्छ । यसले राज्यलाई नै फाइदा हुन्छ, बुढा भन्नुहुन्छ “यसो गर्न सकेको खण्डमा किसानको जीवनस्तर माथि उठ्छ, स्थानीय स्तरमा रोजगारीका अवसर प्राप्त हुन्छन । देशलाई गुडमा पनि आत्मनिर्भर बनाउन केही मात्रामा टेवा पुग्न सक्छ।”

हाल श्रीलङ्कामा चलिरहेका गुड उद्योगहरू मध्ये एउटामा मात्र १५ देखि २० जना सम्मले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। बजारमा प्रति क्वीन्टल गुड करिब ५ हजार ६ सय देखि ६ हजार रुपैयाँ सम्ममा बिक्री वितरण हुँदै आएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइँको प्रतिक्रिया

फेसबुक