शनिबार, वैशाख ८, २०८१

रवी लामिछानेद्वारा उन्नत लोकतन्त्र पार्टीका एजेण्डा कपी !

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ असार ८ गते २३:१५

सन्चारकर्मीबाट बिदा लिएर राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै राजनितिमा होमिएका रवी लामिछानेले उन्नत लोकतन्त्र पार्टीका एजेण्डाहरु कपी गरेको दाबि गरिएको छ ।

उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालको नामबाट प्रेशित गरिएको जानकारिमा उक्त दाबी गरिएको हो ।

आफूहरुले विगत १२ वर्ष अघिदेखि विभिन्न संघर्ष, अभियान र कानुनी लडाइँबाट विकसित गरी ल्याएका विचारहरु नै अनुशरण गरेर सञ्चारकर्मी रवी लामिछानेले आफ्नो पार्टी घोषणा गरेको उन्नत लोकतन्त्र पार्टीको दाबी छ ।

आफूहरुले ति एजेण्डा उठाउँदा वेवास्ता गर्ने, बिलाशीको आरोप लगाउने, मेडियाले बेवास्ता गर्ने र अपमानित गर्ने गरेपनि हाल ति एजेण्डा स्थापित भएको र ति एजेण्डामा सबै एकाकार हुँदै गएको दाबी गर्दै भनिएको छ-

“हामीले १२ वर्षको समयदेखि उठाउँदै आएका उक्त एजेण्डाहरु अधिकांश सञ्चारकर्मीहरुले मिडियामा उठाउन अस्वीकार गर्दै आए पनि, अधिकारकर्मीहरुले समेत हामीलाई वौद्धिक विलासी आदि भनी अपमानित गरेर जनताले खोजेको वास्तविक परिबर्तनलाई रोक्न प्रयत्न गरेकोमा आज ती एजेण्डामा सबै एकाकार हुँदै गएकोले हामीले नेपालमा औपचारिक रुपमा विकसित गरेको विचार नेपालको अब बैकल्पिक होइन निर्बिकल्प नयाँ युगको उन्नत लोकतन्त्र र प्रत्यक्ष प्रजातन्त्रको विचार बनिसकेको पुष्टि भएको छ । हामीले ठीक भनेका थियौं ।”

यसै बिचमा नयाँ खुलेका केही र पुरानै पार्टीहरुले समेत आफ्ना एजेण्डाहरु समेटेर नीति लिन थालेकोमा आफूहरु अत्यन्तै खुसी भएको प्रेषित सामाग्रिमा उल्लेख छ ।

आफूहरुले राईट टु रिजेक्ट र राइट टु रिकललाई जनताका माझमा स्थापित गराउन सहयोग माग्दा डा बाबुराम भट्टराई र रवीन्द्र मिश्र दुबैले ‘नेपालमा यो जरुरि छैन’ भन्दै पन्छिएको र ति एजेण्डाहरु स्थापित भएपछि मिश्र र भट्टराईले ति नितिहरु अनुशरण गरेको स्वागत नेपालले उल्लेख गरेका छन् ।

उनले भनेका छन् “त्यतिबेला हामीले विविसी नेपाली सेवाका प्रमुख रहेका रवीन्द्र मिश्र ज्युलाई हामीले सर्वोच्चमा मुद्दा दायर गर्दा र सो सम्बन्धमा निर्देशनात्मक आदेश हुँदा समेत एउटा समाचार मात्रै बनाएर जनतालाई जानकारी दिन अनुरोध गर्दा समेत नेपालमा यो जरुरी छैन भनी ब्ल्याक आउट गर्नु हुनेहरु र डा बाबुराम भट्टराई ज्युलाई पनि प्रधानमन्त्री हुँदा अदालतले आदेश गरिसकेकोले सो सम्बन्धमा कानुन बनाउन विधेयक ल्याउनु पर्यो भन्दा समेत सोही जवाफ दिएर पन्छिनु भएकोमा पछि उहाँहरु दुवैले हामीले विकासित गरेको सोही एजेण्डा जनता वीच लोकप्रिय हुन थालेपछि उहाँहरुको पार्टीले पनि सोही नीति लिएको थियो ।”

आफ्नो सञ्चारकर्म र सरकार सञ्चालनका समयमा अस्वीकार गर्ने मिश्र र भट्टराईहरु पछि तिनै एजेण्डाहरुमा सम्मिलित भएकोमा खुसी लागेको र आफ्ना विचार ठीक थिए भन्ने निष्कर्ष निकालेर विज्ञप्ती जारी गरेको नेपालले उल्लेख गरेका छन् ।

सोही विचारपछि सिके राउत र राजेन्द्र लिंगदेनले पनि लिएको दाबी उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वाग्त नेपालको छ ।

नेपालले उन्नत लोकतन्त्र पार्टीका तर्फबाट प्रेशित गरेको जानकारि अनुसार नेपालमा आजभन्दा १२ वर्षअघि पहिलो पटक राइट टु रिजेक्ट र रिकलको लागि औपचारिक रुपमा अभियान शुरु गरिएको थियो । वैचारिक राजनीतिक परिवर्तनका लागि स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट सर्वोच्च अदालतमा रीट दायर गरी एक पटक दरपीठ समेत भएको थियो । त्यसपछि पुनः दर्ता गरी त्यसको केही वर्षपछि अर्थात् आजभन्दा ९ वर्षजति अघि कानुन बनाउनू भन्ने निर्देशनात्मक आदेश भएको थियो ।

उन्नत लोकतन्त्र पार्टीद्वारा प्रेषित लिखित सामाग्रि

१२ वर्ष अघिदेखि अभियानले सांसदहरु मन्त्री प्रधानमन्त्री बन्न नपाउने, जनताले सोझै सरकार छान्न पाउने, गलत उम्मेदवारलाई जनताले भोट हालेरै वहिष्कार गर्न पाउने अधिकार राइट टु रिजेक्ट र खराब काम गर्नेलाई जनताले पदबाट फिर्ता बोलाउन पाउने राइट टु रिकल, सरकारले संसद र सांसदले सरकार ढाल्न र बनाउन नपाउने लगायतका धेरै एजेण्डाहरु स्थापित गरेको उल्लेख छ । नेपालको लागि बैकल्पिक होइन अनिवार्य र निर्बिकल्प विचार अघि बढाउँदै आएको समेत नेपालले उल्लेख गरेका छन् ।

नेपालको भनाईमा सोही समयदेखि स्वतन्त्र राष्ट्रिय अभियान र सोही अभियानको अवधारणा पत्र तथा विधान नै उन्नत लोकतन्त्र पार्टीको विधानको आधार हुनेछ भनी पार्टी समेत सोही १२ वर्षे अभियानका अभियन्ताहरुद्वारा स्थापित भएको थियो । यिनै एजेण्डाहरुका घोषणा पत्र जारी गरी निर्वाचनमा पनि सो पार्टी सहभागी भइसकेको छ ।

तर अदालतले दिएको आदेशको समेत विपरित भएको र एजेण्डा हाइज्याक गरी अझ विकृत व्यवस्थातर्फ धकेल्न खोजिएको हो कि भन्ने चिन्ता अभिव्यक्त हुने गरेको र ति एजेण्डाको मूल मर्म बचाउन आफूहरु सम्वेदनशील रुपमा लागिरहेको उल्लेख गर्दै भनिएको छ-

“राम्रा विचारहरु अनुशरण गर्नु नराम्रो कुरा होइन । तर राइट टु रिजेक्ट र रिकलको व्याख्या भने उहाँहरुबाट कानुन तथा विधिशास्त्रीय ज्ञान नभएकोले हुनसक्छ अझ घातक र विलोम रुपमा अदालतले दिएको आदेशको समेत विपरित भएकोमा एजेण्डा हाइज्याक गरी अझ विकृत व्यवस्थातर्फ धकेल्न खोजिएको हो कि भन्ने चिन्ता विधिशास्त्र बुझ्नेहरुबाट हामीसँग अभिव्यक्त हुने गरेकोप्रति एजेण्डाको मूल मर्म बचाउन हामी सम्वेदनशील रुपमा लागिरहेका छौं ।”

आफूहरुले अझै पनि अदालतको निर्देशनात्मक आदेश अनुसार कानुन नबनाएको विरुद्धमा अदालतको अपहेलनामा प्रधानमन्त्री, सभामुख, कानुन मन्त्री समेतलाई विपक्षी बनाएर पक्राउ गरी मुद्दा चलाउन सम्मानित सर्वोच्च अदालतमा कानुनी लडाइँ लडिरहेको र सो मुद्दा समेत विचाराधीन रहेको उन्नत लोकतन्त्र पार्टीले उल्लेख गरेको छ ।

ति एजेण्डाहरुलाई नेपालमा वास्तविक बैकल्पिक भने पनि खासमा निर्बिकल्प विचार उन्नत लोकतन्त्र र प्रत्यक्ष प्रजातन्त्र नै भएको दाबी उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालको छ । नेपालले सञ्चारकर्मी रवी लामिछानेद्वारा घोषित पार्टीको नाम आफूहरुले उतिबेलै शुरु गरेको अभियानको अगाडि रहेका शब्द स्वतन्त्र राष्ट्रियलाई शब्द यताउता पारी राष्ट्रिय स्वतन्त्र भनी मिल्न गएको र एजेण्डाहरु समेत केही बाहेक मुख्य चाहिँ हुबहु मिल्न गएको भनाई नेपालको छ ।

समान एजेण्डाहरुका विषयमा एक हुँदै गठन हुने क्रममा नै विचारमा मर्ज भइसकेका पार्टीहरु सबै एक भएर जानुको विकल्प नभएको स्वागत नेपालले उल्लेख गर्दै भनेका छन्-

“पूराना दलहरुको अत्याचार अन्त्य गर्न रवी लामिछाने, पूर्व असल प्रहरी अधिकारी रमेश खरेल, नयाँ युगको नयाँ विचार लिएर आउने स्वतन्त्र राष्ट्रिय अभियान, उन्नत लोकतन्त्र पार्टी लगायतका सबै पार्टीहरु तथा युवाहरु एक भएर अघि बढ्नका लागि हामी अपिल गर्दछौं “।

त्यसका लागि स्वतन्त्र राष्ट्रिय अभियान र उन्नत लोकतन्त्र पार्टीको तर्फबाट आफूहरुले पहल कदमी लिने र सबैले जनताको आशालाई अझ बलियो बनाउन आगामी निर्वाचनमा समेत एकाकार रुपमा अघि बढ्न आफूहरु तयार रहेको उल्लेख गरेका छन् ।

त्यसकालागि आफूहरुले लडेर विकसित गरेको विचार हुबहुजसो अवलम्बन गरेकोमा धेरै खुसी ब्यक्त गर्दै राइट टु रिजेक्ट र राईट टु रिकल लागू गराउन बाँकी सबैथोक जनताको हितका लागि आफूहरुले नयाँ पार्टीका नेत्रित्वहरुलाई छोडिदिन तयार रहेको उल्लेख छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक