बुधबार, वैशाख १२, २०८१

विदेशी र बेमौसमी फलफूल, तरकारीहरू खाएर ग्रहको हत्या गरिँदै

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ असार ९ गते १८:०९

तपाईले बजारमा फलफूल, तरकारी किन्दा कहिल्यै याद गर्नुभएको छ ति कहाँ फलेका हुन् ? कहाँबाट ल्याइएको हो ? कुनैपनि खाद्यान्न उत्पादन गर्ने ठाउँबाट ढुवानी गरेर हाम्रो थाल, कचौरामा आइपुग्दा पहिले अनुमान गरिएको भन्दा कम्तीमा तीन गुणा बढी हरितगृह ग्यास उत्सर्जन हुने पत्ता लागेको छ । द नेचर फूडले प्रकाशित गरेको अध्ययनलाई बेलायतको अंग्रेजी अखवार द गार्डिञले सोमवार उल्लेख गरेको हो ।

अध्ययनका लेखकहरूका अनुसार विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनको करिब ६ प्रतिशतको लागि ‘फूड माइलहरू (खाना यात्रा)’ जिम्मेवार छन् । मानव उपभोगका लागि खाद्यान्नको ढुवानीले वार्षिक ३ अर्ब टन फोहोर उत्पादन गर्छ । त्यो भनेको कार्बन डाई अक्साईड बराबर हो ।

वैज्ञानिकहरूले ७४ देश र क्षेत्रका ३७ विभिन्न प्रकारका खानाको विश्लेषण गरेका छन् । उनीहरूले विश्वको जनसंख्याको १२ दशमलव ५ प्रतिशत मात्र प्रतिनिधित्व गर्ने सबैभन्दा धनी देशहरुले टाढाबाट खाद्य ओसारेर खाने गरेकाले ४६ प्रतिशत कार्बन डाई अक्साईड उत्सर्जन गरेको पत्ता लगाए ।

स्थानीय उत्पादन सर्वश्रेष्ठ

फलफूल र तरकारीहरू टाढाबाट ओसार्दा सबैभन्दा बढी हरित ग्याँस उत्सर्जन गर्छन् । मेमौसमी तरकारी र फलफूल उत्पादन गर्दापनि धेरै इन्धन, मल आदि चाहिन्छ । मल उत्पादन गर्नपनि बिध्युत र इन्धन, अन्य रासायनिक चिज चाहिछ । फलफूल टाढाबाट ल्याउँदा किन धेरै कार्बडाईअक्साईड उत्पन्न हुन्छ भने तिनीहरूलाई प्रायः फ्रिजमा राख्नु पर्छ । उपभोक्ताहरूले बेमौसमी र आफ्नो स्थान, क्षेत्र बाहिरका खानाहरू माग गर्दा फ्रिजमा राखेर टाढाबाट ओसार्नुपर्छ । यातायातको खर्च उत्तिकै बढ्छ ।

अध्ययनका सह-लेखक युनिभर्सिटी अफ सिड्नी (अष्ट्रेलिया) का प्रोफेसर डेभिड राउबेनहाइमरले खाद्य उत्पादनलाई दिगो बनाउने उद्देश्यले गरिएको अनुसन्धानले सागसब्जी, वनस्पती र मासुसँग आहारको तुलनामा ध्यान केन्द्रित गरेको गार्जियनलाई बताए ।

“हाम्रो अध्ययनले बिरुवा, सागसब्जी, वनस्पतीको आहार तर्फ अघि बढ्नुको साथै विशेष गरी धनी देशहरूका मानिसले स्थानीय खाना खानु उपयुक्त हुन्छ भन्ने देखाएको छ” उनले भने।

तपाइँको प्रतिक्रिया