आइतबार, असोज ९, २०७९

बुलडोजर चढेर हिन्दू फासीवादको बाटोमा हिंडेको भारत

अरुन्धती राय२०७९ असार ९ गते १९:१८

फोटो- आउटलुक इन्डिया डटकम

सरकार विरोधी प्रदर्शनमा सहभागी भएको शंका पछिल्ला केही महिनादेखि प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीको सरकार रहेका भारतीय राज्यहरूका सरकारी निकाय र कर्मचारीहरूले मुस्लिमहरूको घर, पसल र व्यापारस्थलमा बुलडोजर प्रयोग गरी ध्वस्त पार्न थालेका छन्। यी राज्यका मुख्यमन्त्रीहरूले आफ्नो चुनावी अभियानमा यो नीतिलाई गर्वका साथ प्रचार समेत गरे।

मेरो विचारमा गम्भीर रूपमा समस्याग्रस्त र कमजोर लोकतन्त्र अत्याधिक जनसमर्थनसहित खुलेआम आपराधिक, हिन्दू-फासिस्ट धन्धामा परिणत भएको छ। अहिले हामी हिन्दु धार्मिक नेताको पोशाक लुगा लगाएका गुण्डाहरूको शासनमा बाँचिरहेका छौँ भन्ने लाग्छ। उनीहरुका लागि मुस्लिम अहिले शत्रु नम्बर एक हुन।

विगतमा मुस्लिमहरूलाई संगठित रुपले नरसंहार गरियो, भीडले उनीहरूको लिन्च (मत्स्य न्याय अनुरूप भीडले बिना कुनै सुनवाई मार्ने) गरेर, मुसलमान भनेर छानीछानी मारेर, उनीहरूलाई हिरासत भीत्र मारेर, पुलिस नक्कली इन्काउन्टर गरेर मारेर, उनीहरूलाई झूटा आरोपमा जेल हालेर सजाय दिइयो। मुसलमानलाई सजाय दिने फेहरिस्तमा तिनीहरूको घर र व्यवसायहरूलाई बुलडोजर लगाएर भत्काएदिने नयाँ र धेरै प्रभावकारी हतियार तयार गरिएको छ।

जसरी यो घटनाको समाचार प्रेसित गरिएको र लेखिएको छ, त्यसबाट के देखिन्छ भने बुलडोजरलाई बदला लिन सक्ने एक प्रकारको दैवी शक्ति दिइएको छ। पौराणिक दानव हत्या गर्ने देवताको मेकानाइज्ड संस्करणमा परिणत भएर आए झै यो डरलाग्दो मेसिनका ठूला फलामका पञ्जाहरूलाई ‘शत्रुलाई परास्त’ गर्न यसरी प्रयोग गरिँदैछ । यो नयाँ प्रतिशोध लिन तत्पर हिन्दू राष्ट्रको जन्तर बनेको जस्तो लाग्छ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले हालैको आफ्नो भारत भ्रमणको क्रममा बुलडोजरसँग फोटो खिचे। उनले आफूले के गरिरहेको छु र यसरी फोटो खिचाएर केको समर्थन गरीरहेको छु भन्ने कुरा बोरिस जोनसनले बुझेका छैनन भनेर विश्वास गर्न गाह्रो छ। सरकारी भ्रमणको क्रममा बुलडोजरको अगाडि बसेर फोटो खिच्ने जस्तो बेतुकको कुरा कुनै राष्ट्र प्रमुखले किन गर्छ?

सरकारी अधिकारीहरूले यी कारवाही मुसलमानहरूलाई लक्षित नभई गैरकानूनी रूपमा बनाइएका संरचनाहरू भत्काइरहेको दाबी गर्दै आएका छन्।छोटकरीमा भन्दा यो नगरपालिकाको सरसफाई अभियान मात्रै हो। उनीहरूले दिएका यी तर्कहरू तपाईँलाई विश्वास दिलाउनका लागि होइन खिल्ली उडाउन र जनतामा डर पैदा गर्नका लागि दिइएका हुन। अन्यथा सरकारहरू र धेरैजसो भारतीयहरूलाई पनि थाहा छ प्रत्येक भारतीय सहर र सहरी कस्बाका अधिकांश निर्माणहरू या त अवैध वा आंशिक रूपमा गैरकानूनी छन्।

कुनै सूचना, पुनरावेदन वा सुनुवाइको अवसर बिना नै मुसलमानहरूलाई सजाय दिनका लागि मुस्लिम घर र व्यवसाय भत्काउदा एकै पटक धेरै उद्देश्यहरू पूरा हुन्छ।

बुलडोजरको यो युगभन्दा पहिले, मुसलमानहरूलाई दण्ड दिने कार्य भीड र पुलिसले गर्ने गरेको थियो – पुलिसचाहिँ मौका परे मुसलमानलाई प्रत्यक्ष रूपमा दण्डित काममा हुने नपरे भीडले मुसलमानहरूलाई दण्ड दिएको देखे नदेखेको जस्तो गर्थे। तर बुलडोजर लगाएर मुसलमानका घर तथा सम्पत्ति नस्ट गर्ने कार्यमा प्रहरी मात्र नभई नगरपालिकाका पदाधिकारी र आमसञ्चारमाध्यमको पनि संलग्नता हुन्छ।मिडिया वा आमसञ्चारमाध्यमहरू त त्यहाँ हुन आवश्यक नै छ किनकी तिनीहरूले यस्ता घटनाहरूलाई राक्षसहरूको विनाशको उत्सवको रूपमा प्रचार गर्न सक्छन् र अदालतलाई आँखा चिम्लिएर बस्न र हस्तक्षेप न‍गर्न भन्न सक्छन्।यसको मतलब मुसलमानहरूलाई यस्तो भन्नु हो, ‘अब तिमी लाचार छौ। तिम्रो सहयोगमा कोही आउने छैन। गुनासो लिएर कतै जान मिल्दैन। यो पुरानो लोकतन्त्रलाई सही बाटोमा राख्नका लागि बनेका हरेक कानुन र हरेक संस्था अब तिम्रो विरुद्धमा प्रयोग हुने हतियार बनेका छन्।’

सरकार विरोधी प्रदर्शनकारमा भाग लिएका अन्य समुदायका सदस्यलाई यस किसिमले विरलै निशाना बनाइन्छ। उदाहरणका लागि, २०२२ को जुन १६ मा, बीजेपी सरकारको नयाँ सेना भर्ती नीतिबाट आक्रोशित हजारौं युवाहरूले उत्तरी भारतमा हिंसात्मक विरोध प्रदर्शन गरे। उनीहरूले रेल र गाडीहरू जलाइदिए, सडक अवरुद्ध गरे र एउटा सहरमा भाजपाका कार्यालयहरू पनि जलाइदिए। तर तीमध्ये अधिकांश मुस्लिम छैनन्। त्यसैले उनीहरूको घर र परिवार सुरक्षित हुनेछ।

सन् २०१४ र २०१९ को आम चुनावमा, बीजेपीले आम चुनावमा संसदमा बहुमतका लागि भारतको २० करोड मुस्लिम जनसंख्याको मत आवश्यक छैन भनेर देखाएको छ। त्यसबाट एक हिसाबले मतदानको अधिकारबाट वञ्चित गरिएको स्थीति देखिरहेका छौं। यो एउटा जनसंख्या सबै प्रकारको अधिकार र विशेष गरी मतदानको अधिकारबाट वञ्चित गरिएको देखिदैँछ। यसको प्रभाव र परिणाम खतरनाक हुनेछ। किनभने एकपटक कसैलाई मतदानको अधिकारबाट वञ्चित गरिन्छ, त्यसपछि उसको अस्तित्व रहँदैन। उ निरर्थक बन्छ। उसलाई प्रयोग गर्न सकिन्छ, उसलाई दुर्व्यवहार गर्न सकिन्छ। हो आज हामीले यही नै देखिरहेका छौं।

भाजपाका शीर्ष नेताहरूले मुस्लिमहरूले सबैभन्दा पवित्र मान्ने सबै कुराको निन्दा सार्वजनिक रूपमा गरे पनि, पार्टीको मूल जनआधार खस्केको छैन, न त यसको कुनै अर्थपूर्ण आलोचना भएको छ।

यस अपमानको प्रतिक्रियामा, मुस्लिमहरूबाट ठूला विरोध प्रदर्शनहरू भएका छन्। यति धेरै हिंसा र क्रूरताको पृष्ठभूमिमा यो घटना भएकोले यी विरोधहरू बुझ्न सकिन्छ। बुझ्नै नसकिने कुरा के थियो भने केही आन्दोलनकारीहरूले ईश्वरनिन्दा कानूनको माग गरे। बीजेपीले यसलाई खुसीसाथ लागू गर्नेछ, किनभने त्यसपछि हिन्दू राष्ट्रवादको बारेमा लगभग हरेक किसिमको टिप्पणी त्यो कानून अन्तर्गत अपराध हुनेछ। यसले भारत जुन राजनीतिक र वैचारिक दलदलमा डुबिरहेको छ त्यसको बारेमा हुने हरेक आलोचना र बौद्धिक टिप्पणीलाई व्यावहारिक रूपमा मौन बनाउनेछ।

विरोध गर्ने अरूहरूले, जस्तै महत्त्वपूर्ण राजनीतिक दल, अल इण्डिया मजलिस-ए-इतिहादुल मुस्लीमीन (एआईएमआईएम) सँग सम्बन्धित व्यक्तिले ईश्वरनिन्दा गर्नेलाई फाँसी दिने र अरूले टाउको काट्ने माग उठाए। यी सबैले हिन्दू कट्टरपन्थीहरूले मुस्लिमहरूको बारेमा बडा दुःखका साथ सिर्जना गरेका हरेक स्टिरियोटाइप छविलाई स्थापित गर्न सहयोग गरिदिएको छ। दुबै तर्फबाट आइरहेको बेइज्जती र ज्यान मार्ने धम्कीका बीचमा संवादको कुनै पनि सम्भावना देखिँदैन।

यी विरोधहरू पछि भएको ध्रुवीकरणले त भाजपाको समर्थन झनै बढाएको छ।यो सबको जरो अपमानजनक अभिव्यक्ति दिने बीजेपी प्रवक्तालाई पार्टीबाट निलम्बन गरिएको छ, तर कार्यकर्ताले उनलाई खुलेआम अपनाएका छन्। उनको राजनीतिक भविष्य उज्ज्वल देखिन्छ।

आज हामी भारतमा बाँचिरहेको युग स्कॉर्च्ड अर्थ नीति (scorched-earth policy) राजनीतिक रूप हो। यस नीति अन्तर्गत, शत्रुका लागि उपयोगी सबै चीजहरू नष्ट गरिन्छ, जसले गर्दा उसले तिनीहरूलाई प्रयोग गर्न सक्दैन।वर्षौं लगाएर निर्माण गरिएका हरेक संस्था, सबै ध्वस्त हुँदैछन्। यो सोच्नै नसकिने परिस्थिति हो। ब्रेनवास गरिएको नयाँ पुस्तालाई यसरी हुर्कानेछ कि मनमा भरिएका आधारहीन कुराहरू बाहेक उनीहरूलाई कुनै वास्तविकता थाहा दिइनेछैन अनि उनीहरूलाई आफ्नो देशको इतिहास र यसको सांस्कृतिक जटिलतासँग कुनै सरोकार हुँदैन। यो सरकारले ४०० टिभि च्यानल, अनगिन्ती वेबसाइट र पत्रपत्रिकाको सहयोगमा धार्मिक कट्टरता र घृणालाई निरन्तरता दिइरहेको छ। यसमा हिन्दू–मुस्लिम विभाजनको दुवै तर्फबाट पात्रहरू घृणाको आगो सल्काइरहेका छन्।

हिन्दू दक्षिणपन्थी कार्यकर्ता भित्र नयाँ, आक्रामक चरम दक्षिणपन्थीहरूमा एक प्रकारको छटपटी देखिइदै छ जसलाई मोदी सरकारले पनि रोक्न गाह्रो सकिरहेको छैन किनभने यो भाजपाको जनसमर्थन मुख्य आधार हो।

सामाजिक सञ्जालमा हरेक दिनजसो मुस्लिमहरूको नरसंहारको आह्वान गरिन्छ। हामी यस्तो बिन्दुमा पुगेका छौं जहाँबाट फर्कने सम्भावना देखिँदैन। अब यसको विरुद्धमा उभिएका हामी र खासगरी भारतका मुस्लिमहरूले सोच्नुपर्छ, यसबाट कसरी बच्ने ? हामी कसरी यसको विरोध गर्न सक्छौं? यी प्रश्नहरूको जवाफ दिन गाह्रो छ, किनभने आज भारतमा विरोध प्रदर्शन, चाहे त्यो शान्तिपूर्ण किन नहोस्, आतंकवाद जस्तो जघन्य अपराध बनाइएको छ।

(अरुन्धती रायको अलजजिरामा प्रकाशित आलेखको भावानुवाद । श्रोत: आइएनएस-स्वतन्त्र समाचार)

तपाइँको प्रतिक्रिया

फेसबुक