आइतबार, मंसिर ११, २०७९

शब्द पूर्वीया लवज पश्चिमा

बसन्त महर्जन२०७९ असार ११ गते १२:२०

बसन्त महर्जन

हामी भाषा र संस्कृतिको कुरा गर्छौं र मौलिकता कायम राख्नुपर्ने कुरामा पनि जोड दिन्छौं। इतिहासका कुरा पनि गर्छौं तर इतिहास जगेर्ना गर्न सघाउने मध्येका केही तत्त्वहरू भाषा, संस्कृति, उच्चारण र कतिपय व्यवहारप्रति भने सचेत हुँदैनौं। पूर्वीय शब्दहरूलाई अचेल पाश्चात्यकरण गरेर पस्कन सके आफूलाई उपल्लो स्तरमा पुगेको महसुस गर्न थालिएको छ। भनाइ र गराइको यो नमिल्दो स्थितिले हाम्रो चेत कहाँ पुगेको छ भन्ने देखाउँछ।

महायानी बौद्ध सम्प्रदायले प्राय: जप्ने प्रसिद्ध मन्त्र हो, “ऊँ मणि पद्मे हुँ।” कसैलाई यो मन्त्रको उच्चारण वा लेखनको हिज्जे अशुद्ध लाग्न सक्छ र यसरी सच्याइ दिन सक्छन्, “ओम् मानेपेमे हुँ।”

कुरा उही तर उच्चारण भेदमात्रै हो भन्ने कुरा उनीहरू हेक्का राख्दैनन् वा भुलिदिन्छन्। तिब्बततिर बस्ने बौद्ध धर्मावलम्बीहरूको मुखारविन्दबाट प्राय: सुनिने भएकाले उनीहरूलाई लाग्दो हो, ‘यो तिब्बती भाषाको बौद्ध मन्त्र हो र भाषाको हेक्का नभएका गैर तिब्बतीले गल्ती गरे।’ वास्तवमा यो संस्कृत भाषामा रहेको प्रसिद्ध बौद्ध मन्त्र हो जुन ‘षड्क्षेरी मन्त्र’ का नामले चिनिन्छ।

संस्कृत भाषाको यो बौद्ध मन्त्रलाई तिब्बती बौद्धहरूले आफ्नो भाषामा अनुवाद नगरी सम्मानका साथ जस्ताको तस्तै अपनाएका हुन्। उच्चारण भेद हुनु स्वाभाविक हो। यो मन्त्रको उद्भव संभवत: बंगालतिर भयो र बज्रयान बौद्ध धर्म चारैतिर फैलिने क्रममा तिब्बत पुग्यो। यो मन्त्रलाई काठमाडौंका बज्रयानी बौद्ध धर्म अभ्यासीहरूले आफैंमा सीमित राखेका हुन् भने तिब्बतीहरूले खुला गरे। साथै संसारभर लोकप्रिय बनाए। बज्रयानी बौद्ध धर्मको उद्भव जहाँ भएको हो त्यहाँ त बौद्ध धर्म कालकबुलियत भइसकेको छ, अब पुन: फर्काएर लगि पुनस्र्थापना गर्नुपर्ने स्थिति छ। यही भएर यो मन्त्र तिब्बतीहरूको देन हो कि भन्ने भ्रम पर्न गएको हो। आधुनिक कालमा बौद्ध धर्म पाश्चात्य जगत्मा स्थापित हुन जाँदा यो मन्त्र पनि लोकप्रिय हुन पुग्यो तर मूल स्थलबाट नभएर तिब्बती स्वरूपमा। पश्चिमाहरूले पनि ‘ओम् मानेपेमे हुँ’ भनेपछि ‘ऊँ मणि पद्मे हुँ’ अशुद्ध जस्तै लाग्न गएको हुनुपर्छ तर यसैले व्यापक रूप पायो।

पूर्वीयहरू पूर्वीय भूगोलमा विकसित ज्ञान पश्चिमाबाट सिक्न लालायित हुन्छन् भन्ने कुराको उदाहरण हो बुद्ध धर्मका अधिकांश कुराहरू पश्चिमा विद्वान्‍हरूमा निर्भर हुनु। ती विद्वान्हरू यस क्षेत्रमा आई यहाँका गुरुहरूबाट ज्ञान आर्जन गरी फर्केर त्यही ज्ञान लेख्ने हुन्। व्याख्या गर्ने क्रममा त्यसमा तिनीहरूको विद्वता झल्किनु स्वाभाविक हो। गहन दर्शन र गम्भीर कुराहरूलाई पर्गेल्दै उनीहरू लेखिरहेका हुन्छन्। उनीहरूले जतिसुकै लेखे पनि इमानदारी पूर्वक त्यसको स्रोत पूर्वतिरै देखाइदिने गर्छन् तर हामीलाई स्रोतमा पर्बाह छैन। उनीहरूको बोलीमा लोली मिलाउन पाए आफ्नो स्तर उक्लिएर पश्चिमा भएको सम्झन्छौं।

‘लोमन्थाङ’को उच्चारण गर्न पश्चिमी मुलुकका मान्छेहरूलाई अभ्यस्त छैनन् र आफ्नै लवजमा ‘लोमान्थाङ’ भनिदिन्छन्। त्यसैको सिकोमा नेपालीहरू पनि ‘लोमान्थाङ’ नै भन्ने र लेख्ने गर्दछन् वा वा ‘लोमन्थाङ’ नामलाई अशुद्ध ठान्छन्। एकीकृत नेपालमा गाभिनुअघि ‘लो’ नामको एउटा छुट्टै राज्य थियो र त्यस राज्यको राजधानी ‘मन्थाङ’ हो। तिब्बती राज्यको एक भूभाग भइरहेकोमा इस्वीको पन्ध्रौ शताब्दीमा त्यस क्षेत्रका अधिकारी आमेपालले त्यसलाई स्वतन्त्र राज्य घोषणा गरेर आफू त्यसको पहिलो राजा बनेका थिए। ‘लो’ राज्यको ‘मन्थाङ’को रूपमा हुन सक्छ पछि ‘लोमन्थाङ’ नाम रहन गयो। यही लोमन्थाङलाई विदेशीले जस्तै नेपालीले पनि आफ्नो लवज ख्याल नगरी लोमान्थाङ भनिरहेका हुन्छन्। नेपालीहरू इतिहासको रटान गर्छन्, जोगाउनु पर्छ पनि भन्छन् तर ऐतिहासिक नामहरू बिगार्नमा उत्तिकै माहिर छन्।

हाम्रो तिरका अधिकांशलाई ‘मण्डल’ के हो थाहा छैन, थाहा पाउने चाहना पनि राख्दैनन्। कसैले बुझाउन खोज्दा झर्को मान्छन् तर ‘मण्डल’कै अंग्रेजीकरण गरिएको शब्द ‘मण्डला’ भने बुझ्छन वा नबुझे पनि बुझेको स्वाङ पार्न पाए ठूलै भइएछ भन्ने भ्रम पाल्छन्। ‘मण्डला’ उनीहरूको साह्रै प्यारो शब्द बनेको छ। काठमाडौंको माइतीघरमा एउटा पार्कमा ठूलो ‘मण्डल’ बनाएका कारण त्यो बाटो हिँड्नेहरू त्यस ठाउँलाई ‘मण्डला’ नै भन्न थालेका छन्– संभवत: ‘मण्डल’ भन्दा उनीहरूले बुझ्दैनन्। नेपाली जनजीवन अनि जिब्रो पनि पाश्चात्य प्रभावमा कति जेलिइसकेको रहेछ भन्ने कुराको यो एउटा ज्वलन्त उदाहरण हो।

‘स्तूप’ भन्न सक्दैनन् वा अल्छी मान्छन्, ‘स्तुपा’ भन्छन्। अरु त अरु आमसञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरू पनि त्यही पश्चिमा हावामा बहकिन रुचाउँछन् र मण्डला, स्तुपा जस्ता पश्चिमाले अभ्यास गरिरहेका शब्दहरू नै प्रयोग गर्छन्। यो उनीहरूको व्यक्तिगत रुचि होला तर त्यही रुचिले छापा तथा विद्युतीय सञ्चारमाध्यमसमेत प्रभावित हुनु कम्ती गम्भीर कुरा होइन।

यसैगरी नेपाली संघसंस्था र शैक्षिक संस्थाको नामकरण गर्दा पनि पाश्चात्यकरण गर्न लोभिनुलाई उत्तिकै गम्भीर मान्नुपर्छ। मूल ग्रन्थमा ‘मण्डला’ भेटिंदैन, न ‘स्तुपा’ नै भेटिन्छन्। भेटिन्छन् त केबल ‘मण्डल’ र ‘स्तूप’। नेपाली जनजीवन पाश्चात्य बोलीमा कति अभ्यस्त भइसकेको छ भन्ने कुराको अर्को उदाहरण हो– ठेट नेपाली बोल्नेले पनि नजानिँदो पाराले स्तूपा भनेर उच्चारण गर्नु। काठमाडौंस्थित चाबहिलमा एउटा लिच्छवीकालिन स्तुप छ। यसको वास्तविक नाम ‘धन्दोचैत्य’ हो तर यो नाम अचेल जनजिब्रोमा पटक्कै छैन। इतिहासलाई चटक्कै बिर्सिएको उदाहरण हो– यो। चाबहिल भएर गुड्ने सार्वजनिक यातायातहरू बाटो छेवैमा रहेको यो स्तूप नजिकै रोक्छन्, यात्रु ओराल्ने र चढाउने गर्छन्। बसका सहायक चालक (कन्डक्टर) एवं यात्रुहरूको मुखमा यो ठाउँका लागि “स्तुपा” शब्द प्रयोग हुने गर्दछ। कसैले “स्तुपा” नभनी “स्तुप” भन्दा कतिलाई शुद्ध बोल्न नसकेको महसुस हुँदो हो।

यसरी नै अचेल त्यस क्षेत्रको नाम ‘चाबहिल’को सट्टा ‘चाबेल’ भन्ने गरेको पनि पाइन्छ। ‘चाबेल’को कुनै अर्थ लाग्दैन तर ‘चाबहिल’ शब्दको विकृत रूप भने यो अवश्य हो। त्यहाँको एउटा प्रसिद्ध महाविहारको स्थानीय नाम ‘चाबहिल’ हो जुन स्थानीय बोलीमा यद्यपि चलन चल्तीमै रहेको छ, तर कसै कसैले ‘चाबहिल’ भन्न नसकेर ‘चाबेल’ भन्न थालेका छन् भने भोलि ‘चाबेल’ नै यसको नाम भएर जानेमा शंका छैन। शुद्ध नाम छँदाछँदै मान्छेहरू अशुद्ध नाम प्रयोगमा रुचि देखाउनुको मनोविज्ञान अध्ययन योग्य छ।

नेपालको एउटा पर्यटकीय गन्तव्य ‘लोमन्थाङ’को उच्चारण गर्न पश्चिमी मुलुकका मान्छेहरूलाई अभ्यस्त छैनन् र आफ्नै लवजमा ‘लोमान्थाङ’ भनिदिन्छन्। त्यसैको सिकोमा नेपालीहरू पनि ‘लोमान्थाङ’ नै भन्ने र लेख्ने गर्दछन् वा वा ‘लोमन्थाङ’ नामलाई अशुद्ध ठान्छन्। एकीकृत नेपालमा गाभिनुअघि ‘लो’ नामको एउटा छुट्टै राज्य थियो र त्यस राज्यको राजधानी ‘मन्थाङ’ हो। तिब्बती राज्यको एक भूभाग भइरहेकोमा इस्वीको पन्ध्रौ शताब्दीमा त्यस क्षेत्रका अधिकारी आमेपालले त्यसलाई स्वतन्त्र राज्य घोषणा गरेर आफू त्यसको पहिलो राजा बनेका थिए। ‘लो’ राज्यको ‘मन्थाङ’को रूपमा हुन सक्छ पछि ‘लोमन्थाङ’ नाम रहन गयो। यही लोमन्थाङलाई विदेशीले जस्तै नेपालीले पनि आफ्नो लवज ख्याल नगरी लोमान्थाङ भनिरहेका हुन्छन्। नेपालीहरू इतिहासको रटान गर्छन्, जोगाउनु पर्छ पनि भन्छन् तर ऐतिहासिक नामहरू बिगार्नमा उत्तिकै माहिर छन्।

हामीकहाँ कतिपय मानिसहरूलाई योग गर्न आउँदैन। प्राचीन ऋषिमुनिहरूले गर्ने ‘योग’ नै पाश्चात्य देशमा लोकप्रिय हुन पुगेको र उनीहरूको उच्चारणमा ‘योगा’ हुन पुगेको कुरा ठ्याम्मै भुल्छन्। पाश्चात्य प्रभावमा परी त्यसैको सिको गर्ने क्रममा ‘योगा’ पनि सिकेको पाइन्छ तर ‘योग’लाई हेप्छन् वा त्यसलाई एकादेशको कथा ठान्छन्। नि:शुल्क वा थोरै शुल्कमा ‘योग’ सिक्दैनन्, अलि बढी नै पैसा तिरेर ‘योगा’ सिक्न पाए भने के के न सिकेको भन्ठानेर फुरुड्ग पर्छन्।

इतिहास, संस्कृति तथा सभ्यताको जगेर्ना गर्नुपर्छ, यी हाम्रा गौरव हुन् भनी ओठेभक्ति देखाउन धेरै नेपालीहरू एक कदम अगाडि नै रहेको पाइन्छ। आफ्नो संस्कृतिलाई आलोचनात्मक सोचसहित चिन्तनमनन् गरी सही र शुद्ध उच्चारण गरी मौलिकताको जगेर्ना गर्नमा भन्दा विद्यालयतहमा जे जसरी घोकाइएको थियो त्यही पारा र भावभङ्गीमा रमाउँदै पाश्चात्यकरण भएको थाहा नपाउनु उदेक लाग्दो विषय हो। कतिसम्म भएको छ भने उच्चारण बिगारेर योगलाई योगा, मण्डललाई मण्डला, स्तूपलाई स्तुपा, चाबहिललाई चाबेल र “ऊँ मणि पद्मे हुँ” लाई ‘ओम् मानेपेमे हुँ’ आदि बोल्नेहरू अक्सर पढेलेखेकाहरू नै हुने गर्दछ। चेतनशील मानव आलोचनात्मक सोच नहुँदा जसोजसो बराजै उसैउसै नाती भइरहेका छन्। संस्कृतिको जगेर्ना गर्न तिनको अर्थ र मर्म नबुझी व्यवहार गर्नु अहिलेको कमजोरी हो। उच्चारणले के फरक पर्ला र भन्ने हुनसक्छ तर मर्म र अर्थमा संस्कृतिको जग अडिएको कुरा भुल्नुहुँदैन अन्यथा अर्थको अनर्थ हुनसक्छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइँको प्रतिक्रिया