शनिबार, वैशाख ८, २०८१

युरोपका विमान कर्मचारीहरुद्वारा हडताल आव्हान, हजारौं यात्रु गम्भिर मारमा

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असार १२ गते १:३५

युरोपमा प्रभावकारि मानिएका रायन एयर, इजिजेट, ब्रिटिश एयर, बेल्जियन एयर, एयर फ्रान्स लगायतका विमान कम्पनीमा कर्मचारी अभाव र सेवासुविधा कम भएको भन्दै युनियनहरूले हडतालको आह्वान गरेपछि यात्रुहरु मारमा पर्ने भएका छन् ।

उडानहरु रद्द, ढिलाइ र कर्मचारी अभावले यात्रुहरु घण्टौं लाम बस्नुपर्ने बाध्यताले युरोपभर ग्रीष्मकालीन यात्रामा गम्भिर प्रभाव पारिसकेको छ ।

कोरोना महामारीकालमा कर्मचारी कटौती र तलब घटुवाले गर्दा अहिलेसम्म विमान कम्पनीहरुलाई असर पारिरहेको छ । तर अहिले कर्मचारी अभावले यात्रु मात्रै होइन, विमान उद्योग भरका युनियनहरूले काम गर्ने अवस्थालाई लिएर हडतालको आह्वान गरिरहेका छन् र त्यसले पर्यटक धेरै भिड हुने यो ग्रिष्मयामलाई गम्भिर असर पार्ने देखिएको छ ।

विमान कम्पनीमा काम गर्ने कर्मचारीहरु धेरैले तनाव, कम तलव र सुबिधा, बदलिरहने कामको समय, अतिरिक्त घण्टाको काम, तनाव आदि अकरणले राजिनामा दिने घोषणा गरेका छन् तर नयाँ कर्मचारी पाउन मुस्किल परेको छ । कर्मचारी अभावले कम लागत वा सस्तो दरमा उड्ने (लो कस्ट एुअरलाईन्स) हरुलाई सबैभन्दा बढी असर पर्ने देखिएको छ ।

युरोपमा सबैभन्दा बढी ब्यस्त मानिने इजीजेटले अन्तिम मिनेटमा धेरै उडान रद्द गरेको र अव्यवस्थित देखिएको भन्दै युनियनहरूलाई चालक दलका सदस्यहरूले “गम्भीर सुरक्षा जोखिम” को सामना गर्न प्रेरित गरेका छन् । कर्मचारीहरुले आफ्नो छुट्टीका दिनपनि उडानमा थप अवरोध रोक्न भन्दै बाध्यतापूर्वक काम गरिरहेको उल्लेख गरेका छन् ।

जुन र जुलाईमा हडतालको योजना

युरोपमा ब्यस्त रहने लो कस्ट फ्लाईट सन्चालनकर्ता रायन एयरका कर्मचारीहरूले जुन र जुलाईमा धेरै युरोपेली देशहरूमा हड्ताल गर्ने योजना बनाएका छन् ।

स्पेनमा, कामको अवस्था र तलबबाट असन्तुष्ट केबिन क्रूहरूले २४, २५, २६ र ३० जुनका साथै १ र २ जुलाईमा काम बहिस्कार गरेर बाहिर निस्कने सार्वजनिक गरिसकेका छन् ।

पोर्चुगलका टोलीहरूले पनि कर्मचारीहरूको लागि राम्रो काम गर्ने अवस्थाको माग गर्दै २४, २५ र २६ जुनमा हडताल गरेका छन् ।

त्यस्तै, बेल्जियमका ट्रेड युनियनहरूले रायनएयरले श्रम कानूनको सम्मान नगरेको कारण कारबाही गर्न बाध्य भएको बताएका छन् । फलस्वरूप, तिनीहरूले २४ देखि २६ जुन सम्म काम बहिस्कार गरेका छन्। ब्रसेल्स जाभेन्टेम एयरपोर्टले सुरक्षा कर्मचारीको कारबाहीमा सोमबार त्यहाँबाट उड्ने उडानहरू रद्द गर्नुपरेको थियो ।

इटालियन कर्मचारीहरूले स्पेन र पोर्चुगलका आफ्ना सहकर्मीहरूसँग मिलेर २५ जुनमा २४ घण्टे हडताल आह्वान गरे।

फ्रान्समा, युनियनहरूले २५ र २६ जुनमा कारबाही गर्ने धम्की दिएका छन् जसमा धेरै एयरपोर्टहरू प्रभावित हुने अपेक्षा गरिएको छ ।

त्यसैगरि युरोपमा सबैभन्दा ब्यस्त मानिएको लो कस्ट उडान भर्ने इजिजेटको युनियन सिन्डिकल ओब्रेरा (यूएसओ) का अनुसार स्पेनका इजीजेट केबिन क्रूले जुलाईमा नौ दिन हडताल गर्ने भएका छन् ।

उनीहरुले जुलाईमा गर्मी बिदाको सिजन सुरु भएसाँगै तीन चरणमा १ देखि ३, १५ देखि १७ र २९ देखि ३१ जुलाईमा हडतालको आव्हान गरेका छन् ।

उडान परिचायिकाहरूले आफ्नो आधारभूत तलबमा ४० प्रतिशत वृद्धिको माग गर्दै न्यून पारिश्रमिकको विरोध गरिरहेका छन् । युएसओले स्पेनका ४५० ईजिजेट कर्मचारी मध्ये ८० प्रतिशत प्रतिनिधित्व गर्दछ । हडतालबाट बच्न इजिजेटले कोसिस गरिरहेकोपनि स्पेनका मेडियाले उल्लेख गरेका छन् ।

त्यस्तै, ब्रिटिश एयरवेज (बीए) ग्राउन्ड र केबिन क्रूले गत हप्ता ज्यालामा औद्योगिक कारबाहीलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा मतदान गरेका थिए ।

यूके एयरलाइन्सका लागि काम गर्ने लगभग १६ हजार कर्मचारीहरूको प्रतिनिधित्व गर्ने युनियनले हडताल कारबाही बारे परामर्शदाता मतपत्रमा ९७ प्रतिशत बहुमत रहेको बताएको छ।

यूके एयरलाइन्सका कर्मचारीहरुले महामारीको समयमा हजारौं अनुभवी कामदारहरूलाई बर्खास्त गरेकाले चेक-इन, लोडिङ, ब्यागेज ह्यान्डलिंग र केबिन स्टाफको अभाव भएको आरोप लगाएको छ ।

कर्मचारी हड्ताल गर्न सहमत हुनु अघि पूर्ण औद्योगिक कार्य मतपत्रमा जानुपर्ने बेलायतमा नियम भएकाले अहिलेसम्म हडतालको मिति तय गरिएको छैन। तथापि, यसले यस गर्मीमा ब्रिटिस एयर यात्रुहरूको लागि थप यात्रा अराजकता निम्त्याउन सक्छने बताइएको छ ।

त्यसैगरि, डेनमार्क, नर्वे र स्वीडेनको ध्वजाबाहक स्क्यान्डिनेभियन एयरलाइन्सका करिब एक हजार पाइलटहरू तलब र लागत कटौतीका उपायहरूबिरुद्द जूनको अन्त्यमा हडतालमा निस्किन सक्ने फ्रान्सेली मेडियाहरुले उल्लेख गरेका छन् ।

उनीहरूले हाल औद्योगिक कारवाही रोक्ने प्रयासकालागि वार्ता गरिरहेपनि डेनमार्कका पाइलटहरूले भने जुन २४ देखि हडतालमा जाने फ्रंस २४ ले उल्लेख गरेको छ । स्केन्डिनेभियन एयरका नियमहरु साझा भएकाले २९ जुन सम्म स्विडेनी पाइलटहरूलाई सामेल गराउन पर्खने नत्र हडतालमा जाने बताएका छन् ।

जुन नौमा पेरिसको चार्ल्स द गोल विमानस्थलका कर्मचारीहरुले हडताल गरिदिंदा एक तिहाई उडानहरु रद्द गरिएका थिए । उनीरुले अब जुलाई २ मा फेरि हडताल आव्हान गरेका छन् । जुलाई २ मा ओर्ली विमानस्थलका कर्मचारीपनि हडतालमा उत्रिने भएका हुन् । यो हडताललाई धेरै फ्रान्सेली मजदूर युनियनले समर्थन गरेका छन् । आफ्नो मासिक तलव कम्तिमा ३०० युरोका दरले बढाउनुपर्ने विमानस्थल कर्मचारीहरुको माग छ ।

फ्रान्सेली पाइलट युनियनले व्यस्त गर्मी मौसममा बढ्दो सुरक्षा जोखिम भएको दाबी गर्दै क्षमता वृद्धिको माग गरी एक दिनको हडताल आह्वान गरेको छ। एयर फ्रान्सका पाइलटहरूको १० प्रतिशतभन्दा बढी प्रतिनिधित्व गर्ने अल्टरले २५ जुनमा काम बहिस्कार गर्ने योजना बनाएको छ ।

श्रमिक अभाव र हडतालले यस वसन्तमा लन्डन, एम्स्टर्डम, पेरिस, रोम, जुरिच, जेनेभा, केन्ट, भेनिस र फ्रान्कफर्टमा पहिले नै अवरोध निम्त्याएको छ।

कम लागतको विशाल इजीजेट जस्ता एयरलाइन्सले सयौं ग्रीष्मकालीन उडानहरू रद्द गर्दै छन् र बेल्जियम, स्पेन, फ्रान्स र स्क्यान्डिनेभियामा नयाँ हड्तालहरू चलिरहेकाले यात्रुहौर्ले आफ्नो यात्रा रद्द गर्नुपर्ने अवस्था स्रिजना भएको छ ।

सोमबार ब्रिटिस एयरले यो व्यस्त गर्मी अवधिमा लन्डन ग्याटविक र एम्स्टर्डममा ग्राउन्ड स्टाफको अभाव देखाउँदै उडान क्यापहरू जस्ता समस्याहरू व्यवस्थापनमा मद्दत गर्न थप सेवाहरू कटौती गरिरहेको बताएको छ ।

एयर ट्रान्सपोर्ट एक्सन ग्रुपका अनुसार कोरोना महामारीको समयमा वायुयान क्षेत्रले विश्वव्यापी रूपमा २३ लाख जागिरहरू गुमाएको थियो । ग्राउन्ड ह्यान्डलिंग र सुरक्षा सबैभन्दा कठिन अवस्थामा थियो ।

त्यस्तै, बेलायतको तीन दशकमै सबैभन्दा ठूलो रेल हडताल मंगलबारबाट सुरु भएपछि रेलहरु ठप्प भएका छन् । दशौं हजार कर्मचारी तलब र जागिरको विवादमा बाहिर निस्किएर हडतालमा उत्रिएपछि आउँदो महिनाहरूमा अर्थतन्त्रमा व्यापक क्षती पुर्‍याउने र औद्योगिक कार्यको लागि असर पार्ने भएको छ ।

सिजिटिएनले जनाए अनुसार सोमबार दिउँसो हडताल रोक्नको लागि भएको अन्तिम वार्ता असफल भएपछि नेशनल युनियन अफ रेल मारिटिम (आर एम टी) रेल युनियनका ४० हजार भन्दा बढी सदस्यहरू मंगलवार देखि तीन दिनको हडतालका लागि बाहिर निस्केका छन् ।

बेलायती मजदूर युनियनहरूले रेल हड्तालले शिक्षकहरू, चिकित्सकहरू, फोहोर विसर्जन गर्ने कामदारहरू र ब्यारिस्टरहरू पनि औद्योगिक कारबाही तर्फ अग्रसर हुने संकेत गरेको जनाएका छन् । यो असन्तुष्टिले ग्रीष्मकालीन सुरुवातको रूपमा खतराको चिन्ह लगाउन सक्छ किनभने खाद्यान्न र इन्धनको मूल्य बढेकोले मुद्रास्फीति १० प्रतिशतमा बढिसकेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक