बिहीबार, वैशाख १३, २०८१

चित्रकलामा उत्प्रेरित गराउने जापानका ति रंगीन पात

सन्ध्या मिश्र / पेरिस२०७९ असार १३ गते १६:३२

कलाकार, सन्ध्या मिश्र

म कुपन्डोलमा जन्में । बिहे भएपछि थानकोट निवासी भएँ । मेरो बुबा मुकुन्द प्रसाद शर्मा नेपाल राष्ट्र बैकको निवृत् कर्मचारी हुनहुन्छ । आमा रमा पोख्रेल शिक्षिका हुनुहुन्थ्यो । उहाँहरु अहिले कुपन्डोलमै हुनुहुन्छ । उहाँका तीन छोराछोरी हामी । सबै बिदेशमा छौँ ।

म पोख्रेलको छोरी भएपनि नेवारी टोलमा हुर्केँ बढेँ । मलाइ हाकु पटासी सँग असाध्यै मोह छ । कुपन्डोलको हनुमानथान वरपरको गल्ली र मन्दिरहरुमा खेलेर हुर्केको । पुल्चोक र थापाथली बिचका भित्री गल्लीहरु त हामीले खेल्ने ठाम भैगए । उ बेलाका हरिया खेतहरु, गल्ली पिच्छेका मन्दिरहरु, किसानहरुका कोदाली रमणीय र शान्त परिवेश अनि महिलाहरुले मिलाएर लगाउने हाकु पटासी । यो परिवेश नै मेरो चित्रकलाको सृजनाको मुहान हो ।

मैले अर्थशास्त्रमा मास्टर्स सकाएँ, त्रिभुवन विश्व विद्यालयबाट ५३ सालमा । त्यसपछि मेरो बिहे भयो । बिहे पछि श्रीमान अनिल मिश्रलाई पिएचडिको छात्रवृत्ती अवसर मिल्यो र हामीहरु जापान गयौँ । जापान गएर मलाइ यत्तिकै बस्न मन लागेन र कृषि अर्थशास्त्रमा पुन मास्टर्स गरेँ । नेपाल फर्केर म योजना आयोग या नीति निर्माण तहमा काम गर्न चाहन्थेँ । त्यहि अनुसार आफ्नो ब्यक्तित्व बिकास गरिरहेकी थिएँ ।

हामीहरु दुवै जना ओसाकाको कोवे विश्वविद्यालय पढेका हौँ । त्यो कोबेमा पातहरु झर्ने बेलाको मौसम अति सुन्दर देखिन्छ । प्रकृतिको अनुपम वरदान ! त्यो सुन्दर रुप आँखामा झलझल आउँछ । हो तिनै पातहरुले म भित्रको प्रकृति प्रेमलाई सृजनात्मक बनाउन मद्दत गरे । म सानै देखि सिसाकलमले राम्रा राम्रा फुलका चित्र त कोर्थेँ तर ति रंगीन पातहरुले मलाइ चित्र कोर्नुपर्छ भनेर उत्प्रेरित गराए ।

जापान बस्दा अर्को पनि कुराले मलाइ आकर्षित गर्यो । मेरा छिमेकी एक जोडा बृद्दा थिए । छोराछोरी थिएनन । तर चारवटा विराला पालेका थिए । अनि बृद्द बुबाले चाहिँ चिप्ला चिप्ला ढुँगामा विरालाका चित्र बनाउनुहुन्थ्यो । विरालाका सबै वृतान्त तिनै ढुंगामा भेटिन्थे । चित्र कोरिसकेपछि तिनै बृदा ढोका ढकढकाएर ‘ल मेरो चित्र तयार भयो हेर्न आउ’ भनेर बोलाउनुहुन्थ्यो । ‘तिमी यति धेरे चित्र मन पराउँदैरहिछौ सिक्ने भए आउ’ भन्नुहुन्थ्यो तर पढाइ र व्यस्ताताका कारण जान सक्दिनथे । उहाँले चित्रहरु बनाएको चाहिं हेर्थेँ ।

जापानमा पढाइ पुरा हुनासाथ श्रीमानलाई पोष्ट डक्टरेट गर्न इजरायलको बेनगुरियन बिश्वविद्यालयमा अर्को मौका मिल्यो । म पनि इजरायल गएँ । इजरायलमा गएपछि चाहिं मलाइ समय नै समय भयो । शुरुमा त खुब मज्जा लाग्यो । तर धेरै फुर्सद हुन थालेपछि अब यसरी समय खेर फाल्नुहुँदैन भनेर केहि एक्रेलिक रङ र ब्रसहरु किन्न गएँ । त्यहिँका मरभुमीमा भेटिएका ढुंगाहरु बटुलेर ल्याएँ । धोइपखाली गरेर तिनैमा चित्र कोर्न थालेँ । तर चित्र चाहिं जे मन लाग्यो त्यहि बनाएँ । उँट, बिराला, फूल आदि । यसरी मैले चित्रकारितामा हात हालेकी हूँ ।

इजरायल बसेको डेढ दुइ वर्ष पछि मेरा श्रीमानले काजखस्तान मा रहेको युनेस्कोको कार्यालयमा काम गर्न थाल्नुभयो । अब फेरि म काजखस्तान जानुपर्ने भयो । अनि त्यति धेरै ढुंगे कलाहरु के गर्ने ? फ्याँक्न मन लागेन । मन रोयो । कसैलाई लैजाउ भन्न पनि आँट आएन । एकदिन एउटा लुगा धुने बाटाभरी चित्रले भरिएका ढुंगाहरु राखेँ । आफु बसेको घरवरपर सजाएर छाड्छु भनेर सकि नसकि घिसार्दै लगेँ । तर छिमेकमा बस्ने इजरायललीले देखे । अनि के गरेकी भनेर सोधे । मैले सबै कुरा बताएपछि ‘चित्रित ढुंगाहरु नफाल, म बाँचुन्जेल तिम्रा सृजनाहरु राखिरहनेछु’ भनेर उनैले लगे । मन कम्ती त रमाएन । उनीसँग पछि सम्पर्क पनि टुट्यो । अहिले उनी कता छन् कस्ता छन् थाह छैन ।

काजखस्तान आएपछि भने डिप्लोमेटिक क्लब र इन्टरनेशनल वुमन क्लबमा जोडिन पाएँ । बेलाबखत त्यता जोडिने मौका पाउँदा पाउँदै फेरि श्रीमानको पोष्टिँग पेरिसमा भयो । यता आएपछि सोध्दै खोज्दै गर्दा ‘वियाँभनु अँ फ्रन्स’ भन्ने क्लब मार्फत आर्ट सम्बन्धि कक्षाहरु लिन पाएँ । यो क्लबले कुटनीतिज्ञहरुका श्रीमान या श्रीमतीहरुलाई लगभग ८० शिर्षकमा तालिम दिँदो रहेछ । मैले चाहिं आर्टका तीन बिधा (तेल चित्र, सिल्क चित्र, पोर्सलेन चित्र) र फ्रान्सेली केक बनाउने गरी चार बिधामा विविध तालिम लिएँ । यहि तालिम पछि अहिले १० वर्ष जति भयो मैले नियमित पेन्टिङ गरिरहेकी छु । घरमा मलाइ लाग्छ, साढे दुइ सय भन्दा माथि नै पेन्टिङहरु थुप्रिरहेका छन् । यो अवधिमा मैले फ्रान्सेली भाषा पनि सिकेँ र फ्रान्सेली भाषामा कुराकानी गर्न सक्ने भएँ । जीवनको नयाँ अध्याय यसरी शुरुवात गरेँ ।

पेरिसमा कोरेका चित्रहरुको पहिलो प्रदर्शनी मैले नेपालको पुल्चोकमा रहेको पार्क आर्ट ग्यालरीमा गरेँ । सन् २०१७ मा । पेरिसमा बनाएका चित्रहरुको क्यानभासहरु फुकालेँ । फेरि नेपाल लगेर फ्रेम काटेर बनाएँ । चित्र बिग्रेलान् भन्ने उस्तै पिर । तर मलाइ पेरिसमै बस्नुहुने नेपाली चित्रकार शैलेन्द्र महर्जनले ढाडस दिनुभयो । उहाँले नै अब तपाइले प्रदर्शनी गर्नुपर्छ भन्नुभयो । चित्रहरु राम्रा छन् भनेर हौसला दिनुभयो । कसरी प्रदर्शनी गर्ने भनेर अलमलमा पनि थिएँ र लज्जालु पनि। उहाँले ढाडस दिनुभएपछि मैले सिल्क, पोर्सलेन (माटोका भाँडा वर्तन ) र तेल चित्र गरी करिव ६५ देखि ७० वटा कला पेरिस बाटै नेपाल लगेर प्रदर्शनी गरेँ । यो प्रदर्शनीमा डेनमार्कबाट आउनुभएका दर्शकहरुले मेरा कलाहरु देख्नेबित्तिकै बिदेशमा पढ्या हो तिमीले आर्ट ? भनेर सोध्नुभयो । म युरोपियन ढाँचामा नेपाली चित्र बनाउँछु । किनभने नेपालमा धेरे चहकिला रङहरु प्रयोग हुन्छन् ।

पुल्चोकको प्रदर्शनी पछि केहि नेपाली मिडियाहरुले मेरा कलाहरु चिनाउन मद्दत गरे । आफ्ना साथी भाइ आफन्त र बाहिरका मानिसहरुले ‘ल सन्ध्याले त दुइ दुइवटा मास्टर्स सकाएर फेरी यता कला तिर पो लागिछ’ भनेर चिन्नुभयो । नेपालमा सिल्क र पोर्सलेन आर्ट विशेष मन पराइदिनुभयो । सिल्क र पोर्सलेनको नेपालमा त्यति चलन रहनेछ । अरु नै विषय पढेर समय खेर गएछ हेर बरु नेपालमै ललितकला क्याम्पस पढेको भए कति राम्रो बेस बनिसक्थ्यो भन्नुभयो । ढिला गरि यो क्षेत्रमा आएँ । आफ्नो समय अनुसार मैले आफूलाई ढालेँ । यसले बुबा, आमा, श्रीमान र परिवारलाई सन्तुष्टि दिएको छ भन्ने म ठान्छु ।

नेपालबाट फर्केपछि पेरिसका बिभिन्न ठाउँमा मेरा प्रदर्शनीहरु भैरहेका छन् । अप्रिल महिनामा मैले लुभ्र म्युजियमको क्यारोसिल भन्ने कक्षमा पनि प्रदर्शनी गरेकी थिएँ । त्यो कक्षमा अरु पनि प्रदर्शनीहरु भैरहन्छन् । म्याडलेनको चर्चमा गरे । भर्साइको एक ग्यालरीमा पनि गरेँ । पेरिसको आठ नम्बर वडाको नगरपालीकामा पनि गरेँ । पहिला पहिला रसियन कल्चर सेन्टरमा पनि गरेँ । अब पुन हुँदैछ ।

तपाइले मलाइ राम्रै कमाइ गरिहोला भन्ने सोच्नुभएको होला । पैसा भन्दा पनि अहिलेको समय परिस्थिति सोचाइ र भावनाहरु अभिव्यक्त हुने माध्यम हो चित्रकला । अहिले मैले देखिरहेको भोगिरहेको समय केहि सय वर्ष पछि हराइसकेको हुन्छ नि । त्यसो त विख्यात देखि कनिष्ठ चित्रकारहरु बस्ने शहर हो पेरिस । एउटा कलाकारको जीवनमा आउने परिवर्तन बिन्दु (टर्निङ पोइन्ट) ले उसलाई चिनाउँछ र हुर्काउँछ । मलाइ लाग्छ म त्यहि दिशा तर्फ अग्रसर छु । नयाँ नयाँ सम्पर्कहरु बिस्तार भइरहेको छ र म बिस्तारै बिस्तारै फैलिंदै गइरहेकी पनि छु ।

मेरा चित्रहरु अक्सर प्रकृति र शान्ति सँग सम्बन्धित हुन्छन् । मलाइ भूइँचालो जस्ता विपत्ती र तहस नहस दृश्यहरु उतार्न मन पर्दैन । सँस्कृतिको कुरा आउँदा खेरी हाकु पटासीको रंगिन पोशाक र तिनलाई प्रयोग गरिने समय मनमा झल्किहाल्छ । माटिया पर्वको बेला महिलाहरुको जमघट र पूजा गर्ने सन्ध्याकालिन समय । मलाइ यि पर्वहरुमा लगाइने हाकु पटासी साँच्चै सुन्दर लाग्छ ।

तपाइले मलाइ जापानको रंगिन दृश्य मेरा कलाहरुमा बिम्वित छन् कि छैनन भनेर सोध्नुभयो । यहाँ ल्याएका कलाहरु धेरै रंगिन छैनन किनभने जुलाइ अगष्ट लाग्यो । नेपालमा पर्यटक जाने याम हो । पर्यटक जाने याममा रंगिन चित्रहरु भन्दा पनि शान्त चित्रहरु प्रदर्शनमा राख्न मन लाग्छ । फेरि अहिले ठाउँ पनि त ठूलो छैन । नगरपालिकाले हामीलाई एक अर्कामा कलाकारहरु बिच चिनजान होस भनेर जुटाइदिएको अवसर हो अहिले ।

मलाइ लाग्छ, बिदेशमा भएको एउटा नेपालीले कसरी नेपाल चिनाउने भनेर सोच्नुपर्छ । म मेरा चित्रहरु मार्फत नेपाल चिनाउँछु र हेर्न आउनेहरुलाई यो याम नेपाल जान राम्रो हुन्छ भनिरहेकी हुन्छु । दशैं तिहार ताकाको हाम्रो याम साच्चै लोभलाग्दो र शान्तिपूर्ण हुन्छ । त्यसैले आफ्नो उत्पत्ति स्थलको व्याख्या गर्न समय अनुसारका कलाहरु छान्छु । विश्व समुदायमा नेपाललाई चिनाउने त हाम्रो जिम्मेवारी हो । मैले हरेक प्रदर्शनीमा नेपाल चिनाउने मेरो जिम्मेवारी हो भन्ने कुराको बोध गर्छु । कति फ्रान्सेली मैले नेपाल यस्तो देखेँ भन्नुहुन्छ । कतिले तिमीले देखेको नेपाल र मेले देखेको नेपाल फरक छ भन्नुहुन्छ । कतिले भुइँचालो गएपछि तिम्रो देशमा कस्तो खालको नवविर्माण भयो भनेर सोध्नुहुन्छ ।

पेरिसको १५ नम्वर वडामा हाम्रो बसाइ छ । पेरिसमा ठूला ठूला र फराकिला अपार्टमेन्टहरु हूँदैनन । मेरा कलाहरु थपिएपछि घर साँघुरो माथि साँघुरो भैरहेको छ । तर पनि आफ्ना छोराछोरीहरु कहिल्यै बढी नुहने भएकोले ब्यवस्थापन गरिरहेकी छु । जसरी पनि थान्कोपान्को लाग्दो रहेछ ।

प्रदर्शनीहरु हुँदा म के चिज राख्ने भनेर पहिल्यै छनौट गर्छु । मेरा कलाहरु कम्प्युटरमा संग्रहित छन् । कुन कता मिलाएर राखेको छु भनेर कम्प्युटर हेरेपछि थाह हुन्छ । तपाइले अहिले जे देखिरहनु भएको छ यो चाहिं पेरिसको १५ नम्बरको नगरपालिकाले जुटाइदिएको अवसर हो । यहाँ ७५ जनाले भाग लिइरहेका छन् । नेपाली म मात्र हुँ । मलाइ सुमित्रा प्रधान दिदीले नगरपालिकासँग पनि सम्पर्क राख्नुपर्छ भन्नुभयो । यहाँ आएर बुझेँ । आफ्नो नाम लेखाएर गएँ । उहाँहरुले पछि तिमी छनौटमा पर्यौ भन्नुभएपछि मैले यहाँ आएर केहि पेन्टिङ राख्ने मौका पाएँ ।

मैले हरेक दिन पेन्टिङ गर्ने होइन । पेन्टिङ गर्नलाई मलाइ पहिला विषय चाहिन्छ । दिमागमा एउटा आकार खेल्नुपर्छ अनि म शुरु गर्छु । अक्सर म श्रीमान अफिस र छोरी स्कूल गएको बेला पेन्टिङ गर्न रुचाउँछु । तर यो कुरा सधैं लागु हुँदैन । जस्तो कि मैले पोर्सलेनमा आर्ट गर्न बसेँ भने घन्टौं लाग्छ । आज यति गरेँ, बाँकी भोली गर्छु भन्न मिल्दैन । पोर्सलेन चित्रकलामा त थुकका छिटाको पनि दाग बस्छ । यस्तो बेला बुबा आमालाई पनि फोन गरेर आज पोर्सलेनमा आर्ट गर्छु भन्छु । बुबा ममीले बुझ्नुहुन्छ, आज छोरीलाई डिस्टर्व गर्नु हुदैन भनेर ।

सिल्क आर्टमा पनि त्यस्तै । रङको ब्यवस्थापन छिटो गर्नुपर्छ । नत्र त एकातिर रङ सुकिसक्छ अर्को तिर बिग्रन्छ । दत्तचित्त भएर लाग्नुपर्छ, यस्ता कला सृजना गर्दा । बनाउन थालेर अपुरा भएका, एउटा बनाउने सोचेर अर्कै भएका पनि थुप्रै चित्रहरु हुन्छन् । तिनलाई पूनर् निर्माण (रि टच) को खाँचो पर्छ । मन नपरेका पेन्टिङहरु फाल्नु हुँदैन । बरु आफू कस्तोबाट कस्तो बनेँ भनेर, आफू हिंडेको बाटो देखिन्छ भनेर, पछि हेर्न पाइन्छ भनेर पनि अचेल अपुरा या बिग्रेका चित्रहरु फाल्दिन । बरु त्यतिकै छाडिराख्छु ।

मेरा दुइवटा नानीहरु छन् । ठूली नानी पिएचडिका लागी जर्मनीमा छिन् र उनलाई अलि अलि पानी रङसँग खेल्न मन पर्छ । अर्की सानी छोरी पढ्दैछिन् ।

श्रीमान पेशाबाट निबृत्त भएपछि त नेपाल नै फर्किन्छौं होला जस्तो लाग्छ अहिले सम्म । यस्तो भयो भने फेरी सबै पेन्टिङहरु उठाएर नेपाल लग्नुपर्छ । तर पनि इजराइलमा आफ्ना पेन्टिङ छाडेको जस्तो अवस्था अब चाहिं भोग्नुपर्दैन होला।

समाज परिवर्तन भयो । कुपन्डोल अहिले बुटिकै बुटिक भएको सडकका रुपमा परिवर्तन भयो । मेरा छिमेकीहरु पनि कता कता पुग्नुभयो । तर पनि ‘नानी कहिले आउनु भयो ?’ भन्ने पाको मानिसहरु हुनुहुन्छ अहिले पनि । म नेपाल पुग्दा आफ्नो सुगन्ध भेटिहाल्छु । कुपन्डोलमा बुबा आमाको घर पुग्दा उहि आत्मियता, न्यानोपन र हाकु पटासीहरु भेट्छु । जसले मलाइ थप चित्रहरु बनाउन प्रेरित गर्छन् ।

प्रस्तुति-अनुराधा पौडेल

तपाइँको प्रतिक्रिया