आइतबार, मंसिर १८, २०७९

गलत जुत्ताचप्पल : बिग्रिन्छ ज्यान

डा. रामदेव पण्डित, (आयुर्वेद चिकित्सक)२०७९ असार १२ गते १९:४३

डा. रामदेव पण्डित

अङ्ग्रेजीमा एउटा उखान छ– ‘एभ्री इफोर्ट्स काउन्टस्’ अर्थात् हरेक प्रयासले अर्थ राख्छ। यसलाई आधार मान्दा पनि हामी भन्न सक्छौं– हामीले गर्ने कुनै पनि क्रियाकलापको मूल्याङ्कन भइरहेको हुन्छ र त्यसले हाम्रो जीवनमा प्रभाव पारिरहेको हुन्छ। कुन क्रियाकलापले हाम्रो जीवनमा के प्रभाव पारिरहेको छ त्यसको जानकारी प्राप्त गर्न हामी कति सचेत भएर बाँचिरहेका छौं भन्नेमा भरपर्छ।

जीवनमा स–साना अभ्यास वा बानी व्यहोराले पनि ठूलो परिवर्तन ल्याइरहेको हुन्छ। हामीले लगाउने चप्पलजुत्ताले स्वास्थमा खासै केही फरक पर्दैन भन्ने आम नागरिक बुझाइ छ। यो बुझाइ गलत छ। हामीले लगाउने चप्पलजुत्ताले स्वास्थ्यमा धेरै खालका सकारात्मक र नकरात्मक प्रभाव पारिरहेका हुन्छन्। चप्पलजुत्ता पैताला वा खुट्टालाई सुरक्षा दिने वा सुन्दर एवं फेस्नेवल देखाउने वस्तु मात्र कदापि होइनन्।

चप्पलजुत्ता किन लगाइन्छ ?

पैताला एवं खुट्टालाई सुन्दर देखाउनु चप्पलजुत्ता लगाउनुको प्रमुख उद्देश्य होइन। किनभने कुनै बेला चप्पलजुत्ता आजको स्वरूप र रङमा उपलब्ध थिएनन्। त्यसबेला खाली खुट्टा हिँड्ने नै चलन थियो वा खराउ लगाउने चलन थियो। केहीले डोरी वा अन्य घरेलु वस्तुबाट निर्मित चप्पलजुत्ता बनाएर प्रयोग गर्थे। त्यसबेला चप्पल जुत्ता लगाउनुको प्रयोजन स्वास्थ रक्षा थियो, फेसन थिएन।

औद्योगिक युग सुरु भएर विश्व बजारको रूपमा विकसित भएपछि चप्पलजुत्ताको उत्पादन र बिक्री वितरण सुरु भयो। अनि चप्पलजुत्ता लगाउनुको प्रयोजन नै बदलियो।

चप्पलजुत्ता लगाउनुको प्राथिमक उद्देश्य भनेको पैताला एवं खुट्टालाई घाइते हुनबाट बचाउनु हो। घुलो मैलो एवं तातोचिसोबाट जोगाउनु हो। यी प्राथमिक उद्देश्यको प्रयोजन भनेको व्यक्तिको शारीरिक एवं मानसिक स्वास्थलाई रक्षा गर्नु हो। मानसिक स्वास्थ्यको रक्षा गर्नु पनि स्वस्थ हुनु हो भन्ने कुरा थाहा नपाउनेहरूलाई चप्पलजुत्ताको महत्व पनि त्यति धेरै हुँदैन। अहिले चप्पलजुत्ता बिना मान्छेको दिनचर्या सहज रूपमा चल्न सम्भव छैन। सबैले हिँड्दा वा दौडिदा अनिवार्य रूपमा चप्पलजुत्ता लगाएकै हुन्छन्। हिजोआज सुत्दा वा बस्दा समेत लगाउन मिल्ने चप्पलजुत्ता बनाउन थालिएको छ।

जुनबेला पर्यावरण शुद्ध र रोगव्याध कम थियो त्यसबेला खाली खुट्टा हिँड्नु नै स्वस्थकर मान्निथ्यो। प्राय: सबै मानिसहरू खाली खुट्टा नै हिँड्ने गर्थे। त्यसबेला कि त योगीले खराउ लगाउँथे कि रोगीले घरेलु उत्पादनको चप्पल जुत्ता लगाउने गर्थे। योगीले शरीरस्थ षड्चक्रको जागरण वा योगध्यानबाट शरीरमा उत्सर्जित ऊर्जा संरक्षणको साथै भ्रमण तथा प्रवास यात्राका लागि खराउ लगाउँथे भने रोगीहरू बाध्यताले रोगबाट मुक्त हुन् घरेलु चप्पलजुत्ता बनाएर लगाउने गर्थे।

उहिले चप्पलजुत्ता लगाउनुको उद्देश्य शरीरको रक्षा वा स्वास्थ रक्षा थियो तर अहिले चप्पलजुत्ता लगाउनुको उद्देश्य भने स्वास्थ्य रक्षासँगै आफूलाई सुन्दर देखाउनु (फेसनेवल बनाउनु) पनि हो। उहिले स्वास्थ्य रक्षा प्राथमिक एवं एक मात्र उद्देश्य हुन्थ्यो। अहिले आफूलाई सुन्दर बनाउने प्राथमिक उद्देश्यले मात्र व्यक्तिहरू चप्पलजुत्ता लगाउन थालेको पाइन्छ। स्वास्थ रक्षाको लागि पनि चप्पलजुत्ता लगाइन्छ भन्ने कुरा नै आजका मानिसहरूले बिर्सिएका छन्। रोगी भएपछि मात्र व्यक्तिहरूले स्वास्थ्य रक्षाको लागि चप्पलजुत्ता लगाउनुपर्छ भन्ने अनुभव गर्दछन्।

सुन्दर देखिन चप्पलजुत्ता लगाउने होड चलिरहेको अहिलेको समाज मानिसहरूले सिम्पल चप्पल जुत्ता खोज्छ कि त स्टाइलिस्ट। सस्तो, बलियो र आरामदायक पनि खोज्छ तर स्वस्थकर चप्पलजुत्ता खोज्ने चलन भने छैन। चप्पलजुत्ता स्वस्थकर पनि हुनुपर्छ भन्ने दृष्टिकोण नै धेरैमा देखिँदैन।

कस्तो चप्पलजुत्ता किन्ने, कुन स्वस्थकर हुन्छ ?

अहिलेको समयमा खालीखुट्टा हिँड्न सम्भव छैन। खराउ लगाएर हिँड्न उपयुक्त हुँदैन किनभने त्यसमा बानि पार्न कठिन हुन्छ। यसले गर्दा पनि चप्पलजुत्ता लगाउनै पर्ने अवस्था छ। अत: चप्पलजुत्ता किन्दा वा लगाउँदा दुईवटा महत्त्वपूर्ण विषयलाई ध्यान दिनुपर्छ। पहिलो चप्पलजुत्ता कुन सामग्रीबाट बनेको हो र दोस्रो भनेको चप्पलजुत्ताको डिजाइन कस्तो छ भन्नेमा ध्यान दिन सक्नुपर्छ।

सुन्दर देखिन चप्पलजुत्ताको डिजाइन विचार गरेजस्तै लगाउँदा सजिलो भएको अनुभूति पनि हुनुपर्दछ। हामीले लगाउने चप्पलजुत्ताको तौल, साइज र आन्तरिक बनोट एवं सोल/हिल (जुत्ताको भुँइछुने भाग) ले सहजताको निर्धारण गर्दछ। सहजताको प्रत्यक्ष सम्बन्ध व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थसँग हुन्छ।

हिँड्दा वा दौडिँदा हामीले लगाएको चप्पलजुत्तालाई खुट्टासँगै उचाल्दा सामान्य र स्वभाविक अवस्थाको बल भन्दा अतिरिक्त बल नलाग्ने चप्पलजुत्तालाई उपयुक्त तौलको आरामदायी (कम्फर्टेबल) चप्पलजुत्ता मानिन्छ।

कस्सिएको वा खुकुलो चप्पलजुत्ता लगाउनु हुँदैन। पैंतालाको लम्बाइ र चौडाइ सहजै अटाउने साइजका जुत्तालाई आरामदायी चप्पलजुत्ता हुन्। पैंतालाको औला र कुर्कुच्चो थिचिने चप्पलजुत्ता असहज हुन्छ। यसर्थ यसलाई उपयुक्त साइजको मानिँदैन।

चप्पलजुत्ताको आन्तरिक बनोट पनि अति महत्त्वपूर्ण हुन्छ। जसमा चप्पलजुत्ताको तत्लो सतह स्वास्थ्यको लागि निकै संवेदनशील हुन्छ। सहज चप्पलजुत्ताको तल्लो सतह कुर्कुच्चादेखि औंलासम्म भुईसँगको समान उचाइमा हुनुपर्छ। साथै सतह पनि समथर हुनुपर्छ।

चप्पलजुत्ताको सोल कुर्कुच्चादेखि औंलासम्म भरिएको हुनुपर्छ। चप्पलजुत्तामा हुने तलुवा (सोल) व्यक्तिको पैताला भन्दा धेरै कडा हुनु पनि राम्रो मानिँदैन्। चप्पलजुत्ताको तलुवाले पैताला र जमीन बीचमा हुने टकरावका बेला ‘सक् अब्जर्वर’को रूपमा कार्य गर्दछ। अत: कडा तलुवा भएको चप्पलजुत्ता सहज मानिँदैन किनभने त्यस्तो चप्पलजुत्ताले ‘सक् अब्जर्व’ गर्न सक्दैन।

हाई हिल भएको चप्पलजुत्ताले लो ब्याक पेन, पिठ्युँ, कम्मर र घुँडामा दुखाइ बढाउने खतरा हुन्छ। खुट्टा र पैतालाको जोर्नीको मांसपेशी तथा नरम तन्तुहरू च्यात्तिने वा सुन्निने सम्भावना धेरै हुन्छ। हाई हिलले ‘भेरिकोस् भेन’को समस्या पनि निम्त्याउन सक्छ। हाई हिल भएको चप्पलजुत्ताले मांशपेशीहरूमा अस्वभाविक दवाब सिर्जना गरेर मनलाई अशान्त बनाउँछ। मन अशान्त भएपछि मानसिक तनाव पनि बढ्छ।

सन् २००१ मा पेनसिल्भानिया स्टेट युनिभर्सिटिमा हाईहिल चप्पलजुत्ता लगाउने २०० महिलाहरूमा गरिएको एक अध्ययनका अनुसार ५८ प्रतिशतले लो ब्याक पेनको समस्या भएको बताएका थिए। अधिक हाई हिल लगाउँदा ५५ प्रतिशतले अति नराम्रोसँग ब्याकपेनको समस्या भएको बताएका थिए। सो अध्ययन अनुसार हिलको हाइट बढ्दै गएपछि शरीरले आफ्नो सन्तुलन मिलाउन अप्राकृतिक चाल चाल्छ। जसको दबाब र तनाव सिधा मेरुदण्डमा पर्दछ। फलत: हाई हिल चप्पलजुत्ता लगाउनेहरूमा ब्याक पेन हुने गर्दछ।

हामीले लगाउने चप्पलजुत्ता कुन सामग्रीबाट बनेको छ त्यो विषय स्वास्थका लागि निकै महत्वपूर्ण हुन्छ। चप्पलजुत्ता किन्दा यो विषयलाई पनि सबैले सचेतता पूर्वक विचार गनुपर्छ।

सामान्यत चप्पलजुत्ता काठ, कपडा (धागो), भेल्भेट, सिल्क, छाला (लेदर), रबर, कर्क, सिन्थेटिक, फोम, पाल, प्लास्टिक, नाइलन, पेट्रोकेमिकल उत्पादनहरू आदिले बन्ने गर्दछन्। यी सबै कच्चा सामग्रीहरूको आ–आफ्नै विशेषता एवं कमजोरीहरू हुन्छन्। क्षमता, आवश्यकता र सहजता अनुसार आफूलाई मनपर्ने सामग्रीको चप्पलजुत्ता लगाउने गरिन्छ तर एउटै प्रकार र सामग्रीको चप्पलजुत्ताको प्रयोग गर्नु भन्दा फरक फरक सामग्री आकार र प्रकारका चप्पलजुत्ताको प्रयोग गर्नु स्वस्थकर हुन्छ।

अन्य सामग्रीबाट बनेको चप्पलजुत्ता भन्दा प्लास्टिकबाट बनेको चप्पलजुत्ता सस्तो र आकर्षक देखिन्छ। अत: हिजोआज प्लास्टिकको चप्पलजुत्ताको प्रयोगकर्ताको संख्या निकै बढेको पाइन्छ। जुन मानव स्वास्थ्यको लागि अस्वस्थकर र पर्यावरणको लागि अति हानिकारक हुन्छ।

सन् २००९ मा ‘स्वीडिस सोसाईटी फर नेचर कन्जर्वेसन’द्वारा गरिएको ‘केमिकल्स अप क्लोज’ नामक अध्ययन अनुसार प्लास्टिकको चप्पलजुत्तामा फ्थालेट्स, हेभी मेटल्स् एवं अन्य हानिकारक तत्त्व पाइन्छन्। पीभीसी प्लास्टिकलाई नरम बनाउन प्रयोग हुने तत्त्व फ्थालेट्स्ले मानवस्वास्थ्यमा गम्भीर असर पार्दछ। गर्भवती महिलाको गर्भमा समेत यो तत्त्वले नकरात्मक असर गर्दछ। अध्ययनका लागि स्विडेन, भारत, फिलिपिन्स्, दक्षिण अफ्रिका, यूगाण्डा, तान्जानिया र इन्डोनेसिया यी ७ देशबाट नमुना संकलन गरिएको थियो। अध्ययनको क्रममा संकलित नमुनाहरूमा २७ मध्ये १७ वटामा हानिकारक तत्त्व भेटिएको थियो। अध्ययनले नमुनाहरूमा १० वटा हेभी मेटल्स्को पनि परीक्षण गरेको थियो। जसमध्ये प्राय: सबै नमुनामा हानीकारक हेभी मेटल्स् केही मात्रामा भेटिएकै थियो। ती हेभी मेटल्स्‌ इण्डोक्राइन, नर्भस् र प्रजनन् प्रणालीलाई हानी पुर्‍याउने खालका हुन्छन्। जसमध्ये केही क्यान्सर कारक तत्त्व समेत हुन् भने केही एलर्जी कारक पनि हुन्छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइँको प्रतिक्रिया